बोआजले रूथलाई नियमअनुसार छुटाईकन विवाह गर्छन्
4
तब बोअज मूलढोकामा गएर त्यहाँ बसे; अनि हेर, ती छुटाउनेवाला त्यहाँबाट भएर हिँड़िरहेका थिए, जसको विषयमा बोअजले कुरा गरेका थिए; उनले तिनलाई भने: “अहो, फलाना! यता लाग्नुहोस्, र यहाँ बस्नुहोस्!” अनि तिनी त्यतातिर लागे र बसे। 2 अनि उनले त्यस शहरका बूढ़ा प्रधानहरूमध्ये दसजना मानिसलाई ल्याएर भने: “तपाईंहरू यहाँ बस्नुहोस्!” अनि उनीहरू बसे। 3 अनि उनले ती छुटाउनेलाई भने: “मोआब देशबाट फर्केर आएकी नाओमीले त्यो टुक्रा जमिन बेच्दैछिन्, जुन जमिन हाम्रै दाजु एलिमेलेकको थियो। 4 अनि मैले तपाईंलाई यसो भनेर सूचित गर्न चाहेको छु: यहाँ बसिरहेकाहरूको सामु, र मेरा मानिसहरूका बूढ़ा प्रधानहरूको सामु यो किन्नुहोस्! तपाईंले दाम तिरेर यसलाई छुटाउनुहुन्छ भने छुटाउनुहोस्; तर तपाईंले दाम तिरेर यसलाई छुटाउनुहुन्न भने मलाई भन्नुहोस्, र म सो जान्न पाऊँ; किनभने तपाईंबाहेक यसलाई दाम तिरेर छुटाउने कोही छैन; अनि तपाईंपछि म छु।” अनि तिनले भने: “म दाम तिरेर यो छुटाउनेछु।” 5 तब बोअजले भने: “जुन दिन तपाईंले नाओमीको हातबाट त्यो जमिन किन्नुहुन्छ, त्यस दिन तपाईंले त्यो मृतककी पत्नी, मोआबी रूथको हातबाट पनि किन्नैपर्छ – मृतकको अधिकारको भागमाथि उनैको नाम कायम राख्नलाई।” 6 तब ती छुटाउनेले भने: “म यसलाई आफ्ना निम्ति दाम तिरेर छुटाउन सक्दिनँ; नत्रभने म आफ्नै आधिकारको भाग बिगार्नेछु; मेरो छुटाउने अधिकार तपाईंले नै आफ्ना निम्ति छुटाउनुहोस्; किनकि म यसलाई छुटाउन सक्दिनँ।”7 अब प्राचीनकालमा इस्राएलमा दाम तिरेर छुटाउने सम्बन्धमा र साट्ने सम्बन्धमा यस्तो चलन थियो: सबै कुराहरू पक्का गर्नलाई मानिसले आफ्नो जुत्ता फुकाल्थ्यो, र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; अनि इस्राएलमा यसरी नै साक्षी राखिन्थ्योक। 8 यसैले ती छुटाउनेवालाले बोअजलाई भने: “यो आफ्ना निम्ति किन्नुहोस्!” तब तिनले आफ्नो जुत्ता फुकाले। 9 अनि बोअजले ती बूढ़ा प्रधानहरूलाई र सबै मानिसहरूलाई भने: “आज तपाईंहरू साक्षी हुनुहुन्छ – एलिमेलेकको सबै थोक, अनि किल्योन र महलोनको सबै थोक मैले नाओमीको हातबाट किनेको छु। 10 साथै महलोनकी पत्नी, मोआबी रूथलाई पनि मैले मेरी पत्नी हुनका निम्ति किनेको छु – मृतकको अधिकारको भागमाथि उनैको नाम कायम राख्नलाई – यस उद्देश्यले कि मृतकको नाम उनका दाजुभाइहरूको बीचबाट र उनको ठाउँको मूलढोकाबाट मेटिएर नजाओस्! आज तपाईंहरू साक्षी हुनुहुन्छ।” 11 अनि मूलढोकामा भएका सबै मानिसहरू र बूढ़ा प्रधानहरूले भने: “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्त्रीलाई परमप्रभुले राहेल र लेआजस्तै बनाऊन्, जुन दुईजनाले इस्राएलको घर निर्माण गरे। अनि तपाईंले एफ्रातामा वीरतासाथ काम गर्नुहोस्, र बेतलेहेममा प्रसिद्ध बन्नुहोस्! 12 अनि जुन सन्तान परमप्रभुले तपाईंलाई यी जवान स्त्रीबाट दिनुहुनेछ, उसद्वारा तपाईंको घर पेरेसको घरजस्तै होस्, जसलाई तामारले यहूदाका निम्ति जन्माइन्।”
13 यसरी बोअजले रूथलाई लगे, अनि उनी तिनकी पत्नी भइन्; अनि जब तिनले उनीसँग सहवास गरे, तब परमप्रभुले उनलाई गर्भाधान दिनुभयो; अनि उनले एउटा छोरा जन्माइन्। 14 अनि स्त्रीहरूले नाओमीलाई भने: “परमप्रभु धन्यका होऊन्, जसले आज तिमीलाई छुटाउने नातेदारविना छोड़्नुभएको छैन, र इस्राएलमा उनको नाम प्रसिद्ध होस्ख! 15 अनि ऊ तिम्रा निम्ति तिम्रो जीवनलाई हरियोपरियो पार्नेग र तिम्रो बुढ़ेसकालमा पालनपोषण गर्ने हुनेछ; किनभने तिम्री बुहारी, जसले तिमीलाई प्रेम गर्छिन्, जो तिम्रा निम्ति सात छोराहरूभन्दा उत्तम छिन्, तिनैले उसलाई जन्माएकी हुन्।” 16 अनि नाओमीले त्यस बालकलाई लिइन् र उसलाई आफ्नो छातीमा राखिन् र उसकी धाईआमा बनिन्। 17 अनि तिनका छिमेकी स्त्रीहरूले यसो भन्दै उसलाई नाम दिए: “नाओमीले एउटा छोरा जन्माएकी छन्;” अनि तिनीहरूले उसको नाम ‘ओबेद’ राखे; उनीचाहिँ दाऊदका बुबा यिशाईका बुबा हुन्।
दाऊदसम्म पेरेसको वंशावली