ऐ शहरको सर्वनाश
8
तब परमप्रभुले यहोशूलाई भन्नुभयो: “नडराऊ, र निराश नहोऊ! लड़ाइँका सबै योद्धाहरूलाई तिम्रो साथमा लैजाऊ, उठ र ऐमाथि चढ़ाइ गर! हेर, मैले ऐको राजा, त्यसको प्रजा, त्यसको शहर र त्यसको देश तिम्रो हातमा दिइसकेको छु। 2 अनि जस्तो तिमीले यरिहो र त्यसको राजासित गर्यौ, त्यस्तै नै तिमीले ऐ र त्यसका राजासित गर्नू! लुटको माल र त्यहाँका पशुहरू मात्र तिमीहरूले आफ्ना निम्ति लुटेर लिनू! तिमी शहरको पछिल्तिर यसलाई हमला गर्न ढुकेर बस्नू!”3 तब यहोशू र लड़ाइँका सबै योद्धाहरू ऐमाथि चढ़ाइ गर्न उठे। अनि यहोशूले तीस हजार शूरवीर पुरुषहरूलाई छानेर तिनीहरूलाई रातको समयमा पठाए। 4 अनि उनले यसो भनेर तिनीहरूलाई आज्ञा गरे: “हेर, यो शहर हमला गर्न तिमीहरू यस शहरको पछिल्तिर ढुकेर बस्नू; यस शहरबाट धेरै टाढ़ा नजानू, तर तिमीहरू सबै तयार बस्नू! 5 अनि म र मसँग भएका सबै मानिसहरू – हामी यस शहरको नजिक जानेछौं; अनि यस्तो हुनेछ: जब तिनीहरू पहिले जस्तो हाम्रो विरोधमा निस्केर आउनेछन्, तब हामी तिनीहरूको सामुबाट भाग्नेछौं। 6 किनकि हामीले तिनीहरूलाई शहरदेखि निकालिल्याउन्जेल तिनीहरू हाम्रो पछि निस्केर आउनेछन्; किनकि तिनीहरूले भन्नेछन्: ‘पहिले जस्तै यिनीहरू हाम्रो सामुबाट भाग्दैछन्’; यसैले हामी तिनीहरूको सामुबाट भाग्नेछौं। 7 तब तिमीहरू ढुकेर बसेको ठाउँबाट उठेर यो शहर कब्जा गर्नू; किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यो तिमीहरूको हातमा दिनुहुनेछ। 8 अनि यस्तो हुनेछ: जब तिमीहरूले यो शहर कब्जा गर्नेछौ, तब तिमीहरूले यस शहरमा आगो लगाइदिनू; परमप्रभुको आज्ञाअनुसारक तिमीहरूले गर्नू! हेर, मैले तिमीहरूलाई आज्ञा दिएको छु।” 9 तब यहोशूले तिनीहरूलाई पठाइदिए; अनि तिनीहरू ढुकेर बस्न गए अनि ऐको पश्चिमपट्टि बेतएल र ऐको बीचमा बसिरहे। तर यहोशू त्यो रात मानिसहरूसित वास बसे।
10 अनि यहोशू बिहान सबेरै उठे, र उनले मानिसहरूलाई भेला गरे; अनि उनी र इस्राएलका बूढ़ा प्रधानहरू मानिसहरूको अघि-अघि माथि ऐतिर गए। 11 अनि सबै मानिसहरू, अर्थात् उनीसँग भएका योद्धाहरू माथि गए, अनि नजिक आएर त्यस शहरको अघिल्तिर गए र ऐको उत्तरपट्टि छाउनी हाले। अनि उनीहरू र ऐको बीचमा एउटा बेंसी थियो। 12 अनि उनले लगभग पाँच हजार पुरुषहरू लिएर तिनीहरूलाई बेतएल र ऐको बीचमा त्यस शहरको पश्चिमपट्टि हमला गर्नलाई ढुकेर बस्न लगाए। 13 अनि जब तिनीहरूले मानिसहरूलाई, अर्थात् सारा सेनालाई शहरको उत्तरपट्टि, र ढुकेर बस्नेहरूलाई शहरको पश्चिमपट्टि राखे, तब यहोशू त्यो रात बेंसीको बीचमा गए।
14 अनि यस्तो भयो: जब ऐका राजाले यो देखे, तब तिनीहरू हतार गरेर सबेरै उठे; अनि त्यस शहरका मानिसहरू अर्थात् तिनी र तिनका सबै मानिसहरू एउटा तोकिएको समयमाख मैदानकोग अघिल्तिर इस्राएलको विरोधमा लड़ाइँ गर्न निस्के; तर त्यस शहरको पछिल्तिर तिनको विरोधमा ढुकेर बस्ने मानिसहरू छन् भन्ने कुरा तिनलाई थाहा भएन। 15 अनि यहोशू र सबै इस्राएलीहरूले तिनीहरूको सामु मानो हारेझैं गरे, र उजाड़स्थानको बाटो भएर भागे। 16 तब ऐमा भएका सबै मानिसहरू उनीहरूलाई खेद्न भनी भेला भए; अनि यहोशूलाई खेद्दै तिनीहरू शहरदेखि निक्ले। 17 अनि ऐ र बेतएलमा इस्राएलीहरूको पिछा नगर्ने मानिस कोही बाँकी रहेन; अनि तिनीहरूले त्यो शहर खुल्लै राखेर इस्राएलीहरूको पिछा गरे।
18 तब परमप्रभुले यहोशूलाई भन्नुभयो: “तिम्रो हातमा भएको भाला ऐतिर पसार; किनभने म त्यो तिम्रो हातमा दिनेछु।” तब यहोशूले आफ्नो हातमा भएको भाला त्यस शहरतिर पसारे। 19 अनि ढुकेर बस्ने मानिसहरू झट्टै आ-आफ्नो ठाउँबाट उठे, र उनले आफ्नो हात पसार्नेबित्तिकै उनीहरू कुदे; अनि उनीहरू शहरभित्र पसेर त्यसलाई कब्जा गरे, अनि हतार गरेर त्यस शहरमा आगो लगाइदिए। 20 अनि जब ऐका मानिसहरूले आफ्नो पछिल्तिर फर्केर हेरे, तब तिनीहरूले देखे; अनि हेर, शहरको धूवाँ आकाशतिर उठिरहेको थियो; अनि तिनीहरूसित यताउता भाग्ने शक्ति रहेन; अनि उजाड़स्थानतिर भागिरहेका ती मानिसहरू पनि फर्केर खेद्नेहरूमाथि जाइलागे। 21 अनि जब यहोशू र सारा इस्राएलले ती ढुकेर बस्नेहरूले त्यस शहरलाई कब्जा गरिसकेका र धूवाँ उँभो उठिरहेको देखे, तब उनीहरू फर्केर ऐका मानिसहरूलाई मारे। 22 अनि तिनीहरूको विरोधमा अरू मानिसहरू त्यस शहरबाट निस्किआए; यसरी तिनीहरू इस्राएलको बीचमा परे, कोही इस्राएली यतापट्टि, कोही उतापट्टि थिए। अनि उनीहरूले तिनीहरूलाई मारे, यहाँसम्म कि उनीहरूले तिनीहरूमध्ये एउटैलाई पनि बाँच्न वा उम्कन दिएनन्। 23 अनि ऐका राजालाई उनीहरूले जिउँदै पक्रे र यहोशूकहाँ ल्याए।
24 अनि यस्तो भयो: जब इस्राएलले ऐका सबै बासिन्दाहरूलाई त्यस मैदानमा, त्यस उजाड़स्थानमा घात गरिसक्यो, जहाँ उनीहरूले तिनीहरूलाई खेदेका थिए, र जब तिनीहरू पूरै नाश भइन्जेल तरवारको धारले ढालिए, तब सबै इस्राएलीहरू ऐमा फर्केर त्यसलाई तरवारको धारले प्रहार गरे। 25 अनि यस्तो भयो: त्यस दिनमा मारिएका सबै – दुवै पुरुष र स्त्रीहरू अर्थात् ऐका सबै मानिसहरूको संख्या बाह्र हजार थियो। 26 किनकि ऐका सबै बासिन्दाहरूलाई पूरै नष्ट नगरुन्जेल यहोशूले भाला समातेर पसारेको आफ्नो हात फेरि खिचेनन्। 27 परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएको वचनअनुसार इस्राएलले पशुहरू र त्यस शहरको लुटको माल मात्र आफ्ना निम्ति लियो। 28 अनि यहोशूले ऐलाई जलाएर त्यसलाई सधैंका निम्ति एउटा खण्डहर बनाए, जो आजको दिनसम्म उजाड़ छ। 29 अनि ऐका राजालाई उनले साँझसम्म एउटा रूखमा झुन्ड्याइराखे; अनि घाम अस्ताउनेबित्तिकै यहोशूले आज्ञा गरे, र तिनीहरूले तिनको लास त्यस रूखबाट तल झारे, र त्यसलाई शहरको मूलढोकाभित्र पस्ने ठाउँमा फ्याँकेर त्यसमाथि ढुङ्गाहरूको ठूलो रास लगाए, जो आजको दिनसम्मै छ।
30 तब यहोशूले परमप्रभु इस्राएलका परमेश्वरका निम्ति एबाल पहाड़मा एउटा वेदी बनाए – 31 परमप्रभुका दास मोशाले इस्राएलीहरूलाई आज्ञा गरेअनुसार, मोशाको व्यवस्थाको पुस्तकमा लेखिएअनुसार सग्ला ढुङ्गाहरूको एउटा वेदी बनाए, जुन ढुङ्गाहरूमाथि कुनै पनि मानिसले कुनै फलामको हतियार लगाएको थिएन; अनि तिनीहरूले त्यसमाथि परमप्रभुका निम्ति होमबलिहरू चढ़ाए र मेलबलिहरू बलि गरे। 32 अनि उनले त्यहाँ ती ढुङ्गाहरूमा मोशाको व्यवस्थाको एकप्रति लेखे, जुनचाहिँ उनले इस्राएलीहरूको उपस्थितिमा लेखे। 33 अनि तिनीहरूले इस्राएलका मानिसहरूलाई आशीर्वाद दिनुपर्छ भनेर परमप्रभुका दास मोशाले पहिले नै आज्ञा गरेझैं सारा इस्राएल, अनि तिनीहरूका बूढ़ा प्रधानहरू, अधिकारीहरू र तिनीहरूका न्यायकर्ताहरू – चाहे त्यो परदेशी होस्, वा तिनीहरूको बीचमा जन्मेको स्वदेशी होस् – परमप्रभुको वाचाको सन्दुक बोक्ने लेवीय पूजाहारीहरूको सामु त्यस सन्दुकको यतापट्टि र उतापट्टि उभिए – तिनीहरूमध्ये आधाचाहिँ गेरिजीम पहाड़को सामु र तिनीहरूमध्ये आधाचाहिँ एबाल पहाड़को सामु उभिए। 34 अनि त्यसपछि व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूअनुसार उनले व्यवस्थाका सबै वचनहरू – आशिष् र श्राप पढ़े। 35 जति कुराहरू मोशाले आज्ञा गरेका थिए, ती कुराहरूमध्ये कुनै वचन रहेन, जुनचाहिँ यहोशूले इस्राएलको सारा समुदाय, साथै स्त्रीहरू, बालबच्चाहरू र तिनीहरूको बीचमा रहने परदेशीहरूको सामु पढ़ेनन्।