यहोशूले इस्राएलीहरूलाई दिएको चेताउनी
23
अनि परमप्रभुले इस्राएललाई चारैतिर तिनीहरूका सबै शत्रुहरूबाट विश्राम दिनुभएका धेरै दिनपछि यस्तो भयो: यहोशू वृद्ध भए, र उनको उमेर ढल्किसक्यो। 2 तब यहोशूले सारा इस्राएललाई, तिनीहरूका बूढ़ा प्रधानहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकारीहरूलाई बोलाइपठाए, र तिनीहरूलाई भने: “म त बूढ़ो भएँ, र मेरो उमेर ढल्किसक्यो; 3 अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको खातिर यी सबै जातिहरूसित जे गर्नुभयो, त्यो सबै तिमीहरूले देखेका छौ; किनभने उहाँ नै परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति लड़्नुभएको छ। 4 हेर, यर्दनदेखि पश्चिममाक महासमुद्रसम्म मैले यी बाँकी रहेका जातिहरूलाई ती सबै जातिहरूको साथमा, जसलाई मैले मेटाइसकेको छु, तिमीहरूलाई तिमीहरूका कुलहरूका निम्ति अधिकारको भाग हुनलाई गोला हालेर बाँड़िदिएको छु। 5 अनि परमप्रभु तिमीहरूका परमेश्वर आफैले तिनीहरूलाई तिमीहरूको सामुबाट निकालिदिनुहुनेछ र तिमीहरूको नजरदेखि तिनीहरूलाई धपाइदिनुहुनेछ; अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैं तिमीहरूले तिनीहरूको देश कब्जाख गर्नेछौ। 6 यसकारण मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा पालन गर्न र पूरा गर्नलाई खूबै साहसी होओ, तिमीहरू यसबाट दाहिने वा देब्रेतिर नलाग भनेर; 7 र तिमीहरू तिमीहरूसित बाँकी रहेका यी जातिहरूको बीचमा नजाओ, न तिनीहरूका देवताहरूको नाम लेओ, न ता तिनीहरूको नाममा शपथ खाओ, न तिनीहरूको पूजाख गर, न ता तिनीहरूलाई दण्डवत् गर! 8 तर आजको दिनसम्म जसरी तिमीहरूले गरेका छौ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरसँग टाँसिरहो! 9 किनकि परमप्रभुले तिमीहरूको सामुबाट ठूला र बलिया जातिहरूलाई धपाउनुभएको छ; तर तिमीहरूचाहिँ – आजको दिनसम्म कोही पनि मानिस तिमीहरूको सामु खड़ा रहन सकेको छैन। 10 तिमीहरूमध्ये एकजनाले एक हजारलाई खेद्नेछ; किनकि परमप्रभु तिमीहरूका परमेश्वरले नै तिमीहरूका निम्ति लड़िदिनुहुन्छ, जस्तो उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ। 11 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नका निम्ति तिमीहरू आफ्नो विषयमा खूबै सतर्क बस! 12 नत्रभने यदि तिमीहरू कुनै रीतिले पछि हट्यौग, र तिमीहरूको बीचमा रहेका जाति-जातिबाट बाँकी रहेका मानिसहरूसँग टाँसियौ र तिनीहरूसँग बिहाबारी गर्यौ, अनि तिनीहरूकहाँ गयौ र तिनीहरू तिमीहरूकहाँ आए भने; 13 निश्चयपूर्वक जानिराख – त्यस समयदेखि उसो परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछैन; तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यस उत्तम देशबाट तिमीहरू नष्ट नहोउन्जेल तिनीहरू तिमीहरूका निम्ति पासो र धराप, साथै तिमीहरूको कोखाका निम्ति कोर्राहरूघ र तिमीहरूका आँखाहरूका निम्ति काँड़ाहरू बन्नेछन्।14 अनि हेर, आज म सारा पृथ्वीको बाटो भएर गइरहेको छु। अनि तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले जान्दछौ: परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको विषयमा भन्नुभएका सबै असल कुराहरूमध्ये एउटै पनि विफल भएको छैन; तिमीहरूका निम्ति सबै पूरा भए, र तीमध्ये एउटै पनि विफल भएन। 15 यसकारण यस्तो हुनेछ: जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएकाङ सबै असल-असल कुराहरू तिमीहरूका निम्ति पूरा भए, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यस उत्तम देशबाट परमप्रभुले तिमीहरूलाई नाश नगरेसम्म तिमीहरूमाथि सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ। 16 जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको त्यो वाचा भङ्ग गर्छौ, जुन वाचा उहाँले तिमीहरूलाई आज्ञाख गर्नुभयो, र गएर अन्य देवताहरूलाई पूजा गर्छौ र तिनीहरूलाई दण्डवत् गर्छौ, तब परमप्रभुको क्रोध तिमीहरूको विरोधमा दन्किनेछ, र तिमीहरू यस उत्तम देशबाट, जुन देश उहाँले तिमीहरूलाई दिनुभएको छ, चाँड़ै नष्ट हुनेछौ।”