रूथले बोअजका बारीहरूमा शिला टिपिन्
2
अनि नाओमीका, तिनका पतिबाटका एकजना कुटुम्ब अर्थात् एलिमेलेकको परिवारका एकजना धनवान् मानिस थिए, जसको नाम बोअज थियो। 2 अनि मोआबी रूथले नाओमीलाई भनिन्: “कृपया मलाई खेतबारीतिर जान दिनुहोस्; र जसको दृष्‍टिमा म कृपा पाउँछु, उसको पछि-पछि बालाहरूको बीचमा म शिला टिप्‍नेछु।” अनि तिनले उनलाई भनिन्: “जाऊ, मेरी छोरी!” 3 तब उनी गइन्, र आएर एउटा बारीमा कटनी गर्नेहरूको पछि-पछि शिला टिपिन्; अनि संयोगवश उनी एलिमेलेकका कुटुम्ब बोअजको बारीको एउटा भागमा पुगिछिन्। 4 अनि हेर, बोअज बेतलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने: “परमप्रभु तिमीहरूको साथमा होऊन्!” अनि तिनीहरूले तिनलाई जवाफ दिए: “परमप्रभुले तपाईंलाई आशिष्‌ दिऊन्!” 5 तब बोअजले कटनी गर्नेहरूमाथि खटाइएको आफ्नो नोकरलाई सोधे: “यो कसकी ठिटी हो?” 6 अनि कटनी गर्नेहरूमाथि खटाइएको नोकरले जवाफ दिएर भन्यो: “यो त्यो मोआबी ठिटी हो, जो नाओमीसित मोआब देशबाट फर्केर आई। 7 अनि उसले भनी: ‘म तपाईंलाई विन्‍ती गर्छु, मलाई शिला टिप्‍न र बिटाहरूको बीचमा कटनी गर्नेहरूको पछि-पछि बटुल्न दिनुहोस्!’ यसरी ऊ आई, र बिहानैदेखि अहिलेसम्म लागिरहेकी छ; घरमा त ऊ थोरै समय मात्र बसी।”
8 तब बोअजले रूथलाई भने: “के तिमी सुन्दिनौ, मेरी छोरी? अरू कुनै बारीमा शिला टिप्‍न नजाऊ! अनि यसलाई छोड़ेर कतै पनि नजाऊ, तर यहीं मेरा जवान ठिटीहरूसँग लागिरह! 9 तिम्रा आँखाहरू तिनीहरूले कटनी गरिरहेको बारीमै लागिरहून्, र तिमी तिनीहरूको पछि-पछि जाऊ! के मैले यी जवान मानिसहरूलाई तिमीलाई नछुने आज्ञा दिएको छैनँ र? अनि जब तिमीलाई तिर्खा लाग्छ, तब ती भाँड़ाहरू भएको ठाउँमा जाऊ, र यी जवान मानिसहरूले उघाएको पानीबाट पिऊ!” 10 तब उनले भुइँसम्म आफ्नो शिर झुकाइन् र भुइँमा घोप्‍टो परेर तिनलाई भनिन्: “किन मैले तपाईंको दृष्‍टिमा कृपा पाएकी छु, र तपाईं मलाई ध्यान दिनुहुन्छ; किनकि म त एउटी परदेशिनी हुँ?” 11 अनि बोअजले जवाफ दिएर उनलाई भने: “तिम्रा पतिको मृत्युपछि तिमीले तिम्री सासूका निम्ति जे गर्‍यौ, त्यो सबै कुरा मलाई पूर्ण रूपले सुनाइएको छ; अनि तिमीले आफ्ना बुबा, आफ्नी आमा र आफू जन्मेको देशलाई छोड़ेकी छ्यौ, र एक जातिकहाँ आएकी छ्यौ, जसलाई तिमीले पहिले चिनेकी थिइनौ। 12 परमप्रभुले तिम्रो कामको प्रतिफल दिऊन्, र परमप्रभु इस्राएलका परमेश्‍वरबाट तिमीलाई पूरा इनाम मिलोस्, जसका पखेटाहरूमुनि शरण लिन तिमी आएकी छ्यौ।” 13 तब उनले भनिन्: “मेरा प्रभु, तपाईंको दृष्‍टिमा म कृपा पाऊँ; किनकि तपाईंले मलाई सान्‍त्‍वना दिनुभएको छ, र तपाईंकी दासीसँग मित्रभावले बोल्नुभएको छ; यद्यपि म तपाईंका दासीहरूमध्ये एउटीको बराबर हुँदिनँ।”
14 अनि बोअजले उनलाई भने: “खाने बेलामा तिमी यहाँ आऊ, र रोटीबाट खाऊ; अनि तिम्रो टुक्रा सिर्कामा चोप!” अनि उनी कटनी गर्नेहरूको छेउमा बसिन्; अनि तिनले उनलाई भुटेको अन्‍न दिए; अनि उनले खाइन्, अघाइन् र उबारिन्। 15 अनि जब उनी शिला टिप्‍न उठिन्, तब बोअजले आफ्ना जवान मानिसहरूलाई यसो भन्दै आज्ञा दिए: “उसलाई बिटाहरूको बीचमा पनि शिला टिप्‍न देओ, र उसलाई बेइज्जत नगर! 16 साथै उसले शिला टिपोस् भनेर उसका निम्ति मुठीहरूबाट अलि-अलि खसालेर छोड़िदेओ, र उसलाई नहप्काओ!”
17 तब रूथले साँझसम्म बारीमा शिला टिपिन्, र आफूले टिपेका बालाहरू झाँटिन्; अनि त्यो जौ एक एपाजति भयो। 18 अनि उनले त्यो उठाइन्, र शहरमा गइन्; अनि उनकी सासूले उनले टिपेका अन्‍न देखिन्; अनि उनले आफू अघाएपछि जे उबारेर राखेकी थिइन्, त्यो निकालिन् र तिनलाई दिइन्। 19 अनि उनकी सासूले उनलाई भनिन्: “आज तिमीले कहाँ शिला टिप्यौ, अनि कहाँ तिमीले काम गर्‍यौ? उनी धन्यका हुन्, जसले तिम्रो चासो लिए।” अनि उनले आफूले जससँग काम गरेकी थिइन्, उनको विषयमा आफ्नी सासूलाई बताइन् र भनिन्: “आज मैले जससँग काम गरें, ती मानिसको नाम बोअज हो।” 20 तब नाओमीले आफ्नी बुहारीलाई भनिन्: “परमप्रभुबाट उनी धन्यका होऊन्, जसले जिउँदा र मरेकाहरूप्रति आफ्नो दया हटाउनुभएको छैन।” अनि नाओमीले उनलाई भनिन्: “ती मानिस हाम्रा नजिकका नातेदार हुन्; हामीलाई दाम तिरेर छुटाउनेहरूमध्ये एक हुन्।” 21 अनि मोआबी रूथले भनिन्: “उनले मलाई यो पनि भने, ‘मेरा जवान मानिसहरूले जबसम्म मेरो सबै फसल उठाइसक्दैनन्, तबसम्म तिमी तिनीहरूको साथ-साथ लागिरह!’ ” 22 अनि नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्: “हे मेरी छोरी, तिमी उनका दासीहरूसँग लागेर जानु असल हो, कि तिनीहरूले तिमीलाई अरू कुनै बारीमा नभेट्टाऊन्।” 23 तब जौको कटनी र गहुँको कटनी नसिद्धिन्जेल उनी शिला बटुल्नलाई बोअजका दासीहरूको साथ-साथ लागिरहिन्; अनि उनी आफ्नी सासूसँग बस्थिन्।