आकानको पाप र त्यसको सजाय
7
तर इस्राएलीहरूले अर्पित थोकको विषयमा अपराध गरे; किनकि यहूदा कुलको, जेरहको पनाति, जब्दीको नाति, कर्मीको छोरा आकानले अर्पित थोकबाट केही लियो; अनि परमप्रभुको क्रोध इस्राएलीहरूको विरोधमा दन्कियो।
2 तब यहोशूले यरिहोबाट मानिसहरूलाई ऐमा पठाए, जोचाहिँ बेतएलको पूर्वपट्टि बेत-आवनको छेउमा अवस्थित छ; अनि उनी तिनीहरूसँग यसो भन्दै बोले: “माथि जाओ, र देशको जासुसी गर!” अनि ती मानिसहरू गए, र ऐको जासुसी गरे। 3 अनि तिनीहरू यहोशूकहाँ फर्केर आए, र उनलाई भने: “सबै मानिसहरू माथि नजाऊन्, तर लगभग दुई वा तीन हजार पुरुषहरू माथि जाऊन् र ऐलाई प्रहार गरून्; सबै मानिसहरूलाई त्यहाँ जाने कष्‍ट नदिनुहोस्; किनभने तिनीहरू थोरै छन्।” 4 तब मानिसहरूबाट लगभग तीन हजार पुरुषहरू त्यहाँ माथि गए; अनि उनीहरू ऐका मानिसहरूको सामुबाट भागे। 5 अनि ऐका मानिसहरूले उनीहरूका छत्तीसजना जति पुरुषहरूलाई मारे; किनकि तिनीहरूले उनीहरूलाई मूलढोकाको अघिल्तिरदेखि शबारीमसम्म लखेटे, र ओरालोमा उनीहरूलाई मारे; यसकारण ती मानिसहरूको मन लल्‍याकलुलुक भएर पानीझैं भयो।
6 तब यहोशूले आफ्ना लुगा च्याते; अनि उनी परमप्रभुको सन्दुकको सामु साँझसम्म भुइँसम्‍म घोप्‍टो परे – उनी र इस्राएलका बूढ़ा प्रधानहरू, अनि उनीहरूले आ-आफ्नो शिरमा धूलो हाले। 7 अनि यहोशूले भने: “अहह, हे प्रभु यहोवा! हामीलाई एमोरीहरूको हातमा सुम्पेर हामीलाई नाश पार्नलाई तपाईंले यस जातिलाई यर्दन तरेर किन ल्याउनुभयो, किन? बरु हामी सन्तोष गरेर यर्दनपारि बसेका भए बेस हुनेथियो! 8 हे प्रभु, इस्राएलले आफ्ना शत्रुहरूको सामु आफ्नो पिठ्यूँ फर्काएपछि म के भनूँ! 9 किनकि कनानीहरू र यस देशका सबै बासिन्दाहरूले यो सुन्‍नेछन्, हामीलाई वरिपरिबाट घेर्नेछन् र हाम्रो नाम पृथ्वीबाट मेटिदिनेछन्; अनि आफ्नो महान् नामको निम्ति तपाईंले के गर्नुहुन्छ?”
10 तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो: “उठ! तिमी किन यसरी आफ्नो मुख टेकाएर घोप्‍टो परिरहन्छौ? 11 इस्राएलले पाप गरेको छ; अनि मैले तिनीहरूलाई आज्ञा गरेको मेरो वाचा तिनीहरूले तोड़ेका पनि छन्; किनकि तिनीहरूले अर्पित थोकबाट केही लिएका पनि छन्, चोरेका पनि छन् र छल पनि गरेका छन्; अनि तिनीहरूले यसलाई आफ्नै मालसामानहरूसँग राखेका पनि छन्। 12 यसकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको सामु खड़ा रहन सक्दैनन्, तर तिनीहरूले आफ्ना शत्रुहरूको सामु आफ्ना पिठ्यूँहरू फर्काए; किनकि तिनीहरू श्रापित भए; तिमीहरूको बीचबाट त्यो अर्पित थोक नाश नगरेसम्म म अब उसो तिमीहरूको साथमा रहनेछैनँ। 13 उठ, मानिसहरूलाई पवित्र गर, र भन: भोलिका निम्ति तिमीहरूले आफैलाई पवित्र पार; किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हे इस्राएल! तिम्रो बीचमा कुनै अर्पित थोक छ; जबसम्म तिमीहरूले त्यो अर्पित थोक तिमीहरूको बीचबाट हटाउँदैनौ, तबसम्म तिमी आफ्ना शत्रुहरूको सामु खड़ा रहन सक्नेछैनौ। 14 यसकारण बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार नजिक ल्याइनेछौ; अनि यस्तो हुनेछ: जुन कुललाई परमप्रभुले पक्रनुहुन्छ, त्यो आफ्नो गोत्र-गोत्रअनुसार आओस्; अनि जुन गोत्रलाई परमप्रभुले पक्रनुहुन्छ, त्यो परिवार-परिवारअनुसार आओस्; अनि जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्छ, त्यो एक-एक पुरुष गरी आओस्! 15 अनि यस्तो हुनेछ: जोचाहिँ अर्पित थोकसँग पक्रा पर्छ, त्यो आगोले जलाइयोस् – त्यो र त्यससँग भएका सबै थोक; किनकि त्यसले परमप्रभुको वाचा भङ्ग गरेको छ र इस्राएलमा मूर्खता गरेको छ।’ ”
16 तब यहोशू बिहान सबेरै उठे, र इस्राएललाई आ-आफ्नो कुलअनुसार नजिक ल्याए; अनि यहूदा कुल पक्रा पर्‍यो। 17 अनि उनले यहूदाका गोत्रहरूलाई नजिक ल्याए, र जेरहको गोत्रलाई पक्रे; अनि उनले जेरहको गोत्रलाई एक-एक पुरुष गरी नजिक ल्याए; अनि जब्दी पक्रा पर्‍यो। 18 अनि उनले तिनको परिवारलाई एक-एक पुरुष गरी नजिक ल्याए; अनि यहूदा कुलको, जेरहको पनाति, जब्दीको नाति, कर्मीको छोरा आकान पक्रा पर्‍यो। 19 तब यहोशूले आकानलाई भने: “हे मेरा छोरा, म तिमीलाई विन्‍ती गर्छु, परमप्रभु इस्राएलका परमेश्‍वरलाई महिमा देऊ, र उहाँको सामु स्वीकार गर! तिमीले जे गरेका छौ, सो मलाई अहिले नै बताऊ; मबाट यो नलुकाऊ!” 20 अनि आकानले यहोशूलाई जवाफ दिएर भन्यो: “साँच्‍ची नै मैले परमप्रभु इस्राएलका परमेश्‍वरको विरोधमा पाप गरेको छु; अनि मैले यस्तो-यस्तो प्रकारले गरेको छु। 21 जब मैले लुटका मालमा एउटा बढ़िया शिनारको ओढ़्ने, दुई सय शेकेल चाँदी र पचास शेकेल ओजन भएको एउटा सुनको साँप्लो देखें, तब मैले तिनको लालसा गरें, र तिनलाई लिएँ; अनि हेर्नुहोस्, ती चीजहरू मेरो पालको बीचमा जमिनभित्र लुकाइएका छन्; अनि चाँदीचाहिँ त्यसमुनि छ।”
22 तब यहोशूले दूतहरूलाई पठाए, अनि तिनीहरू त्यस पालमा दगुरेर गए; अनि हेर, ती चीजहरू त्यसको पालमा लुकाइका थिए, र चाँदीचाहिँ त्यसमुनि थियो। 23 अनि तिनीहरूले त्यस पालको बीचबाट ती चीजहरू निकालेर तिनलाई यहोशू र सबै इस्राएलीहरूकहाँ ल्याए, र तिनलाई परमप्रभुको सामु राखे। 24 तब यहोशू र उनको साथमा सारा इस्राएलले जेरहको छोरा आकान, अनि त्यो चाँदी, त्यो ओढ़्ने, त्यो सुनको साँप्लो, साथै त्यसका छोराहरू, त्यसका छोरीहरू, त्यसका गाईबस्तुहरू, त्यसका गधाहरू र त्यसका भेड़ाबाख्राहरू, साथै त्यसको पाल र त्यससँग भएका सबै थोक लिएर तिनीहरूलाई आकोरको बेंसीमा लगे। 25 अनि यहोशूले भने: “तिमीले हामीलाई किन कष्‍ट दियौ? परमप्रभुले आज तिमीलाई कष्‍ट दिनुहुनेछ।” अनि सारा इस्राएलले त्यसलाई ढुङ्गाले हाने, अनि तिनीहरूलाई ढुङ्गाले हानेपछि उनीहरूले तिनीहरूलाई आगोले जलाए। 26 अनि उनीहरूले त्यसमाथि ढुङ्गाहरूको एउटा ठूलो थुप्रो लगाए, जो आजको दिनसम्म छ। यसरी परमप्रभु आफ्नो बल्दो क्रोधबाट फर्कनुभयो। यसकारण त्यस ठाउँको नाम आजको दिनसम्म ‘आकोरको बेंसी’ भनिएको छ।