कनान देशको दक्षिण भाग कब्जा गरियो
10
अब यस्तो भयो: यहोशूले कसरी ऐलाई कब्जा गरे र कसरी पूरा रूपले त्यसलाई पूरै नाश गरे; अनि जस्तो उनले यरिहो र त्यसका राजासित गरेका थिए, त्यस्तै उनले ऐ र त्यसका राजासित गरे; साथै कसरी गिबोनका बासिन्दाहरूले इस्राएलसँग मेलमिलाप गरे र तिनीहरू उनीहरूको बीचमा रहन थाले, सो कुरा जब यरूशलेमका राजा अदोनिसेदेकले सुने, 2 तब तिनीहरू साह्रै डराए; किनकि गिबोनचाहिँ राजकीय शहरहरूमध्ये एउटाझैं एक ठूलो शहर थियो, र त्यो ऐभन्दा पनि ठूलो थियो, अनि त्यसका सबै पुरुषहरू शूरवीर थिए। 3 यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरकहाँ यसो भनी पठाए: 4 “माथि मकहाँ आओ, र मलाई मद्दत गर! र हामी गिबोनलाई प्रहार गरौं; किनभने त्यसले यहोशू र इस्राएलीहरूसँग मेलमिलाप गरेको छ।” 5 तब यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् एमोरीहरूका पाँच राजाहरू भेला भए, र तिनीहरू र तिनीहरूका सबै सेनाहरू माथि गए, गिबोनको सामु छाउनी हाले र त्यसको विरोधमा लड़ाइँ गरे। 6 अनि गिबोनका मानिसहरूले गिल्गालको छाउनीमा यहोशूकहाँ यसो भनी पठाए: “तपाईंका दासहरूबाट तपाईंको हात नहटाउनुहोस्; माथि हामीकहाँ चाँड़ै आउनुहोस्, हामीलाई बचाउनुहोस् र हामीलाई मद्दत गर्नुहोस्; किनकि पहाड़मा बस्‍ने एमोरीहरूका सबै राजाहरू हाम्रो विरोधमा भेला भएका छन्।”
7 तब यहोशू आफूसँग भएका सबै योद्धाहरू र सबै शूरवीरहरूलाई साथमा लिएर गिल्गालबाट उकालो लागे। 8 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो: “तिनीहरूसँग नडराऊ; किनकि मैले तिनीहरूलाई तिम्रो हातमा दिइसकेको छु; तिनीहरूमध्ये कुनै पनि मानिस तिम्रो सामु खड़ा रहन सक्नेछैन।” 9 यसकारण यहोशू एक्‍कासि तिनीहरूमाथि जाइलागे; किनकि उनी रातभरि गिल्गालबाट हिँड़ेर माथि गएका थिए। 10 अनि परमप्रभुले तिनीहरूलाई इस्राएलको सामु अत्त्याउनुभयो, र तिनीहरूलाई गिबोनमा ठूलो काटमार गरेर मार्नुभयो, अनि तिनीहरूलाई बेत-होरोन जाने उकालोमा बाटैबाटो खेद्‌नुभयो, र तिनीहरूलाई अजेका र मक्‍केदासम्म मार्दै जानुभयो। 11 अनि यस्तो भयो: जब तिनीहरू इस्राएलको सामुबाट भागेर बेत-होरोनको ओह्रालोमा थिए, तब परमप्रभुले अजेकासम्म तिनीहरूमाथि आकाशबाट ठूला-ठूला ढुङ्गाहरू बर्साउनुभयो, र तिनीहरू मरे; इस्राएलीहरूले तरवारले मारेकाहरूभन्दा असिनाका ढुङ्गाहरूले मरेकाहरू बढ़ी थिए।
12 तब जुन दिन परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूको सामु सुम्पिदिनुभयो, त्यस दिन यहोशूले परमप्रभुलाई भने; अनि उनले इस्राएलका आँखाहरूको सामु भने: “हे सूर्य, तँ गिबोनमाथि अड़िरह्! अनि हे चन्द्रमा, तँ अय्यालोनको बेंसीमाथि अड़िरह्!” 13 तब त्यति बेलासम्म सूर्य थामियो र चन्द्रमा अड़िरह्‍यो, जबसम्म इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई बदला लिइसकेनन्। के यो कुरा याशारको पुस्तकमा लेखिएको छैन र? यसरी सूर्य आकाश-मण्डलको बीचमा टक्‍क अड़िरह्‍यो र प्राय: पूरा एक दिन त्‍यसले अस्ताउनलाई हतार गरेन। 14 अनि त्यसभन्दा अघि र त्यसभन्दा पछि कुनै दिन त्योजस्तो भएन, जुन समय परमप्रभुले एकजना मानिसको कुरा सुन्‍नुभयो; किनकि परमप्रभु इस्राएलका निम्ति लड़्नुभयो। 15 अनि यहोशू र उनीसँग सारा इस्राएल गिल्गालको छाउनीमा फर्के।
16 तर ती पाँच राजाहरू भागेर मक्‍केदाको गुफामा लुके। 17 अनि ‘ती पाँच राजाहरू मक्‍केदाको गुफामा लुकेका फेला परे’ भन्‍ने कुरा यहोशूलाई सुनाइयो। 18 तब यहोशूले भने: “गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू गुड़ाइदेओ, र तिनीहरूलाई रुँग्‍न त्यसको छेउमा मानिसहरू राख! 19 तर तिमीहरूचाहिँ पर्खिनबस, तर तिमीहरूका शत्रुहरूको पिछा गर, र तिनीहरूका सबैभन्दा पछिकाहरूलाई आक्रमण गर; तिनीहरूलाई आ-आफ्ना शहरहरूमा पस्‍न नदेओ; किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा दिइसक्नुभएको छ।”
20 अनि यस्तो भयो: जब यहोशू र इस्राएलीहरूले तिनीहरू नाश नहोउन्जेल ज्यादै ठूलो काटमार गरेर तिनीहरूलाई मारेर सिद्ध्याए, तब तिनीहरूबाट उम्केर बाँकी रहेकाहरू पर्खालले घेरिएका शहरहरूभित्र पसे। 21 अनि सबै मानिसहरू मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिपूर्वक फर्के; कसैले पनि कुनै इस्राएलीको विरोधमा आफ्नो जिब्रो चलाएन। 22 तब यहोशूले भने: “त्यस गुफाको मुख खोल, र ती पाँच राजाहरूलाई त्यस गुफाबाट निकालेर मकहाँ ल्याओ!” 23 अनि तिनीहरूले त्यस्तै गरे, र ती पाँच राजाहरूलाई अर्थात् यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजालाई त्यस गुफाबाट निकालेर उनीकहाँ ल्याए। 24 अनि यस्तो भयो: जब तिनीहरूले ती राजाहरूलाई निकालेर यहोशूकहाँ ल्याए, तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई बोलाएर उनीसँग गएका योद्धाहरूका प्रधानहरूलाई भने: “नजिक आओ; तिमीहरूका खुट्टाहरू यी राजाहरूका गर्दनमाथि राख!” तब उनीहरू नजिक आए, र आफ्ना खुट्टा तिनीहरूका गर्दनमाथि राखे। 25 अनि यहोशूले उनीहरूलाई भने: “नडराओ, र निराश नहोओ! बलिया होओ र साहसी होओ! किनकि तिमीहरूका सबै शत्रुहरूलाई, जससँग तिमीहरू लड़ाइँ गर्छौ, परमप्रभुले यस्तै गर्नुहुनेछ।” 26 अनि त्यसपछि यहोशूले तिनीहरूलाई हिर्काए, तिनीहरूलाई मारे र तिनीहरूलाई पाँचवटा रूखहरूमा झुन्ड्याए; अनि तिनीहरू साँझसम्म रूखमै झुन्डिरहे। 27 अनि घाम अस्ताउने बेलामा यस्तो भयो: यहोशूले आज्ञा गरे, र उनीहरूले तिनीहरूलाई रूखबाट तल झारेर तिनीहरूलाई त्यस गुफाभित्र फालिदिए, जहाँ तिनीहरू लुकेका थिए, अनि त्‍यस गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जुन ढुङ्गाहरू आजको दिनसम्म त्‍यहाँ छँदैछन्।
28 अनि त्यसै दिन यहोशूले मक्‍केदा कब्जा गरे, अनि त्यसलाई र त्यसका राजालाई तरवारको धारले प्रहार गरे; उनले तिनीहरूलाई र त्यसमा भएका सबै प्राणीहरूलाई पूरै नाश गरे; उनले कसैलाई पनि जीवित छोड़ेनन्। अनि जस्तो उनले यरिहोका राजासित गरेका थिए, त्यस्तै उनले मक्‍केदाका राजासित पनि गरे।
29 तब यहोशू र उनीसँग सारा इस्राएल मक्‍केदाबाट अघि बढ़ेर लिब्‍नामा पुगे, र लिब्‍नासित लड़ाइँ गरे। 30 अनि परमप्रभुले त्यसलाई र त्यसका राजालाई पनि इस्राएलको हातमा दिनुभयो; अनि उनले त्यसलाई र त्यसमा भएका सबै प्राणीहरूलाई तरवारको धारले मारे; उनले त्यसमा कसैलाई पनि जीवित छोड़ेनन्; तर जस्तो उनले यरिहोका राजासित गरेका थिए, त्यस्तै उनले त्यसका राजासित पनि गरे।
31 अनि यहोशू र उनीसँग सारा इस्राएल लिब्‍नाबाट अघि बढ़ेर लाकीशमा पुगे, र त्यसको विरोधमा छाउनी हाले र त्यससँग लड़ाइँ गरे। 32 अनि परमप्रभुले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो; अनि इस्राएलले त्यसलाई दोस्रो दिन कब्जा गर्‍यो; अनि उसले त्यसलाई र त्यसमा भएका सबै प्राणीहरूलाई, जस्तो उसले लिब्‍नासित गरेको थियो, त्यस्तै गरी तरवारको धारले मार्‍यो। 33 तब गेजेरका राजा होराम लाकीशलाई मद्दत गर्न माथि आए; अनि यहोशूले तिनलाई र तिनको प्रजालाई, तिनका निम्ति एउटै पनि जिउँदो नरहुन्‍जेल मारे।
34 अनि लाकीशबाट यहोशू र उनीसँग सारा इस्राएल अघि बढ़ेर एग्लोनमा पुगे; अनि त्यसको विरोधमा छाउनी हालेर तिनीहरूले त्यसको विरुद्ध लड़ाइँ गरे। 35 अनि त्यही दिन तिनीहरूले त्यसलाई कब्जा गरे र त्यसलाई तरवारको धारले प्रहार गरे; अनि जस्तो उनले लाकीशसित गरेका थिए, त्यस्तै गरी उनले त्यसमा भएका सबै प्राणीहरूलाई त्यस दिन पूरै नाश पारे।
36 तब एग्लोनबाट यहोशू र उनीसँग सारा इस्राएल माथि हेब्रोन गए; अनि तिनीहरूले त्यसको विरुद्ध लड़ाइँ गरे। 37 अनि तिनीहरूले त्यसलाई कब्जा गरे, अनि त्यसलाई, त्यसका राजालाई, त्यसका सबै शहरहरू र त्यसमा भएका सबै प्राणीहरूलाई तरवारको धारले प्रहार गरे; जस्तो उनले एग्लोनसित गरेका थिए, त्यस्तै गरी उनले कसैलाई पनि जीवित छोड़ेनन्; तर त्यसलाई र त्यसमा भएका सबै प्राणीहरूलाई उनले पूरै नाश पारे।
38 तब यहोशू र तिनीसँग सारा इस्राएल दबीरमा फर्के, र त्यसको विरुद्ध लड़ाइँ गरे। 39 अनि उनले त्यसलाई, त्यसका राजालाई र त्यसका सबै शहरहरू कब्जा गरे; अनि उनीहरूले तिनीहरूलाई तरवारको धारले प्रहार गरे, र त्यसमा भएका सबै प्राणीहरूलाई पूरै नाश पारे; उनले कसैलाई पनि जीवित छोड़ेनन्; जस्तो उनले हेब्रोनसित गरेका थिए, त्यस्तै गरी उनले दबीर र त्यसका राजासित पनि गरे; जस्तो उनले लिब्‍ना र त्यसका राजासित पनि गरेका थिए। 40 यसरी यहोशूले सारा पहाड़ी देश, दक्षिण देश, तराई, पाखाहरू र उनीहरूका सबै राजाहरूलाई प्रहार गरे; उनले कसैलाई पनि जीवित छोड़ेनन्, तर परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सास फेर्ने सबैलाई पूरै नाश पारे। 41 अनि यहोशूले तिनीहरूलाई कादेश-बर्नेअदेखि गाजासम्म, र सारा गोशेन देशलाई गिबोनसम्म प्रहार गरे। 42 अनि यहोशूले यी सबै राजाहरूलाई र तिनीहरूका देशहरू एकैचोटि कब्जा गरे; किनभने परमप्रभु इस्राएलका परमेश्‍वर इस्राएलका निम्ति लड़्नुभयो। 43 अनि यहोशू र उनीसँग सारा इस्राएल गिल्गालको छाउनीमा फर्के।