यहोशूको बिदाको सन्देश
24
अनि यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गरेर इस्राएलका बूढ़ा प्रधानहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकारीहरूलाई बोलाइपठाए; अनि तिनीहरूले आफूलाई परमेश्‍वरको सामु हाजिर गराए। 2 अनि यहोशूले सबै मानिसहरूलाई भने: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘उहिले तिमीहरूका पितापुर्खाहरू अर्थात् अब्राहामका बुबा र नाहोरका बुबा तेरह महानदीपारि बस्थे; अनि उनीहरूले अन्य देवताहरू पुज्थे। 3 अनि मैले तिमीहरूका पिता अब्राहामलाई महानदीको पारिपट्टिबाट लगें, र उनलाई सारा कनान देशभरि डोर्‍याएँ, अनि उनको वंश बढ़ाएर उनलाई इसहाक दिएँ। 4 अनि इसहाकलाई मैले याकूब र एसाव दिएँ; अनि एसावलाई मैले अधिकार गर्नलाई सेईर पहाड़ दिएँ, तर याकूब र उसको वंशचाहिँ तल मिस्रमा गए। 5 अनि मैले मोशा र हारूनलाई पठाएँ; अनि मैले मिस्रको बीचमा जे गरें, त्यसअनुसार मैले त्यसलाई विपत्तिले प्रहार गरें; अनि त्यसपछि मैले तिमीहरूलाई निकालेर ल्याएँ। 6 अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई मिस्रबाट निकालेर ल्याएँ; अनि तिमीहरू समुद्रसम्म आइपुग्यौ, र मिस्रीहरूले रथहरू र घोड़चढ़ीहरूको साथमा तिमीहरूका पितापुर्खाहरूलाई लाल समुद्रसम्म पिछा गरे। 7 अनि जब उनीहरूले परमप्रभुलाई पुकारा गरे, तब उहाँले तिमीहरू र मिस्रीहरूको बीचमा अन्धकार हालिदिनुभयो र तिनीहरूमाथि समुद्र ल्याइदिनुभयो अनि तिनीहरूलाई छोपिदिनुभयो; अनि मैले मिस्रमा जे गरेको थिएँ, सो तिमीहरूका आँखाहरूले देखेका थिए; अनि तिमीहरू लामो समयसम्म उजाड़स्थानमा रह्‍यौ। 8 अनि मैले तिमीहरूलाई ती एमोरीहरूको देशमा ल्याएँ, जुन एमोरीहरू यर्दनपारि बस्थे; अनि तिनीहरूले तिमीहरूसित लड़ाइँ गरे; अनि तिमीहरूले तिनीहरूको देश कब्जा गर्न सक भनी मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएँ; अनि मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरें। 9 त्यसपछि मोआबका राजा सिप्पोरको छोरा बालाक उठेर इस्राएलको विरोधमा लड़ाइँ गर्‍यो र तिमीहरूलाई श्राप दिनलाई बओरको छोरा बालामलाई बोलाए। 10 तर मैले बालामको कुरा सुन्‍ने इच्छा गरिनँ; यसकारण त्यसले आशीर्वाद नै दिइरह्‍यो; यसरी मैले तिमीहरूलाई त्यसको हातबाट बचाएँ। 11 अनि तिमीहरूले यर्दन पार गर्‍यौ र यरिहोमा आयौ; अनि यरिहोका मानिसहरूले, साथै एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हिव्वी र यबूसीहरूले तिमीहरूको विरोधमा लड़ाइँ गरे; तर मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएँ। 12 अनि मैले तिमीहरूको अघि अरिङ्गाल पठाएँ, जसले तिनीहरूलाई अर्थात् एमोरीहरूका यी दुई राजाहरूलाई तिमीहरूको सामुबाट लगारे; तर तिमीहरूको तरवारले होइन, तिमीहरूको धनुले पनि होइन। 13 अनि मैले तिमीहरूलाई एउटा देश दिएको छु, जसका निम्ति तिमीहरूले परिश्रम गरेनौ, र शहरहरू दिएको छु, जुन शहरहरू तिमीहरूले बनाएनौ; अनि तिमीहरू तिनमा बस्दैछौ; तिमीहरू दाखबारीहरू र जैतुनका बारीहरूबाट तिमीहरू खाँदैछौ, जुन दाखबारीहरू र जैतुनका बारीहरू तिमीहरूले रोपेका छैनौ।’
14 यसकारण अब परमप्रभुको भय मान, अनि इमानदारीसाथ र सत्यतामा उहाँको सेवा गर! अनि जुन देवताहरूलाई तिमीहरूका पितापुर्खाहरूले महानदीको पारिपट्टि अनि मिस्रमा पूजा गर्दथे, तिनीहरूलाई हटाओ, र परमप्रभुको सेवा गर! 15 तर तिमीहरूलाई परमप्रभुको सेवा गर्न खराब लाग्छ भने आजै रोज कसको सेवा गर्नेछौ – महानदीको पारिपट्टिका ती देवताहरूको, जसलाई तिमीहरूका पितापुर्खाहरूले पूजा गर्दथे, अथवा एमोरीहरूका देवताहरूको, जसको देशमा तिमीहरू अहिले बस्दैछौ; तर म र मेरो घरानाचाहिँ – हामी परमप्रभुको सेवा गर्नेछौं।” 16 तब मानिसहरूले जवाफ दिएर भने: “अन्य देवताहरूको पूजा गर्न परमप्रभुलाई त्‍याग्‍ने काम हामीबाट कदापि नहोस्! 17 किनकि परमप्रभु हाम्रा परमेश्‍वरले नै हामीलाई र हाम्रा पितापुर्खाहरूलाई मिस्र देशदेखि अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो, र उहाँले नै हाम्रो दृष्‍टिमा ती ठूला-ठूला अचम्मका कामहरू गर्नुभयो र त्‍यस सारा बाटोभरि हामीलाई जोगाएर राख्‍नुभयो, जहाँ हामी गयौं, साथै सबै जातिहरूको बीचमा पनि, जसको बीचबाट भएर हामी गयौं। 18 अनि परमप्रभुले हाम्रो सामुबाट सबै जातिहरूलाई, अँ, त्यस देशमा बस्‍ने एमोरीहरूलाई धपाइदिनुभयो; यसकारण हामी पनि परमप्रभुको सेवा गर्नेछौं; किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ।”
19 तब यहोशूले मानिसहरूलाई भने: “तिमीहरू परमप्रभुको सेवा गर्न सक्दैनौ; किनभने उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ; उहाँ जलन राख्‍ने ईश्‍वर हुनुहुन्छ; उहाँले न तिमीहरूका अपराधहरू, न ता तिमीहरूका पापहरू नै क्षमा गर्नुहुनेछ। 20 तिमीहरूले परमप्रभुलाई त्यागिदियौ र पराई देवताहरूलाई पूजा गर्‍यौ भने उहाँले तिमीहरूलाई भलाइ गर्नुभएपछि पनि उहाँ फर्कनुहुनेछ, तिमीहरूलाई खराबी गर्नुहुनेछ, र तिमीहरूलाई भस्म पार्नुहुनेछ।” 21 अनि मानिसहरूले यहोशूलाई भने: “होइन, तर हामी परमप्रभुकै सेवा गर्नेछौं।” 22 तब यहोशूले मानिसहरूलाई भने: “तिमीहरूले उहाँको सेवा गर्नलाई परमप्रभुलाई आफ्ना निम्ति रोजेका छौ भन्‍ने कुरामा तिमीहरू आफै आफ्नो विरोधमा साक्षी हौ।” अनि तिनीहरूले भने: “हामी साक्षी छौं।” 23 उनले भने: “यसकारण अब तिमीहरूको बीचमा भएका पराई देवताहरूलाई हटाओ, र आफ्नो हृदय परमप्रभु इस्राएलका परमेश्‍वरतर्फ लगाओ!” 24 अनि मानिसहरूले यहोशूलाई भने: “हामी परमप्रभु हाम्रा परमेश्‍वरकै सेवा गर्नेछौं, र उहाँकै वचन हामी पालन गर्नेछौं।”
25 तब त्यसै दिन यहोशूले ती मानिसहरूसँग एउटा वाचा बाँधे, अनि शेकेममा तिनीहरूका निम्ति विधि र विधान बसाले। 26 अनि यहोशूले यी वचनहरू परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे, र एउटा ठूलो ढुङ्गा लिएर त्यसलाई त्यहाँ एउटा फलाँटको रूखमुनि खड़ा गरे, जुन रूख परमप्रभुको पवित्रस्थानको छेउमा थियो। 27 अनि यहोशूले सबै मानिसहरूलाई भने: “हेर, यो ढुङ्गा हाम्रा निम्ति साक्षी हुनेछ; किनभने यसले परमप्रभुका ती सबै वचनहरू सुनेको छ, जुन वचनहरू उहाँले हामीलाई भन्‍नुभयो; यसकारण कहीं तिमीहरूले आफ्ना परमेश्‍वरलाई इन्कार गर्छौ कि भनेर यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।” 28 तब यहोशूले मानिसहरूलाई पठाइदिए, हरेकलाई आ-आफ्नो अधिकारको भागमा।
यहोशूको मृत्यु, र हारूनका छोरा एलाजारको मृत्यु
29 अनि यी कुराहरूपछि यस्तो भयो: परमप्रभुका दास नूनका छोरा यहोशू एक सय दस वर्षका भएर मरे। 30 अनि तिनीहरूले उनलाई निम्‍नत-सेरहमा उनकै अधिकारको भागको सिमानाभित्र गाड़े, निम्‍नत-सेरहचाहिँ एप्रैमको पहाड़ी देशमा, गाश डाँड़ाको उत्तरपट्टि छ।
31 अनि यहोशूको सम्पूर्ण जीवनभरि, र ती बूढ़ा प्रधानहरूको सम्पूर्ण जीवनभरि चाहिँ, जो यहोशूभन्दा बेसी बाँचे र जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कामहरू जानेका थिए, इस्राएलले परमप्रभुको सेवा गर्‍यो।
32 अनि शेकेमका बुबा हमोरका छोराहरूबाट याकूबले एक सय टुक्रा चाँदीमा किनेको शेकेममा भएको एक टुक्रा जमिनमा इस्राएलीहरूले यूसुफका हड्डीहरू दफन गरे, जो तिनीहरूले मिस्रबाट ल्याएका थिए; अनि यो यूसुफका सन्तानको अधिकारको भाग बन्यो।
33 अनि हारूनका छोरा एलाजार मरे, र तिनीहरूले तिनलाई एउटा डाँड़ामा गाड़े, जुन डाँड़ा तिनका छोरा पीनहासको थियो, जुन डाँड़ाचाहिँ उनलाई एप्रैमको पहाड़ी देशमा दिइएको थियो।