विश्राम वर्ष र जुबिली वर्ष
25
अनि सिनाई पर्वतमा परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब तिमीहरू त्यस देशभित्र आउँछौ, जो म तिमीहरूलाई दिन्छु, तब जमिनले परमप्रभुका निम्ति विश्रामदिनको विश्राम लेओस्! 3 छ वर्षसम्‍म तिमीले आफ्नो जमिनमा बीउ छर्नू; अनि छ वर्षसम्‍म तिमीले आफ्नो दाखबारी छिँवल्नू र त्यसको फल बटुल्नू; 4 तर सातौं वर्षमा चाहिँ जमिनका निम्ति विश्राम लिने विश्रामदिन – परमप्रभुका निम्ति एउटा विश्रामदिन हुनेछ; तिमीले न ता आफ्नो जमिनमा बीउ छर्नू, न ता आफ्नो दाखबारी छिँवल्नू! 5 तिम्रो फसल भित्र्याएपछि जे आफै-आफ उम्रन्छ, त्यसलाई तिमीले कटनी नगर्नू, न ता नछिँवलेको दाखको बोटबाट तिमीले अङ्‍गुर बटुल्नू; किनभने जमिनका निम्ति यो विश्रामको वर्ष हो। 6 अनि यस जमिनको विश्राम तिमीहरूका निम्ति भोजन बन्‍नेछ; तिम्रा निम्ति, तिम्रो दास र तिम्री दासीका निम्ति, तिम्रा ज्यालामा काम गर्ने नोकर र तिमीसँग बसोबास गर्ने परदेशीका निम्ति; 7 अनि तिम्रा गाईबस्तु र तिम्रो जमिनमा भएका पशुप्राणीका निम्ति त्यसबाटको सबै उब्जनी भोजन हुनेछ।
8 अनि तिमीले आफ्ना निम्ति सात विश्राम-वर्षहरू गन्ती गर्नू, सात गुणा सात वर्ष; अनि यी सातवटा विश्राम वर्षहरू तिम्रा निम्ति उनन्चास वर्ष हुनेछन्। 9 तब तिमीले सातौं महिनाको दसौं दिनमा तुरहीको ध्वनि फुक्न लाउनू अर्थात् त्यस प्रायश्‍चितको दिनमा तिमीहरूले तिमीहरूको सारा देशभरि नै तुरही फुक्न लाउनू! 10 अनि तिमीहरूले पचासौं वर्षलाई पवित्र मान्‍नू, र सारा देशभरि त्यसका बासिन्दाहरूलाई छुटकाराको घोषणा गर्नू; तिमीहरूका निम्ति यो वर्ष जुबिली हुनेछ; अनि तिमीहरू हरेक आ-आफ्नो अधिकारको भागमा फर्किजानू, र तिमीहरू हरेक आ-आफ्नो परिवारमा फर्किजानू! 11 त्यो पचासौं वर्षचाहिँ तिमीहरूका निम्ति एउटा जुबिली हुनेछ; तिमीहरूले न ता बीउ छर्नू, न ता आफै-आफ उम्रेका अन्‍नको कटनी गर्नू, न ता त्यसमा नछिँवलेको दाखको बोटबाट अङ्‍गुर बटुल्नू! 12 किनकि यो जुबिली हो; तिमीहरूका निम्ति यो पवित्र हुनेछ; तिमीहरूले खेतबारीबाट त्यसको उब्जनी खानू! 13 यस जुबिली वर्षमा तिमीहरू हरेक आ-आफ्नो अधिकारको भागमा फर्किजानू!
14 अनि जब तिमीहरू आफ्नो छिमेकीलाई केही बेच्छौ, वा आफ्नो छिमेकीको हातबाट केही किन्छौ, तब तिमीहरूले एक-अर्कालाई थिचोमिचो नगर्नू! 15 जुबिलीपछिका बाँकी वर्षहरूको संख्याअनुसार तिमीले आफ्नो छिमेकीबाट किन्‍नू; अनि उब्जनीका वर्षहरूको संख्याअनुसार त्यसले तिमीलाई बेचोस्! 16 वर्षहरू धेरै छन् भने तिमीले त्यसको दाम बढ़ाउनू; वर्षहरू थोरै छन् भने तिमीले त्यसको दाम घटाउनू; किनकि उब्जनीका वर्षहरूको संख्याअनुसार त्यसले तिमीलाई बेच्छ। 17 यसकारण तिमीहरूले एक-अर्कालाई थिचोमिचो नगर्नू; तर तिमीले आफ्नो परमेश्‍वरको डर मान्‍नू; किनकि म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।
18 अनि तिमीहरूले मेरा विधिहरू पूरा गर्नू, मेरा नियमहरू पालन गर्नू र तिनैलाई मान्‍नू; तब तिमीहरू त्यस देशमा सुरक्षित बस्‍नेछौ। 19 अनि जमिनले आफ्नो फल दिनेछ; अनि तिमीहरूले पेटभर खानेछौ, र त्यसमा सुरक्षित बस्‍नेछौ। 20 अनि यदि ‘सातौं वर्षमा हामी के खाऔं? हेर, हामी न ता छर्छौं, न ता आफ्नो उब्जनी बटुल्छौं’ भनी तिमीहरू भन्छौ भने, 21 छैटौं वर्षमा म आफ्नो आशिष्‌ तिमीहरूमाथि आओस् भनी आज्ञा दिनेछु, र त्यसले तीन वर्षका निम्ति उब्जनी दिनेछ। 22 अनि आठौं वर्षमा तिमीहरूले छर्नेछौ, र नवौं वर्षसम्‍म पुरानो उब्जनीबाटै खानेछौ; त्यसको उब्जनी भित्र नआएसम्‍म तिमीहरूले पुरानो अन्‍नबाटै खानेछौ।
23 जमिन सदाका निम्ति नबेचियोस्; किनभने जमिन मेरो हो; किनकि तिमीहरू मेरा साथमा परदेशी र प्रवासीहरू हौ। 24 अनि तिमीहरूको अधिकारको सम्पूर्ण देशमा तिमीहरूले जमिन दाम तिरेर जमिन छुटाउन दिनू! 25 यदि तिम्रो भाइ गरिब भएको छ, र आफ्नो अधिकारको भागमध्ये केही बेचेको छ भने, र त्यसका नजिकका आफन्तहरूमध्ये कोही यसलाई छुटाउन आउँछ भने त्यसले आफ्नो भाइले बेचेको जमिन दाम तिरेर छुटाओस्! 26 तर त्यस मान्छेको छुटाउनेवाला कोही छैन भने, तर त्यसको हातले कमाएको छ, र यसलाई छुटाउन त्यससँग औकात छ भने, 27 त त्यसले यो जमिन बेचिएका वर्षहरू गन्ती गरोस्, अनि बाँकी रहेका वर्षको दाम त्यस मानिसलाई फर्काइदेओस्, जसलाई त्यसले यो बेचेको थियो, र त्यो आफ्नो अधिकारको भागमा फर्किजाओस्! 28 तर उसलाई दाम फर्काइदिने त्यसको औकात छैन भने त्यसले बेचेको जमिन जुबिली वर्षसम्‍म यसलाई किन्‍नेकै हातमा रहोस्; अनि जुबिलीमा यो छुटोस्, र त्यो आफ्नो अधिकारको भागमा फर्किजाओस्!
29 अनि कुनै मानिसले पर्खालले घेरिएको शहरभित्रको बस्‍ने घर बेच्यो भने यो बेचिएको समयदेखि पूरा एक वर्षभित्र त्यसले यसलाई दाम तिरेर छुटाओस्; पूरा एक वर्षभित्र त्यसले यसलाई दाम तिरेर छुटाउन पाउनेछ। 30 अनि पूरा एक वर्षभित्र यो छुटाइएन भने पर्खालले घेरिएको शहरभित्रको यो घर, यसलाई किन्‍नेको पुस्तौंपुस्तासम्‍म सदाका निम्ति त्यसैको रहनेछ; जुबिलीमा पनि यो नछुटोस्! 31 तर वरिपरि पर्खाल नभएका गाउँका घरहरूचाहिँ देशका खेतबारीहरूझैं ठहरिनेछन्; तिनलाई दाम तिरेर छुटाउन सकिन्छ, र ती जुबिलीमा छुट्नेछन् पनि। 32 तरै पनि लेवीहरूका शहरहरू, र उनीहरूको अधिकारमा रहेका शहरहरूका घरहरू लेवीहरूले जहिले पनि दाम तिरेर छुटाउन सक्छन्। 33 अनि कसैले लेवीहरूबाट केही किनेको छ भने बेचिएको त्यो घर र उसको अधिकारमा रहेको त्यो शहर जुबिली वर्षमा छुट्नेछन्; किनकि लेवीहरूका शहरहरूका ती घरहरू इस्राएलीहरूको बीचमा उनीहरूको अधिकारको भाग हो। 34 तर उनीहरूका शहरहरूको वरिपरिको जमिनचाहिँ नबेचिओस्; किनकि यो सदाका निम्ति उनीहरूको अधिकारको भाग हो।
35 अनि तिम्रो भाइ गरिब भएको छ, र तिमीसित बसेर त्यसको आर्थिक अवस्था कमजोर भएको छ भने तिमीले त्यसलाई परदेशी वा प्रवासीलाई झैं सहायता दिनू, र उसले तिमीसँग जिउन पाओस्! 36 तिमीले त्यससँगबाट ब्याज वा बढ़्ती नलिनू; तर तिमीले आफ्नो परमेश्‍वरको डर मान्‍नू; र तिम्रो भाइले तिमीसँग जिउन पाओस्! 37 तिमीले त्यसलाई पैसा ब्याजमा नदिनू, न ता बढ्तीमा त्यसलाई आफ्नो भोजन-वस्तु दिनू! 38 म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ; मैले तिमीहरूलाई कनान देश दिन र तिमीहरूको परमेश्‍वर हुनका निम्ति तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याएँ।
39 अनि तिमीसित रहने तिम्रो भाइ गरिब भयो र तिम्रो हातमा बेचियो भने तिमीले त्यसलाई कमाराझैं काममा नजोत्‍नू! 40 तर त्यो तिमीसित ज्यालामा काम गर्ने नोकरजस्तो, एउटा प्रवासीजस्तो भएर बसोस्, र जुबिली वर्षसम्‍म तिम्रो सेवा गरोस्; 41 तब ऊ तिमीकहाँबाट निस्कोस् – ऊ र उसको साथमा त्यसका छोराछोरीहरू – र आफ्नो परिवारकहाँ फर्केर जाओस्; अनि त्यो आफ्नो पितापुर्खाहरूको अधिकारको भागमा फर्केर जाओस्! 42 किनकि तिनीहरू मेरा दासहरू हुन्, जसलाई मैले मिस्र देशबाट निकालेर ल्याएँ; तिनीहरू कमाराहरूझैं नबेचिऊन्! 43 तिमीले उसमाथि कठोरतापूर्वक अधिकार नजमाउनू; तर तिमीले आफ्नो परमेश्‍वरको डर मान्‍नू! 44 तिमीसँग हुने तिम्रा कमाराहरू र तिम्रा कमारीहरू दुवै तिमीहरूको वरिपरि बस्‍ने अन्यजातिहरूबाटका होऊन्; तिनीहरूबाटै तिमीहरूले कमाराहरू र कमारीहरू किन्‍नू! 45 अनि तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीहरूका सन्तानबाट नै, अँ, तिनीहरूबाट र तिनीहरूले तिमीहरूको देशमा जन्माएका तिनीहरूका परिवारहरूबाट तिमीहरूले किन्‍नू; अनि तिनीहरू तिमीहरूको सम्पत्ति हुनेछन्। 46 अनि तिमीहरूपछि तिमीहरूका सन्तानका निम्ति अधिकारको भाग हुनलाई तिमीहरूले तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा लिनू; तिनीहरू सदाका निम्ति तिमीहरूका कमारा होऊन्; तर तिमीहरूका जातिभाइ अर्थात् इस्राएलीहरूको विषयमा चाहिँ – तिमीहरूले एक-अर्कामाथि कठोरतापूर्वक अधिकार नजमाउनू!
47 अनि तिमीसँग रहने कुनै परदेशी वा प्रवासी धनी भयो भने, अनि त्यसकै छेउमा बस्‍ने तिम्रो भाइचाहिँ गरिब भयो, र तिमीसँग रहेको त्यस परदेशी वा प्रवासीको हातमा, अथवा त्यस परदेशीको परिवारको कुनै सन्तानको हातमा त्यसले आफूलाई बेच्यो भने, 48 त्यो बेचिएपछि पनि त्यसलाई दाम तिरेर छुटाउन सकिन्छ; त्यसका दाजुभाइहरूमध्ये कसैले त्यसलाई दाम तिरेर छुटाओस्! 49 कि ता त्यसको काकाले, कि ता उसको काकाको छोराले उसलाई दाम तिरेर छुटाओस्; अथवा उसको परिवारमध्ये उसको नजिकको कुनै नातेदारले उसलाई दाम तिरेर छुटाओस्; अथवा उसको औकात पुग्यो भने उसले आफैलाई दाम तिरेर छुटाओस्! 50 अनि उसले आफूलाई किन्‍नेसँग मिलेर आफू बेचिएको वर्षदेखि जुबिली वर्षसम्‍म गन्ती गरोस्, अनि उसको बिक्रीको दामचाहिँ वर्षहरूको संख्याअनुसार हुनेछ; ज्यालामा काम गर्ने नोकरका दिनहरूअनुसार त्यो यससँग रहनेछ। 51 अझै पनि धेरै वर्ष बाँकी रहेका छन् भने ती वर्षहरूअनुसार उसले आफ्नो बिक्रीको दामबाट आफ्नो छुटकाराको दाम फर्काइदेओस्! 52 अनि जुबिली वर्षसम्‍म पुग्‍न थोरै वर्ष मात्र बाँकी छन् भने उसले यससँग मिलेर वर्षको गन्ती गरोस् र आफ्‍ना वर्षहरूअनुसार यसलाई आफ्नो छुटकाराको दाम फर्काइदेओस्; 53 वर्ष प्रतिवर्ष ज्यालामा काम गर्ने नोकरजस्तै ऊ यससँग रहोस्; अनि तिम्रा आँखाको सामु यसले ऊमाथि कठोरतापूर्वक अधिकार नजमाओस्! 54 अनि यी वर्षहरूमा ऊ दाम तिरेर छुटाइएन भने जुबिली वर्षमा त्यो र उसका साथमा उसका छोराछोरीहरू छुटून्! 55 किनकि इस्राएलीहरू मेरा दासहरू हुन्; तिनीहरू मेरा दासहरू हुन्, जसलाई मैले मिस्र देशबाट निकालेर ल्याएँ; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।”