अबिमेलेकको शासन
9
अनि यरूब्बालका छोरा अबिमेलेक शेकेममा आफ्ना मामाहरूकहाँ गए, अनि उनीहरूसित र आफ्नी आमाका बुबाको सारा घरानासित यसो भन्दै कुरा गरे: 2 “म तपाईंहरूलाई विन्ती गर्छु, शेकेमका सबै अगुवाजनहरूका कानमा यसो भनिदिनुहोस्! तिमीहरूका निम्ति कुनचाहिँ असल हो: यरूब्बालका सबै सत्तरीजना छोराहरूले तिमीहरूमाथि शासन गर्नु असल हो कि एकैजनाले तिमीहरूमाथि शासन गर्नु असल? अनि यो पनि याद गर्नुहोस्, मचाहिँ तपाईंहरूकै हाड़ र तपाईंहरूकै मासु हुँ नि!” 3 अनि तिनका मामाहरूले शेकेमका सबै अगुवाहरूका कानमा तिनको विषयमा यी सबै कुराहरू भनिदिए। अनि तिनीहरूको हृदय अबिमेलेककै पछि लाग्यो; किनकि तिनीहरूले भने: ‘तिनी त हाम्रै भाइ हुन्।’ 4 अनि तिनीहरूले तिनलाई बाल-बरितको भवनबाट चाँदीका सत्तरी सिक्का दिए, जसद्वारा तिनले निकम्मा र तुच्छ व्यक्तिहरूलाई भाड़ामा लिए, र ती तिनको पछि लागे। 5 अनि तिनी ओप्रामा, आफ्ना बुबाको घरमा गए, र तिनका दाजुभाइहरूलाई अर्थात् यरूब्बालका सत्तरी छोराहरूलाई एउटै ढुङ्गामाथि मारे; तरै पनि यरूब्बालका कान्छा छोरा योतामचाहिँ बाँचे; किनकि उनी लुकेर बसे। 6 अनि शेकेमका सबै मानिसहरूक र मिल्लोको सारा घरानाख भेला भए, अनि तिनीहरू गए, र शेकेममा भएको फलाँटको खाँबानिर अबिमेलेकलाई राजा बनाए।7 अनि जब तिनीहरूले यो कुरा योतामलाई सुनाए, तब उनी गए, र गेरिजीम पहाड़को टाकुरामा उभिएर आफ्नो सोर उचाले र कराउँदै तिनीहरूलाई भने: “हे शेकेमका अगुवाजनहरूहो, मेरो कुरा सुन, कि परमेश्वरले तिमीहरूको कुरा पनि सुनून्! 8 एकदिन रूखहरू आफूमाथि एकजना राजालाई अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने: ‘हामीमाथि राज्य गर!’ 9 तर जैतुनको रूखले तिनीहरूलाई भन्यो: ‘जुन तेललेग उनीहरू परमेश्वर र मानिसको आदर गर्दछन्, के मेरो यस चिल्लो पदार्थलाई छोड़ेर म रूखहरूमाथि यताउता झुल्न जाऊँ?’ 10 तब ती रूखहरूले नेभाराको रूखलाई भने: ‘तिमी आऊ, र हामीमाथि राज्य गर!’ 11 तर नेभाराको रूखले तिनीहरूलाई भन्यो: ‘के मेरो मिठास र मेरो असल फल छोड़ेर म रूखहरूमाथि यताउता झुल्न जाऊँ?’ 12 तब ती रूखहरूले दाखको बोटलाई भने: ‘तिमी आऊ, र हामीमाथि राज्य गर!’ 13 तर दाखको बोटले तिनीहरूलाई भन्यो: ‘जुन दाखमद्यले परमेश्वर र मानिसलाई हर्षित तुल्याउँछ, के त्यसलाई छोड़ेर रूखहरूमाथि यताउता झुल्न जाऊँ?’ 14 तब सबै रूखहरूले काँड़े झ्याङलाई भने: ‘तिमी आऊ, र हामीमाथि राज्य गर!’ 15 अनि त्यस काँड़े झ्याङले ती रूखहरूलाई भन्यो: ‘तिमीहरूले साँच्ची नै मलाई तिमीहरूमाथि राजाको रूपमा अभिषेक गर्छौ भने आओ, मेरो छायामा शरण लेओ; तर होइन भने काँड़े झ्याङबाट आगो निस्केर आओस् र त्यसले लबानोनका देवदारहरू भस्म पारोस्!’
16 यसकारण अब अबिमेलेकलाई राजा तुल्याएर तिमीहरूले सत्य र इमानदार काम गरेका छौ भने, अनि यरूब्बाल र उनको घरानासित उनका हातको कामअनुसारको योग्य व्यवहार गरेका छौ भने, 17 (किनकि मेरा पिताले तिमीहरूका निम्ति लड़िदिनुभयो, र आफ्नो ज्यान खतरामा हालेर तिमीहरूलाई मिद्यानको हातदेखि छुटाउनुभयो; 18 तर तिमीहरूले चाहिँ आज मेरा पिताको घरानाको विरोधमा उठेर उहाँका सत्तरीजना छोराहरूलाई एउटै ढुङ्गामाथि मार्यौ, र उहाँकी दासीको छोरो अबिमेलेकलाई शेकेमका मानिसहरूमाथिघ राजा तुल्यायौ; किनकि ऊचाहिँ तिमीहरूको भाइ हो।) 19 यदि तिमीहरूले आजको दिनमा यरूब्बाल र उहाँको घरानासित सत्य र इमानदार व्यवहार गरेका छौ भने अबिमेलेकमा आनन्दित होओ, र ऊ पनि तिमीहरूमा आनन्दित होस्; 20 तर होइन भने, अबिमेलेकबाट आगो निस्केर शेकेमका मानिसहरूक र मिल्लोको घरानालाईङ भस्म पारिदेओस्, अनि शेकेमका मानिसहरूक र मिल्लोको घरानाबाटच आगो निस्केर अबिमेलेकलाई भस्म पारिदेओस्!”
21 अनि योताम आफ्ना दाजु अबिमेलेकको सामुबाट हतार-हतार भागे, र बेरमा गए, अनि त्यहीं बसे।
अबिमेलेक र शेकेममाथि आइपरेको दण्ड
22 जब अबिमेलेकले इस्राएलमाथि राज्य गरेको तीन वर्ष भयो, 23 तब परमेश्वरले अबिमेलेक र शेकेमका मानिसहरूकोछ बीचमा एउटा दुष्ट आत्मा पठाउनुभयो; अनि शेकेमका मानिसहरूलेज अबिमेलेकसित विश्वासघात गरे – 24 यरूब्बालका सत्तरी छोराहरूप्रति गरेको अत्याचारको फल उसमाथि आइपरोस्, र उनीहरूको रगत उनीहरूलाई मार्ने उनीहरूका भाइ अबिमेलेकमाथि परोस्, साथै तिनका दाजुभाइहरूलाई मार्न तिनलाई सहयोग दिने शेकेमका मानिसहरूमाथिज परोस् भनेर। 25 अनि शेकेमका मानिसहरूलेछ पहाड़हरूका टाकुरा-टाकुरामा तिनका निम्ति ढुकेर बस्ने मानिसहरूलाई राखे, र तिनीहरूले त्यस बाटोमा तिनीहरू भएको ठाउँबाट भएरझ जानेहरू सबैलाई लुटे; अनि यो कुरा अबिमेलेकलाई सुनाइयो।
26 अनि एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूको साथमा आएर शेकेममा गए; अनि शेकेमका मानिसहरूलेज उनीमाथि भरोसा राखे। 27 अनि तिनीहरू खेतबारीहरूतिर निस्के, आफ्ना दाखबारीहरूबाट अङ्गुरहरू टिपे, कुल्चीमिल्ची पारे र मोजमज्जा गरेझ; अनि तिनीहरू आफ्नो देवताको मन्दिरमाञ गए, खाई-पिई गरे र अबिमेलेकलाई सरापे। 28 अनि एबेदका छोरा गालले भने: “अबिमेलेक को हो? अनि शेकेम को हो, र हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब्बालको छोरा होइन र? अनि त्यसको अफिसर जबूल होइन र? शेकेमका बुबा हमोरका मानिसहरूको सेवा गर! तर हामीले त्यसको सेवा किन गर्ने? 29 अँ, यी मानिसहरू मेरो अधीनतामा भए त! अबिमेलेकलाई म हटाइदिनेथिएँ।” अनि उनले अबिमेलेकलाई भने: “तेरो सेनाको संख्या बढ़ा, र निस्की आइज!”
30 अनि त्यस शहरका शासक जबूलले एबेदका छोरा गालका यी कुराहरू सुनेर तिनलाई रिस उठ्यो। 31 अनि तिनले यसो भन्दै अबिमेलेककहाँ सुटुक्कै दूतहरू पठाए: “हेर्नुहोस्, एबेदको छोरो गाल र त्यसका दाजुभाइहरू शेकेममा आएका छन्; अनि हेर्नुहोस्, तिनीहरूले शहरलाई तपाईंको विरोधमा सुर्याइरहेका छन्। 32 यसकारण अब तपाईं र तपाईंसित भएका मानिसहरू राति नै उठेर मैदानमा ढुकिबस्नुहोस्! 33 अनि यस्तो हुनेछ: बिहान घाम झुल्कनेबित्तिकै तपाईं उठेर शहरमाथि चढ़ाइ गर्नुहोस्; अनि हेर्नुहोस्, जब त्यो र त्यससित भएका मानिसहरू तपाईंको विरोधमा निस्की आउलान्, तब तपाईंले मौका छोपेर तिनीहरूलाई के-के गर्नुपर्छ, सो गर्नुहोस्!”
34 तब अबिमेलेक र तिनीसँग भएका सबै मानिसहरू राति नै उठेर शेकेमको विरोधमा चार दल भएर ढुकिबसे। 35 अनि एबेदका छोरा गाल बाहिर निस्के, र शहरको मूलढोकामा पस्ने ठाउँमा उभिए, तब अबिमेलेक र तिनीसँग भएका मानिसहरू लुकेको ठाउँबाट उठे। 36 जब गालले ती मानिसहरूलाई देखे, तब उनले जबूललाई भने: “हेर, पहाड़हरूका टाकुरादेखि मानिसहरू तल आइरहेछन्।” तर जबूलले उनलाई भने: “तिमीले त पहाड़हरूको छाया पो मानिसहरूजस्तै देख्दैछौ।” 37 अनि गालले फेरि पनि बोलेर भने: “हेर न, मानिसहरू जमिनको अग्लो भागबाट उँधो झर्दैछन्, र अर्को दल साइत हेर्नेहरूको फलाँटको रूखको बाटो भएर आउँदैछ।” 38 तब जबूलले उनलाई भने: “तिमीले कुन मुखले यसो भनेका थियौ, ‘अबिमेलेक को हो, र हामीले त्यसको सेवा गर्ने?’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनीहरू नै होइनन्? अब निस्क, र उनीहरूसँग लड़ाइँ गर!” 39 अनि शेकेमका मानिसहरूकोट सामु निस्केर गालले अबिमेलेकसँग लड़ाइँ गरे। 40 अनि अबिमेलेकले उनलाई खेदे, र उनी तिनीदेखि भागे, अनि धेरैजना मूलढोकाको मुखसम्मै सिकिस्त घाइते भएर ढले। 41 अनि अबिमेलेक अरूमाहमा बसे, अनि जबूलले गाल र उनका दाजुभाइहरूलाई, तिनीहरू शेकेममा नबसून् भनेर त्यहाँबाट निकालिदिए।
42 अनि भोलिपल्ट यस्तो भयो: मानिसहरू मैदानमा निस्के; अनि तिनीहरूले अबिमेलेकलाई यो कुरा बताए। 43 तब तिनले आफ्ना मानिसहरूलाई लिएर तिनीहरूलाई तीन दल बनाए, र मैदानमा ढुकेर हेरे; अनि हेर, त्यस शहरबाट मानिसहरू बाहिर आउँदैथिए; अनि तिनीहरूको विरोधमा उठीकन तिनले तिनीहरूलाई प्रहार गरे। 44 अनि अबिमेलेक र तिनीसँग भएको दल अगाड़ि दौड़ेर गए, र शहरको मूलढोकाको मुखमा खड़ा भए; अनि अरू दुई दलले चाहिँ मैदानमा भएका मानिसहरूमाथि जाइलागेर तिनीहरूलाई मारे। 45 अनि अबिमेलेकले त्यस दिनभरि नै त्यस शहरसित लड़ाइँ गरे, र त्यस शहरलाई कब्जा गरे, अनि त्यसमा भएका मानिसहरूलाई मारे, र त्यस शहरलाई भत्काए, अनि त्यसमा नुन छरिदिए।
46 अनि शेकेमको धरहराका सबै मानिसहरूक त्यो सुनेर बरित देवताको मन्दिरकोठ गढ़भित्र पसे। 47 अनि अबिमेलेकलाई शेकेमको धरहराका सबै मानिसहरूक जम्मा भएका छन् भन्ने समाचार सुनाइयो। 48 तब अबिमेलेक सल्मोन पर्वतमा उक्ले – तिनी र तिनीसँग भएका सबै मानिसहरू; अनि अबिमेलेकले एउटा बन्चरो आफ्नो हातमा लिएर रूखको एउटा हाँगा काटे, अनि त्यो लिएर आफ्नो काँधमा हाली आफूसँग भएका मानिसहरूलाई भने: “छिटो गर, र तिमीहरूले मैले जे गरेको देख्यौ, तिमीहरूले पनि त्यस्तै गर!” 49 अनि त्यसरी नै सबै मानिसहरू हरेकले आ-आफ्नो हाँगा काटेर अबिमेलेकको पछि लागे, अनि ती हाँगाहरू गढ़माथि थुपारे, र ती मानिसहरूमाथि त्यस गढ़मा आगो लगाइदिए; त्यसो हुँदा शेकेमको धरहराका सबै मानिसहरू पनि मरे – प्राय: एक हजार पुरुष र स्त्रीहरू।
अबिमेलेकको आदरहीन अन्त
50 त्यसपछि अबिमेलेक तेबेसमा गए, र त्यसको विरोधमा छाउनी हालेर त्यसलाई पनि कब्जा गरे। 51 तर त्यस शहरभित्र एउटा बलियो धरहरा थियो; अनि सबै पुरुष र स्त्रीहरू साथै त्यस शहरका सबै अगुवाहरू त्यहीं भागेर गए, र आफूपछि त्यो बन्द गरे, अनि तिनीहरू धरहराको टुप्पामा उक्लेर गए। 52 अनि अबिमेलेक त्यस धरहरानिर आइपुगे, र त्यसको विरोधमा लड़ाइँ गरे, अनि त्यो धरहरा जलाउन भनी त्यसको ढोकानिर गए। 53 तब कुनै एउटी स्त्रीले अबिमेलेकको टाउकोमाथि जाँतोको फग्लेंटो खसालेर तिनको खप्पर फोरिदिई। 54 तब तिनले हतार-हतार आफ्नो हतियार बोक्ने जवान मानिसलाई बोलाएर त्यसलाई भने: “तिम्रो तरवार थुतेर मलाई मारिदेऊ, नत्र मानिसहरूले मेरो विषयमा ‘तिनलाई एउटी स्त्रीले मारिदिई’ भनेर भन्लान्।” अनि तिनको जवान मानिसले तिनलाई वारपार हुने गरी घोच्यो, र तिनी मरे।
55 जब इस्राएलका मानिसहरूले अबिमेलेक मरेका थाहा पाए, तब उनीहरू हरेक आ-आफ्नो ठाउँमा गए। 56 यसरी नै परमेश्वरले अबिमेलेकलाई आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाप्रति गरेको दुष्टताको प्रतिफल दिनुभयो। 57 अनि शेकेमका मानिसहरूको सबै दुष्टताको प्रतिफल परमेश्वरले तिनीहरूकै थाप्लामाथि फर्काइदिनुभयो, र तिनीहरूमाथि यरूब्बालका छोरा योतामको श्राप आइपर्यो।