निवास्थान खड़ा गरियो
40
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “पहिलो महिनाको पहिलो दिनमा तिमीले भेट हुने पालको निवासस्थान खड़ा गर्नू! 3 अनि तिमीले त्यसभित्र साक्षीको सन्दुक राख्नू, र सन्दुकलाई बीचको पर्दाले ढाक्नू! 4 अनि तिमीले टेबल भित्र ल्याउनू र त्यसमाथि राख्नुपर्ने कुराहरू क्रमसँग राख्नू; अनि तिमीले सामदान भित्र ल्याउनू र त्यसका दियाहरू बाल्नू! 5 अनि साक्षीको सन्दुकको अघिल्तिर तिमीले धूपका निम्ति सुनको वेदी राख्नू; अनि निवासस्थानको ढोकामा पर्दा लगाउनू! 6 अनि भेट हुने पालको निवासस्थानको ढोकाको सामु तिमीले होमबलिको वेदी राख्नू! 7 अनि भेट हुने पाल र वेदीको बीचमा तिमीले बाटा राख्नू र त्यसमा पानी भर्नू! 8 अनि तिमीले वरिपरि आँगन खड़ा गर्नू, अनि आँगनको ढोकामा पर्दा टाँग्नू! 9 अनि तिमीले अभिषेक गर्ने तेल लिनू, अनि निवासस्थान र त्यसभित्र भएको हरेक थोक अभिषेक गर्नू, र त्यसलाई र त्यसका सबै सामानहरू पवित्र पार्नू! अनि त्यो पवित्र हुनेछ। 10 अनि तिमीले होमबलिको वेदी र त्यसका सबै सामानहरू अभिषेक गर्नू, अनि त्यो परमपवित्र वेदी हुनेछ। 11 अनि तिमीले बाटा र त्यसको खुट्टा अभिषेक गर्नू र त्यसलाई पवित्र पार्नू! 12 अनि तिमीले हारून र उसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याउनू र उनीहरूलाई पानीले नुहाइदिनू! 13 अनि तिमीले हारूनलाई पवित्र वस्त्रहरू पहिर्याइदिनू, उसलाई अभिषेक गर्नू र पवित्र पार्नू, र उसले पूजाहारी-पदमा रहेर मेरो सेवा गरोस्! 14 अनि तिमीले उसका छोराहरूलाई ल्याउनू, र उनीहरूलाई लबेदा पहिर्याइदिनू! 15 अनि उनीहरूका बुबालाई जसरी तिमीले अभिषेक गर्यौ, त्यसरी नै उनीहरूलाई पनि अभिषेक गर, र उनीहरूले पूजाहारी-पदमा रहेर मेरो सेवा गरून्; किनकि निश्चय उनीहरूको अभिषेकचाहिँ उनीहरूका पुस्तौंपुस्तामा सदा रहिरहने पूजाहारी-पद ठहरिनेछ।” 16 अनि मोशाले त्यस्तै गरे; उनले परमप्रभुले उनलाई आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार गरे।17 अनि यस्तो भयो: दोस्रो वर्षको पहिलो महिनामा, त्यस महिनाको पहिलो दिनमा निवासस्थान खड़ा गरियो। 18 अनि मोशाले निवासस्थान खड़ा गरे, त्यसका चूलघरहरू बसाले, त्यसका फल्याकहरू राखे, त्यसका साटाहरू हाले र त्यसका खाँबाहरू खड़ा गरे। 19 अनि उनले निवासस्थानमाथि पाल फैलाए, अनि मास्तिर त्यसमाथि पालको ओढ़ा चढ़ाए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 20 अनि उनले साक्षी-पाटीहरूक लिएर सन्दुकभित्र हाले, सन्दुकमा डण्डाहरू लगाए र मास्तिर सन्दुकमाथि कृपा-आसन राखे। 21 अनि उनले त्यो सन्दुक निवासस्थानभित्र ल्याए, र बीचको पर्दा लगाएर त्यस साक्षीको सन्दुकलाई ढाकिदिए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 22 अनि भेट हुने पालभित्र उनले बीचको पर्दाको बाहिरपट्टि, निवासस्थानको एकापट्टि, उत्तरी भागमा टेबल राखे। 23 अनि उनले त्यसमाथि, परमप्रभुको सामु, रोटीहरू क्रमसँग राखे; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 24 अनि भेट हुने पालभित्र उनले निवासस्थानको एकापट्टि, दक्षिणी भागमा टेबलको सामुन्ने सामदान राखे। 25 अनि उनले परमप्रभुको सामु दियाहरू बाले; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 26 अनि उनले भेट हुने पालभित्र, बीचको पर्दाको अघिल्तिर सुनको वेदी राखे; 27 अनि उनले त्यसमाथि सुगन्धित धूप बाले; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 28 अनि उनले निवासस्थानको ढोकामा पर्दा टाँगे। 29 अनि भेट हुने पालको निवासस्थानको ढोकानिर उनले होमबलिको वेदी राखे, अनि त्यसमाथि होमबलि र अन्नबलि चढ़ाए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 30 अनि उनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी हाले। 31 अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आफ्ना हातहरू र आफ्ना पाउहरू धोए। 32 जब उनीहरू भेट हुने पालभित्र पस्थे र जब उनीहरू वेदीको नजिकमा आउँथे, तब उनीहरूले धुने गर्थे; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 33 अनि उनले निवासस्थान र वेदीको वरिपरि आँगन खड़ा गरे र आँगनको ढोकामा पर्दा लगाए। यस प्रकारले मोशाले काम समाप्त गरे।
निवास्थान परमप्रभुको महिमाले भरियो
34 तब बादलले भेट हुने पाललाई ढाक्यो, र परमप्रभुको महिमाले निवासस्थानलाई भरिदियो। 35 अनि भेट हुने पालमाथि बादल बसिरहेको र परमप्रभुको महिमाले निवासस्थानलाई भरेको हुनाले मोशा त्यसभित्र पस्न सकेनन्। 36 अनि इस्राएलीहरूका सबै यात्राहरूभरि जब-जब निवासस्थानमाथिबाट बादल उठ्थ्यो, तब तिनीहरूले यात्रा गर्थे; 37 तर बादल उठेर गएन भने जुन दिनसम्म त्यो बादलख उठेर जाँदैनथ्यो, त्यस दिनसम्म तिनीहरूले यात्रा गर्दैनथे। 38 किनकि इस्राएलीहरूका सबै यात्राहरूभरि इस्राएलको सारा घरानाको दृष्टिमा परमप्रभुको बादल दिनमा निवासस्थानमाथि रहन्थ्यो अनि राति त्यसमा आगो हुन्थ्यो।