आज्ञाकारिताको प्रतिफल
26
“तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाउनू, न ता तिमीहरूले आफ्ना निम्ति खोपेको मूर्ति वा खाँबो खड़ा गर्नू, न ता तिमीहरूले आफ्नो देशमा ढुङ्गाको मूर्ति, त्यसलाई दण्‍डवत्‌ गर्न भनी खड़ा गर्नू; किनकि म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ। 2 तिमीहरूले मेरा विश्रामदिनहरू मान्‍नू, र मेरो पवित्रस्थानप्रति भक्तिभय राख्‍नू; म नै परमप्रभु हुँ।
3 तिमीहरू मेरा विधिहरूमा हिँड्यौ भने, र मेरा आज्ञाहरू मानेर तिनलाई पूरा गर्‍यौ भने, 4 म तिमीहरूलाई ठीक समयमा वर्षा दिनेछु, जमिनले आफ्नो उब्जनी फलाउनेछ र खेतबारीका रूखहरूले आफ्नो फल दिनेछन्। 5 यहाँसम्‍म कि अङ्‍गुर टिप्‍ने समयसम्‍म पनि तिमीहरू अन्‍न झाँटिरहेका हुन्छौ; र बीउ छर्ने समयसम्‍म पनि तिमीहरू अङ्‍गुर टिपिरहेका हुन्छौ; अनि तिमीहरूले आफ्नो रोटी पेटभर खानेछौ, र आफ्नो देशमा सुरक्षित बस्‍नेछौ। 6 अनि म देशमा शान्ति दिनेछु; तिमीहरू आरामसँग ढल्कनेछौ, र कसैले तिमीहरूलाई भयभीत तुल्याउँदैन; म दुष्‍ट पशुहरू देशबाट निकालिदिनेछु, न ता तिमीहरूको देशमा तरवार चल्नेछ। 7 अनि तिमीहरूले आफ्ना शत्रुहरूलाई लखेट्नेछौ; अनि तिनीहरू तिमीहरूको सामु तरवारद्वारा ढालिनेछन्। 8 अनि तिमीहरूका पाँचजनाले एक सयलाई लखेट्नेछन्, र तिमीहरूका एक सय जनाले दस हजारलाई लखेट्नेछन्; अनि तिमीहरूका शत्रुहरू तिमीहरूको सामु तरवारद्वारा ढालिनेछन्। 9 म आफ्नो चेहरा तिमीहरूतर्फ फिराउनेछु, तिमीहरूलाई फलवान् तुल्याउनेछु र तिमीहरूलाई संख्यामा बढ़ाउनेछु, अनि तिमीहरूसँग आफ्नो वाचा पक्‍का ठहराउनेछु। 10 अनि तिमीहरूले राखेको पुरानो अन्‍नबाट खानेछौ, र नयाँको कारणले पुरानो अन्‍न निकाल्नेछौ। 11 अनि तिमीहरूको बीचमा म आफ्नो निवासस्थान खड़ा गर्नेछु; अनि मेरो मनले तिमीहरूलाई घृणा गर्नेछैन। 12 अनि म तिमीहरूको बीचमा हिँड़्डुल गर्नेछु, र तिमीहरूको परमेश्‍वर हुनेछु, अनि तिमीहरू मेरो प्रजा हुनेछौ। 13 म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ; तिमीहरू तिनीहरूका कमारा हुन नपरोस् भनी मैले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याएँ; अनि मैले तिमीहरूको जुवाका सोइलाहरू भाँचिदिएको छु, र तिमीहरूलाई सीधा भएर हिँड़्‍ने तुल्याएको छु।”
अनाज्ञाकारिताको प्रतिफल दण्ड
14 “तर तिमीहरू मेरो कुरा सुन्दैनौ र यी सबै आज्ञाहरू पालन गर्दैनौ भने, 15 अनि तिमीहरू मेरा विधिहरूलाई तुच्छ ठान्छौ भने, वा तिमीहरूको मनले मेरा नियमहरूलाई घृणा गर्छ भने, जसले गर्दा तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्दैनौ, तर मेरो वाचा तोड़्छौ भने, 16 म पनि तिमीहरूका निम्ति यही गर्नेछु: म तिमीहरूमाथि डरत्रास नियुक्त गर्नेछु, क्षय रोग र भुङ्ग्रे ज्वरो पठाउनेछु, जसले आँखाहरूको शक्ति नष्‍ट पार्छन् र मनलाई खिन्‍न बनाउँछन्; अनि तिमीहरू आफ्नो बीउ व्यर्थमा छर्नेछौ; किनकि तिमीहरूका शत्रुहरूले त्यसलाई खानेछन्। 17 अनि म तिमीहरूको विरोधमा उठ्नेछु, र तिमीहरू आफ्ना शत्रुहरूको सामु हार्नेछौ; अनि तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्; अनि कसैले तिमीहरूलाई नखेदीकनै तिमीहरू भाग्‍नेछौ।
18 अनि यी कुराहरू भएर पनि तिमीहरूले मेरो कुरा मानेनौ भने तिमीहरूका पापहरूको खातिर म तिमीहरूलाई सात गुणा बढ़ी ताड़ना दिनेछु। 19 अनि म तिमीहरूको शक्तिको घमण्ड तोड़िदिनेछु; अनि म तिमीहरूको आकाशलाई फलामजस्तो र तिमीहरूको पृथ्वीलाई पित्तलजस्तो पारिदिनेछु। 20 अनि तिमीहरूको बल व्यर्थमा खर्च हुनेछ; किनकि तिमीहरूको जमिनले आफ्नो उब्जनी दिनेछैन, न ता तिमीहरूको जमिनका रूखहरूले आफ्नो फल दिनेछन्।
21 अनि यदि तिमीहरू मेरो विरोधमा चल्छौ, र मेरो कुरा मानेनौ भने, तिमीहरूका पापहरूअनुसार म तिमीहरूमाथि सात गुणा बढ़ी विपत्ति ल्याउनेछु। 22 अनि म तिमीहरूको बीचमा जङ्गली पशुहरू पठाउनेछु, जसले तिमीहरूका छोराछोरीहरूलाई खोसेर लैजानेछन्, तिमीहरूका गाईबस्तुहरू नाश गर्नेछन् र तिमीहरूको संख्या थोरै पार्नेछन्; अनि तिमीहरूका सड़कहरू सुनसान हुनेछन्।
23 अनि यी कुराहरू भएर पनि तिमीहरू मद्वारा सुध्रिँदैनौ, बरु मेरा विरोधमा चल्छौ भने, 24 म पनि तिमीहरूको विरोधमा चल्नेछु, र तिमीहरूका पापहरूको खातिर तिमीहरूलाई अझै सात गुणा बढ़ी दण्ड दिनेछु। 25 अनि म तिमीहरूमाथि एउटा तरवार ल्याउनेछु, जसले निश्‍चय नै मेरो वाचाको बदला लिनेछ; जब तिमीहरू आफ्ना शहरहरूभित्र भेला हुन्छौ, तब म तिमीहरूको बीचमा महामारी पठाउनेछु; अनि तिमीहरू शत्रुको हातमा सुम्पिइनेछौ। 26 जब म तिमीहरूको रोटीको लौरो तोड़िदिन्छु, तब दसजना स्त्रीहरूले एउटै तन्दुरमा तिमीहरूको रोटी पोल्नेछन्, अनि तिनीहरूले तिमीहरूको रोटी तौली-तौली फर्काउनेछन्; अनि तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ।
27 अनि यी कुराहरू भएर पनि तिमीहरूले मेरो कुरा मानेनौ, तर मेरो विरोधमा चल्छौ भने, 28 म पनि तातो रिसले तिमीहरूको विरोधमा चल्नेछु, अनि तिमीहरूका पापहरूको खातिर म, अँ, म नै तिमीहरूलाई सात गुणा बढ़ी ताड़ना दिनेछु। 29 अनि तिमीहरूले आफ्ना छोराहरूको मासु खानेछौ; अनि तिमीहरूले आफ्ना छोरीहरूको मासु खानेछौ। 30 अनि म तिमीहरूका उच्‍च स्थानहरू नष्‍ट गर्नेछु र तिमीहरूका मूर्तिहरू काटेर ढालिदिनेछु; अनि तिमीहरूका लासहरू म तिमीहरूका मूर्तिहरूका लासहरूमाथि फ्याँकिदिनेछु; अनि मेरो मनले तिमीहरूलाई घृणा गर्नेछ। 31 अनि म तिमीहरूका शहरहरू ध्वंस पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरू उजाड़ पारिदिनेछु; अनि म तिमीहरूको मीठो बास्‍ना सुँघ्‍नेछैनँ। 32 अनि म त्यो देश उजाड़ पारिदिनेछु; अनि त्यसभित्र बस्‍ने तिमीहरूका शत्रुहरू त्यो देखेर अवाक् हुनेछन्। 33 अनि म तिमीहरूलाई अन्यजातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिमीहरूको पछि-पछि तरवार थुतेर चलाउनेछु; अनि तिमीहरूको देश उजाड़ हुनेछ, र तिमीहरूका शहरहरू ध्वंस हुनेछन्।
34 तब जति दिनसम्‍म यो उजाड़ रहन्छ, र तिमीहरू आफ्ना शत्रुहरूको देशमा रहन्छौ, त्यति दिनसम्‍म यस देशले आफ्ना विश्रामदिनहरूको उपभोग गर्नेछ; तब यस देशले विश्राम लिनेछ र आफ्ना विश्रामदिनहरूको उपभोग गर्नेछ। 35 जति दिनसम्‍म यो उजाड़ रहन्छ, त्यति दिनसम्‍म यसले विश्राम लिनेछ; किनकि तिमीहरू यसमा बसुन्जेल तिमीहरूका विश्रामदिनहरूमा यसले विश्राम लिन पाएन। 36 अनि तिमीहरूमध्ये जतिजना जीवित छोड़िएका छन्, तिनीहरूका शत्रुहरूका देशहरूमा म तिनीहरूका हृदयमा काँतरता पठाउनेछु; अनि हल्‍लिएको पातको आवाजले पनि तिनीहरूलाई लखेट्नेछ; अनि तरवारबाट भागेझैं गरी तिनीहरू भाग्‍नेछन्; अनि कसैले नलखेटीकनै तिनीहरू लोट्नेछन्। 37 अनि कसैले नलखेटीकनै तरवारको सामु परेझैं गरी तिनीहरू एकमाथि अर्को लोट्नेछन्; अनि आफ्ना शत्रुहरूको सामु खड़ा रहने तिनीहरूमा शक्ति नै हुनेछैन। 38 अनि तिमीहरू अन्यजातिहरूको बीचमा नष्‍ट हुनेछौ; अनि तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई खानेछ। 39 अनि तिमीहरूमध्ये जतिजना बाँकी रहेका छन्, तिनीहरू तिमीहरूका शत्रुहरूका देशहरूमा आफ्नो अधर्ममा खिइँदै जानेछन्, अँ, आफ्ना पितापुर्खाहरूका अधर्महरूमा पनि तिनीहरू उनीहरूसितै खिइँदै जानेछन्।
40 यदि तिनीहरूले आफ्नो अधर्म र आफ्ना पितापुर्खाहरूको अधर्म, साथै मेरो विरोधमा गरेको तिनीहरूको अपराध मानिलिए भने – अनि तिनीहरू मेरो विपरीत चलेका छन्, 41 यसैले म पनि तिनीहरूको विपरीत चलेको छु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पुर्‍याएको छु – यदि त्यस बेला तिनीहरूका खतना नगरिएको हृदय नम्र पारिन्छ भने, र त्यस बेला तिनीहरूले आफ्नो अधर्मको दण्ड ग्रहण गर्छन् भने, 42 म याकूबसितको मेरो वाचा, र इसहाकसितको मेरो वाचा पनि सम्झना गर्नेछु, साथै अब्राहामसितको मेरो वाचा म सम्झना गर्नेछु; अनि म यस देशको सम्झना गर्नेछु। 43 यो देश पनि तिनीहरूद्वारा छोड़िनेछ, र तिनीहरूविना उजाड़ रहँदा आफ्ना विश्रामदिनहरूको उपभोग गर्नेछ; अनि तिनीहरूले आफ्नो अधर्मको दण्ड ग्रहण गर्नेछन्; किनकि, अँ, किनकि तिनीहरूले मेरा नियमहरूलाई तुच्छ ठाने, र तिनीहरूको मनले मेरा विधिहरूलाई घृणा गर्‍यो। 44 अनि यी कुराहरू भएर पनि तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुँदा म तिनीहरूलाई अफाल्नेछैनँ, न ता तिनीहरूलाई पूरा रीतिले नष्‍ट गर्न र तिनीहरूसित बाँधिएको मेरो वाचा तोड़नका निम्ति म तिनीहरूलाई घृणा गर्नेछु; किनकि म नै परमप्रभु तिनीहरूको परमेश्‍वर हुँ। 45 तर म तिनीहरूकै निम्ति तिनीहरूका पुर्खाहरूको वाचा सम्झना गर्नेछु, जसलाई मैले म उनीहरूको परमेश्‍वर होऊँ भनेर अन्यजातिहरूका आँखाको सामु मिस्र देशबाट निकालेर ल्याएँ; म नै परमप्रभु हुँ।”
46 सिनाई पर्वतमा मोशाको हातद्वारा परमप्रभुले आफू र इस्रालीहरूको बीचमा ठहराउनुभएका विधिहरू, नियमहरू र व्यवस्थाहरू यी नै हुन्।