यहोशू
मोशाको सट्टामा यहोशूको नियुक्ति
1
अब परमप्रभुका दास मोशाको मृत्युपछि यस्तो भयो: मोशाका सेवक नूनका छोरा यहोशूसँग परमप्रभु यसो भन्दै बोल्नुभयो: 2 “मेरो दास मोशा मर्यो; यसकारण अब उठ – तिमी र यी सबै मानिसहरू; यस यर्दनपारि त्यस देशमा जाऊ, जुन देश म तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन्छु। 3 मैले मोशालाई भनेझैं हरेक ठाउँ जसमाथि तिमीहरूको पैतालाले टेक्नेछ, त्यो मैले तिमीहरूलाई दिएको छु। 4 यस उजाड़स्थानदेखि, यो लबानोन, र त्यस महानदी अर्थात् यूफ्रेटिस नदीसम्म हित्तीहरूको जम्मै देश र घाम अस्ताउनेपट्टिक चाहिँ महासागरसम्मख तिमीहरूको सिमाना हुनेछ। 5 तिम्रो सारा जीवनभरि तिम्रो सामु कुनै मानिस खड़ा रहनग सक्नेछैन; जसरी म मोशासँग रहें, त्यसरी नै म तिमीसँग रहनेछु; म तिमीलाई छोड़्नेछैनँ र तिमीलाई त्याग्नेछैनँ। 6 बलिया होऊ र साहसी होऊ; किनकि तिमीले यी मानिसहरूलाई त्यो देश अधिकारको भागको रूपमा बाँड़्नेछौ, जुन देश मैले तिनीहरूका पितापुर्खाहरूसित तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको थिएँ। 7 मेरो दास मोशाले तिमीलाई आज्ञा गरेको यस सम्पूर्ण व्यवस्थाअनुसार तिमीले होशियारसाथ पालन गर्न भनी केवल बलिया होऊ र खूब साहसी होऊ; यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग! तब तिमीले जहीं गए पनि सफलता पाउनेछौघ। 8 व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्, तर तिमीले दिनरात यसमाथि ध्यान गर्नू! फलस्वरूप तिमीले यसमा लेखिएका सबै कुराहरूअनुसार होशियारसाथ पालन गर्न सक्नेछौ; किनकि तब नै तिमीले आफ्नो मार्ग सफल तुल्याउनेछौ, र तब नै तिमीले सफलता पाउनेछौघ। 9 के मैले तिमीलाई आज्ञा गरेको छैनँ र? बलिया होऊ र साहसी होऊ! नडराऊ, र निराश नहोऊ; किनकि तिमी जहीं गए पनि परमप्रभु तिम्रा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ।”यर्दनपारि जाने तयारी
10 तब यहोशूले मानिसहरूका अधिकारीहरूलाई यसो भन्दै आज्ञा गरे: 11 “छाउनीको बीचबाट भएर जाओ, र मानिसहरूलाई यसो भन्दै आज्ञा गर: ‘आफ्ना निम्ति खानेकुरा तयार राख; किनभने तीन दिनभित्र त्यो देश अधिकार गर्न जानलाई तिमीहरू यस यर्दनपारि जानुपर्छ, जुन देश परमप्रभु तिमीहरूका परमेश्वरले त्यसलाई आफ्नो अधिकारमा लिन भनी तिमीहरूलाई दिनुहुन्छ।’ ” 12 अनि यहोशूले रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुललाई यसो भने: 13 “त्यो वचन सम्झ, जो परमप्रभुका दास मोशाले तिमीहरूलाई यसो भन्दै आज्ञा गरे: परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुभएको छ, र यही देश तिमीहरूलाई दिनुभएको छ। 14 तिमीहरूका पत्नीहरू, तिमीहरूका बालबच्चाहरू र तिमीहरूका गाईबस्तुहरू यस देशमा रहनेछन्, जुन देश मोशाले तिमीहरूलाई यर्दनको यतापट्टि दिएका छन्; तर तिमीहरू, सबै शूरवीर योद्धाहरूचाहिँ हतियार भिरेर आफ्ना दाजुभाइहरूको अघि-अघि पारि जानुपर्छ र तिनीहरूलाई तबसम्म सहायता गर्नुपर्छ, 15 जबसम्म परमप्रभुले तिमीहरूका दाजुभाइहरूलाई तिमीहरूलाई दिएझैं विश्राम दिनुहुन्न, र तिनीहरूले पनि त्यो देश आफ्नो अधिकारमा पार्दैनन्, जुन देश परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ; तब तिमीहरू आफ्नो अधिकारको देशमा फर्कनू र यसलाई अधिकार गर्नू, जुन देश परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दनको यतापट्टि घाम झुल्कनेङ दिशामा दिएका छन्।”
16 अनि तिनीहरूले यहोशूलाई यसो भन्दै जवाफ दिए: “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ, ती सबै कुराहरू हामी गर्नेछौं, अनि जहाँ-जहाँ तपाईंले हामीलाई पठाउनुहुन्छ, त्यहाँ-त्यहाँ हामी जानेछौं। 17 जसरी हामीले सबै कुरामा मोशालाई मान्थ्यौं, त्यसरी नै हामी तपाईंलाई मान्नेछौं; केवल परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा त्यसरी नै भइरहून्, जसरी उहाँ मोशाको साथमा रहनुहुन्थ्यो। 18 हरेक मानिस जसले तपाईंको आज्ञाको विरोध गर्ला र तपाईंले त्यसलाई आज्ञा गर्नुभएको सबै कुरामा तपाईंका वचनहरू नमान्लाच, त्यो मारिनेछ; तपाईं केवल बलियो हुनुहोस्, र साहसी हुनुहोस्!”