न्यायकर्ताहरू
कनानीहरूमाथि यहूदाको विजय
1
अब यहोशूको मृत्युपछि यस्तो भयो: इस्राएलीहरूले परमप्रभुलाई यसो भन्दै सोधे: “कनानीहरूसित लड़ाइँ गर्न हाम्रा निम्ति कसले पहिले तिनीहरूमाथि चढ़ाइ गर्ने?” 2 अनि परमप्रभुले भन्नुभयो: “यहूदाले चढ़ाइ गर्नेछ; हेर, मैले देश उसको हातमा सुम्पिदिएको छु।” 3 अनि यहूदाले आफ्ना दाजु शिमोनलाई भने: “मसित माथि मेरो भागमा आऊ, र हामी कनानीहरूसित लड़ाइँ गरौं! र म पनि त्यसरी नै तिम्रो भागमा तिमीसित जानेछु।” तब शिमोन उनीसँग गए। 4 अनि यहूदा माथि गए; अनि परमप्रभुले कनानी र परिज्जीहरूलाई उनीहरूको हातमा सुम्पिदिनुभयो, र बेजेकमा उनीहरूले तिनीहरूमध्ये दस हजार पुरुषहरूलाई मारे। 5 अनि उनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र तिनीसित लड़ाइँ गरे, अनि कनानी र परिज्जीहरूलाई मारे। 6 तर अदोनी-बेजेक भागे, र उनीहरूले तिनलाई खेदेर तिनलाई पक्रे, र तिनका हातका र तिनका खुट्टाका बूढ़ी औंलाहरू काटिदिए। 7 अनि अदोनी-बेजेकले भने: “आफ्ना हातका र आफ्ना खुट्टाका बूढ़ी औंलाहरू काटिएका सत्तरीजना राजाहरूले मेरो टेबलमुनि टुक्राटाक्री टिप्थे; जस्तो मैले गरेको थिएँ, त्यस्तै परमेश्वरले मसित बदला लिनुभयो।” अनि उनीहरूले तिनलाई यरूशलेममा ल्याए, र त्यहीं तिनी मरे।8 अनि यहूदाका सन्तानहरूले यरूशलेमसित लड़ाइँ गरे, त्यसलाई कब्जा गरे अनि त्यसलाई तरवारको धारले प्रहार गरे, र शहरमा आगो लगाइदिए। 9 अनि त्यसपछि यहूदाका सन्तानहरू पहाड़ी देशमा, दक्षिण देशमाक र तराईमा बस्ने कनानीहरूसँग लड़ाइँ गर्न झरे। 10 अनि यहूदा हेब्रोनमा बस्ने कनानीहरूमाथि जाइलागे; (अनि हेब्रोनको नाम पहिले किर्यत-अर्बा थियो), र उनीहरूले शेशै, अहिमान र तल्मैलाई मारे।
11 अनि त्यहाँदेखि उनी दबीरका बासिन्दाहरूमाथि जाइलागे। (अनि दबीरको नाम पहिले किर्यत-सेपेर थियो।) 12 अनि कालेबले भने: “जसले किर्यत-सेपेरलाई हमला गरेर त्यसलाई कब्जा गर्छ, उसैसँग म आफ्नै छोरी अक्साको विवाह गरिदिनेछु।” 13 अनि कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यसलाई कब्जा गरे; अनि उनले तिनीसित आफ्नी छोरी अक्साको विवाह गरिदिए। 14 अनि यस्तो भयो: जब अक्साख ओत्निएलकहाँग आइन्, तब तिनले उनलाई आफ्ना बुबासँग एउटा जमिन माग्न सुर्याइन्। अनि तिनी आफ्नो गधाबाट ओर्लिन्; तब कालेबले तिनलाई भने: “तिमी के चाहन्छ्यौ?” 15 अनि तिनले उनलाई भनिन्: “मलाई एउटा आशीर्वाद दिनुहोस्; किनकि तपाईंले मलाई दक्षिणको जग्गा त दिनुभएको छ; मलाई पानीका मुहानहरू पनि दिनुहोस्!” अनि कालेबले तिनलाई माथिल्ला मुहानहरू र तल्ला मुहानहरू दिए।
16 अनि मोशाका ससुरा केनीका सन्तानहरू यहूदाका सन्तानहरूसँग खजूरहरूको शहरदेखि निस्केर अरादको दक्षिण भागमा अवस्थित भएको यहूदाको उजाड़स्थानतिर पसे; अनि तिनीहरू गए, र त्यहाँका मानिसहरूसित बसोबास गरे।
17 अनि यहूदा आफ्ना दाजु शिमोनसँग गए, र उनीहरूले सपतमा बस्ने कनानीहरूलाई मारे, र त्यसलाई पूरै नष्ट पारिदिए। अनि त्यस शहरको नाम होर्माघ राखियो। 18 तब यहूदाले गाजा र त्यसको इलाका, अश्कलोन र त्यसको इलाका, अनि एक्रोन र त्यसको इलाका पनि कब्जा गरे। 19 अनि परमप्रभु यहूदाको साथमा हुनुहुन्थ्यो; अनि तिनले पहाड़ी देशका बासिन्दाहरूलाई धपाए; तर बेंसीका बासिन्दाहरूलाई चाहिँ तिनले धपाउन सकेनन्; किनभने तिनीहरूसित फलामका रथहरू थिए।
20 अनि मोशाले भनेअनुसार उनीहरूले कालेबलाई हेब्रोन दिए; अनि उनले त्यहाँबाट अनाकका तीनजना छोराहरूलाई निकालिदिएङ।
अरू कुलहरूको अपूर्ण विजय
21 अनि बिन्यामिनीहरूले यरूशलेममा बस्ने यबूसीहरूलाई धपाएनन्; तर ती यबूसीहरू आजको दिनसम्म बिन्यामिनीहरूसँग यरूशलेममै बसेका छन्।
22 अनि यूसुफको घराना – उनीहरूले पनि बेतएलमाथि चढ़ाइ गरे, र परमप्रभु उनीहरूको साथमा हुनुहुन्थ्यो। 23 अनि यूसुफको घरानाले बेतएलमा जासुसी गर्न पठाए; (अनि त्यस शहरको नाम पहिले लूज थियो।) 24 अनि ती जासुसहरूले एकजना मानिसलाई शहरदेखि बाहिर आइरहेको देखेर त्यसलाई भने: “कृपया हामीलाई शहरभित्र पस्ने बाटो देखाइदेऊ, र हामी तिमीलाई दया देखाउनेछौं।” 25 अनि जब त्यसले उनीहरूलाई त्यस शहरभित्र पस्ने बाटो देखायो, तब उनीहरूले त्यस शहरलाई तरवारको धारले प्रहार गरे; तर त्यस मानिस र त्यसको सारा परिवारलाई चाहिँ उनीहरूले छोड़िदिए। 26 अनि त्यो मानिस हित्तीहरूको देशमा गयो, र एउटा शहर निर्माण गर्यो, अनि त्यसको नाम लूज राख्यो; त्यसको नाम आजको दिनसम्म त्यही नै हो।
27 अनि मनस्सेले पनि बेत-शान र त्यसका गाउँबस्तीहरू, तानाक र त्यसका गाउँबस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्, न ता डोर र त्यसका गाउँबस्तीहरूका बासिन्दाहरूलाई, न यिब्लाम र त्यसका गाउँबस्तीहरूका बासिन्दाहरूलाई, न मेगिद्दो र त्यसका गाउँबस्तीहरूका बासिन्दाहरूलाई नै धपाए; तर ती कनानीहरूले त्यस देशमा बलैले बस्न चाहे। 28 अनि जब इस्राएल सामर्थी भयो, तब यस्तो भयो: उनीहरूले ती कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपले धपाएनन्।
29 अनि एप्रैमले पनि गेजेरमा बस्ने कनानीहरूलाई धपाएनन्, तर ती कनानीहरू गेजेरमा उनीहरूकै बीचमा बसिरहे।
30 अनि जबुलूनले न कित्रोनका बासिन्दाहरूलाई, न ता नहलोलका बासिन्दाहरूलाई नै धपाए, तर ती कनानीहरू उनीहरूकै बीचमा बसिरहे, र बेगारी काम गर्नेहरू भए।
31 अनि आशेरले न अक्कोका बासिन्दाहरूलाई, न ता सिडोनका बासिन्दाहरूलाई, न ता अहलाबका, न ता अक्जीबका, न ता हेल्बाका, न ता अपीकका, न ता रहोबका बासिन्दाहरूलाई नै धपाए; 32 तर आशेरीहरू पो ती कनानीहरू अर्थात् त्यस देशका बासिन्दाहरूकै बीचमा बसे; किनकि उनीहरूले तिनीहरूलाई धपाएनन्।
33 अनि नप्तालीले न बेत-शेमेशका बासिन्दाहरूलाई, न ता बेत-अनातका बासिन्दाहरूलाई नै धपाए; तर उनी त्यस देशका बासिन्दाहरू अर्थात् ती कनानीहरूको बीचमा बसिरहे; तरै पनि बेत-शेमेश र बेत-अनातका बासिन्दाहरू उनीहरूका निम्ति बेगारी काम गर्नेहरू भए।
34 अनि एमोरीहरूले दानीहरूलाई पहाड़ी देशतिरै दबाइदिए; किनकि तिनीहरूले उनीहरूलाई बेंसीतिर झर्न दिएनन्। 35 तर एमोरीहरूले हेरेस पहाड़मा, अय्यालोनमा र शाल्बीममा बलैले बस्न चाहे, तैपनि यूसुफको घरानाको हात तिनीहरूमाथि प्रबल भयो, र तिनीहरू उनीहरूका निम्ति बेगारी काम गर्नेहरू भए। 36 अनि एमोरीहरूको सिमानाचाहिँ अक्राब्बीमको उकालोदेखि, त्यस चट्टानदेखि उँभै थियो।