कनान देशमा याकूबको दफन
50
अनि यूसुफ आफ्ना बुबाको अनुहारमा घोप्‍टो परेर उनको गलामा रोए, र उनलाई चुम्बन गरे। 2 अनि यूसुफले आफ्ना दासहरू अर्थात् वैद्यहरूलाई आफ्ना बुबाको लासमा सुगन्धित द्रव्य लगाउने आज्ञा दिए; अनि वैद्यहरूले इस्राएलको लासमा सुगन्धित द्रव्य लगाए। 3 अनि उनका निम्ति चालीस दिन पूरा भए; किनकि सुगन्धित द्रव्य लगाइने दिनहरू यसरी नै पूरा गरिन्छन्; अनि मिस्रीहरूले उनका निम्ति सत्तरी दिन विलाप गरे। 4 अनि विलापका दिनहरू बितेपछि यूसुफले फाराओको घरानालाई यसो भने: “मैले तपाईंहरूका आँखामा अनुग्रह पाएको छु भने म तपाईंहरूलाई विन्‍ती गर्दछु, फाराओका कानमा यसो भनिदिनुहोस्! 5 मेरा बुबाले मलाई यसो भन्दै शपथ खान लगाउनुभयो: ‘हेर, म मर्न लागेको छु; मेरो चिहानमा, जो मैले कनान देशमा आफ्ना निम्ति खनेको छु, त्यहाँ मलाई गाड़िदेऊ!’ त्‍यसकारण अब, म तपाईंलाई विन्‍ती गर्दछु, म माथि जान र मेरा बुबालाई गाड़्‍न पाऊँ, अनि म फेरि फर्केर आउनेछु।” 6 अनि फाराओले भने: “जाऊ, र तिम्रा बुबाले तिमीलाई शपथ खान लगाएअनुसार उनलाई गाड़िदेऊ!” 7 तब यूसुफ आफ्ना बुबालाई गाड़्‍न माथि गए; अनि उनको साथमा फाराओका कर्मचारीहरू, तिनका घरानाका बूढ़ा प्रधानहरू र मिस्र देशका सबै बूढ़ा प्रधानहरू, 8 साथै यूसुफको सारा घराना, उनका दाजुभाइहरू र उनका बुबाको घराना माथि गए। उनीहरूले आफ्ना बालबच्‍चाहरूलाई, आफ्ना भेड़ाबाख्राहरू र आफ्ना गाईबस्तुहरू मात्र गोशेन प्रदेशमा छोड़िराखे। 9 अनि उनको साथमा रथहरू र घोड़चढ़ीहरू पनि माथि गए, अनि त्यो एउटा अत्यन्तै ठूलो दल थियो। 10 अनि उनीहरू आतादको खलामा आइपुगे, जुन खला यर्दनको पारिपट्टि छ; अनि त्यहाँ उनीहरूले ठूलो र बड़ो भारी विलौना गरी विलाप गरे; अनि उनले आफ्ना बुबाका निम्ति सात दिनको विलाप गराए। 11 अनि जब त्‍यस देशका बासिन्दाहरूले अर्थात् कनानीहरूले आतादको खलामा गरिएको विलाप देखे, तब तिनीहरूले भने: “यो त मिस्रीहरूको भारी विलाप रहेछ।” यसैकारण त्‍यस ठाउँको नाम ‘आबेल-मिस्रैम’ राखियो, जुन ठाउँ यर्दनको पारिपट्टि छ। 12 अनि याकूबका छोराहरूले उनले उनीहरूलाई आज्ञा गरेमुताबिक उनका निम्ति गरे। 13 किनकि उनका छोराहरूले उनलाई कनान देशमा लगे र उनलाई मक्पेलाको जमिनको ओड़ारमा गाड़िदिए, जुन ओड़ार अब्राहामले मम्रेको सामु हित्ती एप्रोनबाट कब्रस्तानको निज जमिनको रूपमा किनेका थिए।
यूसुफको सच्‍चरित्र
14 अनि यूसुफले आफ्ना बुबालाई गाड़िसकेपछि मिस्रमा फर्के – उनी र उनका दाजुभाइहरू; अनि जतिजना उनको साथमा उनका बुबालाई गाड़्‍न माथि गएका थिए, ती सबैजना फर्के। 15 अनि आफ्ना बुबालाई मरेका देखेर यूसुफका दाजुभाइहरूले आपसमा भने: “शायद यूसुफले हामीलाई घृणा गर्लान्, र हामीलाई हामीले उनलाई गरेका सबै खराबीको बदला अवश्‍य हामीलाई देलान्!” 16 अनि उनीहरूले यूसुफकहाँ यसो भनेर पठाए: “तपाईंका पिताले आफू मर्नुभन्दा अघि यसो भनेर आज्ञा गर्नुभएको छ: 17 ‘तिमीहरूले यूसुफलाई यसो भन्‍नू: “हामी तपाईंलाई विन्‍ती गर्दछौं, तपाईंका दाजुहरूको अपराध र उनीहरूको पाप क्षमा गर्नुहोस्; किनकि उनीहरूले तपाईंलाई खराबी गरे” ’; अनि अब, हामी तपाईंलाई विन्‍ती गर्दछौं, तपाईंका पिताका परमेश्‍वरका दासहरूको अपराध क्षमा गर्नुहोस्!” जब उनीहरूले तिनलाई यो कुरा भने, तब यूसुफ रोए। 18 अनि उनका दाजुभाइहरूचाहिँ आए, उनको सामु भुइँमा लम्पसार परे, र भने: “हेर्नुहोस्, हामी तपाईंका दासहरू हौं।” 19 अनि यूसुफले उनीहरूलाई भने: “नडराओ; किनभने के म परमेश्‍वरको स्थानमा छु र? 20 तर तिमीहरू – तिमीहरूले चाहिँ मेरो विरोधमा खराबी गर्ने विचार गर्‍यौ; तर यसैमा परमेश्‍वरले भलाइ गर्ने विचार गर्नुभयो: आज भइरहेको कुरा पूरा गर्नलाई अर्थात् धेरै मानिसहरूको प्राण बचाउनलाई। 21 यसकारण, अब नडराओ; म तिमीहरूलाई र तिमीहरूका बालबच्‍चाहरूलाई पालनपोषण गर्ने नै छु।” अनि उनले उनीहरूलाई सान्‍त्‍वना दिए, र उनीहरूसित हृदय छुने कुरा गरे।
यूसुफको मृत्यु
22 अनि यूसुफ मिस्रमा बसे – उनी र उनका बुबाको घराना। अनि यूसुफ एक सय दस वर्ष बाँचे। 23 अनि यूसुफले एप्रैमका नातीपनातिसम्म देखे; मनस्सेको छोरा माकिरका छोराछोरीहरू पनि यूसुफकै घुँड़ामा हुर्काइए 24 अनि यूसुफले आफ्ना दाजुभाइहरूलाई भने: “म मर्न लागेको छु; अनि परमेश्‍वरले निश्‍चय तिमीहरूलाई भेट्नुहुनेछ, र तिमीहरूलाई यस देशबाट निकालेर त्‍यस देशमा पुर्‍याउनुहुनेछ, जसको विषयमा उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभयो।” 25 अनि यूसुफले इस्राएलका सन्तानहरूलाई यसो भनेर शपथ खान लगाए: “परमेश्‍वरले निश्‍चय तिमीहरूलाई भेट्नुहुनेछ; अनि तिमीहरूले मेरा हड्डीहरू यहाँबाट लैजानू!” 26 अनि यूसुफ एक सय दस वर्षका भएर मरे। अनि उनीहरूले तिनको लासमा सुगन्धित द्रव्य लगाए, र तिनलाई मिस्रमा एउटा बाकसमा राखे।