हन्‍नाको स्तुतिगान
2
अनि हन्‍नाले प्रार्थना गरेर भनिन्:
“मेरो हृदय परमप्रभुमा रमाउँछ, मेरो सिङ परमप्रभुमा उच्‍च पारिएको छ; मेरो मुख मेरा शत्रुहरूको विरुद्ध पूरा खोलिएको छ; किनकि म तपाईंको उद्धारमा रमाउँछु।
2 परमप्रभुजस्तो पवित्र अरू कोही छैन; किनभने तपाईंबाहेक अरू कोही छैन, न ता हाम्रा परमेश्‍वरजस्तो अरू कुनै चट्टान छ।
3 ज्यादा घमण्डको साथ तिमीहरू अरू बढ़ी नबोल; तिमीहरूको मुखबाट ढीठ कुरा ननिस्कोस्; किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ, र उहाँद्वारा कामहरू तौलिइन्छन्।
4 शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर जो ठेस खान्थे, उनीहरूको कम्मर शक्तिले कसिएको छ।
5 भरपूर भएकाहरूले रोटीका निम्ति आफैलाई भाड़ामा दिएका छन्; तर भोकाउनेहरू भोको रहेनन्; यहाँसम्म कि बाँझी स्त्रीले सातजनालाई जन्माई; तर जसका धेरै छोराछोरीहरू छन्, ऊ कमजोर हुँदै गई।
6 परमप्रभुले मार्नुहुन्छ, र जीवित पार्नुहुन्छ; उहाँले तल पातालसम्म पुर्‍याउनुहुन्छ, र त्यहाँबाट माथि ल्याउनुहुन्छ।
7 परमप्रभुले गरिब तुल्याउनुहुन्छ, र धनी बनाउनुहुन्छ; उहाँले तल झार्नुहुन्छ, र उहाँले माथि उठाउनुहुन्छ।
8 तिनीहरूलाई भारदारहरूको साथमा बसाउन र तिनीहरूलाई महिमाको सिंहासनको हकदार तुल्याउनलाई उहाँले गरिबलाई धूलोबाट उठाउनुहुन्छ, र खाँचोमा परेकोलाई घुरानबाट माथि उचाल्नुहुन्छ; किनभने पृथ्वीका खाँबाहरू परमप्रभुका हुन्, र उहाँले संसारलाई तीमाथि बसाल्नुभएको छ।
9 उहाँले आफ्ना पवित्र जनहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, तर दुष्‍टहरूचाहिँ अन्धकारमा चुपचाप रहनेछन्; किनकि कुनै मानिस पनि बलद्वारा विजयी हुनेछैन।
10 परमप्रभुका विरोधीहरू टुक्रा-टुक्रा पारिनेछन्; स्वर्गबाट उहाँ तिनीहरूको विरुद्ध गर्जनुहुन्छ। परमप्रभुले पृथ्वीका छेउ-छेउसम्मको न्याय गर्नुहुनेछ; अनि उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ, र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।”
11 तब एल्काना रामामा आफ्नो घरमा गए। अनि यस बालकले चाहिँ पूजाहारी एलीको सामु परमप्रभुको सेवा गर्थ्यो।
पूजाहारी एलीका छोराहरू
12 एलीका छोराहरू अधम मानिसहरू थिए; उनीहरूले परमप्रभुलाई चिन्दैनथे। 13 अनि मानिसहरूसँग पूजाहारीहरूको चलन यस्तो थियो – जब कुनै मानिसले बलि चढ़ाउँथ्यो, तब मासु पाकिरहेको बेलामा पूजाहारीको सेवक तीन सुइरे काँटा आफ्नो हातमा लिएर आउँथ्यो; 14 र त्यसले तावा, वा डेक्ची, वा कराही वा भाँड़ाभित्र घोच्थ्यो; काँटाले जति उनेर निकाल्थ्यो, त्यो सबै पूजाहारीले आफ्ना निम्ति राख्थे। उनीहरूले शीलोमा त्यहाँ आएका सबै इस्राएलीहरूसित त्यस्तै व्यवहार गर्थे। 15 अँ, मानिसहरूले बोसो जलाउन अघि नै पूजाहारीको सेवक आउँथ्यो, र बलि चढ़ाउने मानिसलाई भन्थ्यो: ‘पूजाहारीका निम्ति पोल्ने मासु देऊ; किनकि तिमीबाट उनले उसिनेको मासु लिँदैनन्, तर काँचो लिन्छन्।’ 16 अनि त्यस मानिसले उसलाई ‘तिनीहरूले बोसोचाहिँ तुरुन्तै जलाइहालून्, त्यसपछि तिम्रो मनले चाहेको जति तिम्रा निम्ति लैजाऊ!’ भन्यो भने, त्यसले यसलाई जवाफ दिन्थ्यो: ‘अहँ, तर तिमीले मलाई अहिल्यै दिनुपर्छ; नत्रभने म यो जबरजस्त लैजानेछु।’ 17 यसैले परमप्रभुको सामु ती जवान मानिसहरूको पाप साह्रै ठूलो थियो; किनभने मानिसहरूले परमप्रभुको भेटीलाई तुच्छ ठाने।
18 तर शमूएल त बालक छँदै मलमलको एपोदले कम्मर कसेर परमप्रभुको सामु सेवा गर्थे। 19 यसबाहेक तिनकी आमाले तिनका निम्ति एउटा सानो कोट बनाइदिन्थिन्, र आफ्ना पतिसँग वार्षिक बलि चढ़ाउन आउँदा उनले वर्षैपिच्छे त्यो कोट तिनलाई ल्याइदिन्थिन्। 20 अनि एलीले एल्काना र तिनकी पत्‍नीलाई आशीर्वाद दिएर भने: “परमप्रभुलाई दिइएको यस पैंचोको सट्टामा परमप्रभुले यी स्त्रीबाट तिमीलाई सन्तान दिऊन्!” अनि तिनीहरू आफ्ना घरतिर लागे। 21 अनि परमप्रभुले हन्‍नालाई भेट गर्नुभयो; यसकारण उनी गर्भवती भइन्, अनि उनले तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल परमप्रभुको सामु बढ़्‍न लागे।
22 अनि एली साह्रै वृद्ध भए, र उनका छोराहरूले सारा इस्राएलसित गरेका सबै कुराहरू, र भेट हुने पालको ढोकामा भेला हुने स्त्रीहरूसँग उनीहरू सुतेको कुरा उनले सुने। 23 अनि उनले उनीहरूलाई भने: “तिमीहरू किन यस्ता कुराहरू गर्छौ? किनभने यी मानिसहरूबाट म तिमीहरूको दुष्‍ट व्यवहारको विषयमा सुन्दैछु। 24 मेरा छोराहरूहो, हुँदैन! किनकि जुन समाचार म सुन्दैछु, त्यो असल होइन; तिमीहरूले परमप्रभुका जनहरूलाई अपराध गर्न लगाउँदैछौ। 25 कुनै मानिसले अर्को मानिसको विरोधमा पाप गर्छ भने परमेश्‍वरले त्यसको न्याय गर्नुहुनेछ; तर कुनै मानिसले परमप्रभुको विरोधमा पाप गर्छ भने कसले त्यसका निम्ति अन्तर्विन्‍ती गरिदिने?” तर पनि उनीहरूले आफ्ना बुबाको कुरा सुनेनन्; किनभने परमप्रभुले उनीहरूलाई मार्न चाहनुभएको थियो।
26 अनि बालक शमूएल बढ़्दै गए, अनि परमप्रभु र मानिसहरू दुवैसित शुभेच्छाका पात्र भए।
27 अनि एकजना परमेश्‍वरको जन एलीकहाँ आए, र उनलाई भने: “परमप्रभु यसो भन्‍नुहुन्छ, तिम्रा बुबाको घराना मिस्रमा फाराओको घरमा हुँदा के मैले आफूलाई उनीहरूकहाँ स्पष्‍टसँग प्रकट गरिनँ र? 28 अनि इस्राएलका सबै कुलहरूबाट मैले उसलाई मेरो पूजाहारी हुन, मेरो वेदीमा बलि चढ़ाउन, धूप बाल्न र मेरो अघि एपोद पहिरन चुनिनँ? र के मैले तिम्रा बुबाको घरानालाई इस्राएलीहरूका सबै आगोद्वारा चढ़ाइएका भेटीहरू दिइनँ? 29 त के कारणले तिमीहरू मेरो बलिदान र मेरो भेटीलाई लात हान्छौ, जसका विषयमा मैले मेरो निवासस्थानमा गरिने आज्ञा दिएको छु; अनि मेरो प्रजा इस्राएलका सबभन्दा उत्तम भेटीहरूले आफूलाई मोटा बनाउन तिमी किन तिम्रा छोराहरूलाई मलाई भन्दा बढ़ी आदर गर्छौ? 30 यही कारणले परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, मैले साँच्‍चै भनें, तिम्रो घराना र तिम्रा बुबाको घराना मेरो सामु सदा-सर्वदा हिँड़्‍नेछन्; तर अब परमप्रभु भन्‍नुहुन्छ, यो कुरा मदेखि टाढ़ा रहोस्! किनकि जसले मलाई आदर गर्छन्, उनीहरूलाई म आदर गर्नेछु, र मलाई तुच्छ ठान्‍नेहरू तुच्छ ठानिनेछन्। 31 हेर, दिनहरू आउँछन्, जब म तिम्रो पाखुरा र तिम्रा बुबाको घरानाको पाखुरा काटिदिनेछु, जसले गर्दा तिम्रो घरमा कुनै वृद्ध मानिस रहनेछैन। 32 अनि परमेश्‍वरले इस्राएलसित गर्नुहुने सारा भलाइ हुँदा-हुँदै पनि तिमीले मेरो निवासस्थानमा एउटा विरोधीलाई देख्‍नेछौ; र सधैंका निम्ति तिम्रो घरमा कुनै वृद्ध मानिस रहनेछैन। 33 अनि तिम्रो मानिस, जसलाई म मेरो वेदीबाट हटाउनेछैनँ, त्यो तिम्रा आँखाहरू धमिला पार्न र तिम्रो हृदयलाई दुःखित पार्नका निम्ति हुनेछ; र तिम्रो घरका सबै सन्तान जवान हुँदै मर्नेछन्। 34 र यो तिम्रा निम्ति चिन्ह हुनेछ, जुन चिन्‍ह तिम्रा दुई छोरा होप्‍नी र पीनहासमाथि आइपर्नेछ: उनीहरू दुवै एकै दिनमा मर्नेछन्। 35 अनि म आफ्ना निम्ति एउटा विश्‍वासयोग्य पूजाहारी खड़ा गर्नेछु, जसले मेरो हृदयमा र मेरो मनमा जे छ, त्यहीअनुसार गर्नेछ; अनि म उसका निम्ति एउटा पक्‍का घर बनाउनेछु; र ऊ मेरो अभिषिक्त जनको सामु सदा-सर्वदा हिँड़्नेछ। 36 र यस्तो हुनेछ: तिम्रो घरानामा बचेको हरेक जन आउनेछ, र एक टुक्रा चाँदी र एक गाँस रोटीका निम्ति उसको सामु घोप्‍टो परेर भन्‍नेछ, ‘म तपाईंलाई विन्‍ती गर्छु, मलाई कुनै एउटा पूजाहारीको काममा लगाइदिनुहोस्, र म एक टुक्रा रोटी खान पाऊँ!’ ”