१ शमूएल
शमूएलको जन्म
1
अनि एप्रैम पहाड़को रामातैम-जोफिमका एल्काना नामका कुनै एकजना मानिस थिए, जो यरोहामका छोरा, एलिहूका नाति, तोहूका पनाति, एफ्राती जूफका खनाति थिए। 2 अनि तिनका दुईजना पत्‍नीहरू थिए; एउटीको नाम हन्‍ना थियो, र अर्कीको नाम पनिन्‍ना थियो; अनि पनिन्‍नाका सन्तान थिए, तर हन्‍नाका सन्तान थिएनन्। 3 अनि ती मानिस हरेक वर्ष आफ्नो शहरबाट माथि शीलोमा सेनाहरूका परमप्रभुलाई दण्‍डवत्‌ गर्न र बलिदान चढ़ाउन जान्थे। अनि एलीका दुईजना छोरा होप्‍नी र पीनहास, परमप्रभुका पूजाहारीहरू त्यहाँ थिए। 4 अनि एल्कानाले बलि चढ़ाएको दिनमा तिनले आफ्नी पत्‍नी पनिन्‍नालाई र यिनका सबै छोराहरू र यिनका छोरीहरूलाई भागहरू दिए; 5 तर हन्‍नालाई तिनले दुई गुणा भाग दिए; किनभने तिनले हन्‍नालाई प्रेम गर्थे; तर परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो। 6 अनि उनलाई कुँड़्याउन उनकी विरोधीले उनलाई साह्रै चिढ़ाउँथिन्; किनभने परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो। 7 अनि वर्षैपिच्छे यस्तै हुन्थ्यो: जब हन्‍ना परमप्रभुको भवनमा जान्थिन्, तब पनिन्‍नाले उनलाई चिढ़ाउँथिन्; यसैले उनी रुन्थिन्, र खाना खाँदिनथिन्। 8 तब उनका पति एल्कानाले उनलाई भने: “हन्‍ना, तिमी किन रुन्छ्यौ, र किन खाँदिनौ? तिम्रो हृदय किन शोकित छ? के म तिम्रा निम्ति दसजना छोराहरूभन्दा उत्तम होइनँ र?”
9 अनि तिनीहरूले शीलोमा खाइपिइसकेपछि हन्‍ना उठिन्। अनि पूजाहारी एली परमप्रभुको मन्दिरको ढोकाको खाँबाको छेउमा एउटा आसनमा बसिरहेका थिए। 10 अनि उनी हृदयको पीरमा डुबेकी थिइन्, र परमप्रभुलाई प्रार्थना गरिन् अनि भक्‍कानिँदै रोइन्। 11 अनि उनले एक भाकल गरिन्, र भनिन्: “हे सेनाहरूका परमप्रभु, यदि तपाईंले साँच्‍ची नै आफ्नी दासीको दुःख हेरेर मलाई सम्झनुहुन्छ र तपाईंकी दासीलाई भुल्नुहुन्‍न, तर तपाईंकी दासीलाई एउटा छोरा दिनुभयो भने, म उसलाई उसको सारा जीवनभरि नै परमप्रभुलाई दिनेछु, र उसको शिरमा छुरा लाग्‍नेछैन।” 12 अनि यस्तो भयो: जब उनी परमप्रभुको सामु प्रार्थनामा लागिरहिन्, तब एलीले उनको मुखलाई ध्यान दिए 13 अनि हन्‍ना आफ्नो हृदयमा बोलिरहेकी थिइन्; उनका ओठहरू मात्र चल्थे, तर उनको सोरचाहिँ सुनिँदैनथियो; यसैकारण एलीले उनलाई मातेकी ठाने। 14 अनि एलीले उनलाई भने: “कहिलेसम्म तिमी मातिरहन्छ्यौ? तिम्रो मद्य आफूबाट हटाइदेऊ!” 15 तब हन्‍नाले जवाफ दिएर भनिन्: “होइन, मेरा प्रभु, म आत्मामा दुःखित भएकी स्त्री हुँ; मैले न ता दाखमद्य न मदिरा नै पिएकी छु, तर मैले त मेरो मन नै परमप्रभुको सामु पोखिदिएकी छु। 16 तपाईंकी दासीलाई चण्डालकी छोरी नठान्‍नुहोस्; किनभने मेरो भारी गुनासो र मेरो चित्तदु:खाइबाट मैले अहिलेसम्म बोलेकी हुँ।” 17 तब एलीले जवाफ दिएर भने: “शान्तिसित जाऊ, र इस्राएलका परमेश्‍वरले तिमीले उहाँबाट मागेको तिम्रो विन्‍ती मन्जुर गरून्!” 18 अनि उनले भनिन्: “तपाईंकी दासीले तपाईंको दृष्‍टिमा कृपा पाओस्!” तब ती स्त्री आफ्नो बाटो लागिन्, अनि खाना खाइन्, र उनको चेहरा अब उसो फेरि उदास रहेन।
19 अनि तिनीहरूले बिहान सबेरै उठेर परमप्रभुको सामु दण्‍डवत्‌ गरे, र फर्केर रामामा, आफ्नो घरमा आइपुगे; अनि एल्काना आफ्नी पत्‍नी हन्‍नाकहाँ गए; अनि परमप्रभुले हन्‍नालाई सम्झना गर्नुभयो। 20 अनि समयको अन्तरालमा यस्तो भयो: हन्‍ना गर्भवती भइन्, र उनले एउटा छोरा जन्माइन्; अनि ‘मैले उसलाई परमप्रभुबाट मागेकी हुँ’ भनेर उनले उसको नाम ‘शमूएल’ राखिन्। 21 अनि ती मानिस एल्काना र तिनको सारा परिवार परमप्रभुलाई बर्सेनि चढ़ाउने बलि र आफ्नो भाकल चढ़ाउन माथि गए। 22 तर हन्‍नाचाहिँ माथि गइनन्; किनभने उनले आफ्ना पतिलाई भनिन्: “बालकलाई दूध नछुड़ाउन्जेल म माथि जानेछैनँ; त्यसपछि म उसलाई लैजानेछु, र ऊ परमप्रभुको सामु देखा पर्नेछ, र सधैंभरि त्यहीं बस्‍नेछ।” 23 तब उनका पति एल्कानाले उनलाई भने: “तिमीलाई जे असल लाग्छ, त्यही गर! उसलाई तिमीले दूध छुड़ाउन्जेल बस! यति मात्र होस्: परमप्रभुले आफ्नो वचन स्थापित गरून्!” तब ती स्त्री बसिन्, र उनले उसलाई दूध नछुड़ाउन्जेल आफ्नो छोरालाई दूध चुसाइन्। 24 अनि जब उनले उसलाई दूध छुड़ाइन्, तब उनले उसलाई साथमा माथि शीलोमा, परमप्रभुको भवनमा लगिन्, तीनवटा बहर, एक एपा पीठो र एक मशक दाखमद्यको साथमा; अनि बालक सानै थियो। 25 अनि तिनीहरूले एउटा बहर मारे, र बालकलाई एलीकहाँ ल्याए। 26 अनि उनले भनिन्: “हे मेरा प्रभु, तपाईंको जीवनको शपथ! मेरा प्रभु, परमप्रभुलाई प्रार्थना गर्दै यहाँ तपाईंको छेउमा उभिने स्त्री म नै हुँ। 27 यस बालकका निम्ति मैले प्रार्थना गरेकी थिएँ; अनि मैले उहाँबाट जुन माग मागेकी थिएँ, परमप्रभुले मलाई सोही कुरा दिनुभएको छ; 28 यसकारण मैले पनि परमप्रभुलाई यो बालक पैंचो दिएकी छु; ऊ बाँचुन्जेल परमप्रभुलाई पैंचो दिइएको हो।” अनि तिनले त्यहाँ परमप्रभुलाई दण्‍डवत्‌ गरे।