कनान देशको उत्तर भाग कब्जा गरियो
11
अनि यस्तो भयो: जब हासोरका राजा याबीनले यो सुने, तब तिनले मादोनका राजा योबाबलाई, शिम्रोनका राजालाई र आक्षापका राजालाई, 2 साथै पहाड़ी देशको उत्तरमा किन्‍नरेतको दक्षिणपट्टिको मैदानमा, तराईमा र पश्‍चिमपट्टि डोरका उच्‍च ठाउँहरूमा भएका राजाहरूलाई, 3 अनि पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, पहाड़ी देशका यबूसीहरू र मिस्पा देशको हेर्मोन पहाड़मुनि बस्‍ने हिव्वीहरूलाई बोलाइपठाए। 4 अनि तिनीहरू निस्के – तिनीहरू र तिनीहरूको साथमा तिनीहरूका सेनाहरू – समुद्रको किनारमा भएको असंख्य बालुवाझैं धेरै मानिसहरू, साथै घोड़ाहरू र रथहरू अति धेरै। 5 जब यी सबै राजाहरू भेला भए, तब तिनीहरू आएर इस्राएलसित लड़ाइँ गर्न मेरोमको पानीनिर एकसाथ छाउनी हाले।
6 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो: “तिनीहरूसँग नडराऊ; किनकि भोलि यसै बेला म तिनीहरू सबैलाई मारिएको अवस्थामा इस्राएलको सामु सुम्पिदिनेछु। तिमीले तिनीहरूका घोड़ाहरूका ढोड़-नसा काटिदिनू र तिनीहरूका रथहरू आगोले जलाइदिनू!” 7 तब यहोशू र उनीसँग सबै योद्धाहरू मेरोमको पानीनिर उनीहरूको विरोधमा एक्‍कासि आए, र उनीहरूमाथि जाइलागे। 8 अनि परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो, र उनीहरूले तिनीहरूलाई हमला गरेर महान् सिडोनसम्म, मिस्रपोत-मैमसम्म र पूर्वतिर मिस्पाको बेंसीसम्म खेदे; अनि उनीहरूले तिनीहरूका निम्ति कोही पनि जिउँदो नरहुन्‍जेल तिनीहरूलाई मारे। 9 अनि यहोशूले तिनीहरूसित त्यस्तै गरे, जस्तो परमप्रभुले उनलाई आज्ञा गर्नुभएको थियो; उनले तिनीहरूका घोड़ाहरूका ढोड़-नसा काटिदिए र तिनीहरूका रथहरू आगोले जलाइदिए।
10 अनि त्यस समय यहोशू फर्के, र हासोरलाई कब्जा गरे अनि त्यसका राजालाई तरवारको धारले मारे; किनकि पहिले हासोर ती सबै राज्यहरूको शिर थियो। 11 अनि तिनीहरूले त्यसमा भएका सबै प्राणीहरूलाई तरवारको धारले पूरै नाश पार्दै मारे; सास फेर्ने कोही पनि बाँकी रहेन; अनि उनले हासोरलाई आगोले जलाइदिए। 12 अनि यहोशूले ती राजाका सबै शहरहरू र तिनका सबै राजाहरूलाई कब्जा गरेर तिनीहरूलाई तरवारको धारले मारे, र परमप्रभुका दास मोशाले आज्ञा गरेजस्तो उनले तिनीहरूलाई पूरै नाश पारे। 13 हासोरबाहेक, जसलाई यहोशूले जलाए, इस्राएलले आ-आफ्ना डाँड़ामा बसेका शहरहरूमध्ये अरू कुनैलाई जलाएन। 14 अनि यी शहरहरूका सबै लुटको माल र पशुहरू इस्राएलीहरूले आफ्नो निम्ति लुटेर लिए; तर तिनीहरूलाई नाश नगरुन्जेल उनीहरूले हरेक मानिसलाई तरवारको धारले मारे; उनीहरूले सास फेर्ने कसैलाई छोड़ेनन्। 15 जस्तो परमप्रभुले आफ्नो दास मोशालाई आज्ञा गर्नुभएको थियो, त्यस्तै मोशाले पनि यहोशूलाई आज्ञा गरे; अनि यहोशूले त्यस्तै गरे; परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरामध्ये कुनै पनि कुरा उनले पूरा नगरी छोड़ेनन्।
16 यसरी यहोशूले यो सारा देश, अर्थात् पहाड़ी देश, सारा दक्षिण देश र गोशेनको जम्मै देश, तराई र मैदान, साथै इस्राएलको पहाड़ी देश र त्यसको तराई, 17 अर्थात् सेईरको उकालोमा भएको हालाक पहाड़देखि हर्मोन पहाड़मुनि लबानोनको बेंसीमा भएको बाल-गादसम्म कब्जा गरे; अनि उनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, तिनीहरूलाई हिर्काए र तिनीहरूलाई मारे। 18 यहोशूले ती सबै राजाहरूसित धेरै समयसम्म लड़ाइँ गरे। 19 गिबोनका बासिन्दाहरू अर्थात् हिव्वीहरूबाहेक इस्राएलीहरूसँग मेलमिलाप गर्ने एउटै शहर थिएन। अरू सबैलाई उनीहरूले लड़ाइँ गरेर कब्जा गरे। 20 किनकि तिनीहरू इस्राएलसित लड़ाइँ गर्न आऊन्, र इस्राएलले तिनीहरूलाई पूरै नाश पारोस्; अनि तिनीहरूले कुनै कृपा नपाऊन्, तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैं उसले तिनीहरूलाई नाश गरोस् भनेर तिनीहरूको हृदय कठोर पार्नु नै परमप्रभुको उद्देश्य थियो।
21 अनि त्यस समय यहोशू आए, र पहाड़ी देशबाट अर्थात् हेब्रोन, दबीर, अनाबबाट अँ, यहूदाको सारा पहाड़ी देशबाट र इस्राएलको सारा पहाड़ी देशबाट अनाकीहरूलाई नाश पारे; यहोशूले तिनीहरूलाई तिनीहरूका शहरहरूसमेत पूरै नाश पारे। 22 इस्राएलीहरूको देशमा एउटै पनि अनाकी बाँकी रहेन; तिनीहरू केवल गाजा, गात र अश्दोदमा बाँकी रहे। 23 यसरी परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुराहरूअनुसार यहोशूले सारा देश कब्जा गरे; अनि उनीहरूका कुलहरूका भाग-भागअनुसार यहोशूले यसलाई पैतृक सम्पत्तिको रूपमा इस्राएललाई दिए। अनि देशले लड़ाइँबाट विश्राम पायो।