गिबोनीहरूको छल
9
अनि यस्तो भयो: जब हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूका सबै राजाहरूले यो सुने, जो यर्दनवारि पहाड़मा, तराईमा र लबानोनको सामु महासागरको सारा किनारमा बस्थे। 2 तब तिनीहरू एउटै मनका भएर यहोशू र इस्राएलसँग लड़ाइँ गर्न एकसाथ भेला भए।
3 अनि जब गिबोनका बासिन्दाहरूले यहोशूले यरिहो र ऐलाई के गरेका थिए, सो कुरा सुने, 4 तब तिनीहरूले छली काम गरे; अँ, तिनीहरू गए, र राजदूतहरूको भेष धारण गरे; अनि तिनीहरूले आफ्ना गधाहरूमाथि पुराना धोक्राहरू अनि पुराना, फाटेका र बाँधिएका दाखमद्यका मशकहरू लगे, 5 साथै आफ्ना खुट्टाहरूमा पुराना, टालेका जुत्ताहरू र आफ्ना जिउमा पुराना लुगाहरू लगाए; अनि तिनीहरूका खानेकुराका सबै रोटीहरूचाहिँ सुकेका र ढुँड़ी परिसकेका थिए। 6 तब तिनीहरू गिल्गालको छाउनीमा यहोशूकहाँ गए, र उनलाई र इस्राएलका मानिसहरूलाई भने: “हामी टाढ़ा देशबाट आएका हौं; यसकारण अब तपाईंहरूले हामीसँग एउटा करार बाँध्‍नुहोस्!” 7 अनि इस्राएली पुरुषहरूले ती हिव्वीहरूलाई भने: “शायद, तिमीहरू हाम्रै बीचमा बस्छौ होला; तब कसरी हामी तिमीहरूसँग करार बाँध्‍न सक्छौं?” 8 तब तिनीहरूले यहोशूलाई भने: “हामीचाहिँ तपाईंका दासहरू हौं।” अनि यहोशूले तिनीहरूलाई भने: “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?” 9 अनि तिनीहरूले उनलाई भने: “परमप्रभु तपाईंका परमेश्‍वरको नामको कारणले तपाईंका दासहरू धेरै टाढ़ो देशबाट आएका हौं; किनभने हामीले उहाँको कीर्ति र उहाँले मिस्रमा के गर्नुभयो, त्यो सबै, 10 साथै यर्दनपारिका एमोरीहरूका दुवै राजाहरूलाई अर्थात् हेश्बोनका राजा सीहोन र अश्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले के गर्नुभयो, त्‍यो सबै पनि सुनेका छौं। 11 यसकारण हाम्रा बूढ़ा प्रधानहरू र हाम्रा देशका सबै बासिन्दाहरूले हामीलाई यसो भने: ‘यात्राका निम्ति तिमीहरू आफ्नो साथमा खानेकुराहरू लिएर उनीहरूसँग भेट गर्न जाओ, र उनीहरूलाई भन: हामी तपाईंका दासहरू हौं। यसैले अब तपाईंहरूले हामीसँग एउटा करार बाँध्‍नुहोस्!’ 12 तपाईंहरूकहाँ आउन निस्केको दिनमा हामीले यी खानेकुरा, यी हाम्रा रोटीहरू हाम्रा घरहरूबाट तातो-तातै लिएर आएका थियौं; तर अहिले हेर्नुहोस्, यी सुकेका र ढुँड़ी परिसकेका छन्। 13 अनि हामीले भरेका दाखमद्यका यी मशकहरू नयाँ थिए; अनि हेर्नुहोस्, यी फाटेका छन्; अनि यी हाम्रा लुगाहरू र हाम्रा जुत्ताहरू धेरै लामो यात्राको कारणले पुराना भएका छन्।” 14 तब मानिसहरूले उनीहरूका खानेकुराहरूबाट केही लिए, तर परमप्रभुको मुखबाट केही सल्‍लाह लिएनन्। 15 अनि यहोशूले तिनीहरूसँग मेलमिलाप गरे, र तिनीहरूलाई जीवितै रहन दिने करार बाँधे; अनि समुदायका शासकहरूले तिनीहरूसँग शपथ खाए। 16 अनि उनीहरूले तिनीहरूसँग करार बाँधेका तीन दिनपछि यस्तो भयो: तिनीहरूचाहिँ उनीहरूका छिमेकीहरू रहेछन्, र तिनीहरूचाहिँ उनीहरूको बीचमा बस्‍नेहरू रहेछन् भनी उनीहरूले सुने।
17 अनि इस्राएलीहरूले यात्रा गरे, र तेस्रो दिनमा तिनीहरूका शहरहरूमा आइपुगे। अनि तिनीहरूका शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम थिए। 18 अनि इस्राएलीहरूले तिनीहरूलाई मारेनन्; किनभने समुदायका शासकहरूले तिनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका थिए। अनि सारा समुदायले शासकहरूको विरोधमा गनगनाउन थाले। 19 तर सबै शासकहरूले सारा समुदायलाई भने: “हामीले तिनीहरूसँग परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा शपथ खाएका छौं; यसकारण अब हामीले तिनीहरूलाई छुन सक्दैनौं। 20 तिनीहरूलाई हामी यसो गर्नेछौं – अँ, हामी तिनीहरूलाई जिउन दिनेछौं; नत्र हामीले तिनीहरूसँग खाएको शपथको कारणले हामीमाथि क्रोध आइपर्नेछ।” 21 तब शासकहरूले मानिसहरूलाई भने: “तिनीहरूलाई जिउन देओ; तर शासकहरूले तिनीहरूलाई प्रतिज्ञा गरेअनुसार तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्!”
22 अनि यहोशूले तिनीहरूलाई बोलाएर तिनीहरूलाई यसो भने: “तिमीहरू त हाम्रै बीचमा बस्दा रहेछौ, तब ‘हामी तपाईंहरूदेखि धेरै टाढ़ाका हौं’ भन्दै तिमीहरूले हामीलाई किन छल गर्‍यौ? 23 यसकारण अब तिमीहरू श्रापित भयौ; अनि तिमीहरूमध्ये कसैले पनि कमारा हुनदेखि र मेरा परमेश्‍वरको घरका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू बन्‍नदेखि छुटकारा पाउनेछैन।” 24 अनि तिनीहरूले यहोशूलाई जवाफ दिएर भने: “परमप्रभु तपाईंका परमेश्‍वरले उहाँका दास मोशालाई यो सारा देश तपाईंहरूलाई दिने र तपाईंहरूको सामुबाट यस देशका सबै बासिन्दाहरूलाई नष्‍ट गर्ने आज्ञा दिनुभएको थियो, सो कुरा तपाईंका दासहरूलाई निश्‍चय नै बताइएको थियो। यसैले तपाईंहरूको कारणले हामीलाई हाम्रो ज्यानको साह्रै डर भयो, र यसो गरेका हौं। 25 अनि अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। हामीसित जे गर्न तपाईंलाई असल र ठीक लाग्छ, त्यही गर्नुहोस्!” 26 तब उनले तिनीहरूसँग त्यस्तै गरे, र तिनीहरूलाई इस्राएलीहरूको हातबाट छुटकारा दिए; यसैले उनीहरूले तिनीहरूलाई मारेनन्। 27 अनि त्यही दिन यहोशूले तिनीहरूलाई समुदायका निम्ति र परमप्रभुको वेदीका निम्ति परमप्रभुले छान्‍नुहुने ठाउँमा, आजको दिनसम्म, दाउरा काट्नेहरू र पानी भर्नेहरू तुल्याए।