सम्झना गराउने बाह्र ढुङ्गाहरू यर्दनबाट टिपिए
4
अनि यस्तो भयो: सबै मानिसहरू यस यर्दनपारि गइसकेपछि परमप्रभु यसो भन्दै यहोशूसँग बोल्नुभयो: 2 “हरेक कुलबाट एक-एक पुरुष गरी मानिसहरूबाट बाह्रजना पुरुषहरू आफ्ना निम्ति लेओ! 3 अनि यसो भनेर तिमीहरूले तिनीहरूलाई आज्ञा गर्नू: ‘तिमीहरूले यहाँ यर्दनको बीचबाट, यस ठाउँबाट जहाँ यी पूजाहारीहरूका खुट्टाहरू स्थिर भई खड़ा छन्, बाह्रवटा ढुङ्गाहरू टिप! अनि तिमीहरूले तिनलाई आफ्नो साथमा बोकेर पारि लैजाओ, र तिनलाई त्यस वासस्थानमा राखिदेओ, जहाँ तिमीहरू आज राति वास बस्नेछौ।’ ” 4 तब यहोशूले ती बाह्रजना पुरुषहरूलाई बोलाए, जसलाई उनले इस्राएलीहरूबाट, हरेक कुलबाट एक-एक पुरुष हुने गरी तयार पारेका थिए। 5 अनि यहोशूले तिनीहरूलाई भने: “अब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सन्दुकको सामु यर्दनको बीचबाट तरेर जाओ, र इस्राएलीहरूका कुलहरूको संख्याअनुसार तिमीहरूमध्ये हरेक पुरुषले आ-आफ्नो काँधमा एक-एक ढुङ्गा उठाओ! 6 यस हेतुले कि यो तिमीहरूको बीचमा एउटा चिनो ठहरियोस्, र आउँदो समयमा तिमीहरूका सन्तानले ‘तपाईंहरूका निम्ति यी ढुङ्गाहरूको अर्थ के हो?’ भन्दै सोधे भने, 7 तिमीहरूले तिनीहरूलाई यसो भन्नू: ‘परमप्रभुको वाचाको सन्दुकको सामु यर्दनको पानी काटिएको थियो; जब यसले यर्दन पार गर्यो, तब यर्दनको पानी काटिएको थियो।’ अनि यी ढुङ्गाहरू इस्राएलीहरूका निम्ति सधैंभरि एउटा सम्झना-चिन्ह हुनेछन्।” 8 तब इस्राएलीहरूले जस्तो यहोशूले आज्ञा दिए, त्यस्तै गरे; अनि परमप्रभुले यहोशूलाई जस्तो भन्नुभयो, त्यस्तै तिनीहरूले इस्राएलीहरूका कुलहरूको संख्याअनुसार यर्दनको बीचबाट बाह्रवटा ढुङ्गा उठाएर तिनलाई आफू वास बसेको ठाउँसम्म साथमा बोकेर लगे र तिनलाई त्यहाँ राखे।9 तब यहोशूले बाह्रवटा ढुङ्गा यर्दनको बीचमा, त्यस ठाउँमा खड़ा गरे, जहाँ ती वाचाको सन्दुक बोक्ने पूजाहारीहरूका खुट्टाहरू स्थिर भई खड़ा थिए; अनि ती आजको दिनसम्म त्यहीं छन्। 10 किनकि ती पूजाहारीहरू, जसले त्यो सन्दुक बोकेका थिए, यर्दनको बीचमा त्यस समयसम्म उभिइरहे, जबसम्म सबै कुराहरू पूरा भएनन्, जुन कुराचाहिँ मोशाले यहोशूलाई आज्ञा गरेका सबै कुराअनुसार मानिसहरूलाई भन्नू भनी परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभयो। अनि मानिसहरूले हतार-हतार गरी पार गरे। 11 अनि यस्तो भयो: सबै मानिसहरू पारि गइसकेपछि परमप्रभुको सन्दुक र ती पूजाहारीहरू मानिसहरूको सामु पारि तरे। 12 अनि रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुल मोशाले तिनीहरूलाई भनेअनुसार हतियार भिरेर इस्राएलीहरूको सामु पारि तरे। 13 युद्धका निम्ति तयार भएका लगभग चालीस हजार मानिसहरू लड़ाइँका निम्ति परमप्रभुको सामु पारि तरेर यरिहोका मैदानहरूमा पुगे। 14 त्यस दिन परमप्रभुले सबै इस्राएलीहरूको दृष्टिमा यहोशूलाई उच्च तुल्याउनुभयो; अनि जसरी तिनीहरूले मोशाको डर मान्थे, त्यसरी नै उनको सारा जीवनभरि तिनीहरूले उनको डर माने।
15 तब परमप्रभुले यहोशूलाई यसो भन्नुभयो: 16 “साक्षीको सन्दुक बोक्ने यी पूजाहारीहरूलाई यर्दनबाट निस्केर आउने आज्ञा गर!” 17 यसकारण यहोशूले ती पूजाहारीहरूलाई यसो भन्दै आज्ञा गरे: “यर्दनबाट निस्केर आओ!” 18 अनि यस्तो भयो: जब परमप्रभुको वाचाको सन्दुक बोक्ने पूजाहारीहरू यर्दनको बीचबाट बाहिर निस्के, र जब ती पूजाहारीहरूका पैतालाहरूले सुक्खा जमिनमा टेके, तब यर्दनको पानी आफ्नो ठाउँमा फर्क्यो र पहिले जस्तै यसका जम्मै किनारहरू ढाकेर बग्न थाल्यो।
19 अनि पहिलो महिनाको दसौं दिनमा मानिसहरू यर्दनबाट निस्केर आए, र यरिहोको पूर्वपट्टिको सिमानामा गिल्गालमा पाल टाँगेर बसे। 20 अनि तिनीहरूले यर्दनबाट निकालेर ल्याएका ती बाह्रवटा ढुङ्गा यहोशूले गिल्गालमा खड़ा गरे। 21 अनि उनले इस्राएलीहरूलाई यसो भने: “आउँदो समयमा तिमीहरूका सन्तानले आफ्ना बुबाहरूलाई ‘यी ढुङ्गाहरूको के अर्थ हो?’ भन्दै जब सोध्लान्, 22 तब तिमीहरूले आफ्ना सन्तानलाई यसो भन्दै जानकारी दिनू: ‘इस्राएल सुक्खा जमिनै-जमिन भएर यर्दन पार गरेर आयो’; 23 किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू पारि नतरुन्जेल तिमीहरूको सामुबाट यर्दनको पानी त्यसरी नै सुकाउनुभयो, जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रसित गर्नुभएको थियो; हामी पारि नतरुन्जेल हाम्रो सामुबाट त्यो सुकाइदिनुभयो; 24 पृथ्वीका सबै मानिसहरूले परमप्रभुको हात, त्यो सामर्थी छ भनी जानून्; अनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको डर सधैंभरिक मान्न सक।”