पवित्रस्थानमा दियाहरू र भेटीका रोटीहरू
24
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “उज्यालोका निम्ति दियो निरन्‍तर बालिराख्‍न इस्राएलीहरूले तिमीकहाँ कुटेको जैतुनको शुद्ध तेल ल्याऊन् भनी तिनीहरूलाई आज्ञा गर! 3 भेट हुने पालमा साक्षीको बीचको पर्दाको बाहिरपट्टि हारूनले त्यसलाई परमप्रभुको सामु बेलुकादेखि बिहानसम्‍म निरन्‍तर सजाइराखून्; तिमीहरूका पुस्तौंपुस्तासम्‍म यो सदा रहिरहने विधि होस्! 4 निरन्‍तर उसले यी दियाहरू परमप्रभुको सामु चोखो सामदानमाथि सजाएर राखोस्!
5 अनि तिमीले मैदा लिनू, र त्यसबाट बाह्रवटा रोटी पकाउनू; हरेक रोटीमा एपाको दस भागको दुई भाग मैदा होस्! 6 अनि तिमीले तिनलाई परमप्रभुको सामु चोखो टेबलमाथि दुई लहर पारेर, एक लहरमा छवटा हुने गरी मिलाएर राख! 7 अनि तिमीले हरेक लहरमाथि शुद्ध लोबान राख्‍नू, र त्यस रोटीमाथि यो सम्झना-स्वरूप रहोस्, अँ, परमप्रभुका निम्ति आगोले चढ़ाइएको बलि होस्! 8 हरेक विश्रामदिन निरन्‍तर उसले त्यसलाई परमप्रभुको सामु सजाएर राखोस्; इस्राएलीहरूको तर्फबाट, एउटा अनन्त वाचा! 9 अनि त्यो हारून र उसका छोराहरूको हुनेछ; अनि उनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्; किनकि सदा रहिरहने विधिअनुसार आगोले चढ़ाइएका परमप्रभुका बलिहरूमा यो उसका निम्ति परमपवित्र हो।”
10 अनि एउटी इस्राएली स्त्रीको छोरो, जसको बुबा एउटा मिस्री थियो, निस्केर इस्राएलीहरूको बीचमा गयो; अनि त्यस इस्राएली स्त्रीको छोरो र एउटा इस्राएली मानिसले छाउनीमा झगड़ा गरे; 11 अनि त्यस इस्राएली स्त्रीको छोराले परमप्रभुको नामको निन्दा गर्‍यो, र सराप्यो। अनि तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए; (त्यसकी आमाको नाम शलोमीत थियो, दान कुलको दिब्रीकी छोरी थिई।) 12 अनि तिनीहरूकहाँ परमप्रभुको मन प्रकट होस् भनेर तिनीहरूले त्यसलाई थुनामा राखे।
13 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 14 “जसले सरापेको छ, त्यसलाई छाउनीबाहिर लैजाऊ; अनि जतिले त्यसको श्राप सुनेका छन्, तिनीहरूले त्यसको टाउकोमाथि आफ्ना हातहरू राखून्, अनि सम्पूर्ण समुदायले त्यसलाई ढुङ्गाले हानोस्! 15 अनि तिमीले इस्राएलीहरूलाई यसो भन: हरेक जसले आफ्ना परमेश्‍वरलाई सराप्छ, त्यसले आफ्नो पापको फल भोग्‍नुपर्छ। 16 अनि जसले परमप्रभुको नामको निन्दा गर्छ, त्यो निश्‍चय नै मारियोस्; सम्पूर्ण समुदायले त्यसलाई निश्‍चय नै ढुङ्गाले हानोस्; चाहे त्यो परदेशी, चाहे स्वदेशी होस्, जब त्यसले परमप्रभुको नामको निन्दा गर्छ, तब त्यो मारियोस्! 17 अनि जसले कुनै मानिसलाई मार्छ, त्यो निश्‍चय नै मारियोस्! 18 अनि जसले कुनै पशुलाई मार्छ, त्यसले भर्ना तिरोस्; पशुको बदलामा पशु। 19 अनि कुनै मानिसले आफ्नो छिमेकीलाई खोट लगायो भने, जस्तो त्यसले गरेको छ, त्यससँग त्यस्तै गरियोस्! 20 चोटको बदलामा चोट, आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत; जस्तो खोट त्यसले कुनै मानिसलाई लगाएको छ, त्यससँग त्यस्तै गरियोस्! 21 अनि जसले पशुलाई मार्छ, त्यसले त्यसको भर्ना तिरोस्; अनि जसले मानिसलई मार्छ, त्यो मारियोस्! 22 तिमीहरूको व्यवस्था एउटै होस्; जस्तो परदेशीका निम्ति, त्यस्तै स्वदेशीका निम्ति होस्; किनकि म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।” 23 अनि मोशाले इस्राएलीहरूलाई भने: “जसले सरापेको थियो, त्यसलाई छाउनीबाहिर लैजाओ र त्यसलाई ढुङ्गाले हान!” अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले गरे।