महापूजाहारीका वस्त्रहरू: एपोद
39
अनि तिनीहरूले नीलो, बैजनी र रातो धागोबाट पवित्रस्थानमा सेवा गर्नका निम्ति सेवाका लुगाहरू र हारूनका पवित्र वस्त्रहरू बनाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 2 अनि सुन, नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलबाट तिनले एउटा एपोद बनाए। 3 अनि नीलोसँग, बैजनीसँग, रातोसँग र मिहिन मलमलसँग मिलाएर कलापूर्ण ढङ्गले कपड़ा बुन्‍नलाई तिनीहरूले सुन पिटेर पातला पाताहरू बनाए, र तिनलाई काटेर तारहरू बनाए। 4 तिनीहरूले त्यो एपोद जोड़्नलाई त्यसका निम्ति काँधे-जोर्नीहरू बनाए; त्यसका दुई टुप्पामा त्यो जोड़ियो। 5 अनि एपोदको बुट्टादार कमरपेटी, जो त्यस एपोदमाथि रहन्थ्यो, त्यो त्यसको बनावटअनुसार एकै किसिमको बनेको थियो अर्थात् सुनले, अनि नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलले बनेको थियो; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 6 अनि तिनीहरूले गोमेदका पत्थरहरू सुनका मणिघरहरूमा जड़िएका बनाए, जसमा मोहोर खोपेझैं गरी इस्राएलका छोराहरूका नामहरू खोपिएका थिए। 7 अनि तिनले तिनलाई इस्राएलीहरूको सम्झना गराउने पत्‍थरहरूको रूपमा एपोदका काँधहरूमा लगाए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
छाती-पाता
8 अनि एपोद बनेको ढङ्गमा शिल्पकारको कामअनुसार तिनले एउटा छाती-पाता बनाए, अर्थात् सुनले, अनि नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलले बनाए। 9 त्यो वर्गाकार थियो; तिनीहरूले त्यो छाती-पाता दुईसरो बनाए; त्यसको लमाइ एक बित्ता र त्यसको चौड़ाइ एक बित्ता, अनि दुईसरो थियो। 10 अनि तिनीहरूले त्यसमा चार लहर रत्‍नहरू जड़े: पहिलो लहरमा लालमणि, पुष्पराज र पन्‍ना थिए; त्यो पहिलो लहर थियो। 11 अनि दोस्रो लहरमा हरितमणि, नीरमणि र हीरा; 12 अनि तेस्रो लहरमा धूम्रकान्त, सूर्यकान्त र मर्तिश; 13 अनि चौथो लहरमा फिरोजा, गोमेद र स्फटिक थिए; ती सुनका मणिघरहरूमा जड़िएका थिए। 14 अनि ती रत्‍नहरू इस्राएलका छोराहरूका नामअनुसार थिए, तिनीहरूका नामअनुसार बाह्रवटा; बाह्र कुलअनुसार हरेक रत्‍नमा मोहोर खोपेझैं गरी त्यसको नाम खोपिएको थियो। 15 अनि तिनीहरूले छाती-पाताका किनारहरूमा डोरी बाटेझैं गरी निखुर सुनका सिक्रीहरू बनाए। 16 अनि तिनीहरूले सुनका दुईवटा मणिघर र दुईवटा सुनका मुन्द्री बनाए; अनि ती दुईवटा मुन्द्रीहरू तिनीहरूले छाती-पाताका दुई कुनामा लगाए। 17 अनि तिनीहरूले ती दुईवटा बाटिएका सुनका सिक्रीहरू छाती-पाताका कुनाहरूमा भएका मुन्द्रीहरूमा लगाए। 18 अनि बाटिएका दुईवटा सिक्रीहरूका बाँकी दुई टुप्पाहरू तिनीहरूले ती दुईवटा मणिघरहरूमा जोड़े र तिनलाई एपोदको अघिपट्टि त्यसका काँधे-जोर्नीहरूमा लगाए। 19 अनि तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुई कुनाहरूमा, त्यसको पुछारमा लगाए, जो भित्रपट्टि, एपोदतिर फर्केको छ। 20 अनि तिनीहरूले अरू दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदका दुई काँधहरूमा मुनिपट्टि, एपोदको अघिल्तिर, त्यसको जोर्नीनिर, त्यसको बुट्टादार कमरपेटीको मास्तिर लगाए। 21 अनि त्यो छाती-पाता एपोदको बुट्टादार कमरपेटीको मास्तिर रहोस् र त्यो छाती-पाता एपोदबाट सर्न नपाओस् भनेर तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूसित नीलो फिताले बाँधे; जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
अलखा
22 अनि तिनले बुन्‍ने कामअनुसार एपोदको अलखा पूरै नीलो रङ्गको बनाए। 23 अनि त्यस अलखाको बीचमा कवचको छेंड़जस्तो एउटा छेंड़ थियो; त्यो नफाटोस् भनेर त्यस छेंड़को वरिपरि एउटा बन्धन बनाइएको थियो। 24 अनि तिनीहरूले अलखाको फेरमा नीलो, बैजनी र रातो बाटेको धागोले दारिमहरू बनाए। 25 अनि तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र ती घण्टीहरू अलखाको फेरमा दारिमहरूको बीच-बीचमा लगाए – वरिपरि, दारिमहरूको बीच-बीचमा; 26 सेवा गर्नका निम्ति अलखाको फेरको वरिपरि एउटा घण्टी र एउटा दारिम, एउटा घण्टी र एउटा दारिम गरेर लगाए; जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
हारून र उनका छोराहरूका अरू वस्त्रहरू
27 अनि तिनीहरूले हारून र तिनका छोराहरूका निम्ति बुन्‍ने कामअनुसार मिहिन मलमलका लबेदाहरू, 28 र मिहिन मलमलको एउटा पगरी, मिहिन मलमलका राम्रा-राम्रा टोपीहरू र बाटेका मिहिन मलमलका ठुटे सुरुवालहरू; 29 साथै बाटेको मिहिन मलमल, नीलो, बैजनी र रातो रङ्गको एउटा बुट्टादार कमरपेटी बनाए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 30 अनि तिनीहरूले निखुर सुनको पवित्र मुकुटको एउटा पाता बनाए, र त्यसमा मोहोर खोपेझैं गरी ‘परमप्रभुका निम्ति पवित्रता’ भन्‍ने वचन लेखे। 31 अनि तिनीहरूले त्यसलाई पगरीमा, माथिल्‍लो भागमा लगाउनलाई त्यसमा एउटा नीलो फिता बाँधे; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
निवासस्थानका सबै सामानहरू तयार भए
32 यसरी भेट हुने पालको निवासस्थानको सबै काम समाप्‍त भयो; अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको सबै कुराहरूअनुसार इस्राएलीहरूले गरे; तिनीहरूले त्यस्तै गरे। 33 अनि तिनीहरूले निवासस्थान मोशाकहाँ ल्याए: पाल र त्यसका सबै सामानहरू, त्यसका खीपहरू, त्यसका फल्याकहरू, त्यसका साटाहरू, त्यसका खाँबाहरू र त्यसका चूलघरहरू; 34 साथै रातो रङ्गले रङ्गाइएका भेड़ाका छालाहरूको ओढ़ा, सिलका छालाहरूको ओढ़ा र बीचको पर्दा; 35 साक्षीको सन्दुक र त्यसका डण्‍डाहरू, अनि कृपा-आसन; 36 टेबल र त्यसका सबै सरसामानहरू, अनि भेटीका रोटीहरू; 37 चोखो सामदान, त्यसका दियाहरू, अर्थात् सजाएर राख्‍ने दियाहरू र त्यसका सबै सामानहरू, अनि उज्यालोका निम्ति तेल; 38 साथै सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप र निवासस्थानको ढोकाको पर्दा; 39 पित्तलको वेदी, त्यसको पित्तलको चाल्नी, त्यसका डण्‍डाहरू र त्यसका सबै सामानहरू; बाटा र त्यसको खुट्टा; 40 आँगनका पर्दाहरू, त्यसका खाँबाहरू र त्यसका चूलघरहरू, साथै आँगनको ढोकाको पर्दा, त्यसका डोरीहरू, त्यसका कीलाहरू र भेट हुने पालका निम्ति निवासस्थानको सेवाका सबै सामानहरू; 41 पवित्रस्थानमा सेवा गर्नका निम्ति सेवाका लुगाहरू, पूजाहारी हारूनका निम्ति पवित्र वस्त्रहरू र पूजाहारी-पदमा रहेर सेवा गर्नलाई उसका छोराहरूका वस्त्रहरू। 42 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार इस्राएलीहरूले सबै काम गरे। 43 अनि मोशाले सबै काम हेरे; अनि हेर, जस्तो परमप्रभुले आज्ञा गर्नुभएको थियो, त्यस्तै तिनीहरूले त्यो गरेका थिए; अँ, त्यस्तै तिनीहरूले गरेका थिए; तब मोशाले तिनीहरूलाई आशिर्वाद दिए।