इस्राएलीहरूमाथि मिद्यानीहरूको अत्याचार
6
अनि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा खराबी गरे; अनि परमप्रभुले उनीहरूलाई सात वर्षसम्म मिद्यानको हातमा सुम्पिदिनुभयो। 2 तब मिद्यानको हात इस्राएलमाथि प्रबल भइरह्‍यो, र मिद्यानीहरूकै कारणले गर्दा इस्राएलीहरूले आफ्ना निम्ति पहाड़हरूहुँदो ओड़ारहरू, गुफाहरू र गढ़हरू बनाए। 3 अनि यस्तो भयो: जब-जब इस्राएलले बीउ छर्दथ्यो, तब-तब मिद्यानीहरू, अमालेकीहरू र पूर्वका मानिसहरू आउँथे, अनि उनीमाथि चढ़ाइ गर्थे। 4 अनि तिनीहरूले उनीहरूको विरुद्ध छाउनी हाल्थे, र गाजासम्मै जमिनको उब्जनी नष्‍ट गरिदिन्थे, अनि इस्राएलका निम्ति न कुनै खानेकुरा छोड़्थे, न कुनै भेड़ा, गोरु वा गधा। 5 किनकि तिनीहरू आफ्ना गाईबस्तु र आफ्ना पालहरू लिएर माथि आउँथे, तिनीहरू सलहको हूलझैं आउँथे; किनकि तिनीहरू र तिनीहरूका ऊँटहरू अनगन्ती थिए; अनि तिनीहरू देश नष्‍ट गर्नलाई त्यसभित्र पस्थे। 6 अनि मिद्यानीहरूकै कारणले गर्दा इस्राएल साह्रै कङ्गाल भयो; अनि इस्राएलीहरूले परमप्रभुलाई पुकारे।
7 अनि जब मिद्यानीहरूले गर्दा इस्राएलीहरूले परमप्रभुलाई पुकारे, तब यस्तो भयो: 8 परमप्रभुले इस्राएलीहरूकहाँ एकजना भविष्यवक्तालाई पठाउनुभयो, जसले उनीहरूलाई यसो भने: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले तिमीहरूलाई मिस्रबाट निकालेर ल्याएँ, र दासत्वको घरदेखि तिमीहरूलाई निकालेर ल्याएँ; 9 अनि मिस्रीहरूको हातदेखि र तिमीहरूलाई थिचोमिचो गर्नेहरू सबैको हातदेखि मैले तिमीहरूलाई छुटाएँ; अनि तिमीहरूको सामुदेखि मैले तिनीहरूलाई धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ। 10 अनि मैले तिमीहरूलाई भनेको थिएँ: “परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ। जुन एमोरीहरूको देशमा तिमीहरू बस्छौ, तिनीहरूका देवताहरूदेखि तिमीहरू नडराओ!” तर तिमीहरूले मेरो वाणी पालन गरेनौ।’ ”
छैतौं न्यायकर्ता: गिदोन
11 तब परमप्रभुका दूत आएर ओप्रा भन्‍ने ठाउँमा भएको एउटा फलाँटको रूखमुनि बसे, जुनचाहिँ अबिएजरी योआशको पर्थ्यो, र उनका छोरा गिदोनचाहिँ मिद्यानीहरूदेखि लुकाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए। 12 अनि परमप्रभुका दूत तिनीकहाँ देखा परे, र तिनलाई भने: “हे शूरवीर योद्धा, परमप्रभु तिम्रो साथमा हुनुहुन्छ।” 13 अनि गिदोनले उनलाई भने: “हे मेरा प्रभु, परमप्रभु हाम्रो साथमा हुनुहुन्छ भने किन हामीमाथि यो सबै कुरा आइपरेको त? अनि उहाँका सबै अचम्मका कामहरू कहाँ गए? जसको विषयमा हाम्रा पितापुर्खाहरूले हामीलाई यसो भन्थे: ‘के परमप्रभुले हामीलाई मिस्रदेखि निकालेर ल्याउनुभएन र?’ तर अब त परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्यानीहरूको हातमा सुम्पिदिनुभएको छ।” 14 तब तिनीपट्टि फर्केर परमप्रभुले तिनलाई भन्‍नुभयो: “यही तिम्रो शक्तिमा जाऊ, र तिमीले इस्राएललाई मिद्यानीहरूको हातदेखि बचाउनेछौ। के मैले तिमीलाई पठाएको होइनँ र?” 15 अनि तिनले उहाँलाई भने: “हे मेरा प्रभु, म इस्राएललाई कसरी बचाऊँ? हेर्नुहोस्, मेरो गोत्र मनस्सेमा सबभन्दा गरिब छ; अनि मचाहिँ मेरा पिताको घरमा सबभन्दा सानो हुँ।” 16 अनि परमप्रभुले तिनलाई भन्‍नुभयो: “निश्‍चय नै म तिम्रो साथमा हुनेछु; अनि तिमीले मिद्यानीहरूलाई एकैजनालाई झैं मार्नेछौ।” 17 तब तिनले उहाँलाई भने: “अब मैले तपाईंको दृष्‍टिमा कृपा पाएकै छु भने तपाईंले नै मसित कुरा गर्नुभएको हो भनी मलाई एउटा चिन्ह देखाइदिनुहोस्! 18 म तपाईंलाई विन्‍ती गर्छु, जबसम्म म तपाईंकहाँ आएर मेरो भेटी निकालेर तपाईंको अघि टक्र्याउँदिनँ, तबसम्म यहाँदेखि नजानुहोस्!” अनि उहाँले भन्‍नुभयो: “लौ, तिमी नफर्कुन्जेल म पर्खिरहनेछु।”
19 तब गिदोनले भित्र गएर एउटा बाख्राको पाठो र एक एपा मैदाका अखमिरे रोटीहरू तयार गरे। तिनले त्यो मासु एउटा डालोमा हाले, झोल एउटा भाँड़ामा हाले र बाहिर फलाँटको रूखमुनि उहाँकहाँ ल्याई उहाँको सामु टक्र्याइदिए। 20 अनि परमेश्‍वरका दूतले तिनलाई भने: “त्यो मासु र ती अखमिरे रोटीहरू लगेर त्यस चट्टानमाथि राखिदेऊ! अनि झोलचाहिँ खन्याइदेऊ!” अनि तिनले त्यस्तै गरे। 21 तब परमप्रभुका दूतले आफ्नो हातमा भएको लौराको टुप्पा बढ़ाएर मासु र अखमिरे रोटीहरू छोए; तब त्यस चट्टानबाट आगो उठ्यो, अनि त्यो मासु र ती अखमिरे रोटीहरू भस्म पार्‍यो। त्यसपछि परमप्रभुका दूत तिनको दृष्‍टिदेखि लुप्‍त भए। 22 अनि जब गिदोनले उनी त परमप्रभुका दूत रहेछन् भनी थाहा पाए, तब गिदोनले यसो भने: “अहह, प्रभु यहोवा! किनभने मैले त परमप्रभुका दूतलाई आमुन्‍ने-सामुन्‍ने देखेछु।” 23 अनि परमप्रभुले तिनलाई भन्‍नुभयो: “तिमीलाई शान्ति होस्! नडराऊ; तिमी मर्नेछैनौ।” 24 तब गिदोनले त्यहाँ परमप्रभुका निम्ति एउटा वेदी बनाए, र त्यसको नाम यहोवा-शालोम राखे, जुन वदी आजको दिनसम्म अबिएजरीहरूको ओप्रामा छँदैछ।
गिदोनले बालको वेदी भत्काए
25 अनि त्यस रात यस्तो भयो: परमप्रभुले तिनलाई भन्‍नुभयो: “तिम्रा बुबाको जवान बहर, र सात वर्षको त्यो दोस्रो बहर लेऊ, अनि तिम्रा बुबाको बालको वेदी भत्काइदेऊ, र त्यसको छेउमा भएको अशेराको मूर्ति काटेर ढालिदेऊ! 26 अनि यही चट्टानको थाप्लोमाथि व्यवस्थित ढङ्गले परमप्रभु तिम्रा परमेश्‍वरका निम्ति एउटा वेदी बनाऊ, र त्यो दोस्रो बहर लेऊ; अनि तिमीले काटेर ढालेको त्यस अशेराको मूर्तिको काठ लिएर होमबलि चढ़ाऊ!” 27 तब गिदोनले आफ्ना नोकरहरूमध्ये दसजनालाई लिएर परमप्रभुले तिनलाई भन्‍नुभएअनुसार गरे; अनि यस्तो भयो: तिनी आफ्ना बुबाको घराना र त्यस शहरका मानिसहरूसित डराएका हुनाले तिनले त्यो काम दिउँसो गरेनन्, तर राति गरे।
28 अनि जब शहरका मानिसहरू बिहान सबेरै उठे, तब हेर, बालको वेदी भत्काइएको थियो, र त्यसको छेउमा भएको अशेराको मूर्ति काटेर ढालिएको थियो, अनि त्यो दोस्रो बहर निर्माण गरिएको वेदीमाथि होमबलि चढ़ाइएको थियो। 29 तब तिनीहरूले एक-अर्कालाई भने: “यो काम कसले गरेको होला?” अनि सोधखोज गरेपछि तिनीहरूले भने: “यो कामचाहिँ योआशको छोरा गिदोनले नै गरेको हो।” 30 तब शहरका मानिसहरूले योआशलाई भने: “तिम्रो छोरालाई बाहिर ल्याऊ, र त्यो मरोस्; किनभने त्यसले बालको वेदी भत्काएको हो, र त्यस वेदीको छेउमा भएको अशेराको मूर्ति काटेर ढालेको हो।” 31 अनि योआशले आफ्नो विरोधमा खड़ा भएकाहरू सबैलाई भने: “के तपाईंहरू बालको मुद्दा लड़्नुहुन्छ? अथवा के तपाईंहरू उसलाई बचाउनुहुन्छ? जसले उसको मुद्दा लड़्छ, त्यो बिहान छँदै मारियोस्! यदि ऊ ईश्‍वर हो भने उसले आफ्नो मुद्दा आफै लड़ोस्; किनभने कसैले उसको वेदी भत्काइदिएको छ।” 32 यसैकारण त्यस दिन उनले यसो भन्दै गिदोनको नाम यरूब्बाल राखे: ‘बाल आफैले त्यसको विरोधमा मुद्दा लड़ोस्; किनभने त्यसले उसको वेदी भत्काइदिएको छ।’
33 तब सबै मिद्यानीहरू, अमालेकीहरू र पूर्वका मानिसहरू भेला भए, यर्दन पार गरे र यिज्रेएलको बेंसीमा छाउनी हाले। 34 तर परमप्रभुका आत्मा गिदोनमाथि आउनुभयो, र तिनले तुरही फुके, अनि तिनको पछि अबिएजर भेला भयो। 35 अनि तिनले सारा मनस्सेभरि दूतहरूलाई पठाए, र तिनीहरू पनि तिनको पछि भेला भए। अनि तिनले आशेर, जबूलून र नप्‍तालीकहाँ दूतहरू पठाए, र तिनीहरू उनीहरूलाई भेट्न माथि आए।
गिदोनले परमेश्‍वरबाट चिन्ह मागे
36 अनि गिदोनले परमेश्‍वरलाई भने: “तपाईंले भन्‍नुभएजस्तै तपाईंले इस्राएललाई मेरै हातद्वारा बचाउनुहुन्छ भने, 37 हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्‍नेछु; अनि शीत त्यस ऊनमै मात्र पर्‍यो, र त्यसको वरिपरिको जमिन सुक्खै रह्‍यो भने तपाईंले भन्‍नुभएझैं तपाईंले मेरै हातद्वारा इस्राएललाई बचाउनुहुने रहेछ भनी म जान्‍नेछु।” 38 अनि त्यस्तै भयो: जब तिनी भोलिपल्ट सबेरै उठे, र त्यो ऊन निचोरे, तब तिनले त्यस ऊनबाट शीत निचोरेर एक डबकाभरि पानी निकाले। 39 अनि गिदोनले परमेश्‍वरलाई भने: “तपाईंको क्रोध मेरो विरोधमा नदन्कियोस्, र म एकपल्ट मात्र बोल्नेछु; म तपाईंलाई विन्‍ती गर्छु, एकैपल्ट मात्र म ऊनसित परीक्षा लिन पाऊँ! अबचाहिँ ऊन मात्र सुक्खा रहोस्, र सारा जमिनभरि नै शीत परोस्!” 40 अनि त्यस रात परमेश्‍वरले त्यस्तै गर्नुभयो – किनकि ऊन मात्र सुक्खा थियो र सारा जमिनभरि शीत परेको थियो।