नबो पहाड़माथि मोशाको मृत्यु
34
अनि मोशा मोआबका मैदानहरूबाट येरिहोको सामुन्‍ने भएको नबो पहाड़माथि, पिस्गाको टाकुरामा चढ़े। अनि परमप्रभुले उनलाई सारा देश देखाउनुभयो: गिलाद, दानसम्म, 2 र सारा नप्‍ताली, एप्रैम र मनस्सेको देश, अनि यहूदाको सारा देश, पश्‍चिमी समुद्रसम्म, 3 अनि दक्षिण र खजूरका रूखहरूको शहर येरिहोको बेंसीको मैदान, सोअरसम्म। 4 अनि परमप्रभुले उनलाई भन्‍नुभयो: “मैले ‘म यो तिम्रो वंशलाई दिनेछु’ भनी अब्राहाम, इसहाक र याकूबसँग शपथ खाएको देश यही हो; मैले तिमीलाई यो आफ्नै आँखाले देख्‍न दिएँ, तर तिमी त्यहाँ पारि जान पाउनेछैनौ।” 5 यसरी परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा त्यहाँ, मोआबको देशमा मरे। 6 अनि बेत-पोरको सामु मोआब देशको बेंसीमा उहाँले उनलाई गाड़्‍नुभयो; तर आजको दिनसम्म उनको चिहानको विषयमा कसैलाई थाहा छैन। 7 अनि आफ्नो मृत्यु हुँदा मोशा एक सय बीस वर्षका थिए; उनको आँखा धमिलो भएको थिएन, न ता उनको बल नै घटेको थियो। 8 अनि मोआबका मैदानमा इस्राएलीहरू मोशाका निम्ति तीस दिनसम्म रोए; तब मोशाका निम्ति रुने र विलाप गर्ने दिनहरू पूरा भए।
9 अनि नूनका छोरा यहोशू बुद्धिको आत्माले परिपूर्ण थिए; किनकि मोशाले तिनीमाथि आफ्नो हात राखेका थिए; अनि इस्राएलीहरूले तिनको कुरा ध्यानसित सुने, र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार गरे।
10 अनि त्यस समयदेखि उसो भए फेरि इस्राएलमा मोशाजस्तो अरू कुनै भविष्यवक्ता उठेन, जसलाई परमप्रभुले आमुन्‍ने-सामुन्‍ने गरी जान्‍नुहुन्थ्यो – 11 ती सबै चिन्हहरू र अचम्मका कामहरूअनुसार, जुन चिन्‍ह र अचम्मका कामहरू फाराओमाथि, त्यसका सबै कर्मचारीहरू र त्यसको सारा देशमाथि देखाउन भनी परमप्रभुले मोशालाई मिस्र देशमा पठाउनुभयो, 12 अनि त्यस सारा शक्तिशाली हातअनुसार र त्यस सारा ठूलो आतङ्कअनुसार, जुन शक्तिशाली हात र जति ठूलो आतङ्क मोशाले सारा इस्राएलका आँखाको सामु गरिदेखाए।