इस्राएलीहरू यर्दन नदी तरे
3
अनि यहोशू बिहान सबेरै उठे; अनि तिनीहरू शित्तीमबाट हिँड़ेर उनी र सबै इस्राएलीहरू यर्दनमा आइपुगे, अनि तिनीहरू पारि तर्नभन्दा अघि त्यहीं वास बसे। 2 अनि तीन दिनपछि यस्तो भयो: अधिकारीहरू छाउनीको बीचबाट भएर गए; 3 अनि उनीहरूले मानिसहरूलाई यसो भन्दै आज्ञा गरे: “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वाचाको सन्दुक र लेवीय पूजाहारीहरूलाई त्यो बोक्दै गरेका देख्नेछौ, तब तिमीहरू आफ्नो ठाउँबाट निस्केर त्यसको पछि-पछि जाओ! 4 तरैपनि तिमीहरू र त्यसको बीचमा लगभग दुई हजार हातको नापअनुसारको अन्तर रहोस्; त्यसको नजिक नआओ; यसो गर्नाले तिमीहरूले आफू हिँड़्नुपर्ने बाटो जान्नेछौ; किनकि तिमीहरू त्यस बाटो भएर पहिले हिँड़ेका छैनौ।” 5 अनि यहोशूले मानिसहरूलाई भने: “तिमीहरूले आफूलाई पवित्र पार; किनभने भोलि परमप्रभुले तिमीहरूको बीचमा अचम्मका कामहरू गर्नुहुनेछ।” 6 तब यहोशूले पूजाहारीहरूलाई यसो भने: “वाचाको सन्दुक उठाओ र मानिसहरूको अघि-अघि पारि तर!” अनि उनीहरूले वाचाको सन्दुक उठाए, र मानिसहरूको अघि-अघि हिँड़े।7 अनि परमप्रभुले यहोशूलाई भन्नुभयो: “आजको दिन म तिमीलाई सारा इस्राएलको दृष्टिमा उच्च तुल्याउन शुरु गर्नेछु, र जसरी म मोशासँग हुन्थें, त्यसरी नै म तिमीसँग हुनेछु भनी तिनीहरूले जान्न सकून्। 8 अनि तिमीले वाचाको सन्दुक बोक्ने पूजाहारीहरूलाई यसो भन्दै आज्ञा दिनू: ‘जब तिमीहरू यर्दनको पानीको किनारमा आइपुग्छौ, तब तिमीहरू यर्दनमा चलमल नगरी खड़ा रहनू!’ ” 9 तब यहोशूले इस्राएलीहरूलाई भने: “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचनहरू सुन!” 10 अनि यहोशूले भने: “जीवित परमेश्वर तिमीहरूको बीचमा हुनुहुन्छ, अनि निश्चय नै उहाँले तिमीहरूको सामुबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई निकाल्नुहुनेछ भनी यसबाट तिमीहरूले जान्नेछौ। 11 हेर, सारा पृथ्वीका प्रभुकोक वाचाको सन्दुक तिमीहरूको अघि-अघि गएर यर्दनभित्र पस्नेछ। 12 यसकारण अब हरेक कुलबाट एक-एक पुरुष गरी इस्राएलका कुलहरूबाट बाह्रजना पुरुषहरू आफ्ना निम्ति लेओ! 13 अनि यसो हुनेछ; सारा पृथ्वीका प्रभुख अर्थात् परमप्रभुको सन्दुक बोक्ने पूजाहारीहरूका पैतालाहरूले यर्दनको पानीमा टेक्नेबित्तिकै यर्दनको पानी, माथिबाट बगेर तल आउने पानी काटिनेछ; अनि त्यो थाक लागेर खड़ा हुनेछ।”
14 अनि यस्तो भयो: जब मानिसहरू यस यर्दनपारि जानलाई आफ्ना पालहरूबाट अघि बढ़े, तब पूजाहारीहरूले मानिसहरूको अघि वाचाको सन्दुक बोकिरहेका थिए; 15 अनि जब सन्दुक बोक्नेहरू यर्दनमा आइपुगे, र सन्दुक बोक्ने पूजाहारीहरूका खुट्टाहरू पानीको किनारमा चोपलिए – (किनकि कटनीको पूरै समयभरि यर्दनको पानी यसका जम्मै किनारहरू ढाकेर बग्छ) – 16 तब माथिबाट बगेर तल आउने पानी अड़ियो र धेरै टाढ़ामा, जार्तानको छेउमा भएको आदाम शहरमा थाक लागेर खड़ा भयो; अनि अराबाको समुद्रतिर, अँ, क्षार समुद्रतिर बगिझर्ने पानी पूरै काटियो; अनि ती मानिसहरू यरिहोको सामुबाट पारि तरे। 17 अनि ती पूजाहारीहरू, जसले परमप्रभुको वाचाको सन्दुक बोकेका थिए, यर्दनको बीचमा सुक्खा भूमिमा स्थिर भई खड़ा भइरहे; अनि सबै मानिसहरू यस यर्दनपारि पूरै नतरुन्जेल सबै इस्राएलीहरूले सुक्खा जमिनै-जमिन भएर पार गरे।