राहाब र दुई जासुसहरू
2
तब शित्तीमबाट नूनका छोरा यहोशूले दुई मानिसहरूलाई गुप्त रूपले जासुसी गर्न यसो भन्दै पठाए: “जाओ! त्यो देश, अर्थात् यरिहोलाई चियो गर!” अनि उनीहरू गए, र राहाब नाउँ भएकी एउटी वेश्याको घरमा आइपुगे, अनि त्यहीं वास बसे। 2 अनि यरिहोका राजालाई यसो भनियो: “हेर्नुहोस्, आज राति यहाँ केही इस्राएली मानिसहरू देशको भेद लिन आए।” 3 तब यरिहोका राजाले राहाबलाई यसो भनिपठाए: “जुन पुरुषहरू तँकहाँ आएका छन् र तेरो घरभित्र पसेका छन्, ती पुरुषहरूलाई निकालेर ले; किनकि तिनीहरू सारा देशको भेद लिन आएका हुन्।” 4 तर यी स्त्रीले ती दुई मानिसहरूलाई लगिन्, तिनीहरूलाई लुकाइन् र यसो भनिन्: “ती पुरुषहरू मकहाँ त आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, सो मलाई थाहा भएन। 5 अनि यस्तो भयो: मूलढोका बन्द हुने बेलामा, जब अँध्यारो भयो, तब ती मानिसहरू निस्केर गए; ती मानिसहरू कता गए, मलाई थाहा छैन; झट्टै तिनीहरूलाई पिछा गर्नुहोस्; किनकि तपाईंहरूले तिनीहरूलाई भेट्टाउनुहुनेछ।” 6 तर तिनले उनीहरूलाई माथि कौसीमा लगेकी थिइन्, र सनका डाँठहरूमुनि लुकाएकी थिइन्, जुन सनका डाँठहरू तिनले त्यस कौसीमा सजाएर राखेकी थिइन्। 7 अनि ती मानिसहरूले यर्दनको बाटोमा घाटहरूसम्म उनीहरूको पिछा गरे; अनि उनीहरूलाई पिछा गर्नेहरू निस्कने बित्तिकै तिनीहरूले शहरको मूलढोका बन्द गरे।8 अनि उनीहरू सुत्नअघि तिनी कौसीमा उनीहरूकहाँ उक्लेर आइन्; 9 अनि तिनले ती मानिसहरूलाई भनिन्: “म जान्दछु, परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ, र तपाईंहरूको भयलेक हामीलाई छोपेको छ, अनि देशका सबै बासिन्दाहरू तपाईंहरूको कारणले पग्लेका छन्। 10 किनकि जब तपाईंहरू मिस्रबाट निस्केर आउनुभयो, तब परमप्रभुले कसरी तपाईंहरूको सामु लाल समुद्रको पानी सुकाइदिनुभयो; अनि तपाईंहरूले यर्दनपारिका एमोरीहरूका दुवै राजा सीहोन र ओगलाई जे गर्नुभयो, सो हामीले सुनेका छौं, जसलाई तपाईंहरूले पूर्ण रूपले नाश गर्नुभयो। 11 अनि हामीले यी कुराहरू सुन्नेबित्तिकै हाम्रो मन लल्लयाकलुलुक भयो; र तपाईंहरूको कारणले कुनै मानिसमा केही हिम्मत रहेन; किनभने परमप्रभु तपाईंहरूका परमेश्वर – उहाँ नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ। 12 यसकारण अब म तपाईंहरूलाई विन्ती गर्दछु, मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले तपाईंहरूले पनि मेरो बुबाको घरानामाथि दया देखाउनुहुनेछ; 13 अनि तपाईंहरूले मेरा बुबा, मेरी आमा, मेरा दाजुभाइहरू र मेरा दिदीबहिनीहरू, साथै तिनीहरूसँग भएका सबै थोकहरूलाई जीवित राख्नुहुनेछ, र हाम्रा प्राणहरूलाई मृत्युबाट बचाउनुहुनेछ भनी मसँग परमप्रभुको नाममा शपथ खानुहोस् र मलाई एउटा साँचो चिनो दिनुहोस्!” 14 अनि ती मानिसहरूले तिनलाई जवाफ दिए: “तिमीहरूले हाम्रो यो कामकुरा कसैलाई बताएनौ भने तिमीहरूका प्राणको सट्टामा हाम्रा प्राण। अनि यस्तो हुनेछ: जब परमप्रभुले हामीलाई यो देश दिनुहुन्छ, तब हामी तिमीसँग दया र सच्चाइसित व्यवहार गर्नेछौं।”
15 त्यसपछि तिनले उनीहरूलाई डोरीको सहारालेख झ्यालबाट तल ओह्रालिन्; किनभने तिनको घर शहरको पर्खालमा थियो, र त्यस पर्खालमा तिनी बस्दथिइन्। 16 अनि तिनले उनीहरूलाई भनिन्: “तपाईंहरू पहाड़तिर लाग्नुहोस्; नत्रभने ती पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछन्; र ती पिछा गर्नेहरू नफर्कुन्जेल तीन दिनसम्म तपाईंहरू त्यहीं लुक्नुहोस्; अनि त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्नुहोस्!” 17 अनि ती मानिसहरूले तिनलाई भने: “तिमीले हामीलाई जुन शपथ खान लगाएकी छ्यौ, तिम्रो त्यस शपथको विषयमा हामीचाहिँ निर्दोष रहनेछौं; 18 हेर, जब हामी यस देशमा आउँछौं, तब जुन झ्यालबाट तिमीले हामीलाई ओह्राल्यौ, त्यसमा यो सिन्दुरे रङ्गको धागोको सूत बाँध्नू; अनि तिमीले तिम्रा बुबा, तिम्री आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाको सारा घरानालाई यही घरभित्र तिमीकहाँ भेला पार्नू! 19 अनि यस्तो हुनेछ: जो कोही तिम्रो घरको ढोकाबाट बाहिर सड़कमा निस्केर जाला, त्यसको रगत त्यसकै टाउकोमाथि पर्नेछ, अनि हामीचाहिँ निर्दोष रहनेछौं; तर जो कोही तिमीसँग घरभित्र रहनेछ, यदि त्यसमाथि कसैको हात पर्यो भने त्यसको रगत हाम्रो टाउकोमाथि पर्नेछ। 20 अनि यदि तिमीले हाम्रो यो कामकुरा कसैलाई भन्यौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी छ्यौ, तिम्रो त्यस शपथबाट हामी निर्दोष हुनेछौं।” 21 तब तिनले भनिन्: “तपाईंहरूका वचनहरूअनुसार नै होस्!” अनि तिनले उनीहरूलाई बिदा गरिन्ग, र उनीहरू गइहाले। अनि तिनले त्यो सिन्दुरे रङ्गको सूत झ्यालमा बाँधिन्।
22 अनि उनीहरू गए, र पहाड़मा पुगे, अनि ती पिछा गर्नेहरू नफर्कुन्जेल तीन दिनसम्म त्यहीं बसे; अनि ती पिछा गर्नेहरूले त्यस बाटोभरि उनीहरूलाई धुइँधुइँती खोजे, तर भेट्टाएनन्। 23 तब ती दुई मानिसहरू फर्के र त्यस पहाड़बाट ओर्लेर आए, अनि पार गरेर नूनका छोरा यहोशूकहाँ आए, र उनीहरूमाथि आइपरेका सबै कुराहरू उनलाई सुनाए। 24 अनि उनीहरूले यहोशूलाई भने: “साँच्चै नै परमप्रभुले त्यो जम्मै देश हाम्रो हातमा दिइसक्नुभएको छ; किनभने त्यस देशका जम्मै बासिन्दाहरू पनि हाम्रो कारणले पग्लेका छन्।”