इस्राएलीहरूलाई जाँच्न छोड़िएका जातिहरू
3
अनि यी ती जातिहरू हुन्, जसलाई परमप्रभुले तिनीहरूद्वारा इस्राएललाई जाँच्न भनी छोड़िराख्नुभएको थियो, अँ, उनीहरू सबैका निम्ति, जसले कनानका सबै लड़ाइँहरूको विषयमा केही जानेका थिएनन् – 2 (इस्राएलीहरूका लड़ाइँ गर्न सिकाएर उनीहरूका पुस्ताहरूले लड़ाइँ के रहेछ, सो जानून्, यसको एक मात्र उद्देश्यले थियो; कम्तीमा यस्ताहरूले, जसले पहिले तिनको विषयमा केही जानेकै थिएनन्), 3 जस्तै पलिस्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सिडोनीहरू र हिव्वीहरू, जो लबानोन पहाड़को बाल-हर्मोन पहाड़देखि लिएर हमातको मुखसम्म बसेका थिए। 4 अनि इस्राएलीहरूले परमप्रभुले उनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएको उहाँका आज्ञाहरू पालन गर्छन् कि गर्दैनन्, सो तिनीहरूद्वारा उनीहरूको जाँच हुनु थियोक। 5 अनि इस्राएलीहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूको बीचमा बसोबास गर्थे; 6 अनि उनीहरूले तिनीहरूका छोरीहरूलाई विवाह गरेख, र तिनीहरूका छोराहरूसित आफ्ना छोरीहरूको विवाह गरिदिएग, अनि तिनीहरूका देवताहरूको पूजा गरे। 7 अनि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा खराबी गरे, र परमप्रभु आफ्ना परमेश्वरलाई भुलेर बाल देवताहरू र अशेरा देवीहरूको पूजा गरे। 8 त्यसकारण परमप्रभुको रिस इस्राएलको विरोधमा दन्कियो, र उहाँले उनीहरूलाई मेसोपोटामियाका राजा कुशन-रिशतैमको हातमा बेचिदिनुभयो, र इस्राएलीहरूले आठ वर्षसम्म कुशन-रिशतैमको सेवा गरे।पहिलो न्यायकर्ता: ओत्निएल
9 अनि जब इस्राएलहरूले परमप्रभुलाई पुकारे, तब परमप्रभुले इस्राएलीहरूका निम्ति एकजना उद्धारक अर्थात् कालेबका भाइ कनजका छोरा ओत्निएललाई खड़ा गर्नुभयो, र तिनले उनीहरूलाई छुटकारा दिए। 10 अनि परमप्रभुका आत्मा तिनीमाथि आउनुभयो, अनि तिनले इस्राएलको न्याय गरे, र तिनी लड़ाइँ गर्न निस्के। अनि परमप्रभुले मेसोपोटामियाका राजा कुशन-रिशतैमलाई तिनको हातमा सुम्पिदिनुभयो, र तिनको हात कुशन-रिशतैममाथि विजयी भयो। 11 अनि चालीस वर्षसम्म देशले विश्राम पायो। अनि कनजको छोरा ओत्निएलको मृत्यु भयो।
दोस्रो न्यायकर्ता: एहूद
12 अनि इस्राएलीहरूले फेरि पनि परमप्रभुको दृष्टिमा खराबी गरे; अनि परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलमाथि प्रबल पार्नुभयो; किनभने उनीहरूले परमप्रभुको दृष्टिमा खराबी गरेका थिए। 13 अनि तिनले अम्मोनी र अमालेकीहरूलाई आफूकहाँ भेला गरे, अनि गएर इस्राएलमाथि प्रहार गरे, र खजूरहरूको शहरघ कब्जा गरे। 14 यसरी इस्राएलीहरूले अठार वर्षसम्म मोआबका राजा एग्लोनको सेवा गरे।
15 तर जब इस्राएलीहरूले परमप्रभुलाई पुकारे, तब परमप्रभुले उनीहरूका निम्ति एकजना उद्धारक अर्थात् बिन्यामिनी गेराका छोरा एहूदलाई खड़ा गर्नुभयो, जसको देब्रे हात चल्थ्यो; अनि तिनीद्वारा इस्राएलीहरूले मोआबका राजा एग्लोनकहाँ कर पठाए। 16 तर एहूदले एक हात लामो दुईधारे चुपी बनाए, र आफ्नो लुगाभित्र दाहिने तिघ्रामा भिरे। 17 अनि तिनले मोआबका राजा एग्लोनकहाँ कर ल्याए; अनि एग्लोनचाहिँ साह्रै मोटा मानिस थिए। 18 अनि जब तिनले कर टक्र्याइसके, तब तिनले कर बोकेर ल्याउनेहरूलाई पठाइदिए। 19 तर तिनी आफूचाहिँ गिल्गालको छेउमा भएका मूर्तिहरूबाट फर्के, र यसो भने: “हे राजा, तपाईंका निम्ति मसँग एउटा गुप्त समाचार छ।” उनले भने: “चुप लाग!” अनि उनको छेउमा उभिनेहरू सबै उनीदेखि बाहिर निस्के।
20 तब एहूद उनको नजिक आए; अनि उनीचाहिँ एकलै आफ्नो कौसीको शीतल-कोठामा बसिरहेका थिए। अनि एहूदले भने: “तपाईंका निम्ति मसँग परमेश्वरबाट एउटा समाचार छ।” अनि उनी आफ्नो आसनबाट उठे। 21 अनि एहूदले आफ्नो देब्रे हात बढ़ाए, आफ्नो दाहिने तिघ्रादेखि चुपी निकाले र उनको पेटमा रोपिदिए; 22 अनि धारको पछि-पछि बिँड़ पनि भित्र पस्यो, र धार बोसोले पुरियो; त्यसो हुँदा तिनले उनको भूँड़ीबाट चुपी झिक्न सकेनन्, अनि पेटको मैला निस्क्यो। 23 त्यसपछि एहूद दलानबाट निस्के, आफूपछि त्यस कौसीको कोठाका ढोकाहरू थुने र तिनमा ताला लगाइदिए। 24 तिनी निस्केर गएपछि राजाकाङ सेवकहरू आए; अनि हेर, त्यस कौसीको कोठाका ढोकाहरूमा ताला लगाइएको देखेर तिनीहरूले भने: “उनी अवश्यै पनि आफ्नो शीतल-कोठामा मलमूत्र त्याग गर्न गएका होलान्च।” 25 अनि पर्खंदा-पर्खंदा तिनीहरूलाई सरम पनि लाग्यो; अनि हेर, उनले त्यस कौसीको कोठाका ढोकाहरू खोलेनन्; यसैले तिनीहरूले एउटा चाबी लिएर ती खोले। अनि हेर, तिनीहरूका मालिक मरेर भुइँमा लड़िरहेका थिए। 26 अनि तिनीहरूले पर्खिरहेको बेलामा एहूदचाहिँ उम्के, र ती मूर्तिहरूलाई पार गरेर सेइरातिर उम्केर गए।
27 अनि तिनी आइपुगेपछि यस्तो भयो: तिनले एप्रैमको पहाड़ी देशमा तुरही फुके; अनि इस्राएलीहरू तिनीसित पहाड़बाट तल झरे, र तिनीचाहिँ उनीहरूको अघि-अघि थिए। 28 अनि तिनले उनीहरूलाई भने: “मेरो पछि-पछि आओ; किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” अनि उनीहरू तिनको पछि-पछि तल झरे, र मोआबपट्टि जाने यर्दनका घाटहरू कब्जा गरे, अनि कसैलाई पनि त्यहाँबाट वारि आउन दिएनन्। 29 अनि त्यस समय उनीहरूले मोआबका लगभग दस हजार पुरुषहरूलाई मारे, जो सबै हृष्टपुष्ट र सबै शूरवीरहरू थिए; अनि एकजनाले पनि उम्कन पाएन। 30 यसरी त्यस दिन मोआब इस्राएलको हातमुनि वशमा राखियो। अनि अस्सी वर्षसम्म देशले विश्राम पायो।
तेस्रो न्यायकर्ता: शम्गर
31 अनि तिनीपछि अनातका छोरा शम्गर थिए, जसले गोरु हाँक्ने सुइराले छ सय पलिस्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए।