प्रस्थान
मिस्र देशमा इस्राएलीहरूको कष्‍टले पूर्ण जनजीवन
1
अब मिस्रमा आएका इस्राएलका सन्तानका नामहरू यी हुन्; हरेक मानिस र तिनको घराना याकूबसँग आए। 2 रूबेन, शिमोन, लेवी र यहूदा, 3 इस्साकार, जबूलून र बिन्यामिन, 4 दान र नप्‍ताली, गाद र आशेर। 5 अनि याकूबको शरीरबाट निस्‍केर आएका सबै प्राणीहरू सत्तरीजना थिए; किनकि यूसुफ अघिबाटै मिस्रमा थिए। 6 अनि यूसुफ, उनका सबै दाजुभाइहरू र त्यस पुस्ताका सबैजना मरे। 7 अनि इस्राएलीहरू फल्दै-फुल्दै गए, प्रशस्त गरी फैलिए, संख्यामा बढ़्दै गए, र अत्यन्तै शक्तिशाली भए, यहाँसम्म कि देश तिनीहरूले भरियो।
8 अब मिस्रमा एक नयाँ राजा उठे, जसले यूसुफलाई चिन्दैनथिए। 9 अनि तिनले आफ्नो प्रजालाई भने: “हेर, इस्राएलीहरूको यो जाति हामीभन्दा धेरै र शक्तिशाली छ; 10 आओ, हामी उनीहरूसित बुद्धिमानीसाथ व्यवहार गरौं, नत्र उनीहरू संख्यामा बढ़्दै जालान्, र यस्तो होला, कि जब कुनै लड़ाइँ चल्‍ला, तब उनीहरूचाहिँ हाम्रा शत्रुहरूसँग मिल्‍लान्, र हाम्रो विरोधमा लड़ाइँ गर्लान्‌ र यस देशबाट निस्केर जालान्!” 11 यसकारण तिनीहरूले उनीहरूलाई आफ्ना भारीहरू लदाएर कष्‍ट दिनका निम्ति उनीहरूमाथि उनीहरूलाई काममा जोत्‍ने नाइकेहरू खटाए; अनि उनीहरूले फाराओका निम्ति पितोम र रामसेस भन्‍ने भण्डार-शहरहरू बनाए।
12 तर तिनीहरूले उनीहरूलाई जति बढ़ी कष्‍ट दिए, त्यत्ति नै बढ़ी उनीहरू संख्यामा बढ़्दै गए, र फैलिँदै गए; यसकारण तिनीहरू इस्राएलीहरूको कारणले विरक्त भए। 13 अनि मिस्रीहरूले इस्राएलीहरूलाई कठोरतासाथ काममा जोते; 14 अनि तिनीहरूले चिम्टे माटो, इँटा र खेतबारीको सबै किसिमको काममा कठोर परिश्रम गराएर उनीहरूको जीवन तीतो पारिदिए; तिनीहरूले उनीहरूलाई जति काम गर्न लगाउँथे, उनीहरूको त्यो सबै काम कठोरतासाथ लगाइन्थ्यो।
15 अनि मिस्रका राजाले हिब्रू सुँड़िनीहरूलाई भने, जसमा एउटीको नाम शिप्रा, र अर्कीको नाम पूआ थियो; 16 अनि तिनले भने: “जब तिमीहरू हिब्रू स्त्रीहरूमा सुँड़िनीको काम गर्छौ, र तिनीहरूलाई जन्माउने पिरामा बसेका देख्छौ – यदि त्यो छोरा हो भने त्यसलाई मारिदेओ, तर छोरी हो भने त्यो बाँचोस्!” 17 तर ती सुँड़िनीहरूले परमेश्‍वरको डर मान्थे, र मिस्रका राजाले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले गरेनन्, तर छोराहरूलाई पनि जिउँदै छोड़िदिन्थे। 18 अनि मिस्रका राजाले ती सुँड़िनीहरूलाई बोलाएर भने: “तिमीहरूले यस्तो काम किन गर्‍यौ, र छोराहरूलाई पनि जिउँदै छोड़िदिएका छौ?” 19 अनि सुँड़िनीहरूले फाराओलाई भने: “किनकि हिब्रू स्त्रीहरू मिस्री स्त्रीहरूजस्ता हुँदैनन्; तिनीहरू तागतिला हुन्छन्, र सुँड़िनीहरू तिनीहरूकहाँ आउनुभन्दा अघि नै जन्माइसक्छन्।” 20 यसकारण परमेश्‍वरले ती सुँड़िनीहरूसँग भलाइ गर्नुभयो; अनि इस्राएली मानिसहरू संख्यामा बढ़्दै गए, र अत्यन्तै शक्तिशाली भए। 21 अनि यस्तो भयो: ती सुँड़िनीहरूले परमेश्‍वरको डर मानेका हुनाले उहाँले तिनीहरूका घरहरू बनाउनुभयो। 22 अनि फाराओले आफ्नो सारा प्रजालाई यसो भन्दै आज्ञा गरे: “तिमीहरूले हरेक छोरालाई, जो जन्मन्छ, नदीमा फालिदिनू, तर हरेक छोरीलाई जिउँदो छोड़्‍नू!”