दबोरा र बाराकको जयगान
5
तब त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यसो भन्दै गीत गाए:
2 “इस्राएलमा अगुवाहरूले अगुवाइ गरेकामा, मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिइहालेकामा तिमीहरूले परमप्रभुको प्रशंसा गर!
3 हे राजाहरूहो, सुन! हे शासकहरूहो, कान लगाओ! म गाउनेछु, परमप्रभुका निम्ति म गाउनेछु; परमप्रभु इस्राएलका परमेश्‍वरका निम्ति म भजन गाउनेछु।
4 हे परमप्रभु, जब तपाईं सेईरदेखि निस्कनुभयो, जब एदोमको मैदानदेखि तपाईंले कदम बढ़ाउनुभयो, तब पृथ्वी काम्यो, र आकाश तप्क्यो, अँ, बादलहरूले पनि पानी तप्काए।
5 परमप्रभुको सामु पहाड़हरू, अँ, त्यो सिनाई पर्वत पनि परमप्रभु इस्राएलका परमेश्‍वरको सामु पग्लिए।
6 अनातका छोरा शम्गरको समयमा, याएलको समयमा मूल-सड़कहरू सुनसान भए, र यात्रीहरू चोरबाटाहरूमा हिँड़े।
7 जबसम्म म, दबोरा खड़ा भइनँ, इस्राएलमा एउटी आमा भएर म खड़ा भइनँ, तबसम्म गाउँहरूका बासिन्दाहरू रहेनन्, इस्राएलमा तिनीहरू रहेनन्।
8 तिनीहरूले नयाँ-नयाँ देवताहरू चुने, तब मूलढोकाहरूमा लड़ाइँ भयो; के इस्राएलका चालीस हजारको बीचमा कुनै ढाल वा भाला देखियो र?
9 मेरो हृदय इस्राएलका शासकहरूपट्टि छ, जसले प्रजाको बीचमा आफैलाई स्वेच्छापूर्वक अर्पण गरे। तिमीहरूले परमप्रभुको प्रशंसा गर!
10 हे सेता गधाहरूमाथि सवार हुनेहरूहो, हे न्यायआसनमा बस्‍नेहरू र बाटोमा हिँड़्‍नेहरूहो, घोषणा गर!
11 धनुर्धारीहरूको होहल्‍लादेखि टाढ़ा पानी भर्ने ठाउँहरूको बीचमा – त्यहाँ उनीहरूले परमप्रभुका धर्ममय कामहरूको, अँ, इस्राएलमा उहाँका गाउँहरूका बासिन्दाहरूप्रति देखाइएका धर्ममय कामहरूको बयान गर्नेछन्; तब परमप्रभुका जनहरू मूलढोकाहरूमा ओर्लेर आए।
12 जाग, जाग, हे दबोरा! जाग, जाग! गीत सुनाऊ! उठ, हे बाराक, अनि हे अबीनोअमका पुत्र, तिम्रा कैदीहरूलाई कैद गरेर लैजाऊ!
13 तब बाँचेकाहरू भारदारहरूकहाँ ओर्लेर आए; परमप्रभुका जनहरू शूरवीरहरूको साथमा तल मकहाँ आए।
14 एप्रैमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए, हे बिन्यामीन, तिमीपछि तिम्रा मानिसहरूसित; माकीरबाट शासकहरू, र जबूलूनबाट चाहिँ राजदण्ड धारण गर्नेहरू ओर्लेर आए।
15 अनि इस्साकारका शासकहरू दबोराको साथमा थिए, जस्तो इस्साकार, त्यस्तै बाराक पनि थिए; तिनीहरू तिनको अधीनतामा बेंसीमा पठाइए; रूबेनका दल-दलमा हृदयका ठूला-ठूला संकल्पहरू थिए।
16 तिमी किन भेड़ा-गोठहरूको बीचमा बसिरह्‍यौ – के बगालहरूका भ्या-भ्या सुन्‍नलाई? रूबेनका दल-दलमा हृदयका ठूला-ठूला खोजीहरू थिए।
17 गिलाद यर्दनपारि बसिरह्‍यो, अनि किन दानचाहिँ जहाजहरूमै रह्‍यो? आशेरचाहिँ समुद्रको किनारमै रहिरह्‍यो र आफ्ना खाड़ीहरूमा बसिरह्‍यो।
18 जबूलूनचाहिँ र नप्‍ताली पनि यस्तो एउटा जाति भए, जसले मैदानका उच्‍च स्थानहरूमा आफ्ना ज्यान मृत्युको जोखिममा होमिदिए।
19 राजाहरू आए, र लड़ाइँ गरे; त्यस समय कनानका राजाहरूले तानाकमा, मेगिद्दोको पानीनिर लड़ाइँ गरे; चाँदी तिनीहरूले लुटको मालको रूपमा लगेनन्।
20 आकाशदेखि तिनीहरूले लड़ाइँ गरे, ताराहरूले आ-आफ्ना पथमा सीसराको विरुद्ध लड़ाइँ गरे।
21 कीशोन नदीले, त्यो प्राचीन नदी, कीशोन नदीले तिनीहरूलाई बगाइलग्यो। हे मेरो प्राण, बलमा अघि बढ़्!
22 तब सर्पटको चालले, तिनका शक्तिशालीहरूको सर्पटको चालले घोड़ाका टापहरू बजारिए।
23 ‘मेरोजलाई श्राप देओ!’, परमप्रभुका दूतले भने: ‘त्यसका बासिन्दाहरूलाई खूबै श्राप देओ! किनभने तिनीहरू परमप्रभुको सहायताका निम्ति, शूरवीरहरूको विरोधमा परमप्रभुको सहायताका निम्ति आएनन्।’
24 केनी हेबेरकी पत्‍नी याएल स्त्रीहरूमा सबभन्दा धन्यकी होऊन्; पालमा बस्‍ने स्त्रीहरूमा तिनी नै धन्यकी होऊन्!
25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; सबभन्दा राम्रो थालमा तिनले दही ल्याइदिइन्।
26 तिनले आफ्नो हात पालको कीलातिर, र आफ्नो दाहिने हात कारिगरको मार्तोलतिर बढ़ाइन्; अनि त्यही मार्तोलले तिनले सीसरालाई हिर्काएर उसको टाउको फोरिदिइन्, ठोकी-ठोकी उसको कन्चट छेंड़िदिइन्।
27 तिनका पाउमा ऊ घोप्ट्यो, पछारियो, लम्पसार पर्‍यो; तिनकै पाउमा ऊ घोप्ट्यो र ढल्यो; जहाँ ऊ घोप्ट्यो, त्यहीं ऊ मरेर ढल्यो।
28 सीसराकी आमाले झ्यालदेखि बाहिर हेरिन्, र आँखीझ्यालदेखि चिच्च्याएर भनिन्: ‘उसको रथ आउनलाई किन यति ढिलो? उसका रथहरूका चक्‍काहरूले किन अबेर गर्छन्?’
29 तिनका बुद्धिमती स्त्रीहरूले तिनलाई जवाफ दिए; हो, तिनले आफैलाई प्रत्युत्तर दिइन्:
30 ‘के उनीहरूले लुटको माल पाएर त्यो बाँड़ेका छैनन् र? हरेक पुरुषलाई एक-दुई ठिटी; सीसराका निम्ति रङ्गबिरङ्गी पोशाकहरूको लुट, बेलबुट्टा हालिएका रङ्गीन पोशाकहरूको लुट; लुट्नेहरूका गलामा सुहाउने दुवैपट्टि बेलबुट्टा हालिएका रङ्गीन पोशाक?’
31 यसरी नै हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नष्‍ट भइजाऊन्! तर उहाँलाई प्रेम गर्नेहरूचाहिँ पूर्ण प्रतापमा पुगेको सूर्यझैं होऊन्!”
अनि देशले चालीस वर्षसम्म विश्राम पायो।