बचेका बिन्यामिनीहरूका निम्ति पत्‍नीहरूको प्रबन्ध
21
अब इस्राएलका मानिसहरूले मिस्पामा यसो भन्दै शपथ खाए: “हामीमध्ये कसैले पनि बिन्यामिनीसित आफ्नी छोरीको विवाह गरिदिनेछैनौं।” 2 अनि मानिसहरू बेतएलमा आए, र त्यहाँ साँझसम्म परमेश्‍वरको सामु बसिरहे, अनि आफ्ना सोर उचालेर डाँको छोड़ी रोए; 3 र यसो भने: “हे परमप्रभु इस्राएलका परमेश्‍वर, इस्राएलमा किन यस्तो भयो कि आज इस्राएलको एउटा कुल मासियो?” 4 अनि भोलिपल्ट यस्तो भयो: मानिसहरू सबेरै उठे, र त्यहाँ एउटा वेदी बनाएर होमबलिहरू र मेलबलिहरू चढ़ाए।
5 तब इस्राएलीहरूले भने: “इस्राएलका सबै कुलहरूमध्ये कुनचाहिँ यस समुदायसित माथि परमप्रभुकहाँ आएन?” किनकि माथि मिस्पामा परमप्रभुकहाँ नआएको व्यक्तिको विषयमा ‘त्यो अवश्य मारिनुपर्छ’ भन्दै उनीहरूले ठूलो शपथ खाएका थिए। 6 अनि इस्राएलीहरूले आफ्नो भाइ बिन्यामिनको विषयमा पछुताएर यसो भने: “आज इस्राएलको एउटा कुल मासियो। 7 बाँचेकाहरूका निम्ति पत्‍नीहरू पाउनलाई हामी के गरौं? किनकि हामीले त आफ्ना छोरीहरूको विवाह तिनीहरूसित गरिदिनेछैनौं भनी परमप्रभुको शपथ खाइहाल्यौं?” 8 अनि उनीहरूले भने: “इस्राएलका कुलहरूमध्ये कुनचाहिँ माथि मिस्पामा परमप्रभुकहाँ आएन?” अनि हेर, याबेश-गिलादबाट कोही पनि यस छाउनीमा समुदायकहाँ आएको रहेनछ। 9 किनकि मुनिसहरूको गन्ती लिइयो; अनि हेर, याबेश-गिलादका बासिन्दाहरूबाट कोही त्यहाँ उपस्थित थिएन। 10 तब समुदायले बाह्र हजार शूरवीर मानिसहरू त्यहाँ पठायो, र उनीहरूलाई यसो भन्दै आज्ञा गर्‍यो: “जाओ, याबेश-गिलादका बासिन्दाहरूलाई, स्त्रीहरू र बालबच्‍चाहरूलाई समेत तरवारको धारले प्रहार गर! 11 अनि तिमीहरूले गर्नुपर्ने काम यही हो: तिमीहरूले हरेक पुरुषलाई र पुरुषसित सहवास भएकी हरेक स्त्रीलाई बिलकुलै नष्‍ट गरिदिनू!” 12 अनि उनीहरूले याबेश-गिलादका बासिन्दाहरूमध्ये चार सयजना जवान कन्याहरूलाई भेट्टाए, जसले कुनै पुरुषसित सहवास गरेर पुरुषलाई जानेका थिएनन्; अनि तिनीहरूलाई उनीहरूले कनान देशको शीलोमा भएको त्यस छाउनीमा ल्याए।
13 तब जम्मै समुदायले रिम्मोनको चट्टानमा बसेका बिन्यामिनीहरूसँग बातचित गर्न र तिनीहरूलाई मेलमिलापको खबर सुनाउन मानिसहरू पठाए। 14 अनि त्यस समय बिन्यामिनीहरू फर्केर आए; अनि तिनीहरूलाई उनीहरूले याबेश-गिलादका स्त्रीहरूबाट जिउँदै राखिएकाहरूलाई पत्‍नीहरूको रूपमा दिए; तर यिनीहरू तिनीहरूका निम्ति पर्याप्‍त भएनन्।
15 अनि मानिसहरूले बिन्यामिनको विषयमा पछुताए; किनभने परमप्रभुले इस्राएलका कुलहरूमा एउटा धाँदो पारिदिनुभयो। 16 तब यस समुदायका बूढ़ा प्रधानहरूले भने: “अरू बाँकी रहेकाहरूका निम्ति पत्‍नीहरू पाउनलाई हामी के गरौं; किनकि बिन्यामिनबाट स्त्रीहरू नाश भए?” 17 अनि उनीहरूले भने: “बिन्यामिनका उम्केकाहरूका निम्ति अधिकारको भाग हुनैपर्छ, र इस्राएलबाट एउटा कुल नमेटियोस्! 18 तरै पनि हामी आफ्ना छोरीहरूबाट तिनीहरूलाई पत्‍नीहरू दिन सक्दैनौं”; किनकि ‘बिन्यामिनलाई पत्‍नी दिने मानिस श्रापित होस्!’ भन्दै इस्राएलीहरूले शपथ खाएका थिए। 19 तब उनीहरूले भने: “हेर, शीलोमा वर्षैपिच्छे परमप्रभुको एउटा चाड़ एक जग्‍गामा मनाइन्छ, जुन जग्‍गा बेतएलको उत्तरपट्टि, बेतएलदेखि उँभो शेकेमतिर जाने मूलबाटाको पूर्वपट्टि र लबोनाको दक्षिणपट्टि पर्छ।” 20 यसैकारण उनीहरूले बिन्यामिनीहरूलाई यसो भन्दै आज्ञा दिए: “जाओ, र दाखबारीहरूहुँदो ढुकिबस; 21 र हेरिरहो! अनि हेर, जब शीलोका छोरीहरू नाचहरूमा नाच्‍न निस्कन्छन्, तब दाखबारीहरूबाट निस्केर आओ, र शीलोका ती छोरीहरूबाट तिमीहरू हरेकले आफ्नी पत्‍नीलाई पक्र, र बिन्यामिन देशमा जाओ! 22 अनि यस्तो हुनेछ: जब तिनीहरूका बुबाहरू वा तिनीहरूका दाजुभाइहरू हामीकहाँ उजुर गर्न आउलान्, तब हामी तिनीहरूलाई भन्‍नेछौं: ‘हाम्रो खातिर उनीहरूमाथि तिमीहरूले दया गर; किनकि लड़ाइँमा हामीले उनीहरू कसैका निम्ति उसकी पत्‍नी राखिदिएनौं। किनभने तिमीहरू आफूले यस बखत तिनीहरूलाई आफ्ना छोरीहरू दिएका होइनौ, नत्र ता तिमीहरू दोषी हुनेथियौ।’ ” 23 तब बिन्यामिनीहरूले त्यस्तै गरे, अनि आफ्नो गन्तीअनुसार ती नाच्‍नेहरूबाट पक्रेर पत्‍नीहरू लिए, जसलाई तिनीहरूले पक्रेका थिए; अनि तिनीहरू हिँड़े, र आफ्नो अधिकारको भागमा फर्के, र ती शहरहरू फेरि निर्माण गरे, र तिनमा बस्‍न लागे। 24 अनि इस्राएलीहरू त्यस बेला त्यहाँबाट हिँड़े – हरेक मानिस आ-आफ्नो कुल र आ-आफ्नै घरानातिर हिँड़्यो। अनि उनीहरू त्यहाँबाट निस्केर हरेक मानिस आ-आफ्नै अधिकारको भागमा गयो।
25 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्; हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठीक लाग्थ्यो, त्यही गर्थ्यो।