पवित्र वस्तुहरू र बलिका पशुहरूको सम्बन्धमा पूजाहारीहरूलाई दिइएका नियमहरू
22
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “हारून र उसका छोराहरूलाई भन, र उनीहरूले आफूलाई इस्राएलीहरूका पवित्र वस्तुहरूबाट अलग राखून्, नत्र तिनीहरूले मेरा निम्ति पवित्र गरिएका वस्तुहरूमा उनीहरूले मेरो पवित्र नाम अपवित्र तुल्याउँछन्; म नै परमप्रभु हुँ। 3 उनीहरूलाई भन: तिमीहरूका पुस्तौंपुस्तामा तिमीहरूका सबै सन्तानहरूमध्ये हरेक जो आफ्नो अशुद्धता आफूमाथि हुँदा ती पवित्र वस्तुहरूनिर जान्छ, जुन पवित्र वस्तुहरू इस्राएलीहरूले परमप्रभुका निम्ति पवित्र गर्दछन्, त्यो व्यक्ति मेरो सामुबाट नामेट गरियोस्; म नै परमप्रभु हुँ। 4 हारूनको सन्तानमा हरेक जो कोरी वा प्रमेही हो, उसले आफू शुद्ध नहोउन्जेल पवित्र वस्तुहरूबाट नखाओस्! अनि जसले लासद्वारा अशुद्ध भएको कुनैलाई वा वीर्य बग्‍ने मानिसलाई छुन्छ; 5 वा जसले कुनै घस्रने जन्तुलाई छुन्छ, जसद्वारा ऊ अशुद्ध हुन्‍छ, अथवा यस्तो कुनै मानिसलाई छुन्छ, जसद्वारा उसमा अशुद्धता आउन सक्छ, चाहे उसको अशद्धता जस्तोसुकै होस्; 6 जुन व्यक्तिले यस्तो कुनै कुरा छोएको छ, ऊ साँझसम्‍म अशुद्ध हुनेछ; अनि जबसम्‍म उसले आफ्नो शरीर पानीमा नुहाउँदैन, तबसम्‍म उसले पवित्र वस्तुहरूबाट नखाओस्! 7 अनि जब सूर्य अस्ताउँछ, तब ऊ शुद्ध हुनेछ; अनि त्यसपछि उसले पवित्र वस्तुहरूबाट खाओस्; किनभने यही उसको भोजन हो। 8 त्यसद्वारा आफैलाई अशुद्ध नतुल्याउन उसले आफै-आफ मरेको वा जङ्गली पशुहरूद्वारा च्यातचुत पारिएको नखाओस्; म नै परमप्रभु हुँ। 9 यसकारण पूजाहारीहरूले मेरो विधि पालन गरून्; नत्र ता उनीहरूले त्यसलाई अपवित्र तुल्याए भने त्यसकै खातिर तिनीहरूले पाप बोक्छन्, र यसैकारण मर्छन्; म नै उनीहरूलाई पवित्र पार्ने परमप्रभु हुँ।
10 अनि कुनै पराई मानिसले पवित्र वस्तुबाट नखाओस्; पूजाहारीको पाहुनाले वा ज्यालामा काम गर्ने नोकरले त्यस पवित्र वस्तुबाट नखाओस्! 11 तर पूजाहारीले आफ्नो पैसाले जुन व्यक्तिलाई किन्छ, यसले त्यसबाट खाओस्, साथै त्यसले पनि जो उसको घरमा जन्मेको हुन्‍छ; तिनीहरूले उसको भोजनबाट खाऊन्! 12 अनि पूजाहारीकी छोरीको विवाह कुनै पराई मानिससँग भएको छ भने उसले पवित्र वस्तुहरूको भेटीबाट खान सक्दिन। 13 तर पूजाहारीकी छोरी विधवा भएकी वा त्यागिएकी छे, र उसको सन्तान छैन, अनि ऊ आफ्ना बुबाको घरमा फर्केकी छे भने उसले आफ्नो बाल्यावस्थामा झैं आफ्ना बुबाको भोजनबाट खाओस्; तर यसबाट कुनै पराई मानिसले नखाओस्! 14 अनि कसैले थाहा नपाईकन पवित्र वस्तुबाट खायो भने त्यसले यसमा यसको पाँचौं भाग थपोस्, र त्यो यस पवित्र वस्तुको साथमा पूजाहारीलाई देओस्! 15 अनि जुन पवित्र वस्तुहरू इस्राएलीहरूले परमप्रभुलाई चढ़ाउँन्‌, ती पवित्र वस्‍तुहरू उनीहरूले अपवित्र नपारून्; 16 र तिनीहरूका पवित्र वस्तुहरू खाएर उनीहरूले तिनीहरूलाई पापरूपी अधर्म नबोकाऊन्; किनकि म नै उनीहरूलाई पवित्र पार्ने परमप्रभु हुँ।”
17 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 18 “हारून, उसका छोराहरू र सबै इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: इस्राएलीको घरानामध्ये वा इस्राएलमा रहने परदेशीहरूमध्ये हरेक जसले आफ्ना सबै भाकलहरू र आफ्ना सबै स्वेच्छा-दानहरूका निम्ति आफ्नो भेटी चढ़ाउँछ भने, जो तिनीहरूले होमबलिको रूपमा परमप्रभुकहाँ ल्याउँछन्, 19 तिमीहरूले आफ्नै इच्छाले गाईगोरुहरूबाट, भेड़ाहरूबाट वा बाख्राहरूबाट निष्खोट नर चढ़ाउनू! 20 तर हरेक जसमा खोट हुन्‍छ, त्यसलाई तिमीहरूले नचढ़ाउनू; किनकि त्यो तिमीहरूका निम्ति ग्रहणयोग्य हुनेछैन। 21 अनि जब कसैले आफ्नो भाकल पूरा गर्नलाई गाईबस्तुबाट वा भेड़ाबाख्राहरूबाट परमप्रभुका निम्ति मेलबलि अथवा स्वेच्छादान ल्याउँछ, तब ग्रहणयोग्य हुनका निम्ति त्यो निष्खोट हुनुपर्छ; त्यसमा कुनै खोट हुनुहुँदैन। 22 अन्धो, अङ्ग भाँचिएको, कूँजो, पीप बग्‍ने, पाकेको घाउ भएको वा लुतो लागेको – यस्ताहरूलाई तिमीहरूले परमप्रभुका निम्ति नचढ़ाउनू, न ता तिनैबाट कुनैलाई आगोले चढ़ाइएको बलिको रूपमा वेदीमाथि परमप्रभुका निम्ति चढ़ाउनू! 23 अङ्ग बढ़ी भएको कि कम भएको बहर वा पाठो तिमीले स्वेच्छादानको रूपमा चढ़ाउन सक्छौ; तर भाकल पूरा गर्नलाई त्यो ग्रहण गरिनेछैन। 24 जुन पशु कुच्चिएको, चूर पारिएको, फुटाइएको वा काटिएको हुन्‍छ, त्यसलाई तिमीहरूले परमप्रभुका निम्ति नचढ़ाउनू; तिमीहरूले आफ्नो देशमा यस्तो कुनै बलि नचढ़ाउनू! 25 अनि परदेशीको हातबाट तिमीहरूले तीमध्ये कुनैलाई लिएर आफ्ना परमेश्‍वरको भोजन नचढ़ाउनू; किनकि तिनमा तिनको खराबी छ, तिनमा खोट छ; ती तिमीहरूका निम्ति ग्रहण गरिनेछैनन्।”
26 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 27 “जब बहर, भेड़ा वा बाख्रा जन्मन्छ, तब त्यो सात दिनसम्‍म आफ्नो माउसित रहोस्, अनि आठ दिनदेखि उसो परमप्रभुका निम्ति आगोले चढ़ाइने बलिको रूपमा त्यो ग्रहण गरिनेछ। 28 अनि चाहे गाई, चाहे भेड़ी होस्, तिमीहरूले त्यो र त्यसको बच्‍चा, दुवैलाई एकै दिन नमार्नू! 29 अनि जब तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि चढ़ाउँछौ, तब तिमीहरूले आफ्नै इच्छाले त्यो चढ़ाउनू! 30 त्यही दिनमै त्यो खाइयोस्; तिमीहरूले त्यसको कुनै पनि कुरा बिहानसम्‍म नराख्‍नू; म नै परमप्रभु हुँ। 31 यसकारण तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू र तिनैलाई मान्‍नू; म नै परमप्रभु हुँ। 32 अनि तिमीहरूले मेरो पवित्र नाम अपवित्र नतुल्याउनू; तर म इस्राएलीहरूको बीचमा पवित्र मानिनेछु; म नै तिमीहरूलाई पवित्र पार्ने परमप्रभु हुँ; 33 मैले तिमीहरूलाई तिमीहरूका परमेश्‍वर हुनका निम्ति मिस्र देशबाट निकालेर ल्याएँ; म नै परमप्रभु हुँ।”