परमप्रभुका चाड़हरू
23
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: परमप्रभुका चाड़हरू, जो तिमीहरूले पवित्र सभाहरू हुन् भनी घोषणा गर्नुपर्छ; मेरा चाड़हरू यिनै हुन्:
3 छ दिनसम्‍म काम गरियोस्; तर सातौं दिनचाहिँ विश्राम लिने विश्रामदिन, एउटा पवित्र सभा हो; यस दिन तिमीहरूले कुनै काम नगर्नू; तिमीहरूका सबै वासस्थानहरूमा यो परमप्रभुको विश्रामदिन हो।
निस्तार चाड़ र अखमिरे रोटीहरूको चाड़
4 यी परमप्रभुका चाड़हरू अर्थात् पवित्र सभाहरू हुन्, जो तिमीहरूले तिनीहरूका तोकिएका समयहरूमा घोषणा गर्नू: 5 पहिलो महिनाको चौधौं दिन, साँझमा परमप्रभुको निस्तार चाड़ हो। 6 अनि त्यही महिनाको पन्ध्रौं दिनमा परमप्रभुका निम्ति अखमिरे रोटीहरूको चाड़ हो; सात दिनसम्‍म तिमीहरूले अखमिरे रोटीहरू खानुपर्छ। 7 पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्; त्यस दिनमा तिमीहरूले परिश्रमको कुनै काम नगर्नू! 8 तर सात दिनसम्‍म तिमीहरूले परमप्रभुलाई आगोले चढ़ाइने बलि चढ़ाउनू; सातौं दिनमा एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू!”
पहिलो फलको चाड़
9 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 10 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब तिमीहरू त्यस देशभित्र आउँछौ, जो म तिमीहरूलाई दिन्छु, र त्यसको फसल काटौला; तब तिमीहरूले तिमीहरूको बालीको पहिलोफलको एउटा बिटा पूजाहारीकहाँ ल्याउनू! 11 अनि उसले त्यो बिटा तिमीहरूका निम्ति ग्रहण गरिनलाई परमप्रभुको सामु डोलाओस्; विश्रामदिनको भोलिपल्ट पूजाहारीले त्यसलाई डोलाओस्! 12 अनि त्यो बिटा डोलाउने दिनमा तिमीहरूले परमप्रभुलाई भेड़ाको पहिलो वर्षको निष्खोट पाठो होमबलिको रूपमा चढ़ाउनू! 13 अनि त्यसको अन्‍नबलिचाहिँ एपाको दस भागका दुई भाग तेलसँग मिसिएको मैदाको होस् – त्यो परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि होस्; अनि त्यसको अर्घबलिचाहिँ हिनको चौथाइ दाखमद्य होस्! 14 अनि त्यस दिनसम्‍म अर्थात् तिमीहरूले आफ्ना परमेश्‍वरकहाँ त्यो भेटी ल्याएको दिनसम्‍म तिमीहरूले न रोटी, न भुटेको अन्‍न, न हरिया बाला खानू; तिमीहरूका सबै वासस्थानहरूमा यो तिमीहरूका पुस्तौंपुस्तासम्‍म सदा रहिरहने विधि हुनेछ।
हप्‍ताहरूको चाड़ अर्थात् पेन्टेकोस्ट
15 अनि त्यस विश्रामदिनको भोलिपल्टदेखि अर्थात् तिमीहरूले डोलाउने भेटीको बिटा ल्याएको दिनदेखि तिमीहरूले आफ्ना निम्ति गन्ती गर्नू; सातवटा विश्रामदिन पूरा होऊन्! 16 अँ, सातौं विश्रामदिनको भोलिपल्टसम्‍म तिमीहरूले पचास दिन गन्ती गर्नू; तब तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नबलि चढ़ाउनू! 17 तिमीहरूले आफ्ना वासस्थानहरूबाट एपाको दस भागमा दुई भागको डोलाउने भेटीका दुईवटा रोटी ल्याउनू; ती मैदाका होऊन्; ती खमिरसित पकाइएका होऊन्; ती परमप्रभुका निम्ति पहिलोफलहरू हुन्। 18 अनि तिमीहरूले ती रोटीहरूसित पहिलो वर्षका सातवटा निष्खोट भेड़ाका पाठाहरू, एउटा जवान बहर, र दुईवटा भेड़ाहरू चढ़ाउनू; ती तिनको अन्‍नबलि र तिनका अर्घबलिहरूको साथमा परमप्रभुका निम्ति होमबलि होऊन्; परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि होऊन्! 19 तब तिमीहरूले पापबलिका निम्ति बाख्राको एउटा पाठो र मेलबलिका निम्ति भेड़ाका पहिलो वर्षका दुईवटा पाठाहरू बलि चढ़ाउनू! 20 अनि पूजाहारीले तिनलाई पहिलो फलका रोटीहरूको साथमा – भेड़ाका यी दुईवटा पाठाको साथमा – डोलाउने भेटीको रूपमा परमप्रभुको सामु डोलाओस्; ती परमप्रभुका निम्ति पवित्र हुनेछन्, र पूजाहारीका हुन्। 21 अनि त्यही दिन नै तिमीहरूले ‘यो तिमीहरूका निम्ति पवित्र सभा हो’ भनी घोषणा गर्नू; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू; तिमीहरूका सबै वासस्थानहरूमा यो तिमीहरूका पुस्तौंपुस्तासम्‍म सदा रहिरहने विधि हुनेछ। 22 अनि जब तिमीहरूले आफ्नो देशको फसल काट्छौ, तब कटनी गर्दा तिमीले आफ्नो खेतबारीको छेउ-छेउसम्‍म सफाचट गरी नकाट्नू, र आफ्नो बालीको सिलाबाला नटिप्‍नू; तिमीले तिनलाई गरिब र परदेशीका निम्ति छोड़िदिनू; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।”
तुरहीको चाड़
23 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 24 “इस्राएलीहरूलाई यसो भन: सातौं महिनामा, त्यस महिनाको पहिलो दिनमा तिमीहरूको एउटा विश्रामदिन हुनेछ, एउटा सम्झना गराउने तुरही-फुकाइ, एउटा पवित्र सभा हुनेछ। 25 त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू; तर तिमीहरूले परमप्रभुका निम्ति आगोले चढ़ाइने बलि चढ़ाउनू!”
प्रायश्‍चितको दिन
26 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 27 “निश्‍चय नै सातौं महिनाको दसौं दिनमा प्रायश्‍चितको दिन हुनेछ; तिमीहरूका निम्ति यो एउटा पवित्र सभा हुनेछ; अनि तिमीहरूले आफ्ना प्राणहरूलाई कष्‍ट दिनू, र परमप्रभुका निम्ति आगोले चढ़ाइने बलि चढ़ाउनू! 28 अनि त्यही दिन तिमीहरूले कुनै काम नगर्नू; किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूका निम्ति प्रायश्‍चित गर्नलाई यो प्रायश्‍चितको दिन हो। 29 किनकि जो कोही व्यक्ति होस्, जसले त्यही दिन आफूलाई कष्‍ट दिँदैन, त्यो व्यक्ति आफ्ना मानिसहरूको बीचबाट नामेट गरियोस्! 30 अनि हरेक व्यक्ति, जसले त्यही दिन कुनै काम गर्छ, त्यस व्यक्तिलाई म त्यसका मानिसहरूको बीचबाट नाश गर्नेछु। 31 तिमीहरूले कुनै पनि किसिमको काम नगर्नू; तिमीहरूका सबै वासस्थानहरूमा यो तिमीहरूका पुस्तौंपुस्तासम्‍म सदा रहिरहने विधि हुनेछ। 32 तिमीहरूका निम्ति यो विश्राम गर्ने विश्रामदिन हुनेछ; अनि तिमीहरूले आफ्ना प्राणहरूलाई कष्‍ट दिनू; त्यस महिनाको नवौं दिनको साँझमा, त्यस बेलुकादेखि अर्को बेलुकासम्‍म तिमीहरूले तिमीहरूको विश्रामदिनको विश्राम लिनू!”
झुपड़ीहरूको चाड़
33 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 34 “इस्राएलीहरूलाई यसो भन: यो सातौं महिनाको पन्ध्रौं दिनमा सात दिनसम्‍म परमप्रभुका निम्ति झुपड़ीहरूको चाड़ हुनेछ। 35 पहिलो दिनमा एउटा पवित्र सभा हुनेछ; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू! 36 सात दिनसम्‍म तिमीहरूले परमप्रभुका निम्ति आगोले चढ़ाइने बलि चढ़ाउनू; आठौं दिनमा तिमीहरूका निम्ति एउटा पवित्र सभा हुनेछ; अनि तिमीहरूले परमप्रभुका निम्ति आगोले चढ़ाइने बलि चढ़ाउनू; योचाहिँ महासभा हो; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू!
37 परमप्रभुका चाड़हरू यी नै हुन्, जुन चाड़हरू परमप्रभुका निम्ति आगोले चढ़ाइने बलि – होमबलि, अन्‍नबलि, बलिदान र अर्घबलिहरू – हरेक थोक त्यसको आफ्नै दिनमा चढ़ाउनका निम्ति पवित्र सभाहरू हुन् भनी तिमीहरूले घोषणा गर्नू; 38 परमप्रभुका विश्रामदिनहरूबाहेक, तिमीहरूका भेटीहरूबाहेक, तिमीहरूका सबै भाकलहरूबाहेक र तिमीहरूका सबै स्वेच्छा-दानहरूबाहेक, जो तिमीहरूले परमप्रभुलाई दिन्छौ। 39 निश्‍चय नै सातौं महिनाको पन्ध्रौं दिनमा, जब तिमीहरूले जमिनको उब्जनी उठाइसक्छौ, तब तिमीहरूले सात दिनसम्‍म परमप्रभुको चाड़ मनाउनू; पहिलो दिन एउटा विश्रामदिन हुनेछ, र आठौं दिन एउटा विश्रामदिन हुनेछ। 40 अनि पहिलो दिन तिमीहरूले आफ्ना निम्ति सुन्दर रूखहरूका हाँगाहरू, खजूरका रूखहरूका हाँगाहरू, झ्याम्म परेका रूखहरूका र खोलाका बैंसका रूखहरूका हाँगाहरू ल्याउनू; अनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूले सात दिनसम्‍म आनन्द मनाउनू! 41 अनि तिमीहरूले वर्षमा सात दिन परमप्रभुका निम्ति यो चाड़ मनाउनू; तिमीहरूका पुस्तौंपुस्तासम्‍म यो सदा रहिरहने विधि हुनेछ; सातौं महिनामा तिमीहरूले यो मनाउनू! 42 सात दिनसम्‍म तिमीहरू झुपड़ीहरूमा बस्‍नू; सबै जन्मकै इस्राएलीहरू झुपड़ीहरूमा बसून्; 43 र मैले इस्राएलीहरूलाई मिस्र देशबाट निकालेर ल्याउँदा मैले तिनीहरूलाई झुपड़ीहरूमा बस्‍न लगाएको थिएँ भनी तिमीहरूका पुस्ताहरूले जानून्; म नै परमप्रभु तिमीहरूको परमेश्‍वर हुँ।” 44 अनि मोशाले इस्राएलीहरूलाई परमप्रभुका चाड़हरूको विषयमा घोषणा गरे।