रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुल आ-आफ्नो अधिकारको भागमा फर्के
22
तब यहोशूले रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुललाई बोलाए, 2 र तिनीहरूलाई भने: “परमप्रभुका दास मोशाले तिमीहरूलाई आज्ञा गर्नुभएका सबै कुराहरू तिमीहरूले पालन गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा गरेको मेरो वचनक सबै कुरामा मानेका छौ। 3 तिमीहरूले आफ्ना दाजुभाइहरूलाई यतिका दिन, आजको दिनसम्म छोड़ेका छैनौ, तर परमप्रभु आफ्ना परमेश्वरको आज्ञाको अभिभारा पूरा गरेका छौ। 4 अनि अब परमप्रभु तिमीहरूका परमेश्वरले, उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैंख तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ; यसकारण अब आ-आफ्ना तम्बूहरूमा र आफ्नो अधिकारको देशमा फर्केर जाओ, जुन देश परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दनपारि दिए! 5 तर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा हिँड़्नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँमा टाँसिरहनू अनि आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले उहाँको सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई सुम्पिदिएको आज्ञा र व्यवस्था पालन गर्न यत्नपूर्वक ध्यान देओग!” 6 तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिए, र तिनीहरूलाई पठाइदिए; अनि तिनीहरू आ-आफ्ना तम्बूहरूमा गए।7 अब मनस्सेको आधा कुललाई चाहिँ मोशाले बाशानमा अधिकार दिएका थिए, तर त्यसको अर्को आधा कुललाई यहोशूले यर्दनवारि पश्चिमपट्टि तिनीहरूका दाजुभाइहरूको बीचमा दिए। अनि जब यहोशूले तिनीहरूलाई आ-आफ्ना तम्बूहरूमा पठाए, तब उनले तिनीहरूलाई आशीर्वाद पनि दिए। 8 अनि उनले तिनीहरूलाई यसो भने: “धेरै धनसम्पत्ति, अति धेरै गाईबस्तु, साथै चाँदी, सुन, पित्तल र फलाम लिएर, र धेरै लुगाफाटाहरू लिएर आफ्ना तम्बूहरूमा फर्क! तिमीहरूका शत्रुहरूको लुटको माल तिमीहरूका दाजुभाइहरूसित बाँड़!”
9 अनि रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुल गिलाद देशमा, आफ्नो अधिकारको देशमा जानलाई फर्के, जुन देश मोशाद्वारा दिइएको परमप्रभुको वचनअनुसार तिनीहरूले आफ्नो अधिकारमा लिएका थिए, अनि कनान देशमा अवस्थित भएको शीलोबाट इस्राएलीहरूबाट बिदा लिएर हिँड़े। 10 अनि जब तिनीहरू यर्दनका इलाकाहरूमा आइपुगे, जो कनान देशमा छन्, तब रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुलले त्यहाँ यर्दननिर एउटा वेदी, अँ, हेर्नमा एउटा ठूलो वेदी बनाए।
11 तब इस्राएलीहरूले यसो भन्दै गरेको सुने: “हेर, रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुलले कनान देशको सामु, यर्दनका इलाकाहरूमा इस्राएलीहरूको पारिपट्टि एउटा वेदी बनाएका छन्।” 12 अनि जब इस्राएलीहरूले यो सुने, तब इस्राएलीहरूको सारा समुदाय तिनीहरूको विरोधमा लड़ाइँ गर्न जानलाई शीलोमा भेला भए। 13 अनि इस्राएलीहरूले पूजाहारी एलाजारका छोरा पीनहासलाई गिलाद देशमा रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुलकहाँ पठाए; 14 अनि तिनको साथमा इस्राएलका सबै कुलहरूबाट हरेक बुबाको घरानाबाट एक-एक शासक गरेर दसजना शासकहरूलाई पठाए; अनि हरेक नै इस्राएलका हजारौंमध्ये आ-आफ्ना बुबाहरूको घरानाका अगुवा थिए। 15 अनि उनीहरू गिलाद देशमा रूबेनीहरू, गादीहरू र मनस्सेका आधा कुलकहाँ आए; अनि उनीहरूले तिनीहरूलाई यसो भने: 16 “परमप्रभुको सारा समुदायले यसो भन्दैछ: तिमीहरूले आजको दिन परमप्रभुको विरुद्ध विद्रोह गर्ने हेतुले आजको दिन परमप्रभुलाई पछ्याउनदेखि हटेर तिमीहरूले आफ्ना निम्ति एउटा वेदी बनाएर इस्राएलका परमेश्वरको विरोधमा गरेको यो के अपराध हो? 17 के पोरको अधर्म हाम्रा निम्ति सानो थियो र, जसबाट हामीले आजको दिनसम्म आफूलाई शुद्ध पारेका छैनौं, यद्यपि परमप्रभुको समुदायमा महामारी चल्यो? 18 तर के आजको दिन परमप्रभुलाई पछ्याउनदेखि तिमीहरू पछि हट्नैपर्ने? अनि यस्तो हुनेछ: आजको दिन तिमीहरू परमप्रभुको विरुद्ध विद्रोही भएका हुनाले भोलिको दिन उहाँ इस्राएलको सारा समुदायसँग क्रोधित हुनुहुनेछ। 19 तरैपनि तिमीहरूको अधिकारको देश अशुद्ध छ भने तिमीहरू परमप्रभुको अधिकारको यस देशमा वारि आओ, जहाँ परमप्रभुको निवासस्थान रहन्छ, र हाम्रो बीचमा अधिकारको भाग लेओ! तर परमप्रभु हाम्रा परमेश्वरको वेदी छोड़ेर आफ्ना निम्ति अर्को एउटा वेदी बनाएर न परमप्रभुको विरोधमा विद्रोह गर, न ता हाम्रो विरोधमा विद्रोह गर! 20 जेरहको छोराघ आकानले अर्पण गरिएको थोकको सम्बन्धमा अपराध गरेको कारणले के इस्राएलको सारा समुदायमाथि क्रोध परेको थिएन र? अनि त्यस मान्छेको यस अधर्ममा त्यो एकलै मात्र मरेन।”
21 तब रूबेनीहरू, गादीहरू र मनस्सेको आधा कुलले इस्राएलका हजारौंका अगुवाहरूलाई जवाफ दिएर भने: 22 “परमप्रभु ईश्वरहरूका परम ईश्वर, परमप्रभु ईश्वरहरूका परम ईश्वर – उहाँ नै जान्नुहुन्छ, र इस्राएलले पनि जान्नेछ; यदि यो विद्रोहमा वा परमप्रभुको विरोधमा गरेको अपराध हो भने आजको दिन हामीलाई जिउँदो नराख्नुहोस्! 23 र परमप्रभुलाई पछ्याउनदेखि हट्न हामीले आफ्ना निम्ति त्यो वेदी बनाएका हौं भने अथवा त्यसमा होमबलि वा अन्नबलि चढ़ाउन अथवा त्यसमा मेलबलि चढ़ाउनका निम्ति भएको हो भने परमप्रभु आफैले त्यसको लेखा लिऊन्! 24 निश्चय हामीले यसो भन्दै गरेको एउटै कुराको डरले यो गरेका हौं: आउँदो समयमाङ तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई यसो भन्लान्: ‘परमप्रभु इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? 25 किनकि हे रूबेनीहरू र हे गादीहरूहो, परमप्रभुले हाम्रो र तिमीहरूको बीचमा यर्दनलाई एउटा सिमाना बनाइदिनुभएको छ; परमप्रभुमा तिमीहरूको केही भाग छैन।’ यसरी तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई परमप्रभुको भय मान्न रोकिदेलान्। 26 यसकारण हामीले भन्यौं: आओ! अब हामी आफ्ना निम्ति एउटा वेदी बनाउन तयार गरौं – होमबलिका निम्ति होइन, बलिदानका निम्ति पनि होइन; 27 तर यो त हामीहरू र तिमीहरूको बीचमा अनि हाम्रो पछिका पुस्ताहरूको बीचमा एउटा साक्षी बनोस्, यसैले कि हामीले हाम्रा होमबलिहरू, हाम्रा बलिदानहरू र हाम्रा मेलबलिहरू चढ़ाएर परमप्रभुको सेवा उहाँको सामु गर्न पाऔं, र आउँदो समयमा परमप्रभुमा तिमीहरूका केही भाग छैन भनेर तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई भन्न नपाऊन्। 28 यसकारण हामीले भन्यौं: यस्तो हुनेछ: आउँदो समयमा तिनीहरूले हामीलाई वा हाम्रा पुस्ताहरूलाई त्यसो भने भने हामीले तिनीहरूलाई भन्नेछौं: ‘परमप्रभुको वेदीको नमुना हेर, जुन वेदी हाम्रा पितापुर्खाहरूले बनाए – होमबलिका निम्ति होइन, बलिदानका निम्ति पनि होइन; तर यो त हामीहरू र तिमीहरूको बीचमा एउटा साक्षी हो।’ 29 हामी उहाँको निवासस्थानको सामु भएको परमप्रभु हाम्रा परमेश्वरको त्यस वेदीलाई छोड़ेर होमबलिहरूका निम्ति, अन्नबलिहरूका निम्ति वा बलिदानहरूका निम्ति अर्को एउटा वेदी बनाउनलाई परमप्रभुको विरुद्ध विद्रोह गर्ने र परमप्रभुलाई पछ्याउनदेखि आजको दिन हट्ने काम हामीबाट कदापि नहोस्!”
30 अनि जब पूजाहारी पीनहास र तिनीसँग भएका समुदायका शासकहरूले र इस्राएलका हजारौंका अगुवाहरूले ती शब्दहरू सुने, जुन शब्दहरू रूबेनीहरू, गादीहरू र मनस्सेलीहरूले भने, तब तिनीहरूलाई त्यो असल लाग्यो। 31 अनि पूजाहारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनस्सेलीहरूलाई भने: “आजको दिन परमप्रभु हाम्रो बीचमा हुनुहुन्छ भनी हामीलाई थाहा लाग्यो; किनभने तिमीहरूले परमप्रभुको विरोधमा यो अपराध गरेका रहेनछौ। अब तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट बचायौ।”
32 अनि पूजाहारी एलाजारको छोरा पीनहास र शासकहरू रूबेनीहरू, गादीहरू र मनस्सेलीहरूबाट गिलाद देशदेखि कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूकहाँ त्यो वचनच फर्काएर ल्याए। 33 अनि त्यो कुरा इस्राएलीहरूलाई असल लाग्यो; अनि इस्राएलीहरूले परमेश्वरलाई धन्यको भने, अनि रूबेनीहरू र गादीहरू बस्ने देश नष्ट गर्नलाई उनीहरूको विरोधमा लड़ाइँ गर्न जाने मन गरेनन्। 34 अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई ‘एद’छ भने; किनकि योचाहिँ हाम्रा र तिमीहरूको बीचमा परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको साक्षी हुनेछ।