अन्‍नबलि
2
“अनि कसैले परमप्रभुलाई अन्‍नबलिको भेटी चढ़ाउने इच्छा गर्छ भने त्यसको भेटी मैदाको होस्; अनि त्यसले यसमाथि तेल खन्याओस्, र यसमाथि लोबान हालोस्! 2 अनि त्यसल यो हारूनका छोराहरू अर्थात् पूजाहारीहरूकहाँ ल्याओस्; र यसबाट उसले यसको मैदा र यसको तेलबाट आफ्नो मुठीभरि मैदा, साथै यसको सबै लोबान निकालोस्; अनि पूजाहारीले यसको सम्झना गराउने भाग वेदीमाथि जलाओस्; यो परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो। 3 अनि अन्‍नबलिको रहेको भागचाहिँ हारून र उसका छोराहरूको हुनेछ; आगोले चढ़ाइएका परमप्रभुका बलिहरूमा योचाहिँ परमपवित्र बलि हो।
4 अनि तिमीले तन्दुरमा पकाएको अन्‍नबलिको भेटी ल्यायौ भने यो तेल मिसाइएका मैदाका अखमिरे फुरौलाहरू होस् अथवा तेल घसिएका अखमिरे बाबरहरू होस्! 5 अनि तिम्रो भेटीचाहिँ तावामा पकाएको अन्‍नबलि हो भने यो मैदाको होस्, तेल मिसाइएको, अखमिरे होस्! 6 तिमीले यसलाई टुक्रा-टुक्रा पार्नू, र यसमाथि तेल खन्याउनू; यो अन्‍नबलि हो। 7 अनि तिम्रो भेटीचाहिँ ताईमा पकाएको अन्‍नबलि हो भने योचाहिँ मैदाको, तेलसित बनाइयोस्! 8 अनि तिमीले यी कुराहरूले बनेको अन्‍नबलि परमप्रभुकहाँ ल्याउनू; अनि जब यो पूजाहारीकहाँ ल्याइन्छ, तब उसले यसलाई वेदीनिर ल्याओस्! 9 अनि पूजाहारीले यस अन्‍नबलिबाट यसको सम्झना गराउने भाग निकालोस्, र यसलाई वेदीमाथि जलाओस्; यो परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो। 10 अनि अन्‍नबलिको रहेको भागचाहिँ हारून र उसका छोराहरूको हुनेछ; आगोले चढ़ाइएका परमप्रभुका बलिहरूमा योचाहिँ परमपवित्र बलि हो।
11 तिमीहरूले परमप्रभुकहाँ ल्याउने जुनसुकै अन्‍नबलि खमिरसित नबनाइयोस्; किनकि परमप्रभुका निम्ति आगोले चढ़ाइएको कुनै पनि बलिमा तिमीहरूले कुनै खमिर र कुनै मह नजलाउनू! 12 पहिलो फलको भेटीको रूपमा तिमीहरूले यी थोकहरू परमप्रभुका निम्ति चढ़ाउनू; तर मीठो बास्‍ना हुनका निम्ति यी थोकहरू वेदीमाथि नजलाइऊन्! 13 अनि तिम्रा अन्‍नबलिका सबै भेटीहरू तिमीले नुनले नुनिलो पार्नू; तिमीले आफ्नो अन्‍नबलिलाई आफ्ना परमेश्‍वरको वाचाको नुनविनाको हुन नदिनू; तिम्रा सबै भेटीहरूको साथमा तिमीले नुन चढ़ाउनू! 14 अनि तिमी परमप्रभुलाई आफ्ना पहिला फलहरूको अन्‍नबलि चढ़ाउँछौ भने तिमीले आफ्ना पहिला फलहरूको अन्‍नबलिको रूपमा आगोमा पोलेका हरिया बालाहरू अथवा माड़िएको नयाँ अन्‍न चढ़ाउनू! 15 अनि तिमीले यसमाथि तेल लगाउनू, र यसमाथि लोबान राख्‍नू! यो अन्‍नबलि हो। 16 अनि पूजाहारीले यसको सम्झना गराउने भागबाट अर्थात् यसको माड़िएको अन्‍नबाट केही भाग र यसको तेलबाट केही भाग यसको सबै लोबानको साथमा जलाउनू! परमप्रभुका निम्ति योचाहिँ आगोले चढ़ाइएको बलि हो।”