सातौं न्यायकर्ता: तोला
10
अनि अबिमेलेकपछि इस्साकारका मानिस दोदोका नाति, पूआका छोरा तोला इस्राएललाई छुटकारा दिनका निम्ति खड़ा भए; अनि तिनी एप्रैम पहाड़को शामीर भन्‍ने ठाउँमा बस्थे। 2 अनि तिनले तेइस वर्षसम्म इस्राएलको न्याय गरे, अनि तिनी मरे, र शामीरमा गाड़िए।
आठौं न्यायकर्ता: याइर
3 अनि तिनीपछि गिलादी याइर खड़ा भए, र तिनले बाइस वर्षसम्म इस्राएलको न्याय गरे। 4 तिनका तीसजना छोराहरू थिए, जो तीसवटा गधाका बछेड़ाहरूमाथि सवारी हुन्थे, अनि तिनीहरूका तीसवटा शहरहरू थिए, जसलाई आजको दिनसम्मै हव्वोत-याइर भनिन्छ, जुन शहरहरू गिलाद देशमा छन्। 5 अनि याइर मरे, र तिनी कामोनमा गाड़िए।
इस्राएलीहरूमाथि अम्मोनीहरूको अत्याचार
6 अनि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा फेरि पनि खराबी गरे, र बाल देवताहरूको, अश्तारोत देवीहरूको, साथै अरामका देवताहरू, सिडोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनीहरूका देवताहरू र पलिस्तीहरूका देवताहरूको पूजा गर्न लागे, अनि परमप्रभुलाई त्यागे, र उहाँको सेवा गरेनन्। 7 अनि परमप्रभुको रिस इस्राएलको विरोधमा दन्कियो, र उहाँले उनीहरूलाई पलिस्तीहरूको हातमा र अम्मोनीहरूको हातमा बेचिदिनुभयो। 8 अनि त्यस वर्षदेखि तिनीहरूले इस्राएलीहरूलाई, अर्थात्‌, यर्दनपारिका सबै इस्राएलीहरूलाई गिलादमा भएका एमोरीहरूको देशमा अठार वर्षसम्म सताए र अत्याचार गरे। 9 त्यति मात्र होइन, यहूदा, बिन्यामिन र एप्रैमको घरानासित पनि लड़ाइँ गर्न अम्मोनीहरू यर्दनवारि आउँथे; त्यसो हुँदा इस्राएललाई साह्रै कष्‍ट पर्‍यो।
10 तब इस्राएलीहरूले यसो भन्दै परमप्रभुलाई पुकारे: “हाम्रा परमेश्‍वरलाई त्यागेर र बालहरूको पूजा गरेर हामीले तपाईंको विरोधमा पाप गरेका छौं।” 11 अनि परमप्रभुले इस्राएलीहरूलाई भन्‍नुभयो: “के मैले तिमीहरूलाई मिस्रीहरूबाट, एमोरीहरूबाट, अम्मोनीहरूबाट र पलिस्तीहरूबाट छुटकारा दिएको थिइनँ र? 12 सिडोनीहरूले, अमालेकीहरूले र माओनीहरूले पनि तिमीहरूलाई थिचोमिचो गरे; अनि तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूको हातबाट छुटकारा गरिदिएँ। 13 तर पनि तिमीहरूले मलाई त्याग्यौ, र अन्य देवताहरूको पूजा गर्‍यौ; यसैकारण अबदेखि उसो म तिमीहरूलाई छुटकारा दिनेछैनँ। 14 जाओ! आफूले चुनेका देवताहरूलाई नै पुकार! तिनीहरूले नै तिमीहरूलाई तिमीहरूको सङ्कष्‍टको समयमा छुटकारा दिऊन्!” 15 तब इस्राएलीहरूले परमप्रभुलाई भने: “हामीले पाप गरेका छौं। तपाईंलाई जेजस्तो असल लाग्छ, त्यही हामीसित गर्नुहोस्! हामी तपाईंलाई विन्‍ती गर्छौं, आजको दिनमा मात्र हामीलाई छुटकारा दिनुहोस्!” 16 अनि उनीहरूले पराई देवताहरूलाई आफ्नो बीचबाट हटाए, र परमप्रभुको सेवा गर्न लागे; अनि इस्राएलको दुर्दशा देखेर उहाँको मन दुःखित भयो।
17 तब अम्मोनीहरू भेला भए, र गिलादमा छाउनी हाले। अनि इस्राएलीहरूले पनि भेला भएर मिस्पामा छाउनी हाले। 18 अनि गिलादका मानिसहरू र शासकहरू एक-अर्कालाई भन्‍न लागे: “अम्मोनीहरूको विरोधमा लड़ाइँ शुरु गर्ने मानिस को होला? तिनी गिलादका सबै बासिन्दाहरूमाथि शासक ठहरिनेछन्।”