बाशानको राजा ओगमाथिको विजय
3
“तब हामी मोड़ियौं, र बाशानको बाटो भएर उकालो लाग्यौं; अनि एद्रेईमा लड़ाइँ गर्न बाशानको राजा ओग हाम्रो विरोधमा निस्केर आयो – त्यो र त्यसका सबै मानिसहरू। 2 अनि परमप्रभुले मलाई भन्‍नुभयो: ‘त्यससँग नडराऊ; किनकि म त्यसलाई, त्यसका सबै मानिसहरूलाई र त्यसको देश तिम्रो हातमा सुम्पिदिनेछु; अनि तिमीले हेश्बोनमा बस्‍ने एमोरीहरूको राजा सीहोनसित जस्तो गर्‍यौ, त्यस्तै त्यससँग गर!’ 3 अनि परमप्रभु हाम्रा परमेश्‍वरले बाशानका राजा ओगलाई र त्यसका सबै मानिसहरूलाई पनि हाम्रो हातमा सुम्पिदिनुभयो; अनि हामीले त्यसलाई त्यसको कुनै पनि मानिस जिउँदो नरहुन्‍जेल मार्‍यौं। 4 अनि त्यस बेला हामीले त्यसका सबै शहरहरू कब्जा गर्‍यौं; हामीले तिनीहरूबाट कब्जा नगरेको शहर एउटै पनि थिएन, ओगको राज्य,अँ, अर्गोबको सारा इलाका, बासानका साठीवाट शहरहरू। 5 यी सबै शहरहरू अग्ला-अग्ला पर्खालहरू, मूलढोकाहरू र आग्लाहरूले बलिया पारिएका थिए; यीबाहेक पर्खालले नघेरिएका शहरहरू पनि अति धेरै थिए। 6 अनि हामीले तिनीहरूलाई पूरै नष्‍ट पार्‍यौं; जस्‍तो हामीले हेश्बोनको राजा सीहोनसित गरेका थियौं; हामीले पनि हामीले हरेक शहरका पुरुषहरू, स्त्रीहरू र बालबच्‍चाहरूलाई बिलकुलै नष्‍ट पार्‍यौं। 7 तर सबै गाईबस्तुहरू र ती शहरहरूको लुटको मालचाहिँ हामीले आफ्ना निम्ति लियौं।
8 अनि त्यस बेला हामीले एमोरीहरूका दुई राजाहरूको हातबाट अर्नोन नदीदेखि लिएर हेर्मोन पहाड़सम्म यर्दनवारिको देश लियौं; 9 (हेर्मोनलाई सिडोनीहरूले सिर्योन् भन्छन्, तर एमोरीहरूले त्यसलाई सेनीर भन्छन्।) 10 हामीले मैदानका सबै शहरहरू, सम्पूर्ण गिलाद, सल्का र एद्रेईसम्म सम्पूर्ण बाशान, बाशानमा ओगको राज्यका शहरहरू लियौं। 11 किनकि रपाईहरूबाट बचेकाहरूमध्ये बाशानको राजा ओग मात्र उब्रेको थियो; हेर, त्यसको पलङ एउटा फलामको पलङ थियो; के त्यो अम्मोनीहरूको रब्बामा छैन र? मानिसको हातको नापअनुसार त्यसको लमाइ नौ हात र त्यसको चौड़ाइ चार हात थियो।
यर्दनको पूर्वपट्टिको देश रूबेन, गाद र मनस्सेको आधा कुलको अधिकारको भाग
12 "अनि मैले यो देश, जसलाई हामीले त्यस बेला आफ्नो अधिकारमा लिएका थियौं, अर्थात् अर्नोन नदीको किनारमा अवस्थित भएको अरोएरदेखि लिएर गिलादको आधा पहाड़ र त्यसका शहरहरू रूबेनीहरू र गादीहरूलाई दिएँ। 13 अनि गिलादको बाँकी भाग र ओगको राज्य अर्थात् सम्पूर्ण बाशानचाहिँ मैले मनस्सेको आधा कुललाई दिएँ – सम्पूर्ण बाशानसहित अर्गोबको सारा इलाका, जुन इलाकाचाहिँ रपाईहरूको मुलुक भनिन्थ्यो। 14 मनस्सेका छोरा याइरले अर्गोबको सम्पूर्ण इलाका, गशूरी र माकातीहरूको सिमानासम्म लिए, अनि आफ्नो नामअनुसार बाशानको नाम हव्वोत-याइर राखे, जस्तो आजसम्म पनि छ। 15 अनि गिलाद मैले माकीरलाई दिएँ। 16 अनि रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि लिएर अर्नोनको बेंसीसम्म, (बेंसीको बीचमा त्यसको सिमाना थियो) र यब्बोक नदीसम्म दिएँ, जुन नदीचाहिँ अम्मोनीहरूको सिमाना हो; 17 साथै मैदान पनि, अनि यर्दन र त्यसको सिमाना – किन्‍नरेतदेखि मैदानको समुद्रसम्म अर्थात् पूर्वतिर पिस्गाका पाखाहरूमुनि भएको क्षार समुद्रसम्म मैले दिएँ।
18 अनि त्यस बेला मैले यसो भन्दै तिमीहरूलाई आज्ञा गरें: ‘परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश, यसलाई आफ्नो अधिकारमा लिन भनी तिमीहरूलाई दिनुभएको छ; तिमीहरू सब योद्धाहरू हतियार भिरेर आफ्ना इस्राएली दाजुभाइहरूको सामु पारि जाओ! 19 तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईबस्तुहरूचाहिँ – अँ, म जान्दछु, तिमीहरूका धेरै गाईबस्तुहरू छन् – मैले तिमीहरूलाई दिएका तिमीहरूका शहरहरूमा तबसम्म बसून्, 20 जबसम्म परमप्रभुले तिमीहरूका दाजुभाइहरूलाई पनि तिमीहरूलाई दिएजस्तै विश्राम दिनुहुन्‍न, र जबसम्म तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई यर्दनपारि दिनुभएको देश आफ्नो अधिकारमा लिँदैनन्; त्यसपछि तिमीहरू हरेक जन आ-आफ्नो अधिकारको भागमा, जुन अधिकारको भाग मैले तिमीहरूलाई दिएको छु, फर्कनू!’ 21 अनि त्यस बेला मैले यसो भन्दै यहोशूलाई आज्ञा गरें: ‘परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजाहरूसित जेजस्तो गर्नुभयो, ती सबै कुराहरू तिम्रा आँखाहरूले देखेका छन्; त्यसरी नै परमप्रभुले ती सबै राज्यहरूसित गर्नुहुनेछ, जुन राज्‍यहरूकहाँ तिमी पार भई जानेछौ। 22 तिमीहरू तिनीहरूसँग नडराओ; किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर आफै तिमीहरूका निम्ति लड़्नुहुनेछ।’ ”
कनान देशमा पस्‍न मोशालाई मनाही छ
23 "अनि त्यस बेला मैले यसो भन्दै परमप्रभुलाई विन्‍ती गरें: 24 ‘हे प्रभु यहोवा, तपाईंले आफ्नो दासलाई आफ्नो महान्‌ता र आफ्नो शक्तिशाली हात देखाउन थाल्नुभएको छ; किनकि आकाश र पृथ्वीमा कुन ईश्‍वर छ, जसले तपाईंका जस्ता कामहरू र तपाईंका जस्ता प्रतापी कार्यहरू गर्न सक्छ? 25 म तपाईंलाई विन्‍ती गर्दछु, मलाई पारि जान दिनुहोस्, र म त्यो असल देश देख्‍न पाऊँ, जो यर्दनपारि छ – त्यो सुन्दर पहाड़ र लेबानोन!’ 26 तर परमप्रभु तिमीहरूको कारणले मसँग क्रोधित हुनुभएको थियो, र मेरो विन्‍ती सुन्‍नुभएन; अनि परमप्रभुले मलाई भन्‍नुभयो: ‘तिम्रा निम्ति यही पर्याप्‍त छ; यस विषयमा मसँग फेरि कुरा नगर! 27 तिमी पिस्गाको टाकुरामा चढ़, अनि पश्‍चिम, उत्तर, दक्षिण र पूर्वतिर आफ्ना आँखाहरू उठाऊ, र आफ्ना आँखाले हेर; किनकि तिमी यस यर्दनपारि जान पाउनेछैनौ। 28 तर यहोशूलाई आज्ञा देऊ, उसलाई उत्साह देऊ र उसलाई बलियो तुल्याऊ; किनभने ऊ यी मानिसहरूको अघि-अघि पारि जानेछ र उसैले तिनीहरूलाई त्यस देशको अधिकारी तुल्याउनेछ, जुन देश तिमीले देख्‍नेछौ।’ 29 यसैले हामी बेत-पोरको सामु भएको बेंसीमा बसिरह्‍यौं।”