गिदोनले मिद्यानका राजाहरू जेबह र सल्मुन्‍नालाई खेदे
8
अनि एप्रैमका मानिसहरूले तिनलाई भने: “तपाईं मिद्यानीहरूसित लड़ाइँ गर्न जाँदा हामीलाई नबोलाएर तपाईंले हामीसँग किन यस्तो व्यवहार गर्नुभएको?” अनि उनीहरूले तिनीसित साह्रै विवाद गरे। 2 तब तिनले उनीहरूलाई भने: “तिमीहरूको तुलनामा मैले अहिले के पो गरेको छु र? के एप्रैमका दाखको सिला-फल अबिएजरको दाखको फसलभन्दा असल होइन र? 3 परमेश्‍वरले मिद्यानका शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो, र तिमीहरूको तुलनामा मैले के पो गर्न सकें र?” जब तिनले यसो भने, तब तिनीप्रति उठेको उनीहरूको रिस शान्त भयो।
4 अनि गिदोन यर्दनमा आएर पारि तरे – तिनी र तिनको साथमा भएका ती तीन सय मानिसहरू – उनीहरू क्लान्त भएर पनि उनीहरूले तिनीहरूलाई खेद्‌दैथिए। 5 अनि तिनले सुक्‍कोतका मानिसहरूलाई भने: “कृपया मेरो पछि आउने यी मानिसहरूलाई रोटीहरू देओ, किनकि यिनीहरू क्लान्त भएका छन्; अनि म मिद्यानका राजाहरू जेबह र सल्मुन्‍नालाई खेद्‌दै आउँदैछु।” 6 अनि सुक्‍कोतका शासकहरूले भने: “के जेबह र सल्मुन्‍ना तिम्रो हातमा परिसकेका छन्, र हामी तिम्रो सेनालाई रोटी दिऔं?” 7 तब गिदोनले भने: “त्यसो भए जब परमप्रभुले जेबह र सल्मुन्‍नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म उजाड़स्थानका काँड़ाहरू र काँड़े झ्याङहरूले तिमीहरूको मासु लुछ्नेछु।” 8 अनि त्यहाँदेखि तिनी उँभो पनूएलमा गए, र तिनीहरूलाई त्यस्तै भने; अनि पनूएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले जवाफ दिएजस्तै जवाफ दिए। 9 अनि तिनी पनूएलका मानिसहरूसित पनि यसो भन्दै बोले: “जब म शान्तिसित फर्केर आउनेछु, तब म यो धरहरा भत्काइदिनेछु।”
10 अनि जेबह र सल्मुन्‍ना कर्कोरमा थिए, अनि तिनीहरूका सेनाहरू तिनीहरूको साथमा थिए – लगभग पन्ध्र हजारजति, पूर्वका मानिसहरूको सेनाबाट बाँकी रहेकाहरू; किनकि एक लाख बीस हजार तरवार चलाउने मानिसहरू ढलिसकेका थिए। 11 अनि गिदोन नोबह र योग्बेहाको पूर्वतिर पालमा बस्‍नेहरूको बाटो भएर उँभो गए, र त्यस सेनालाई प्रहार गरे; किनकि त्यो सेना ढुक्‍क भएर बसेको थियो। 12 अनि जब जेबह र सल्मुन्‍ना भागे, तब तिनी तिनीहरूलाई खेद्‌दै गए, अनि मिद्यानका ती दुई राजा जेबह र सल्मुन्‍नालाई पक्रे, अनि सम्पूर्ण सेनालाई थरथर पारे।
13 अनि योआशका छोरा गिदोन हेरेसको उकालो भएर लड़ाइँबाट फर्के। 14 अनि तिनले सुक्‍कोतका मानिसहरूमध्ये एकजना जवान मानिसलाई समातेर त्यसलाई सोधे; अनि त्यसले तिनका निम्ति सुक्‍कोतका शासकहरू र त्यसका बूढ़ा प्रधानहरूका अर्थात् सतहत्तरजना मानिसका नाम लेखिदियो। 15 तब तिनी सुक्‍कोतका मानिसहरूकहाँ आएर भने: “लौ हेर, जेबह र सल्मुन्‍ना, जसको विषयमा तिमीहरूले मलाई यसो भन्दै खिल्ली उड़ाएका थियौ: ‘के अहिले जेबह र सल्मुन्‍ना तिम्रो हातमा परिसकेका छन्, र हामी तिम्रा थकित मानिसहरूलाई रोटी दिऔं?’ ” 16 अनि तिनले त्यस शहरका बूढ़ा प्रधानहरूलाई पक्रे, अनि उजाड़स्थानका काँड़ाहरू र काँड़े झ्याङहरू लिए, र तिनैद्वारा सुक्‍कोतका मानिसहरूलाई पाठ सिकाए। 17 अनि तिनले पनूएलको धरहरा ढालिदिए, र त्यस शहरका मानिसहरूलाई मारे।
18 त्यसपछि तिनले जेबह र सल्मुन्‍नालाई भने: “तिमीहरूले ताबोरमा मारेका मानिसहरू कस्ता खालका थिए?” अनि तिनीहरूले जवाफ दिए: “तपाईं जस्तो हुनुहुन्छ, तिनीहरू त्यस्तै थिए; हरेक व्यक्ति राजाका छोराजस्तै थिए।” 19 अनि तिनले भने: “उनीहरू मेरै दाजुभाइहरू, मेरी आमाका छोराहरू थिए; जीवित परमप्रभुको शपथ! तिमीहरूले उनीहरूलाई जिउँदै छोड़िदिएका भए म तिमीहरूलाई मार्नेथिइनँ।” 20 अनि तिनले आफ्नो जेठा छोरा येतेरलाई भने: “उठ्, र यिनीहरूलाई मारिदे!” तर त्यस टिठाले आफ्नो तरवार थुतेन; किनकि ऊ अझै ठिटै थियो; यसैले ऊ डरायो। 21 तब जेबह र सल्मुन्‍नाले भने: “तपाईं नै उठ्नुहोस्, र हामीमाथि आइलाग्‍नुहोस्; किनकि जस्तो मर्द, त्यस्तै उसको पराक्रम हुन्छ।” अनि उठेर गिदोनले जेबह र सल्मुन्‍नालाई मारे, र तिनीहरूका ऊँटका गर्दनमा भएका गरगहनाहरू लगे।
लुटको मालबाट गिदोनले एपोद बनाए
22 तब इस्राएलका मानिसहरूले गिदोनलाई भने: “हामीमाथि राज्य गर्नुहोस्! तपाईं, तपाईंका छोरा र तपाईंका नातिले पनि; किनकि तपाईंले हामीलाई मिद्यानको हातदेखि छुटकारा दिनुभयो।” 23 अनि गिदोनले उनीहरूलाई भने: “म तिमीहरूमाथि राज्य गर्नेछैनँ; न ता मेरो छोराले नै तिमीहरूमाथि राज्य गर्नेछ; परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ।” 24 तब गिदोनले उनीहरूलाई यसो भने: “तिमीहरूसित म एउटा अनुरोध गर्न चाहन्छु, तिमीहरू हरेकले आ-आफ्नो लुटको मालबाट कुण्डलहरूचाहिँ मलाई देओ!” (किनकि मिद्यानीहरूका सुनका कुण्डलहरू थिए; किनभने तिनीहरू इश्माएलीहरू थिए।) 25 अनि उनीहरूले जवाफ दिए: “खुशीसाथ हामी ती दिनेछौं।” तब उनीहरूले एउटा लुगा ओछ्याए, र उनीहरू हरेकले त्यसमा आफ्नो लुटको मालबाट कुण्डलहरू हालिदिए। 26 अनि ती गरगहनाहरू, ती कर्णफूलहरू र मिद्यानका राजाहरूले पहिरेका बैजनी वस्त्रहरूबाहेक, अनि तिनीहरूका ऊँटहरूका घिच्रामा भएका ती हारहरूबाहेक तिनले मागेका सुनका कुण्डलहरूको ओजन सुनको एक हजार सात सय शेकेल भयो। 27 अनि गिदोनले तीबाटै एउटा एपोद बनाए, र त्यसलाई आफ्नो शहर अर्थात् ओप्रामा राखे; अनि सारा इस्राएल त्यसको पछि लागेर त्यहाँ वेश्याकर्म गरिरहे, जुन कुरा गिदोन र तिनको घरानाका निम्ति पासो बन्यो।
28 त्यसरी नै मिद्यान इस्राएलीहरूको सामु वशमा राखियो; यसैले तबदेखि उसो तिनीहरूले आफ्नो शिर उठाएनन्। अनि गिदोनका दिनहरूमा चालीस वर्षसम्म देशले विश्राम पायो।
गिदोनको मृत्यु
29 अनि योआशका छोरा यरूब्बाल गएर आफ्नै घरमा बसे। 30 अनि गिदोनका आफ्नै शरीरबाट जन्मेका सत्तरीजना छोराहरू थिए; किनकि तिनका धेरै पत्‍नीहरू थिए। 31 अनि शेकेममा भएकी तिनकी उपपत्‍नीले पनि तिनका निम्ति एउटा छोरा जन्माई, जसको नाम तिनले अबिमेलेक राखे। 32 अनि योआशका छोरा गिदोन पूरा उमेर खाएर मरे, र अबिएजरीहरूको ओप्रामा तिनी आफ्ना बुबा योआशको चिहानमा गाड़िए।
33 अनि यस्तो भयो: गिदोनको मृत्यु हुनेबित्तिकै इस्राएलीहरू फर्के, र बालहरूको पछि लागेर वेश्याकर्म गरे, र बाल-बरितलाई आफ्नो देवता तुल्याए। 34 अनि इस्राएलीहरूले न परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्झना गरे, जसले उनीहरूलाई उनीहरूका चारैतिरका सबै शत्रुहरूको हातदेखि छुटकारा दिनुभएको थियो, 35 न ता उनीहरूले यरूब्बालले अर्थात् गिदोनले इस्राएललाई देखाएको सबै भलाइअनुसार तिनको घरानाप्रति दया नै देखाए।