उजाड़स्थानमा बिताएका अठतीस वर्षहरू
2
“त्यसपछि परमप्रभुले मलाई भन्नुभएअनुसार हामी फर्क्यौं र लाल समुद्रको बाटो भएर त्यस उजाड़स्थानतिर लाग्यौं; अनि धेरै दिनसम्म हामीले सेईर पहाड़को फेरो मार्यौं। 2 अनि परमप्रभुले मलाई यसो भन्नुभयो: 3 ‘तिमीहरूले यस पहाड़को वरिपरि फेरो मारेको धेरै भइसक्यो; तिमीहरू उत्तरतिर लाग!क 4 अनि तिमीले मानिसहरूलाई यस्तो आज्ञा देऊ: “तिमीहरू आफ्ना भाइहरूको अर्थात् सेईरमा बस्ने एसावका सन्तानको सिमानाबाट भएर जानुपरेको छ; अनि तिनीहरू तिमीहरूसँग डराउनेछन्; यसकारण तिमीहरू आफ्नो विषयमा खूबै होशियार बस्नू! 5 तिनीहरूसँग झगड़ा नमच्चाउनू; किनकि तिनीहरूको देशबाट म तिमीहरूलाई पैतालोभरिकोख जग्गाधरि दिनेछैनँ; किनभने मैले सेईर पहाड़ एसावलाई अधिकारको भागको रूपमा दिएको छु। 6 खानका निम्ति तिमीहरूले पैसा दिएर तिनीहरूबाट खानेकुरा किन्नू; अनि पिउनका निम्ति पनि तिमीहरूले पैसा दिएर तिनीहरूबाट पानी किन्नू!” 7 किनकि परमप्रभु तिम्रा परमेश्वरले तिम्रा हातका सबै कामहरूमा तिमीलाई आशिष् दिनुभएको छ। त्यस ठूलो उजाड़स्थानभित्रको तिम्रो हिँड़ाई उहाँ जान्नुहुन्छ; यी चालीस वर्षभित्र परमप्रभु तिम्रा परमेश्वर तिमीसित रहनुभएको छ; तिमीलाई कुनै कुराको घटीकमी भएको छैन।’8 तब हामी एलत र एस्योन-गेबेरबाट मैदानकोग बाटो हुँदै सेईरमा बस्ने एसावका सन्तान, हाम्रा भाइहरूबाट पार भयौं; त्यसपछि हामी मोड़िएर मोआबको उजाड़स्थानबाट भएर गयौं। 9 अनि परमप्रभुले मलाई भन्नुभयो: ‘मोआबीहरूलाईघ दुःख नदिनू, न ता तिनीहरूसँग लड़ाइँमा भिड़्नू! किनकि म तिमीलाई तिम्रो अधिकारको भाग हुनलाई तिनीहरूको देशबाट केही दिनेछैनँ; किनभने मैले आरचाहिँ लूतको सन्तानलाई अधिकारको भागको रूपमा दिएको छु।’ ( 10 बितेको समयमा त्यहाँ एमीहरू बस्थे – एउटा ठूलो, संख्यामा धेरै भएको र अनाकीहरूजस्तै अग्लो जाति। 11 अनाकीहरूझैं तिनीहरू पनि भीमकायङ मानिन्थे; तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे। 12 पहिले सेईरमा होरीहरू पनि बस्थे; तर एसावका सन्तानले तिनीहरूलाई निकाले; अनि उनीहरूले तिनीहरूलाई आफ्नो सामुबाट नाश गरे, र तिनीहरूको ठाउँमाच आफू बसे, जसरी इस्राएलले आफ्नो अधिकारको देशसित गरेको थियो, जुन परमप्रभुले तिनीहरूलाई दिनुभएको थियो।) 13 ‘अब उठ, र जेरेद खोलापारि जाओ!’ अनि हामी जेरेद खोलापारि गयौं।
14 अनि कादेश-बर्नेअबाट निस्केर हामी जेरेद खोलापारिसम्म नपुगुन्जेल अर्थात् परमप्रभुले तिनीहरूसित शपथ खानुभएअनुसार सेनाकोछ बीचबाट लड़ाइँ गर्ने मानिसहरूको सारा पुस्ता नाश नहोउन्जेलज जम्मा समय अठतीस वर्ष लाग्यो। 15 किनकि साँच्चै तिनीहरू नाश नहोउन्जेलज तिनीहरूलाई सेनाकोझ बीचबाट नष्ट गर्न परमप्रभुको हात तिनीहरूको विरोधमा उठिरह्यो।
16 अनि यस्तो भयो: जब मानिसहरूको बीचबाट सबै लड़ाइँ गर्ने मानिसहरू नष्ट भए, र मरे, 17 तब परमप्रभुले मलाई यसो भन्नुभयो: 18 ‘आज तिमीले मोआबको सिमाना, आरलाई पार गरेर जानुपरेको छ; 19 अनि जब तिमी अम्मोनीहरूको सामु आइपुग्छौ, तब तिनीहरूलाई दुःख नदिनू, न ता तिनीहरूसँग झगड़ा मच्चाउनू! किनकि म तिमीलाई तिम्रो अधिकारको भाग हुनलाई अम्मोनीहरूको देशबाट केही दिनेछैनँ; किनभने मैले त्यो लूतका सन्तानलाई अधिकारको भागको रूपमा दिएको छु।’ 20 (त्यो पनि रपाईहरूको देश मानिन्थ्यो। पहिले रपाईहरू त्यहाँ बस्थे; अनि अम्मोनीहरू तिनीहरूलाई जम्जुम्मी भन्थे; 21 त्यो जाति ठूलो, संख्यामा धेरै भएको र अनाकीहरूजस्तो अग्लो थियो; तर परमप्रभुले तिनीहरूलाई अम्मोनीहरूकोञ सामुबाट नष्ट गर्नुभयो, अनि उनीहरूले तिनीहरूलाई निकाले, र तिनीहरूको ठाउँमाट आफू बसे; 22 जसरी उहाँले सेईरमा बस्ने एसावका सन्तानका निम्ति गर्नुभएको थियो, जब उहाँले उनीहरूको सामुबाट होरीहरूलाई नष्ट गर्नुभयो; अनि उनीहरूले तिनीहरूलाई निकाले, र तिनीहरूको ठाउँमाट आफू बसे आजको दिनसम्म; 23 अनि गाजासम्म गाउँहरूमा बस्ने अव्वीहरूलाई कप्टोरबाट निस्केर आएका कप्टोरीहरूले नष्ट पारे, र तिनीहरूको ठाउँमाट आफू बसे।) 24 ‘तिमीहरू उठ, यात्रा शुरु गर, र अर्नोन नदीपारि जाओ; हेर, मैले हेश्बोनको राजा एमोरी सीहोनलाई र त्यसको देश तिम्रो हातमा दिएको छु; यसलाई कब्जा गर्न शुरु गर, र त्यससँग लड़ाइँमा भिड़! 25 आजको दिन म सम्पूर्ण आकाशमुनि भएका जातिहरूमाथि तिम्रो आतङ्क र तिम्रो डर हालिदिन शुरु गर्नेछु; तिनीहरूले तिम्रो खबरठ सुन्नेछन्, अनि तिम्रो कारणले तिनीहरू थरथर काम्नेछन् र व्याकुल हुनेछन्।’ ”
हेश्बोनका राजा सीहोनमाथिको विजय
26 "अनि मैले कदेमोतको उजाड़स्थानबाट हेश्बोनको राजा सीहोनकहाँ यसो भन्दै शान्तिका वचनसहित दूतहरू पठाएँ: 27 ‘मलाई तपाईंको देशबाट भएर जान दिनुहोस्; म मूलबाटै-मूलबाटो भएर जानेछु; म दाहिने वा देब्रेतिर लाग्नेछैनँ। 28 पैसा लिएर तपाईंले मलाई खानेकुरा बेच्नुहोस्, र म खाउँला; पैसा लिएर मलाई पानी दिनुहोस्, र म पिउँला; केवल पैदलै हिँड़ेर म पार गर्न पाऊँ! 29 (जस्तो सेईरमा बस्ने एसावका सन्तानहरू र आरमा बस्ने मोआबीहरूले मसित गरे); जबसम्म म यर्दन पार गरेर त्यस देशमा पुग्दिनँ, जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुन्छ।’ 30 तर हेश्बोनको राजा सीहोनले हामीलाई आफ्नो सिमानाबाट भएर जान दिन चाहेन; किनकि त्यसलाई तिम्रो हातमा सुम्पिदिनका निम्ति परमप्रभु तिम्रा परमेश्वरले त्यसको आत्मा कठोर पार्नुभयो र त्यसको हृदय हठी बनाउनुभयो, जस्तो आज छ। 31 अनि परमप्रभुले मलाई भन्नुभयो: ‘हेर, मैले सीहोनलाई र त्यसको देश तिम्रो सामु सुम्पिदिन थालेको छु; त्यसको देश आफ्नो अधिकारमा लिनलाई कब्जा गर्न शुरु गर!’
32 तब यहसामा लड़ाइँ गर्नलाई सीहोन हाम्रो विरोधमा निस्केर आयो – त्यो र त्यसका सबै मानिसहरू। 33 अनि परमप्रभु हाम्रा परमेश्वरले त्यसलाई हाम्रो सामु सुम्पिदिनुभयो; अनि हामीले त्यसलाई, त्यसका छोराहरू र त्यसका सबै मानिसहरूलाई मार्यौं। 34 अनि त्यस बेला हामीले त्यसका सबै शहरहरू कब्जा गर्यौं, अनि हरेक शहरका पुरुषहरू, स्त्रीहरू र बालबच्चाहरूलाई बिलकुलै नष्ट पार्यौं; हामीले कसैलाई जीवित छोड़ेनौं; 35 गाईबस्तुहरू मात्र हामीले आफ्ना निम्ति जितको मालको रूपमा राख्यौं; साथै हामीले कब्जा गरेका शहरहरूको लुटको माल लियौं। 36 अर्नोन नदीको किनारमा अवस्थित भएको अरोएरदेखि र त्यस नदीको छेउमा भएको शहरदेखि लिएर गिलादसम्म हामीभन्दा बलियोड शहर एउटै पनि थिएन; परमप्रभु हाम्रा परमेश्वरले सबलाई हाम्रो सामु सुम्पिदिनुभयो। 37 केवल अम्मोनीहरूको देशमा, यब्बोक नदीको कुनै पनि ठाउँमा, त्यस पहाड़का शहरहरूमा र परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाही गर्नुभएको कुनै पनि ठाउँमा मात्र तिमी पसेनौ।ढ ”