लेवी
होमबलि
1
अनि परमप्रभुले मोशालाई बोलाउनुभयो, र भेट हुने पालभित्रबाट उनलाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: तिमीहरूमध्ये कसैले परमप्रभुलाई कुनै भेटी चढ़ाउँछ भने तिमीहरूले पशुहरूबाट, अँ, गाईबस्तुबाट र भेड़ाबाख्राबाट आफ्नो भेटी ल्याउनू! 3 त्यसको भेटीचाहिँ गाईबस्तुबाटको होमबलि हो भने त्यसले एउटा निष्खोट नर चढ़ाओस्; त्यसले परमप्रभुको सामु स्‍वइच्छाले यो भेट हुने पालको ढोकामा चढ़ाओस्, 4 अनि त्यसले यस होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्; अनि यो त्यसका निम्ति प्रायश्‍चित गर्नलाई त्यसका निम्ति ग्रहण गरिनेछ। 5 अनि त्यसले यस जवान बहरलाई परमप्रभुको सामु मारोस्; अनि पूजाहारीहरूले अर्थात् हारूनका छोराहरूले त्यो रगत ल्याऊन् र भेट हुने पालको ढोकानिर भएको वेदीमाथि त्यो रगत चारैतिर छर्कून्! 6 अनि त्यसले यस होमबलिको छाला काढ़ोस्, र यसलाई टुक्रा-टुक्रा पारी काटोस्! 7 अनि पूजाहारी हारूनका छोराहरूले वेदीमाथि आगो राखून्, र आगोमाथि दाउरा मिलाएर राखून्; 8 अनि पूजाहारीहरूले अर्थात् हारूनका छोराहरूले ती टुक्राहरू, त्यो टाउको र बोसो वेदीमाथि भएको आगोमाथि राखिएको दाउरामाथि मिलाएर राखून्; 9 तर यसका आन्द्राभुँड़ी र यसका खुट्टाहरू त्यसले पानीले धोओस्; अनि पूजाहारीले सबै थोकहरू होमबलिको रूपमा वेदीमाथि जलाओस्; यो परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो।
10 अनि होमबलिका निम्ति त्यसको भेटीचाहिँ बगालहरूबाटको अर्थात् भेड़ाहरू वा बाख्राहरूबाटको हो भने त्यसले एउटा निष्खोट नर चढ़ाओस्! 11 अनि त्यसले यसलाई उत्तरपट्टि, वेदीको छेउमा परमप्रभुको सामु मारोस्; अनि पूजाहारीहरूले अर्थात् हारूनका छोराहरूले वेदीमाथि यसको रगत चारैतिर छर्कून्! 12 अनि त्यसले यसलाई, यसको टाउको र यसको बोसोसमेत टुक्रा-टुक्रा पारी काटोस्; अनि पूजाहारीले तिनलाई वेदीमाथि भएको आगोमाथि राखिएको दाउरामाथि मिलाएर राखोस्! 13 तर त्यसले आन्द्राभुँड़ी र खुट्टाहरू पानीले धोओस्; अनि पूजाहारीले सबै थोकहरू ल्याओस् र त्यसलाई वेदीमाथि जलाओस्; यो एउटा होमबलि, परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो।
14 अनि परमप्रभुका निम्ति चढ़ाइने त्यसको भेटीचाहिँ पक्षीहरूबाटको होमबलि हो भने त्यसले ढुकुर वा परेवाका बच्‍चाहरूबाट आफ्नो भेटी ल्याओस्! 15 अनि पूजाहारीले यसलाई वेदीनिर ल्याओस्, यसको टाउको निमोठेर चुँड़ालोस् र यसलाई वेदीमाथि जलाओस्; अनि यसको रगतचाहिँ वेदीको भित्तामा निथारियोस्! 16 अनि त्यसले यसका प्वाँखहरूको साथमा यसको गाँड़ निकालोस्, र यसलाई वेदीको छेउमा, पूर्वपट्टि, खरानी राख्‍ने ठाउँमा फ्याँकोस्; 17 अनि त्यसले यसलाई, यसका पखेटाहरूनिर चिरोस्, तर दुई टुक्रा नपारोस्; अनि पूजाहारीले यसलाई वेदीमाथि, आगोमाथि राखिएको दाउरामाथि जलाओस्; यो एउटा होमबलि, परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो।”