रूथ
एलिमेलेकको परिवार मोआबमा परदेशी भई बसेको
1
अनि यस्तो भयो: न्यायकर्ताहरूले न्याय गरेका दिनहरूमा देशमा अनिकाल पर्‍यो। अनि बेतलेहेम-यहूदाका कुनै एकजना मानिस मोआब देशमा परदेशी भई बस्‍न गए – उनी, उनकी पत्‍नी र उनका दुई छोराहरू। 2 अनि यी मानिसको नाम एलिमेलेक थियो, अनि उनकी पत्‍नीको नाम नाओमी, र उनका दुई छोराहरूका नाम महलोन र किल्योन थिए; उनीहरू बेतलेहेम-यहूदाका एफ्राती थिए। अनि उनीहरू मोआब देशमा आए, र त्यहाँ बस्‍न लागे। 3 अनि नाओमीका पति एलिमेलेक मरे; अनि तिनी र तिनका दुई छोराहरू छोड़िए। 4 अनि मोआबका स्त्रीहरूबाट तिनीहरूले आफ्ना निम्ति पत्‍नीहरू ल्याए; एउटीको नाम ओर्पा, र अर्कीको नाम रूथ थियो; अनि तिनीहरू त्यहाँ लगभग दस वर्ष बसे। 5 अनि ती दुवै महलोन र किल्योन पनि मरे; यसरी यी स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट बिछोड़ भइन्।
नाओमी मोआबी रूथसँग बेतलेहेम फर्किन्
6 तब तिनी आफ्ना दुई बुहारीहरूसित मोआब देशबाट फर्कन उठिन्; किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई खानेकुरा दिएर उनीहरूको सुधि लिनुभएको छ भनी तिनले मोआब देशमा सुनेकी थिइन्। 7 यसकारण जहाँ तिनी बसेकी थिइन्, त्यस ठाउँबाट तिनी निस्किन्, र तिनीसित तिनका दुई बुहारीहरू पनि निस्के; अनि उनीहरू यहूदा देशमा फर्कन आफ्नो बाटो लागे।
8 अनि नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्: “तिमीहरू हरेक आ-आफ्नी आमाको घरमा फर्केर जाओ! परमप्रभुले तिमीहरूसँग दयाको व्यवहार गरून्, जसरी तिमीहरूले यी मरेकाहरूसँग र मसँग गरेका छौ। 9 परमप्रभुले तिमीहरूलाई प्रदान गरून्, कि तिमीहरू हरेकले आ-आफ्ना पतिको घरमा विश्राम पाओ!” तब तिनले तिनीहरूलाई चुम्बन गरिन्; अनि तिनीहरू आफ्नो सोर उचालेर रोए। 10 अनि तिनीहरूले तिनलाई भने: “निश्‍चय हामी तपाईंसँग तपाईंका मानिसहरूकहाँ फर्कनेछौं।” 11 तब नाओमीले भनिन्: “मेरा छोरीहरूहो, फर्क! तिमीहरू किन मसँग जान्छौ? के मेरो गर्भमा तिमीहरूका पति हुनलाई अझ पनि छोराहरू छन् र? 12 मेरा छोरीहरूहो, फर्क! तिमीहरू आफ्नो बाटो लाग; किनभने पति पाउनलाई म अति बूढ़ी भएकी छु। यदि मैले भनें रे: ‘मेरो आशा छ’; अँ, आज राति मैले कुनै पति पाएँ, र छोराहरू जन्माएँ भने पनि 13 के तिनीहरू ठूला नहोउन्जेल तिमीहरू तिनीहरूलाई पर्खेर बस्‍नेथ्यौ त? के तिनीहरूका निम्ति तिमीहरूले विवाह गर्नदेखि आफूलाई रोकेर राख्‍नेथियौ त? हुँदैन, मेरा छोरीहरूहो; किनभने तिमीहरूका निम्ति मलाई अत्यन्त शोक छ; किनकि परमप्रभुको हात मेरो विरोधमा उठेको छ।” 14 तब तिनीहरू आफ्नो सोर उचालेर फेरि रोए; अनि ओर्पाले आफ्नी सासूलाई बिदाको चुम्बन गरिन्; तर रूथचाहिँ तिनीसँगै टाँसिरहिन्।
15 अनि तिनले भनिन्: “हेर, तिम्री जेठानी आफ्ना मानिसहरूकहाँ र आफ्ना देवताहरूकहाँ फर्केर गई; तिमी पनि तिम्री जेठानीको पछि-पछि फर्केर जाऊ!” 16 तब रूथले भनिन्: “तपाईंलाई त्याग्‍न वा तपाईंलाई नपछ्याएर फर्कनका निम्ति मलाई कर नगर्नुहोस्; किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु; र तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहीं बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। 17 तपाईं जहाँ मर्नुहुन्छ, म त्यहीं मर्नेछु, र त्यहीं गाड़िनेछु; अनि मृत्यु छोड़ेर अरू कुनै कुराले तपाईं र मलाई अलग पार्‍यो भने परमेश्‍वरले मलाई त्यसै गरून् र त्यसभन्दा ज्यादा गरून्!” 18 जब तिनले रूथलाई आफूसित जानलाई दृढ़ भएकी देखिन्, तब तिनी उनीसित बोल्न छोड़िन्।
19 तब यी दुईजना बेतलेहेम नपुगुन्जेल हिँड़े। अनि यस्तो भयो: जब उनीहरू बेतलेहेम आइपुगे, तब उनीहरूको विषयमा सारा शहरभरि हलचल मच्चियो; अनि स्त्रीहरूले भने: “के यिनी नाओमी हुन्?” 20 अनि तिनले तिनीहरूलाई भनिन्: “तिमीहरूले मलाई नाओमी नभन! मलाई मारा भन; किनभने सर्वशक्तिमान्‌ले मसँग अति तीतो व्यवहार गर्नुभएको छ। 21 भरपूर म निस्केर गएकी थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ; तिमीहरू किन मलाई नाओमी भन्छौ? किनकि परमप्रभुले मेरो विरोधमा साक्षी दिनुभएको छ, र सर्वशक्तिमान्‌ले मलाई कष्‍ट दिनुभएको छ।” 22 यसरी नाओमी फर्किन्, र तिनीसँग तिनकी बुहारी मोआबी रूथ आइन्, जो मोआब देशबाट फर्किन्; अनि जौको कटनी शुरु हुँदा उनीहरू बेतलेहेम आए।