नवौं न्यायकर्ता: यिप्‍तह
11
अनि गिलादी यिप्‍तह एक शूरवीर योद्धा थिए, तर तिनीचाहिँ एउटी वेश्याका छोरा थिए; अनि गिलादले यिप्‍तहलाई जन्माए। 2 अनि गिलादकी पत्‍नीले उनका निम्ति छोराहरू जन्माइन्; अनि जब उनकी पत्‍नीका छोराहरू ठूला भए, तब तिनीहरूले यिप्‍तहलाई यसो भन्दै निकालिदिए: “हाम्रा बुबाको घरमा तैंले कुनै अधिकारको भाग पाउनेछैनस्; किनकि तँ पराई स्त्रीको छोरो होस्।” 3 तब यिप्‍तह आफ्ना दाजुभाइहरूदेखि भागेर तोब देशमा बस्‍न लागे; अनि यिप्‍तहकहाँ निकम्मा मानिसहरू जम्मा भए, र तिनीसित निस्के।
4 अनि केही समयपछि यस्तो भयो: अम्मोनीहरूले इस्राएलको विरोधमा लड़ाइँ गरे। 5 अनि यस्तो भयो: जब अम्मोनीहरूले इस्राएलको विरोधमा लड़ाइँ गरे, तब गिलादका बूढ़ा प्रधानहरू यिप्‍तहलाई तोब देशबाट ल्याउन गए। 6 अनि उनीहरूले यिप्‍तहलाई भने: “आउनुहोस्, र हाम्रा सेनापति हुनुहोस्, र हामी अम्मोनीहरूसँग लड़ाइँ गर्न सकौं!” 7 तब यिप्‍तहले गिलादका ती बूढ़ा प्रधानहरूलाई भने: “के मलाई घृणा गरेर तिमीहरूले मलाई मेरा बुबाको घरबाट निकालेका होइनौ? र अहिले, तिमीहरूलाई आपद पर्दा किन मकहाँ आउँछौ?” 8 अनि गिलादका बूढ़ा प्रधानहरूले यिप्‍तहलाई भने: “यसैले त हामी अब तपाईंतिर फर्कंदैछौं, र तपाईं हामीसित हिँड़्नुहोस्, अम्मोनीहरूसित लड़ाइँ गर्नुहोस् र गिलादका सम्पूर्ण बासिन्दाहरूमाथि शासक बन्‍नुहोस्!” 9 अनि यिप्‍तहले गिलादका बूढ़ा प्रधानहरूलाई भने: “यदि तिमीहरूले मलाई अम्मोनीहरूसित लड़ाइँ गर्न फर्काएर लग्यौ, र परमप्रभुले तिनीहरूलाई मेरो सामु सुम्पिदिनुभयो भने, के म तिमीहरूको शासक होउँला?” 10 अनि गिलादका बूढ़ा प्रधानहरूले यिप्‍तहलाई भने: “हामीले तपाईंका वचनअनुसार गरेनौं भने परमप्रभु नै हाम्रो बीचमा साक्षी होऊन्!” 11 तब यिप्‍तह गिलादका बूढ़ा प्रधानहरूसित गए, अनि मानिसहरूले तिनलाई आफूमाथि शासक र सेनापति बनाए; अनि यिप्‍तहले मिस्पामा परमप्रभुको सामु आफ्ना सबै कुराहरू भने।
12 अनि यिप्‍तहले यसो भन्दै अम्मोनीहरूका राजाकहाँ दूतहरू पठाए: “मसित तिम्रो के काम थियो, र तिमी मेरो देशमा लड़ाइँ गर्न मेरो विरुद्ध आइरहेछौ?” 13 अनि अम्मोनीहरूका राजाले यिप्‍तहका दूतहरूलाई यस्तो जवाफ दिए: “किनकि जब इस्राएल मिस्रबाट निस्केर आयो, तब तिनीहरूले मेरो देश, अर्नोनदेखि यब्बोसम्‍म र यर्दनसम्म लगे। यसकारण अब शान्तिपूर्वक ती देशहरू फिर्ता गरिदेऊ!” 14 तब यिप्‍तहले अम्मोनीहरूका राजाकहाँ फेरि दूतहरू पठाए, 15 र उनलाई भने: “यिप्‍तह यसो भन्छन्: इस्राएलले न ता मोआबको देश लग्यो, न ता अम्मोनीहरूकै देश; 16 तर जब इस्राएल मिस्रबाट निस्केर आयो, र उजाड़स्थानहुँदै लाल समुद्रसम्म हिँड़्यो, अनि कादेशमा आइपुग्यो, 17 तब इस्राएलले एदोमका राजाकहाँ यसो भन्दै दूतहरू पठायो: ‘कृपा गरी मलाई तपाईंको देशबाट भएर जान दिनुहोस्!’ तर एदोमका राजाले मानेनन्। अनि त्यसै गरी उनीहरूले मोआबका राजाकहाँ पनि पठाए; तर तिनी पनि राजी भएनन्; अनि इस्राएल कादेशमै बसिरह्‍यो। 18 त्यसपछि उनीहरू उजाड़स्थानबाटै भएर अघि बढ़े अनि एदोम देश र मोआब देशका किनारै-किनार घुम्दै, मोआब देशका पूर्वपट्टिको सिमाना हुँदै आएर अर्नोनपारि छाउनी हाले; तर उनीहरू मोआबको सिमानाभित्र पसेनन्; किनकि अर्नोनचाहिँ मोआबको सिमाना पर्थ्यो।
19 अनि इस्राएलले एमोरीहरूका राजा अर्थात् हेश्बोनका राजा सीहोनकहाँ दूतहरू पठाए; अनि इस्राएलले तिनलाई यसो भनिपठायो: ‘कृपा गरी हामीलाई तपाईंको देशबाट भएर आफ्नो ठाउँमा जान दिनुहोस्!’ 20 तर सीहोनले आफ्नो सिमानाबाट भएर जाने सम्बन्धमा इस्राएललाई विश्‍वास गरेनन्; तर सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे, तर यहसामा छाउनी हालेर इस्राएलसँग लड़ाइँ गरे। 21 तब परमप्रभु इस्राएलका परमेश्‍वरले सीहोन र तिनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो, र उनीहरूले तिनीहरूलाई प्रहार गरे। यसरी इस्राएलले त्यस देशका बासिन्दा एमोरीहरूको सारा देश कब्जा गरे। 22 अनि उनीहरूले अर्नोनदेखि यब्बोसम्‍म र उजाड़स्थानदेखि यर्दनसम्मै एमोरीहरूको सारा इलाका कब्जा गरे। 23 यसैले अब परमप्रभु इस्राएलका परमेश्‍वरले नै आफ्नो प्रजा इस्राएलको सामुबाट एमोरीहरूलाई धपाउनुभयो; तब के तिमीले त्यो अधिकार गर्छौ त? 24 तिम्रो देवता कमोशले तिमीलाई जे अधिकार गर्न दिन्छ, के तिमीले त्यही अधिकार गर्दैनौ र? त्यस्तै गरी परमप्रभु हाम्रा परमेश्‍वरले हाम्रो सामुबाट जस-जसलाई धपाउनुहुन्छ, ती सबलाई हामी अधिकार गर्नेछौं। 25 अनि अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा केही पनि उत्तम छौ र? के तिनले कहिल्यै इस्राएलसित झगड़ा गरे वा कहिल्यै उनीहरूसित लड़ाइँ गरे र, 26 जब इस्राएल तीन सय वर्षसम्म हेश्बोन र त्यसका गाउँहरूमा, अरोएर र त्यसका गाउँहरूमा अनि अर्नोनको सिमानै-सिमानाका सबै शहरहरूमा बसेको थियो? त त्यस समयभित्र तिमीहरूले किन तिनलाई फिर्ता लिएनौ? 27 यसकारण मैले तिम्रो विरोधमा पाप गरेको छैनँ, तर तिमीले पो मसित लड़ाइँ गरेर खराबी गरेका छौ। आज न्यायकर्ता परमप्रभुले नै इस्राएलीहरू र अम्मोनीहरूको बीचमा न्याय गरिदिऊन्!” 28 तर अम्मोनीहरूका राजाले यिप्‍तहले उनलाई पठाएका तिनका वचनहरू सुनेनन्।
यिप्‍तहको भाकल र अम्मोनीहरूको विरुद्धको लड़ाइँ
29 तब परमप्रभुका आत्मा यिप्‍तहमाथि आउनुभयो, अनि तिनी गिलाद र मनस्सेबाट भएर अघि बढ़े र गिलादको मिस्पा हुँदै अघि बढ़े, अनि गिलादको मिस्पा नाघेर अम्मोनीहरूकहाँ पुगे। 30 अनि यिप्‍तहले परमप्रभुलाई भाकल गरेर यस्तो भने: “यदि तपाईंले पक्‍कै पनि अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, 31 जब म अम्मोनीहरूकहाँबाट कुशलसाथ फर्कुंला, तब यस्तो हुनेछ: मेरो घरका ढोकाबाट मलाई भेट्न जे निस्केर आउँछ, त्यो परमप्रभुको हुनेछ, र त्यसलाई म होमबलिको रूपमा चढ़ाउनेछु।” 32 तब अम्मोनीहरूसँग लड़ाइँ गर्न यिप्‍तह तिनीहरूतिर अघि बढ़े; अनि परमप्रभुले तिनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। 33 अनि तिनले अरोएरदेखि मिन्‍नितसम्मै अर्थात् बीसवटा शहरहरू र आबेल-करामीमसम्म तिनीहरूलाई प्रहार गरे – एउटा अति ठूलो काटमार भयो। यसरी अम्मोनीहरू इस्राएलीहरूको सामु वशमा पारिए।
34 अनि जब यिप्‍तह मिस्पामा, आफ्नो घरमा आए, तब हेर, तिनकी छोरी खैंजड़ी बजाउँदै र नाच्दै तिनलाई भेट्न निस्की; अनि ऊचाहिँ तिनकी एकमात्र छोरी थिई। ऊबाहेक तिनको अरू छोरा वा छोरी थिएन। 35 अनि यस्तो भयो: जब तिनले उसलाई देखे, तब तिनले आफ्ना लुगाहरू च्यातेर भने: “अहह, मेरी छोरी! तिमीले मलाई साह्रै तल झुकायौ, र मलाई कष्‍ट दिनेहरूमध्ये तिमी एउटी भयौ! किनभने मैले परमप्रभुसित आफ्नो मुख खोलें; र म त्यो फिर्ता लिन सक्दिनँ।” 36 तब उसले तिनलाई भनी: “मेरा पिताज्यू, तपाईंले परमप्रभुसित आफ्नो मुख खोल्नुभएको छ भने तपाईंको मुखबाट निस्केको वचनअनुसार मलाई गरिहाल्नुहोस्; किनकि परमप्रभुले तपाईंका निम्ति तपाईंका शत्रु अम्मोनीहरूलाई बदला दिनुभएको छ।”
37 तब उसले आफ्ना बुबालाई भनी: “मेरा निम्ति यो काम गरियोस्: मलाई दुई महिनासम्म छोड़िदिनुहोस्, अनि म गएर पहाड़हरूहुँदो घुम्‍न र मेरा सहेलीहरूसित मेरो कन्या-अवस्थाका निम्ति विलाप गर्न पाऊँ!” 38 तब तिनले भने: “जाऊ!” अनि तिनले उसलाई दुई महिनाका निम्ति पठाइदिए। अनि ऊ आफ्ना सहेलीहरूसित गई, र पहाड़हरूहुँदो आफ्नो कन्या-अवस्थाका निम्ति विलाप गर्दैरही। 39 अनि यस्तो भयो: दुई महिना बितेपछि ऊ आफ्ना बुबाकहाँ फर्केर आई; अनि तिनले आफूले गरेको आफ्नो भाकलअनुसार ऊसित गरे। अनि उसले कुनै पुरुषलाई जान्दिन थिई। अनि इस्राएलमा एउटा यस्तो प्रथा चल्यो – 40 हरेक वर्ष, वर्षको चार दिन इस्राएलका छोरीहरू गिलादी यिप्‍तहकी छोरीका निम्ति विलाप गर्न जान्थे।