नाओमीले रूथका निम्ति पति खोज्छिन्
3
तब उनकी सासू नाओमीले उनलाई भनिन्: “हे मेरी छोरी, तिम्रो भलो होस् भनेर के म तिम्रा निम्ति विश्रामको खोज नगरूँ? 2 अनि अब, के बोअज हाम्रा कुटुम्बका होइनन्, जसका दासीहरूसँग तिमी थियौ? हेर, आजरात उनी खलामा जौ निफन्छन्। 3 यसैले नुहाऊ, तेल लगाऊ, आफ्नो लुगा लगाऊ र तल खलामा जाऊ! तर ती मानिसले खान-पिन नगरुन्जेल उनीकहाँ आफूलाई प्रकट नगर! 4 अनि यस्तो हुनेछ: जब उनी लेट्नेछन्, तब उनी लेटेको ठाउँ याद गरिराख; अनि तिमी भित्र जाऊ, र उनका खुट्टाको ओढ़्ने उघार, र त्यहीं ढल्क! अनि तिमीले के गर्नुपर्ने हो, सो उनले तिमीलाई बताउनेछन्।” 5 अनि उनले तिनलाई भनिन्: “तपाईंले भन्‍नुभएको सबै कुरा म गर्नेछु।”
6 अनि उनी तल खलामा झरिन् र आफ्नी सासूले उनलाई दिएको आज्ञाअनुसार सबै गरिन्। 7 अनि जब बोअजले खाइपिइसके, र तिनको हृदय आनन्दित भएको थियो, तब तिनी अन्‍नको रासको छेउमा सुत्‍न गए; अनि उनी चाल मारेर आइन्, तिनका पाउको ओढ्ने उघारिन्, र त्यहीं ढल्किन्। 8 अनि मध्यरातमा यस्तो भयो: ती मानिस भयभीत भए, र फनक्‍क फर्के; अनि हेर, तिनका पाउमा एउटी स्त्री ढल्केकी रहिछे। 9 अनि तिनले भने: “तिमी को हौ?” अनि उनले जवाफ दिइन्: “म तपाईंकी दासी रूथ हुँ; यसैले आफ्नी दासीमाथि आफ्नो ओढ़्नेको किनार फैलाइदिनुहोस्; किनभने तपाईं मेरा छुटाउने नातेदार हुनुहुन्छ।” 10 तब तिनले भने: “परमप्रभुबाट तिमी धन्यकी हौ, मेरी छोरी; किनभने शुरुमा भन्दा अन्तमा तिमीले बढ़ी दया देखाएकी छौ; किनकि तिमी जवान मानिसहरूको पछि, चाहे ती गरिब हुन् चाहे धनी, लागेनौ। 11 अनि अब मेरी छोरी, नडराऊ; तिमीले मागेका सबै कुरा म तिम्रा निम्ति गर्नेछु; किनभने मेरा मानिसहरूको सम्पूर्ण शहरले तिमी एउटी गुणवती स्त्री हौ भनी जान्दछ। 12 अनि अब यो कुरा साँचो हो: म तिम्रो छुटाउने नातेदार हुँ; तर मभन्दा नजिकको छुटाउनेवाला नातेदार पनि छन्। 13 यो रात यहाँ बिताऊ, अनि बिहान यस्तो हुनेछ: तिनले तिमीलाई छुटाउँछन् भने ठीक छ; तिनले नै छुटाउनेको काम गरून्! तर तिनले तिमीलाई छुटाउन चाहेनन् भने, जीवित परमप्रभुको शपथ! म नै तिम्रा निम्ति छुटाउनेको काम गर्नेछु। बिहानसम्म लेटिबस!”
14 तब बिहानसम्म उनी तिनका पाउमा लेटिरहिन्; अनि एकले अर्कालाई चिन्‍न सक्नुभन्दा अघि उनी उठिन्। अनि तिनले भने: “खलामा एउटी स्त्री आएकी कसैलाई थाहा नहोस्!” 15 तिनले अझै भने: “तिमीले ओढ़ेकी पछ्यौरा ल्याऊ, र त्यसलाई समात!” अनि जब उनले त्यो समाइन्, तब तिनले छ पाथी जौ नापेर उनलाई बोकाइदिए; अनि तिनी शहरमा गए। 16 अनि जब उनी आफ्नी सासूकहाँ पुगिन्, तब तिनले भनिन्: “के यो तिमी हौ, मेरी छोरी?” अनि उनले ती मानिसले उनका निम्ति गरेका सबै कुरा तिनलाई बताइदिइन्। 17 अनि उनले भनिन्: “यी छ पाथी जौ उनले मलाई दिए; किनकि उनले मलाई भने: ‘तिम्री सासूकहाँ रित्तै नजाऊ!’ ” 18 तब तिनले भनिन्: “मेरी छोरी, यस कुराको नतिजा केकस्‍तो हुने हो, सो थाहा नपाउन्जेल चुपचाप बस; किनभने यी मानिस आज यो काम पूरा नगरुन्जेल विश्राम लिनेछैनन्।”