बोकीममा परमप्रभुका दूतले इस्राएलीहरूको पापको दोष देखाए
2
अनि परमप्रभुका दूत गिल्गालदेखि माथि बोकीममा आए, र भने: “मैले तिमीहरूलाई मिस्रदेखि निकालेर ल्याएँ, र तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूसित शपथ खाएको देशमा ल्याइपुर्‍याएँ; अनि मैले भनें: ‘तिमीहरूसित बाँधेको मेरो वाचा म कहिल्यै तोड़्नेछैनँ। 2 अनि तिमीहरूले यस देशका बासिन्दाहरूसँग कुनै वाचा नबाँध्‍नू; तिनीहरूका वेदीहरू तिमीहरूले भत्काइदिनू!’ तर तिमीहरूले मेरो वाणी पालन गरेनौ। तिमीहरूले किन यसो गर्‍यौ? 3 यसैकारण मैले पनि भनें: ‘म तिनीहरूलाई तिमीहरूको सामुदेखि धपाउनेछैनँ; तर तिनीहरू तिमीहरूको कोखाका निम्ति काँड़ाहरू, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्।’ ” 4 अनि जब परमप्रभुका दूतले सबै इस्राएलीहरूलाई यी कुराहरू भने, तब यस्तो भयो: मानिसहरू आफ्नो सोर उचालेर रोए। 5 अनि उनीहरूले त्यस ठाउँको नाम बोकीम राखे; अनि त्यहाँ उनीहरूले परमप्रभुका निम्ति बलि चढ़ाए।
यहोशूको मृत्युसम्‍मको समयको बयान
6 अनि जब यहोशूले मानिसहरूलाई पठाइदिए, तब इस्राएलीहरू हरेक आ-आफ्नो अधिकारको भागमा, देश अधिकार गर्न गए। 7 अनि यहोशूको जीवनभरि र ती बूढ़ा प्रधानहरूको जीवनभरि चाहिँ, जो यहोशूभन्दा बेसी बाँचे र जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका उहाँका सबै महान् कामहरू देखेका थिए, मानिसहरूले परमप्रभुको सेवा गरे। 8 अनि परमप्रभुका दास नूनका छोरा यहोशू एक सय दस वर्षका भएर मरे। 9 अनि तिनीहरूले तिम्‍नत-हेरेसमा उनकै अधिकारको भागको सिमानाभित्र गाड़े; तिम्‍नत-हेरेसचाहिँ एप्रैमको पहाड़ी देशमा, गाश डाँड़ाको उत्तरपट्टि छ। 10 अनि त्यो जम्मै पुस्ता आफ्ना पितापुर्खाहरूकहाँ मिल्न गयो, अनि तिनीहरूपछि अर्को पुस्ता खड़ा भयो, जसले न परमप्रभुलाई चिन्दथ्यो, न ता उहाँले इस्राएलका निम्ति गर्नुभएका कामहरू नै जान्थ्यो।
इस्राएलीहरूको पटक-पटक पतनमा न्यायकर्ताहरूद्वारा परमप्रभुको छुटकारा
11 अनि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा खराबी गरे, र बाल देवताहरूको पूजा गरे। 12 अनि तिनीहरूले तिनीहरूलाई मिस्र देशदेखि निकालेर ल्याउनुहुने परमप्रभु तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, र अरू देवताहरूको पछि अर्थात् तिनीहरूको वरिपरिका मानिसहरूका देवताहरूको पछि लागे, तिनलाई दण्‍डवत्‌ गरे र परमप्रभुलाई रिस उठाए। 13 अनि तिनीहरूले परमप्रभुलाई त्यागे, अनि बाल देवता र अश्तारोत देवीको पूजा गरे। 14 तब परमप्रभुको रिस इस्राएलको विरोधमा दन्कियो, र उहाँले तिनीहरूलाई लुट्नेहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे; अनि उहाँले तिनीहरूलाई तिनीहरूकै वरिपरिका शत्रुहरूको हातमा बेचिदिनुभयो; त्यसो हुँदा तिनीहरू उपरान्त आफ्ना शत्रुहरूको सामु खड़ा रहन सकेनन्। 15 परमप्रभुले भन्‍नुभएझैं र परमप्रभुले तिनीहरूसित शपथ खानुभएझैं जहाँ-जहाँ तिनीहरू निस्केर जान्थे, त्यहीं-त्यहीं तिनीहरूको विरोधमा खराबी गर्नलाई परमप्रभुको हात उठ्थ्यो, र तिनीहरू ठूलो आपतमा पर्थे। 16 त्यसो भए तापनि परमप्रभुले न्यायकर्ताहरूलाई खड़ा गर्नुभयो, जसले तिनीहरूलाई तिनीहरूका लुट्नेहरूको हातदेखि छुटकारा दिए। 17 तर तिनीहरूले आफ्ना न्यायकर्ताहरूको कुरा पनि सुनेनन्, र अरू देवताहरूको पछि लागेर वेश्याकर्म गरिरहे, र तिनलाई दण्‍डवत्‌ गरे; तिनीहरूका पितापुर्खाहरू परमप्रभुका आज्ञाहरू पालन गर्दै जुन बाटोमा हिँड़्थे, त्यस बाटोदेखि तिनीहरू छिट्टै भड़्किए, र तिनीहरूले उनीहरूले जस्तै गरेनन्। 18 अनि जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरूलाई खड़ा गर्नुभयो, तब परमप्रभु ती न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र ती न्यायकर्ताको जीवनभरि तिनीहरूलाई तिनीहरूका शत्रुहरूको हातदेखि छुटकारा दिनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र तिनीहरूलाई सताउनेहरूको कारणले निस्केका तिनीहरूका सुस्केरा सुनेर उहाँ पछुताउनुहुन्थ्यो। 19 अनि जब ती न्यायकर्ता मर्थे, तब यस्तो हुन्थ्यो: तिनीहरू पछि हट्थे, अनि अरू देवताहरूको पूजा गर्न र तिनलाई दण्‍डवत्‌ गर्नलाई तिनको पछि लाग्दै आफूलाई आफ्ना पितापुर्खाहरूले भन्दा बढ़ी भ्रष्‍ट पार्थे; तिनीहरूले आफ्ना कुकर्महरू छोड़ेनन्, न ता आफ्नो हठी चाल नै छोड़े। 20 तब परमप्रभुको रिस इस्राएलको विरोधमा दन्कियो, र उहाँले भन्‍नुभयो: “यी मानिसहरूले मैले यिनीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेको मेरो वाचा तोड़ेका हुनाले र मेरो वाणी पालन नगरेका हुनाले, 21 यहोशूले आफ्नो मृत्यु हुँदा छोड़िराखेका ती जातिहरूमध्ये एउटैलाई पनि म अबदेखि उसो उनीहरूको सामुदेखि धपाउनेछैनँ, 22 यस हेतुले कि उनीहरू आफ्ना पितापुर्खाहरूझैं परमप्रभुको मार्ग पक्रेर त्यसमा हिँड़्छन् कि हिँड़्दैनन् भनी तिनीहरूद्वारा म इस्राएललाई जाँचेर हेरूँ।” 23 यसैकारण परमप्रभुले ती जातिहरूलाई छोड़िराख्‍नुभयो – तिनीहरूलाई छिट्टै धपाउनुभएन, न ता तिनीहरूलाई यहोशूको हातमा नै सुम्पिनुभयो।