गन्ती
सिनाईको उजाड़स्थानमा इस्राएलीहरूको गणना
1
अनि इस्राएलीहरू मिस्र देशबाट निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सिनाईको उजाड़स्थानमा, भेट हुने पालमा परमप्रभुले यसो भन्दै मोशासँग कुरा गर्नुभयो: 2 “तिमीहरूले इस्राएलीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार सबै पुरुषहरूलाई एक-एक गरी गन्ती गरेर तिनीहरूका नामहरूको संख्याअनुसार तिनीहरूको सारा समुदायको मुठ संख्या निकाल! 3 इस्राएलमा बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई नै तिनीहरूका दलहरूअनुसार तिमी र हारूनले गन्ती गर! 4 अनि तिमीहरूसित हरेक कुलको एक-एकजना मानिस होस्; हरेक आफ्ना पुर्खाहरूको घरानाको अगुवा होस्!
5 अनि तिमीहरूसित उभिने मानिसहरूका नाम यी हुन्: रूबेन कुलबाट शदेऊरको छोरा एलिसूर; 6 शिमोन कुलबाट सूरीशद्दाईको छोरा शलूमिएल। 7 यहूदा कुलबाट अम्मिनादाबको छोरा नहशोन। 8 इस्साकार कुलबाट सूआरको छोरा नतनेल। 9 जबूलून कुलबाट हेलोनको छोरा एलिआब। 10 यूसुफका सन्तानहरूमा एप्रैम कुलबाट अम्मिहूदको छोरा एलिशामा; मनस्से कुलबाट पदासूरको छोरा गमलिएल। 11 बिन्यामिन कुलबाट गिदोनीको छोरा अबिदान। 12 दान कुलबाट अम्मिशद्दाईको छोरा अहिएजेर। 13 आशेर कुलबाट ओक्रानको छोरा पगिएल। 14 गाद कुलबाट देऊएलको छोरा एल्यासाप। 15 नप्‍ताली कुलबाट एनानको छोरा अहिरा।” 16 यिनीहरू समुदायबाट बोलाइएकाहरू थिए; तिनीहरू आ-आफ्ना पुर्खाहरूका कुलहरूका शासकहरू, इस्राएलमा हजारौंका अगुवाहरू थिए।
17 तब मोशा र हारूनले यी नाम तोकिएका मानिसहरूलाई लिए; 18 अनि दोस्रो माहिनाको पहिलो दिनमा उनीहरूले सम्पूर्ण समुदायलाई भेला पारे; तब इस्राएलीहरूले आ-आफ्ना परिवारहरूअनुसार, आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई एक-एक गरी गन्ती गरेर तिनीहरूका नामहरूको संख्याअनुसार आ-आफ्नो वंशावली देखाए। 19 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार उनले सिनाईको उजाड़स्थानमा तिनीहरूको गन्ती लिए।
20 अनि इस्राएलका जेठा छोरा रूबेनको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 21 रूबेन कुलमा गन्ती गरिएकाहरूको संख्या छ्यालीस हजार पाँच सय थियो।
22 शिमोनको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार तिनका गन्ती गरिएकाहरूलाई – बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 23 शिमोन कुलमा गन्ती गरिएकाहरूको संख्या उनन्साठी हजार तीन सय थियो।
24 गादको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 25 गाद कुलमा गन्ती गरिएकाहरूको संख्या पैंतालीस हजार छ सय पचास थियो।
26 यहूदाको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 27 यहूदा कुलमा गन्ती गरिएकाहरूको संख्या चौहत्तर हजार छ सय थियो।
28 इस्साकारको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 29 इस्साकार कुलमा गन्ती गरिएकाहरूको संख्या चौवन्‍न हजार चार सय थियो।
30 जबूलूनको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 31 जबूलून कुलमा गन्ती गरिएकाहरूको संख्या सन्ताउन्‍न हजार चार सय थियो।
32 यूसुफको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 33 एप्रैम कुलमा गन्ती गरिएकाहरूको संख्या चालीस हजार पाँच सय थियो।
34 मनस्सेको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 35 मनस्से कुलमा गन्ती गरिएकाहरूको संख्या बत्तीस हजार दुई सय थियो।
36 बिन्यामिनको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 37 बिन्यामिन कुलमा गन्ती गरिएकाहरूको संख्या पैंतीस हजार चार सय थियो।
38 दानको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 39 दान कुलमा गन्ती गरिएकाहरूको संख्या बयसट्ठी हजार सात सय थियो।
40 आशेरको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 41 आशेर कुलमा गन्ती गरिएकाहरूको संख्या एकचालीस हजार पाँच सय थियो।
42 नप्‍तालीको वंशमा: तिनीहरूका वंशावलीअनुसार, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिको हरेक पुरुष अर्थात् लड़ाइँमा जान सक्ने सबैलाई तिनीहरूका नामहरूको संख्याअनुसार एक-एक गरी गन्ती गरियो। 43 नप्‍ताली कुलमा गन्ती गरिएकाहरूको संख्या त्रिपन्‍न हजार चार सय थियो।
44 गन्ती गरिएकाहरू यी नै थिए; तिनीहरूलाई मोशा र हारूनले, साथै ती इस्राएलका शासकहरूले गन्ती गरे; ती बाह्र मानिस, हरेक आ-आफ्ना पुर्खाहरूको घरानाको पक्षमा थिए। 45 यसकारण गन्ती गरिएका यी सबै मानिसहरूचाहिँ इस्राएलका छोराहरूबाट आ-आफ्‍ना पुर्खाहरूको घरानाअनुसार बीस वर्ष र त्यसभन्दा माथिका अर्थात् इस्राएलमा सबै लड़ाइँमा जान सक्नेहरू थिए। 46 अनि ती सबै गन्ती गरिएकाहरूको संख्या छ लाख तीन हजार पाँच सय पचास थियो।
47 तर लेवीहरूचाहिँ उनीहरूका पुर्खाहरूको कुलअनुसार तिनीहरूसँग गन्ती गरिएनन्। 48 किनकि परमप्रभुले मोशालाई यसो भन्‍नुभएको थियो: 49 “लेवी कुललाई मात्र तिमीले गन्ती नगर्नू, न ता इस्राएलीहरूको बीचमा उनीहरूको मुठ संख्या निकाल्नू! 50 तर तिमीले लेवीहरूलाई साक्षीको निवासस्थानमाथि, त्यसका सबै सरसामानहरूमाथि, साथै त्यससँग सम्बन्ध राख्‍ने सबै थोकहरूमाथि नियुक्त गर्नू; निवासस्थान र त्यसका सबै सरसामानहरू उनीहरूले नै बोकून्; अनि उनीहरूले चाहिँ त्यसको सेवा गरून्, र निवासस्थानको वरिपरि पाल टाँगेर बसून्! 51 अनि जब निवासस्थान अघि बढ़्छ, तब लेवीहरूले त्यसलाई तल झारून्; अनि जब निवासस्थान खड़ा गरिन्छ, तब लेवीहरूले त्यसलाई खड़ा गरून्; अनि कुनै पराई मानिस, जो नजिक आउँछ, त्यो मारियोस्! 52 अनि इस्राएलीहरूले आ-आफ्ना दलअनुसार – हरेक मानिसले आफ्नै छाउनीनिर र हरेक मानिसले आफ्नै झण्डानिर – पाल टाँगेर बसून्! 53 तर इस्राएलीहरूको समुदायमाथि क्रोध आइनपरोस् भनेर लेवीहरूचाहिँ साक्षीको निवासस्थानको वरिपरि पाल टाँगेर बसून्; अनि लेवीहरूले साक्षीको निवासस्थानको जिम्मेवारी पूरा गरून्!” 54 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको सबै कुराहरूअनुसार इस्राएलीहरूले गरे; तिनीहरूले त्यस्तै गरे।