परमेश्वरद्वारा तीन सय योध्दा चुनिए
7
तब यरूब्बाल, जो गिदोन हुन्, र तिनको साथमा भएका सबै मानिसहरू सबेरै उठे, र हरोदको इनारको छेउमा छाउनी हाले; त्यसो हुँदा मिद्यानीहरूको सेना उनीहरूदेखि उत्तरपट्टि मोरे डाँड़ाको छेउमा, बेंसीमा पर्यो। 2 अनि परमप्रभुले गिदोनलाई भन्नुभयो: “मिद्यानीहरूलाई तिमीहरूकोक हातमा दिनका निम्ति तिमीसित भएका मानिसहरू मेरा निम्ति बढ़ी भए; नत्र ता इस्राएलले ‘मेरै हातले मलाई बचाएको हो!’ भन्दै मेरो विरोधमा डीङ मार्नेछ। 3 यसकारण अब जाऊ, र मानिसहरूले सुन्ने गरीख यसो भन्दै घोषणा गर: जो कोही डरछेरुवा छ, र डराउँछ, ऊ गिलाद पहाड़देखि लगत्तै फर्केर गइहालोस्!” तब ती मानिसहरूमध्ये बाइस हजार फर्के, र दस हजार रहे। 4 अनि परमप्रभुले गिदोनलाई भन्नुभयो: “अझै पनि मानिसहरू बढी नै छन्। तिनीहरूलाई तल पानीनिर ल्याऊ, र त्यहाँ म तिनीहरूलाई तिम्रा निम्ति जाँच्नेछु; अनि यस्तो हुनेछ: जसको विषयमा म तिमीलाई ‘यो तिमीसँग जानेछ’ भनुँला, उही तिमीसँग जानेछ, र जसको विषयमा म तिमीलाई ‘यो तिमीसँग जानेछैन’ भनुँला, त्यो तिमीसँग जानेछैन।” 5 यसैले तिनले मानिसहरूलाई तल पानीनिर ल्याए। अनि परमप्रभुले गिदोनलाई भन्नुभयो: “हरेक जसले कुकुरले चाटेझैं पानी आफ्नो जिब्रोले ल्याप-ल्याप चाटेर पानीबाट पिउँछ, उसलाई अलग्गै राख! त्यस्तै गरी हरेक जसले पानी पिउन आफ्ना घुँड़ा टेकाएर घोप्टन्छ, उसलाई अलग्गै राख!” 6 अनि आफ्नो हात आफ्नो मुखमा राखेर ल्यापल्याप चाट्नेहरूको संख्या तीन सय मानिस थियो; तर बाँकी सबै मानिसहरू पानी पिउन आफ्ना घुँड़ा टेकाएर घोप्टे। 7 अनि परमप्रभुले गिदोनलाई भन्नुभयो: “ल्यापल्याप चाट्ने यी तीन सय मानिसहरूद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु; अनि अरू सबै मानिसहरू – हरेक आ-आफ्ना ठाउँमा जाऊन्!” 8 यसकारण ती मानिसहरूले आफ्ना हातमा खानेकुरा र आफ्ना तुरहीहरू लिए; अनि बाँकी सबै इस्राएलीहरूलाई तिनले हरेकलाई आ-आफ्नो पालतिर पठाइदिए, र ती तीन सय मानिसहरूलाई आफूसँग राखे; अनि मिद्यानीहरूको सेनाग तिनीदेखि मुन्तिर बेंसीमा थियो।मिद्यानीहरूमाथि गिदोनको ठूलो विजय
9 अनि त्यस रात यस्तो भयो: परमप्रभुले तिनलाई भन्नुभयो: “उठ, र छाउनीमाथि चढ़ाइ गर; किनकि मैले त्यो तिम्रो हातमा सुम्पिदिएको छु। 10 तर तिमीलाई चढ़ाइ गर्न डर लाग्यो भने तिम्रो सेवक पूराहलाई लिएर छाउनीमा झर! 11 र तिनीहरूले के भन्दा रहेछन्, सो तिमीले सुन्नेछौ; अनि त्यसपछि छाउनीमाथि चढ़ाइ गर्न तिम्रा हातहरूले बल पाउनेछन्।” तब तिनी आफ्नो सेवक पूराहलाई लिएर छाउनीमा हतियार भिरेर बस्ने मानिसहरूको छेउमा पुगे। 12 अनि मिद्यानीहरू, अमालेकीहरू र सबै पूर्वका मानिसहरू भीड़को कारणले सलहजस्तै बेंसीभरि लेटिरहेका थिए; अनि तिनीहरूका ऊँटहरू समुद्रको किनारका बालुवाझैं अनगन्ती थिए। 13 अनि जब गिदोन त्यहाँ पुगे, तब हेर, एकजना मान्छेले आफ्नो साथीलाई सपनाको कुरा सुनाउँदै भन्यो: “हेर, मैले एउटा सपना देखें; अनि हेर, जौको एउटा रोटी गुड़्दै मिद्यानको छाउनीभित्र पस्यो, अनि एउटा पालनिर पुगेर त्यसलाई धक्का दियो, र त्यो लड़्यो; अनि यसले त्यसलाई उँधोलाई उँभो पारी पल्टाइदियो, र त्यो पाल पड़िरह्यो।” 14 तब त्यस साथीले जवाफ दिएर भन्यो: “त्योचाहिँ इस्राएली मानिस योआशका छोरा गिदोनको तरवारबाहेक अरू केही पनि होइन; किनकि उनकै हातमा परमेश्वरले मिद्यान र यो सारा सेनालाई सुम्पिदिनुभएको छ।”
15 अनि यस्तो भयो: जब गिदोनले त्यो कहेको सपना र त्यसको अर्थ सुने, तब तिनले दण्डवत् गरे, र इस्राएलको छाउनीमा फर्के, अनि आएर यसो भने: “उठ; किनकि परमप्रभुले मिद्यानको सेनालाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” 16 अनि तिनले ती तीन सय मानिसहरूलाई तीनवटा दलमा बाँड़े, र हरेक मानिसको हातमा एक-एकवटा तुरही, साथै खाली गाग्राहरू र ती गाग्राभित्र राँकाहरू थमाइदिए। 17 अनि तिनले उनीहरूलाई भने: “मलाई हेर, र त्यस्तै गर! अनि हेर, जब म छाउनीको छेउनिर आइपुग्छु, तब यस्तो होस्: जस्तो-जस्तो म गर्छु, त्यस्तै-त्यस्तै तिमीहरूले पनि गर्नू! 18 जब म तुरही फुक्छु – म र मसित भएका सबैले फुक्छौं, तब तिमीहरूले पनि सारा छाउनीको चारैतिर तुरही फुक, र यसो भन: ‘परमप्रभुको र गिदोनको तरवार!’ ”
19 अनि मध्यपहरको शुरुमै, भर्खरै मात्र तिनीहरूले नयाँ पहरा-चौकी खटाएको बेलामा गिदोन र तिनीसँग भएका सय मानिसहरू छाउनीको छेउनिर आइपुगे; अनि उनीहरूले तुरहीहरू फुके र आफ्ना हातमा भएका गाग्राहरू फुटाए। 20 अनि तीनै दलले तुरहीहरू फुके, गाग्राहरू फुटाए, अनि आफ्ना देब्रे हातहरूले राँकाहरू र आफ्ना दाहिने हातहरूले फुक्नलाई तुरहीहरू पक्रेर यसो भन्दै कराए: “परमप्रभुको र गिदोनको तरवार!” 21 अनि छाउनीको वरिपरि उनीहरू हरेक आ-आफ्नो ठाउँमा खड़ा रहे; अनि त्यो जम्मै सेना कुद्यो, चिच्च्यायो र भाग्यो। 22 जब ती तीन सयजनाले तुरही फुके, तब परमप्रभुले सम्पूर्ण सेनाभरि हरेकको तरवार आफ्नै साथीको विरुद्ध चल्ने तुल्याउनुभयो; तब त्यो सेना सरेरातिर बेत-शित्तासम्म र तब्बातको छेउमा भएको आबेल-महोलाको सिमानासम्म भाग्यो।
23 अनि इस्राएलका मानिसहरू नप्तालीदेखि, आशेरदेखि र सम्पूर्ण मनस्सेदेखि भेला भएर मिद्यानीहरूलाई खेदे। 24 अनि गिदोनले सारा एप्रैमको पहाड़भरि यसो भन्दै दूतहरूलाई पठाए: “मिद्यानीहरूसित लड़ाइँ गर्न तल आओ, र तिनीहरूभन्दा पहिल्यै बेत-बारासम्मका पानीहरू र यर्दनलाई कब्जा गर!” तब एप्रैमका सबै मानिसहरू भेला भए, र बेत-बारासम्मका पानीहरू र यर्दनलाई कब्जा गरे। 25 अनि उनीहरूले मिद्यानीहरूका दुईजना शासकहरू ओरेब र जीबलाई पक्रे; अनि उनीहरूले ओरेबलाई ओरेब नामक चट्टानमाथि मारे, र जीबलाई चाहिँ जीब नामक दाख पेल्ने कोलमा मारे, अनि मिद्यानलाई खेद्दै गए; अनि ओरेब र जीबका टाउकाहरू लिएर उनीहरू यर्दनपारि गिदोनकहाँ आए।