यरिहो शहरमाथिको विजय
6
अनि इस्राएलीहरूको कारणले यरिहो बिलकुलै बन्द रहन्थ्यो; कोही बाहिर जाँदैनथ्यो, र कोही भित्र पस्दैनथ्यो। 2 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो: “हेर, मैले यरिहो, साथै त्यसको राजा र शूरवीर योद्धाहरूलाई तिम्रो हातमा दिएको छु। 3 अनि हे सबै योद्धाहरूहो, तिमीहरूले त्यस शहरको वरिपरि एकपल्ट घुमेर त्यस शहरलाई फन्को मार्नू! छ दिनसम्म तिमीले त्यस्तै गर्नू! 4 अनि सातजना पूजाहारीहरू भेड़ाका सिङका सातवटा तुरही लिएर सन्दुकको अघि-अघि हिँड़ून्; अनि सातौं दिनमा तिमीहरूले त्यस शहरलाई सात फन्को मार्नू, र ती पूजाहारीहरूले तुरहीहरू फुकून्! 5 अनि यस्तो हुनेछ: जब तिनीहरूले भेड़ाको सिङको तुरही लामो समयसम्म फुक्छन् र जब तिमीहरूले तुरहीको त्यो आवाज सुन्छौ, तब सबै मानिसहरू ठूलो सोरले चिच्च्याऊन्, र त्यस शहरको पर्खाल फेदसम्मै गर्लम्म ढल्नेछ, अनि मानिसहरू हरेक आ-आफ्नो अघिल्तिर सीधै उक्लेर जाऊन्!”
6 तब नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर उनीहरूलाई भने: “वाचाको सन्दुक उठाओ! र सातजना पूजाहारीहरू भेड़ाका सिङका सातवटा तुरही लिएर वाचाको सन्दुकको अघि-अघि हिँडून्!” 7 अनि उनले मानिसहरूलाई भने: “अघि बढ़, र यस शहरलाई फन्को मार! अनि हतियार भिर्नेहरूचाहिँ परमप्रभुको सन्दुकको अघिल्तिर जाऊन्!” 8 अनि यस्तो भयो: यहोशूले मानिसहरूलाई यो भनिसकेपछि भेड़ाका सिङका सातवटा तुरही बोक्ने सातजना पूजाहारीहरू परमप्रभुको सामु अघि बढ़ेर गए, र तुरहीहरू फुके; अनि परमप्रभुको वाचाको सन्दुक उनीहरूको पछि लाग्यो। 9 अनि हतियार भिरेकाहरूचाहिँ ती तुरहीहरू फुक्ने पूजाहारीहरूको अघि-अघि हिँड़े, र पछिकाहरूचाहिँ सन्दुकको पछि आए; ती पूजाहारीहरू हिँड़िरहे र तुरहीहरू फुकिरहे। 10 अनि यहोशूले मानिसहरूलाई यसो भन्दै आज्ञा गरेका थिए: “जुन दिनसम्म म तिमीहरूलाई ‘चिच्च्याओ!’ भन्‍ने आज्ञा दिन्‍नँ, त्यस दिनसम्म तिमीहरू नचिच्च्याउनू, न तिमीहरूको केही आवाज निकाल्नू, न तिमीहरूको मुखबाट केही शब्द नै निस्कोस्! त्यसपछि तिमीहरू चिच्च्याउनू!” 11 यसरी परमप्रभुको सन्दुकले त्यस शहरको वरिपरि एकपल्ट घुमेर त्यसलाई फन्को मार्‍यो; अनि तिनीहरू छाउनीमा आएर छाउनीमा वास बसे।
12 अनि यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्दुक उठाए। 13 अनि भेड़ाका सिङका सातवटा तुरही बोक्ने ती सातजना पूजाहारीहरू परमप्रभुको सन्दुकको अघि-अघि लगातार हिँड़िरहे र तुरहीहरू फुकिरहे; अनि हतियार भिरेकाहरूचाहिँ उनीहरूको अघि-अघि हिँड़े; तर पछिकाहरूचाहिँ परमप्रभुको सन्दुकको पछि-पछि आए; ती पूजाहारीहरू हिँड़ि नै रहे, र तुरहीहरू फुकि नै रहे। 14 अनि दोस्रो दिन तिनीहरू त्यस शहरलाई एकपल्ट फन्को मारेर छाउनीमा फर्के; छ दिन तिनीहरूले त्यस्तै गरे।
15 अनि सातौं दिनमा यस्तो भयो: दिनको उज्यालो खस्‍ने बेलामा तिनीहरू उठे, र त्यस शहरलाई त्यही रीतिले सातपल्‍ट फन्को मारे; त्यस दिन मात्र तिनीहरूले त्यस शहरलाई सातपल्‍ट फन्को मारे। 16 अनि सातौं पल्टमा यस्तो भयो: जब ती पूजाहारीहरूले तुरहीहरू फुके, तब यहोशूले मानिसहरूलाई भने: “चिच्च्याओ; किनभने परमप्रभुले यो शहर तिमीहरूलाई दिनुभएको छ। 17 अनि यो शहर – यो र यसमा भएका सबै थोकहरू – परमप्रभुका निम्ति अर्पित छन्; वेश्या राहाब – तिनी र तिनीसित घरमा भएका सबै मात्र जीवित रहून्; किनकि तिनले ती दूतहरूलाई लुकाइन्, जसलाई हामीले पठाएका थियौं। 18 अनि तिमीहरूले ती अर्पित थोकहरूबाट आफूलाई बिलकुलै अलग राख्‍नू, नत्र ती अर्पित थोकबाट केही लिएर तिमीहरूले आफैलाई श्रापित तुल्याउँछौ, र इस्राएलको छाउनीलाई एउटा श्रापित थोक तुल्याउँछौ, अनि यसलाई कष्‍ट दिन्छौ। 19 तर जम्मै चाँदी र सुन, अनि पित्तल र फलामका भाँड़ाहरूचाहिँ परमप्रभुका निम्ति पवित्र गरिएका छन्; ती परमप्रभुको भण्डारमा आऊन्!” 20 तब ती पूजाहारीहरूले तुरहीहरू फुक्दा मानिसहरू चिच्च्याए; अनि यस्तो भयो: जब मानिसहरूले तुरहीको आवाज सुने, र मानिसहरू ठूलो सोरले चिच्च्याए, तब त्यो पर्खाल फेदैसम्म गर्लम्म ढल्यो; अनि मानिसहरू हरेक आ-आफ्नो अघिल्तिर सीधै उक्लेर शहरभित्र पसे; यसरी तिनीहरूले त्यो शहर कब्जा गरे। 21 अनि तिनीहरूले शहरमा भएका पुरुष र स्त्री, जवान र बूढ़ा, साथै गाईगोरु, भेड़ाबाख्रा र गधा सबैलाई तरवारको धारले बिलकुलै नष्‍ट पारे।
22 तर यहोशूले त्यस देशको जासुसी गर्ने ती दुई मानिसहरूलाई भनेका थिए: “ती वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसित शपथ खाएअनुसार ती स्त्रीलाई र तिनीसँग भएका सबैलाई त्यहाँबाट बाहिर निकाल!” 23 अनि जुन जवान मानिसहरूले जासुसी गरेका थिए, ती जवान मानिसहरू भित्र पसे, र उनीहरूले राहाब, तिनका बुबा, तिनकी आमा र तिनका दाजुभाइहरू साथै तिनीसँग भएका सबै थोकहरू बाहिर निकाले; अनि उनीहरूले तिनका सबै कुटुम्बहरूलाई बाहिर निकाले र तिनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे। 24 अनि तिनीहरूले त्यस शहरलाई र त्यसमा भएका सबै थोकहरू आगोले जलाइदिए, केवल चाँदी र सुन, अनि पित्तल र फलामका भाँड़ाहरू तिनीहरूले परमप्रभुको घरको भण्डारमा राखे। 25 अनि यहोशूले वेश्या राहाबलाई, तिनका बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवित बचाइराखे; अनि आजको दिनसम्म तिनी इस्राएलको बीचमा वास गर्छिन्; किनकि तिनले ती दूतहरूलाई लुकाइन्, जसलाई यहोशूले यरिहोको जासुसी गर्न पठाएका थिए। 26 अनि यहोशूले त्यस समयमा तिनीहरूलाई यसो भन्दै शपथ खान लगाए: “परमप्रभुको सामु त्यो मान्छे श्रापित होस्, जसले उठेर यो शहर यरिहो बनाउँछ; त्यसले आफ्नो जेठो छोरामाथि यसको जग बसाल्नेछ, र आफ्नो कान्छो छोरामाथि यसका मूलढोकाहरू खड़ा गर्नेछ।” 27 यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो; अनि उनको सुनाम सारा देशभरि फैलियो।