भाकलहरूको सम्बन्धमा नियमहरू
27
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब कुनै मानिसले एउटा विशेष भाकल गर्दछ, तब तिम्रो मूल्याङ्कनअनुसार ती मानिसहरू परमप्रभुका हुनेछन्। 3 अनि बीस वर्षदेखि साठी वर्षसम्‍मको पुरुषका निम्ति तिम्रो मूल्याङ्कन हुने हो भने तिम्रो मूल्याङ्कन पवित्रस्थानको शेकेलअनुसार चाँदीको पचास शेकेल होस्! 4 अनि यदि त्यो स्त्री हो भने तिम्रो मूल्याङ्कन तीस शेकेल होस्! 5 अनि पाँच वर्षदेखि बीस वर्षसम्‍मका छन् भने पुरुषका निम्ति तिम्रो मूल्याङ्कन बीस शेकेल र स्त्रीका निम्ति दस शेकेल होस्! 6 अनि एक महिनादेखि पाँच वर्षसम्‍मका छन् भने पुरुषका निम्ति तिम्रो मूल्याङ्कन चाँदीको पाँच शेकेल र स्त्रीका निम्ति तिम्रो मूल्याङ्कन चाँदीको तीन शेकेल होस्! 7 अनि साठी वर्षका र त्यसभन्दा माथिका छन् भने, पुरुष हो भने तिम्रो मूल्याङ्कन पन्ध्र शेकेल र स्त्रीका निम्ति दस शेकेल होस्! 8 तर कोही तिमीले तोकेको मूल्याङ्कनभन्दा गरिब छ भने त्यो पूजाहारीको सामु खड़ा होस्, अनि पूजाहारीले त्यसको दाम तोकोस्। त्यस भाकल गर्नेको औकातअनुसार पूजाहारीले त्यसको दाम तोकोस्!
9 अनि त्यो पशुको हो भने, जसबाट मानिसहरूले परमप्रभुलाई भेटी चढ़ाउँछन्, त्यस्ता पशुहरूबाट जे परमप्रभुकहाँ ल्याइन्छ, यो सब पवित्र ठहरिनेछ। 10 त्यसले यसलाई नसाटोस्; न ता खराबको सट्टामा असल, न ता असलको सट्टामा खराब साटोस्; अनि कदाचित त्यसले पशुको सट्टामा पशु दिएर साट्छ भने यो र यसको सट्टामा ल्याएको दुवै पवित्र ठहरिनेछन्। 11 अनि त्यो कुनै अशुद्ध पशु हो भने, जसबाट मानिसहरूले परमप्रभुलाई बलि चढ़ाउँदैनन्, तब त्यसले यस पशुलाई पूजाहारीको सामु ल्याओस्! 12 अनि यो असल छ कि खराब छ भनी खुट्‍ट्याउँदै पूजाहारीले यसको मूल्याङ्कन गरोस्; तिमीले, जो पूजाहारी हौ, जति तोक्छौ, यसको दाम त्यति नै हुनेछ। 13 तर कदाचित् त्यसले यसलाई दाम तिरेर छुटाउन चाहन्छ भने त्यसले तिमीले तोकेको दाममा त्यसको पाँचौं भाग थपोस्!
14 अनि जब कसैले आफ्नो घर परमप्रभुका निम्ति पवित्र ठहरिनलाई पवित्र पार्छ, तब यो असल छ कि खराब छ भनी खुट्ट्याउँदै पूजाहारीले यसको मूल्याङ्कन गरोस्; पूजाहारीले जति तोक्छ, यसको दाम त्यति नै हुनेछ। 15 अनि यसलाई पवित्र पार्नेले आफ्नो घर दाम तिरेर छुटाउन चाहन्छ भने त्यसले यसमा तिमीले मूल्याङ्कन गरेको पैसाको पाँचौं भाग थपोस्, र यो त्यसको हुनेछ।
16 अनि कसैले आफ्नो अधिकारको भागको खेतबारीको केही भाग परमप्रभुका निम्ति पवित्र पार्छ भने तिम्रो मूल्याङ्कन त्यसमा लाग्‍ने बीउअनुसार भएको होस्, अर्थात् एक होमेर जौको बीउमाथि चाँदीको पचास शेकेल तोकियोस्! 17 यदि त्यसले जुबिली वर्षमा नै आफ्नो खेतबारी पवित्र तुल्यायो भने तिमीले तोकेअनुसार नै त्यसको दाम ठहरियोस्! 18 यदि त्यसले जुबिलीपछि आफ्नो खेतबारी पवित्र पार्छ भने पूजाहारीले अर्को जुबिली वर्षसम्‍म बाँकी रहेका वर्षहरूअनुसार त्यसका निम्ति पैसा हिसाब गरोस्, र तिमीले तोकेको दामबाट त्यो घटाइयोस्! 19 अनि त्यो खेतबारी पवित्र पार्नेले कदाचित त्यसलाई दाम तिरेर छुटाउन चाहन्छ भने त्यसले त्यसमा तिमीले मूल्याङ्कन गरेको पैसाको पाँचौं भाग थपोस्, र त्यो त्यसैको हुनेछ। 20 अनि त्यसले त्यो खेतबारी दाम तिरेर छुटाउन चाहँदैन भने, अथवा त्यसले त्यो खेतबारी अरू कुनै मानिसलाई बेचेको छ भने, त्यो कहिल्यै छुटाइनेछैन। 21 तर जब त्यो खेतबारी जुबिलीमा छुट्छ, तब अर्पण गरिएको खेतबारीजस्तै त्यो परमप्रभुका निम्ति पवित्र ठहरिनेछ; त्यो पूजाहारीकै अधिकारको भाग हुनेछ।
22 अनि यदि कसैले आफूले किनेको खेतबारी परमप्रभुका निम्ति पवित्र पार्छ भने, जोचाहिँ त्यसको अधिकारको भागका खेतबारीहरूबाटको होइन, 23 पूजाहारीले त्यसका निम्ति अर्को जुबिली वर्षसम्‍म तिमीले मूल्याङ्कन गरेको दामको हिसाब गरिदेओस्; अनि त्यही दिन त्यसले तिमीले तोकेको दाम परमप्रभुका निम्ति पवित्र वस्तुको रूपमा देओस्! 24 जुबिली वर्षमा जसबाट त्यो खेतबारी किनिएको थियो अर्थात् त्यो जमिन जसको अधिकारको भाग थियो, त्यसैकहाँ त्यो फिर्ता जाओस्!
25 अनि तिमीले तोकेका सबै दामहरू पवित्रस्थानको शेकेलअनुसारका होऊन्; बीस गेराको एक शेकेल हुन्‍छ।
26 पशुहरूको पहिलो जन्मेकोलाई मात्र – यो पहिलो जन्मेको परमप्रभुकै हो – कसैले पनि पवित्र नपारोस्; चाहे त्यो बहर होस्, चाहे भेड़ा होस्, त्यो परमप्रभुकै हो। 27 अनि यदि त्यो अशुद्ध पशुको हो भने तिमीले तोकेको दामअनुसार त्यसले यसलाई दाम तिरेर छुटाओस्, र त्यसले यसमा यसको पाँचौं भाग थपोस्; अनि यदि यो छुटाइँदैन भने तिमीले तोकेको दामअनुसार यो बेचिओस्!
28 तरै पनि कसैले आफूसँग भएका सबै थोकहरूबाट जे कुरा परमप्रभुका निम्ति अर्पण गर्दछ, चाहे मानिसबाटको वा पशुबाटको होस्, चाहे त्यसको अधिकारको भागको खेतबारीबाटको होस्, त्यो न ता बेचियोस्, न छुटाइयोस्; अर्पण गरिएको हरेक थोक परमप्रभुका निम्ति परमपवित्र हो। 29 मानिसहरूबाट अर्पण गरिएको जुनसुकै वस्‍तु जो अर्पण गरिन्‍छ, त्‍यो नछुटाइयोस्; त्यो निश्‍चय नै मारियोस्!
30 अनि जमिनको सारा दसौं अंश परमप्रभुको हो, चाहे त्यो जमिनको बीउको होस्, चाहे रूखको फलको होस्; त्यो परमप्रभुका निम्ति पवित्र हो। 31 अनि कसैले कदाचित आफ्ना दसौं अंशहरूबाट केही दाम तिरेर छुटाउन चाहन्छ भने त्यसले यसमा यसको पाँचौं भाग थपोस्! 32 अनि गाईबस्तुको, वा भेड़ाबाख्राको सबै दसौं अंश अर्थात् गन्ती गर्ने लट्ठीमुनिबाट छिरेर जाने हरेक दसौंचाहिँ परमप्रभुका निम्ति पवित्र ठहरिनेछ। 33 त्यसले त्यो असल छ कि खराब छ भनी नखोजोस्, न ता यसलाई साटोस्; कदाचित त्यसले यसलाई साट्छ भने यो र यसको सट्टामा ल्याएको दुवै पवित्र ठहरिनेछन्; यो नछुटाइयोस्!”
34 सिनाई पर्वतमा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन्।