गिल्गालमा खतना र निस्तार चाड़
5
अनि यस्तो भयो: जब पश्‍चिमपट्टि यर्दनपारिका एमोरीहरूका सबै राजाहरूले र समुद्रको छेउमा भएका कनानीहरूका सबै राजाहरूले, हामी पारि नतरुन्जेल परमप्रभुले इस्राएलीहरूको सामुबाट यर्दनको पानी सुखाइदिनुभएको थियो भनी सुने, तब इस्राएलीहरूको कारणले तिनीहरूको हृदय लल्‍याकलुलुक भयो, र तिनीहरूमा कुनै हिम्मत रहेन। 2 त्यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो: “आफ्ना निम्ति धारिला छुरीहरू बनाऊ, र फेरि इस्राएलीहरूलाई फेरि दोस्रो पल्ट खतना गर!” 3 तब यहोशूले आफ्ना निम्ति धारिला छुरीहरू बनाए र गिबत-हाअरालोतमा इस्राएलीहरूको खतना गरे। 4 अनि यहोशूले खतना गराउने कारण यो थियो: मिस्र देशबाट निस्केर आएका सबै मानिसहरू, जो पुरुषहरू थिए, अर्थात् सबै योद्धाहरू मिस्रबाट निस्केर आएपछि बाटोमा हुँदा उजाड़स्थानमा मरेका थिए। 5 किनभने मिस्रबाट निस्केर आएका सबै मानिसहरू खतना गरिएका थिए; तर मिस्रबाट निस्केर आएपछि बाटोमा हुँदा उजाड़स्थानमा जन्मेका सबै मानिसहरूको खतना गरिएको थिएन। 6 किनकि इस्राएलीहरू चालीस वर्षसम्म उजाड़स्थानमा हिँड़िरहे, जबसम्म ती सबै मानिसहरू, जो मिस्रबाट निस्केर आएका योद्धा थिए, पूरा नाश भएनन्; किनकि तिनीहरूले परमप्रभुको कुरा मानेनन्; तिनीहरूसँग परमप्रभुले ‘तिमीहरूलाई त्यो देश देखाउनेछैनँ’ भनी शपथ खानुभयो, जसको विषयमा परमप्रभुले तिनीहरूका पितापुर्खाहरूसँग ‘हामीलाई एउटा दूध र मह बग्‍ने देश दिनेछु’ भनी शपथ खानुभएको थियो। 7 अनि उहाँले तिनीहरूको सट्टामा खड़ा गर्नुभएका तिनीहरूका सन्तानलाई यहोशूले खतना गरे; किनकि तिनीहरू खतना नगरिएका थिए; किनभने तिनीहरूले तिनीहरूलाई बाटोमा खतना गरेका थिएनन्। 8 अनि यस्तो भयो: जब तिनीहरूले सबै मानिसहरूको खतना गरिसके, तब तिनीहरू निको नहोउन्जेल छाउनीमा आ-आफ्ना ठाउँमा बसिरहे। 9 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो: “मैले आजको दिन तिमीहरूबाट मिस्रको निन्दा गुड़ाइदिएको छु।” यसकारण त्यस ठाउँको नाम आजको दिनसम्म ‘गिल्गाल’ भनिन्छ।
10 अनि इस्राएलीहरू गिल्गालमा पाल टाँगेर बसे, अनि त्यस महिनाको चौधौं दिनको बेलुकीपख यरिहोका मैदानहरूमा निस्तार चाड़ मनाए। 11 अनि निस्तार चाड़को भोलिपल्ट तिनीहरूले त्यही दिन त्यस देशको उब्जनीबाट अखमिरे रोटीहरू र भुटेको अन्‍न खाए। 12 अनि तिनीहरूले त्यस देशको उब्जनीबाट खाएको भोलिपल्टदेखि मन्‍ना बन्द भयो; अनि इस्राएलीहरूले तब उसो मन्‍ना पाएनन्; तर तिनीहरूले त्यस साल कनान देशको उब्जनीबाट खाए।
13 अनि यस्तो भयो: जब यहोशू यरिहोको नजिकै थिए, तब उनले आफ्ना आँखाहरू उठाएर हेरे; अनि हेर, आफ्नो हातमा नाङ्गो तरवार खिचिरहेका एकजना पुरुष आफ्नो सामु उभिएका रहेछन्; अनि यहोशू तिनीकहाँ गएर तिनलाई भने: “के तपाईं हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको पक्षमा हुनुहुन्छ?” 14 अनि तिनले भने: “होइन; तर परमप्रभुको सेनाको कप्‍तान भएर म अहिले आएको छु।” तब यहोशू भुइँसम्‍म घोप्‍टो परे, र दण्‍डवत्‌ गरेर तिनलाई भने: “मेरा प्रभु आफ्नो दासलाई के भन्‍नुहुन्छ?” 15 अनि परमप्रभुको सेनाका कप्‍तानले यहोशूलाई भने: “तिम्रो खुट्टाबाट तिम्रो जुत्ता फुकाल; किनभने त्यो ठाउँ, जहाँ तिमी उभिरहेका छौ, पवित्र छ।” अनि यहोशूले त्यस्तै गरे।