चौथो र पाँचौ न्यायकर्ता: दबोरा र बाराक
4
अनि जब एहूद मरे, तब इस्राएलीहरूले फेरि पनि परमप्रभुको दृष्टिमा खराबी गरे। 2 अनि परमप्रभुले उनीहरूलाई हासोरमा राज्य गर्ने कनानका राजा याबीनको हातमा बेचिदिनुभयो, जसका सेनापतिचाहिँ अन्यजातिहरूको हरोशेतमा बस्ने सीसरा थिए। 3 अनि इस्राएलीहरूले परमप्रभुलाई पुकारे; किनकि तिनीसित नौ सयवटा फलामका रथहरू थिए; अनि बीस वर्षसम्म तिनले इस्राएलीहरूमाथि बलपूर्वक थिचोमिचो गरिरहे।4 अनि त्यति बेला लप्पीदोतकी पत्नी, भविष्यवादिनी दबोराले इस्राएलको न्याय गर्थिन्। 5 अनि उनी एप्रैमको पहाड़ी देशमा रामा र बेतएलको बीचमा दबोराको खजूरमुनि बस्दथिइन्; अनि इस्राएलीहरूचाहिँ न्यायका निम्ति उनीकहाँ आउँथे। 6 अनि उनले केदेश-नप्तालीबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्: “के परमप्रभु इस्राएलका परमेश्वरले यसो भनी आज्ञा गर्नुभएको छैन र? ‘आऊ र ताबोर पहाड़तर्फ लाग, अनि नप्तालीका सन्तानहरू र जबूलूनका सन्तानहरूबाट दस हजार पुरुषहरूलाई आफ्नो साथमा लैजाऊ! 7 अनि म याबीनको सेनापति सीसरालाई, त्यसका रथहरू र त्यसका भीड़लाई तिमीकहाँ कीशोन नदीमा तानेर ल्याउनेछु र त्यसलाई तिम्रो हातमा सुम्पिदिनेछु।’ ” 8 अनि बाराकले उनलाई भने: “तपाईं मसँग जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।” 9 अनि उनले भनिन्: “म अवश्य तिमीसित जानेछु; तरै पनि तिम्रो यस यात्राबाट तिमीले महिमा पाउनेछैनौ; किनकि परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा बेचिदिनुहुनेछ।” अनि दबोरा उठिन्, र बाराकसित केदेशतिर गइन्।
10 तब बाराकले जबूलून र नप्तालीलाई केदेशमा बोलाए, र तिनको अधीनतामा रहेका दस हजार पुरुषहरूसित उँभो हिँड़े; अनि दबोरा पनि तिनीसित उँभो लागिन्। 11 केनी हेबेरले, जो मोशाका ससुरा होबाबका सन्तान थिए, आफूलाई केनीहरूदेखि अलग गरेर केदेशनिर भएको सानन्नीमको फलाँटको रूखनिर आफ्नो पाल टाँगे।
याएलद्वारा सीसराको मृत्यु
12 अनि अबीनोअमका छोरा बाराक उँभो ताबोर पहाड़मा गएका छन् भन्ने कुरा तिनीहरूले सीसरालाई सुनाए। 13 अनि सीसराले आफ्ना सबै रथहरू अर्थात् नौ सय फलामका रथहरू र आफूसँग भएका सबै मानिसहरूलाई अन्यजातिहरूको हरोशेतबाट कीशोन नदीमा भेला पारे। 14 तब दबोराले बाराकलाई भनिन्: “उठ; किनभने आज परमप्रभुले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको दिन हो। के परमप्रभु तिम्रो अघि निस्कनुभएको छैन र?” तब बाराक र तिनको पछि-पछि दस हजार पुरुषहरू ताबोर पहाड़बाट झरे। 15 अनि परमप्रभुले सीसरालाई, तिनका सबै रथहरू र तिनको सारा सेनालाई बाराककै सामु तरवारको धारले अत्त्याइदिनुभयो, त्यसो हुँदा सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे। 16 तर बाराकले अन्यजातिहरूको हरोशेतसम्मै ती रथहरू र सेनाको पिछा गरे; अनि सीसराको सम्पूर्ण सेना तरवारको धारले मारियो, एकजना मानिस पनि बाँकी रहेन। 17 तर सीसराचाहिँ पैदलै भाग्दै केनी हेबेरकी पत्नी याएलको पालमा आइपुगे; किनकि हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मेलमिलाप थियो। 18 अनि याएल सीसरालाई भेट्न बाहिर निस्किन्, र उनलाई भनिन्: “मेरा प्रभु, यता आउनुहोस्! यता मकहाँ आउनुहोस्! नडराउनुहोस्!” अनि जब उनी तिनीकहाँ पालभित्र पसे, तब तिनले उनलाई एउटा कम्बल ओढ़ाइदिइन्। 19 अनि उनले तिनलाई भने: “म विन्ती गर्छु, मलाई अलिकति पानी पिउन देऊ; किनकि मलाई तिर्खा लागिरहेछ।” अनि तिनले दूधको मशक खोलेर उनलाई पिउन दिइन्, र उनलाई कम्बल ओढ़ाइदिइन्। 20 अनि उनले तिनलाई भने: “पालको ढोकामा उभिरह! अनि यस्तो होस्: कोही आएर ‘यहाँ कोही छ?’ भनेर तिमीलाई सोध्यो भने तिमीले ‘छैन’ भनिदेऊ!” 21 तब हेबेरकी पत्नी याएलले पालको एउटा कीला लिइन्, अनि आफ्नो हातमा एउटा मार्तोल लिइन्, र चाल मारेर उनीकहाँ गइन्, अनि त्यो कीला उनको कन्चटमै ठोकिदिइन्, र भुइँभित्र भसाइदिइन्; किनकि उनी मस्त निद्रामा थिए, र क्लान्त थिए। यसरी उनी मरे। 22 अनि हेर, बाराकले सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट्न बाहिर निस्किन्, र तिनलाई भनिन्: “आउनुहोस्, म तपाईंलाई तपाईंले खोज्नुभएको मान्छे देखाइदिनेछु।” अनि जब तिनी उनको पालभित्र पसे, तब हेर, सीसरा मरेर लड़िरहेका थिए, र उनको कन्चटमा कीला ठोकिएको थियो। 23 यसरी परमेश्वरले त्यस दिन कनानका राजा याबीनलाई इस्राएलीहरूकै सामु वशमा ल्याउनुभयो। 24 अनि जबसम्म इस्राएलीहरूले कनानका राजा याबीनलाई नाश पारेनन्, तबसम्म उनीहरूको हात कनानका राजा याबीनको विरोधमा झन्-झन् प्रबलक हुँदै गयो।