व्यवस्था
व्यवस्थाको विवरण दोस्रोपल्ट दिँदा मोशाले चालीस वर्षको इतिहास पल्टाए: होरेबदेखि कादेशसम्म
1
यी ती वचनहरू हुन्, जो मोशाले यर्दनवारि उजाड़स्थानमा, सूपको अघिल्तिरको मैदानमा पारान, तोपेल, लाबान, हसेरोत र दिसाहाबको बीचमा सारा इस्राएललाई भने। 2 (सेईर पहाड़को बाटो भएर होरेबदेखि कादेश-बर्नेअसम्म पुग्‍न एघार दिन लाग्छ।) 3 अनि यस्तो भयो: चालीसौं वर्षको एघारौं महिनाको पहिलो दिनमा इस्राएलीहरूको विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार उनले तिनीहरूलाई भने; 4 मोशाले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई र अश्तारोतमा, अँ, एद्रेईमा बस्‍ने बाशानका राजा ओगलाई मारेपछि, 5 यर्दनवारि मोआबको देशमा मोशाले यसो भन्दै यस व्यवस्थाको विवरण दिन थाले: 6 “परमप्रभु हाम्रा परमेश्‍वर होरेबमा हामीसँग यसरी बोल्नुभयो: ‘तिमीहरू यस पहाड़मा बसेको धेरै समय भइसक्यो; 7 अब तिमीहरू फर्क, आफ्नो यात्रा शुरु गर अनि एमोरीहरूको पहाड़मा र त्यसको वरिपरिका सबै ठाउँहरूमा – मैदानमा, पहाड़मा, तराईमा, दक्षिणमा र समुद्रको किनारमा – कनानीहरूको देश र लबानोनमा, महानदी अर्थात् यूफ्रेटिस नदीसम्म जाओ! 8 हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु; भित्र जाओ, र यो देश कब्जा गर, जसको विषयमा तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसँग, उनीहरूलाई र उनीहरूपछि उनीहरूका सन्तानलाई दिनेछु भनी परमप्रभुले शपथ खानुभएको थियो।’
9 अनि त्यस घड़ी मैले तिमीहरूलाई यसो भनें: ‘एकलै म तिमीहरूको भार उठाउन सक्दिनँ; 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई संख्यामा बढ़ाउनुभएको छ; अनि हेर, तिमीहरू आज आकाशका ताराहरूझैं असंख्य भीड़ भएका छौ। 11 (परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूमा तिमीहरू जति छौ, त्यसभन्दा हजार गुणा थपिदिऊन्, र उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष्‌ देऊन्!) 12 कसरी म एकलैले तिमीहरूको बोझ, तिमीहरूको भारी र तिमीहरूको झैझगड़ा उठाउन सक्छु र? 13 आफ्ना निम्ति बुद्धिमान्, समझदार र आफ्ना कुलहरूमा सुपरिचित मानिसहरूलाई लेओ, र म तिनीहरूलाई तिमीहरूका अगुवा ठहराउनेछु।’ 14 तब तिमीहरूले मलाई जवाफ दिएर भन्यौ: ‘जुन कुरा तपाईंले हामीलाई भन्‍नुभयो, त्यो गर्नु असल छ।’ 15 यसकारण मैले तिमीहरूका कुलहरूका अगुवाहरूलाई, अँ, ती बुद्धिमान् र सुपरिचित मानिसहरूलाई लिएँ, र उनीहरूलाई तिमीहरूका अगुवा अर्थात् हजार-हजार, सय-सय, पचास-पचास र दस-दसमाथिका कप्‍तान र तिमीहरूका कुलहरूको बीचमा अधिकारीहरू ठहराएँ। 16 अनि मैले त्यस घड़ी तिमीहरूका न्यायकर्ताहरूलाई यसो भन्दै आज्ञा दिएँ: ‘तिमीहरूका भाइ-भाइको बीचको कुरा सुन; अनि हरेक मानिस र त्यसको भाइ वा त्यससित रहने परदेशीको बीचमा धार्मिकतापूर्वक न्याय गर! 17 न्याय गर्दा तिमीहरूले मुख हेरेर न्याय नगर्नू; तिमीहरूले सानाको कुरा र ठूलाको कुरा एक समान सुन्‍नू; तिमीहरू कसैको मुखसँग नडराउनू; किनकि न्यायचाहिँ परमेश्‍वरको हो; अनि जुन मुद्दा तिमीहरूका निम्ति कठिन हुन्छ, त्यो मकहाँ ल्याउनू, र म त्यो सुन्‍नेछु।’ 18 अनि त्यस घड़ी मैले तिमीहरूलाई तिमीहरूले गर्नुपर्ने सबै कुराहरू आज्ञा गरें।
19 तब हामी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार होरेबबाट हिँड्यौं, र त्यस ठूलो र डरलाग्दो सम्पूर्ण उजाड़स्थानबाट भएर गयौं, जुन उजाड़स्थान तिमीहरूले एमोरीहरूको पहाड़तिर जाने बाटोमा देख्यौ; अनि हामी कादेश-बर्नेअ आइपुग्यौं। 20 अनि मैले तिमीहरूलाई भनें: ‘तिमीहरू एमोरीहरूको जुन पहाड़मा आइपुगेका छौ, जुन पहाड़ परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुन्छ। 21 हेर, परमप्रभु तिम्रा परमेश्‍वरले त्यो देश तिम्रो सामु राखिदिनुभएको छ; परमप्रभु तिम्रा पितापुर्खाहरूका परमेश्‍वरले तिमीलाई भन्‍नुभएअनुसार माथि जाऊ, र त्यसलाई कब्जा गर! नडराऊ, न ता निराश नै होऊ!’ 22 अनि तिमीहरू सबै मकहाँ आएर भन्यौ: ‘हामी हाम्रा अघि-अघि मानिसहरू पठाऔं, र उनीहरूले हाम्रा निम्ति त्यस देशको जासुसी गरून्; अनि हामी कुन बाटो भएर माथि जानुपर्ने हो, र कुन-कुन शहरहरूमा हामी पुग्‍नेछौं, सो खबर उनीहरूले हामीकहाँ फर्काएर ल्याऊन्!’ 23 अनि त्यो कुरा मेरो नजरमा असल लाग्यो; र हरेक कुलबाट एक-एकजना गरेर मैले तिमीहरूबाट बाह्र पुरुष लिएँ। 24 अनि उनीहरू फर्के, र माथि त्यस पहाड़मा गए, अनि एश्कोलको बेंसीमा आइपुगे, र त्यसको जासुसी गरे। 25 अनि उनीहरूले आ-आफ्ना हातमा त्यस देशका फलबाट केही बोकेर तल हामीकहाँ ल्याए, अनि हामीकहाँ खबर फर्काएर भने: ‘जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुन्छ, त्यो देश असल रहेछ!’
26 तर तिमीहरूले माथि जान चाहेनौ, तर परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोधमा विद्रोह गर्‍यौ; 27 अनि तिमीहरूले आफ्ना पालहरूभित्र गनगन गर्दै भन्यौ: ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ; यसैले हामीलाई एमोरीहरूको हातमा सुम्पेर हामीलाई नाश गर्न उहाँले हामीलाई मिस्र देशबाट निकालेर ल्याउनुभयो। 28 हामी माथि कहाँ जाऔं र? हाम्रा दाजुभाइहरूले यसो भन्दै हाम्रा हृदय निराश पारेका छन्: “ती मानिसहरू हामीभन्दा ठूला र अग्ला छन्; शहरहरू ठूला-ठूला र आकाशसम्म पर्खालले घेरिएका छन्; साथै त्यहाँ हामीले अनाकीहरूका सन्तानलाई पनि देखेका छौं।” ’ 29 तब मैले तिमीहरूलाई भनें: ‘भयभीत नहोओ, र तिनीहरूसँग नडराओ! 30 परमप्रभु तिमीहरूका परमेश्‍वर जो तिमीहरूका अघि-अघि जानुहुन्छ, उहाँ नै, मिस्रमा तिमीहरूका आँखाकै सामु उहाँले तिमीहरूका निम्ति जे-जे गर्नुभएको थियो, सोहीअनुसार तिमीहरूका निम्ति लड़्नुहुनेछ; 31 अनि उजाड़स्थानमा पनि, जहाँ तिमीले देखेकै छौ, जसरी मानिसले आफ्नो छोरालाई बोकेर हिँड़्छ, त्यसरी नै परमप्रभु तिम्रा परमेश्‍वरले, जबसम्म तिमीहरू यस ठाउँमा आइपुगेनौ, तबसम्म तिमीहरू हिँड़ेको सारा बाटोभरि तिमीलाई बोकेर हिँड़्नुभयो।’ 32 तर यस कुरामा पनि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई विश्‍वास गरेनौ, 33 जो तिमीहरूका निम्ति तिमीहरूका पालहरू टाँग्‍ने ठाउँ खोज्‍नलाई बाटोमा तिमीहरूका अघि-अघि जानुहुन्थ्यो – तिमीहरू कुन बाटोमा हिँड़्नुपर्छ, सो तिमीहरूलाई देखाउन उहाँ राति आगोमा र दिउँसो बादलमा भई हिँड़्नुभयो।
34 अनि परमप्रभुले तिमीहरूका शब्दहरूको आवाज सुन्‍नुभयो, र क्रोधित हुनुभयो, अनि यसो भन्दै शपथ खानुभयो: 35 ‘निश्‍चय यस दुष्‍ट पुस्ताका यी मानिसहरूमध्ये एकजनाले पनि त्यो उत्तम देश देख्‍न पाउनेछैन, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको थिएँ; 36 यपून्‍नेको छोरा कालेबले मात्र त्यो देख्‍नेछ; अनि जुन भूमिमाथि उसले पाइलो टेकेको छ, त्यो भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु; किनभने उसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।’ 37 तिमीहरूको कारणले परमप्रभु मसँग पनि क्रोधित हुनुभयो, र भन्‍नुभयो: ‘तिमी पनि त्यहाँ जान पाउनेछैनौ! 38 तर नूनको छोरा यहोशू, जो तिम्रो सामु उभिरहेको छ, ऊ त्यसभित्र प्रवेश गर्नेछ; उसलाई उत्साह देऊ; किनकि उसले इस्राएललाई त्यस देशको अधिकारी तुल्याउनेछ। 39 अनि तिमीहरूका बालबच्‍चाहरू, जसको विषयमा ‘यिनीहरू लुटको माल बन्‍नेछन्’ भनी तिमीहरूले भनेका थियौ, साथै तिमीहरूका छोराछोरीहरू, जससँग आज असल र खराब छुट्याउने ज्ञान छैन, तिनीहरूचाहिँ त्यसभित्र जानेछन्, अनि तिनीहरूलाई नै म त्यो दिनेछु, र तिनीहरूले त्यसलाई आफ्नो अधिकारमा लिनेछन्। 40 तर तिमीहरूचाहिँ फर्क र लाल समुद्रको बाटो भएर उजाड़स्थानतिर लाग!’
41 तब तिमीहरूले जवाफ दिएर मलाई भन्यौ: ‘हामीले परमप्रभुको विरोधमा पाप गरेका छौं; परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुभएको सबै आज्ञाअनुसार हामी माथि जानेछौं, र लड़ाइँ गर्नेछौं;’ अनि तिमीहरू हरेकले आ-आफ्ना लड़ाइँका हतियारहरू भिर्‍यौ, अनि तिमीहरू त्यस पहाड़माथि जान तयार भयौ। 42 तब परमप्रभुले मलाई भन्‍नुभयो: ‘तिनीहरूलाई भन: माथि नजाओ, न ता लड़ाइँ नै गर; किनकि म तिमीहरूको बीचमा छैनँ; नत्र तिमीहरूले आफ्ना शत्रुहरूको सामु हार्नेछौ।’ 43 अनि मैले तिमीहरूलाई भनें; तर तिमीहरूले सुनेनौ, तर परमप्रभुको आज्ञाको विरोधमा विद्रोह गर्‍यौ, र जिद्दी गरेर त्यस पहाड़माथि चढ़्यौ। 44 अनि त्यस पहाड़मा बस्‍ने एमोरीहरू निस्केर तिमीहरूमाथि आइलागे; अनि मौरीहरूले गरेझैं तिनीहरूले तिमीहरूलाई पिछा गरे र तिमीहरूलाई सेईरमा, होर्मासम्मै मार्दै आए। 45 अनि तिमीहरू फर्क्यौ र परमप्रभुको सामु रोयौ; तर परमप्रभुले न तिमीहरूको पुकार सुन्‍नुभयो, न ता तिमीहरूतिर कान नै लगाउनुभयो। 46 यसकारण तिमीहरू कादेशमा तिमीहरूले त्यहाँ बिताएका दिनहरूअनुसार धेरै दिन बस्‍यौ।”