गिबाका मानिसहरूसित लड़ाइँ गर्ने तयारी
20
त्यसपछि सबै इस्राएलीहरू निस्के, र दानदेखि लिएर बेरशेबासम्मका समुदाय, गिलाद देश पनि, एउटै मानिसझैं गरी मिस्पामा परमप्रभुकहाँ भेला भयो। 2 अनि सबै जनहरू अर्थात् इस्राएलका सबै कुलहरूका प्रधानहरूले आफूलाई परमेश्‍वरको जनहरूको सभामा हाजिर गराए – चार लाख तरवारधारी पैदल-सिपाहीहरू। 3 (अनि इस्राएलीहरू उँभो मिस्पामा गएको कुरा बिन्यामिनीहरूले सुने।) तब इस्राएलीहरूले भने: “तिमीहरूले हामीलाई भन! यो दुष्‍ट्याइँ कसरी भयो?” 4 अनि मारिएकी त्यस स्त्रीको पति, यस लेवीले जवाफ दिएर भन्यो: “म बिन्यामिनको गिबामा वास बस्‍न पुगेको थिएँ – म र मेरी रखौटी। 5 अनि गिबाका मानिसहरू मेरो विरोधमा उठे, र राति मेरो कारणले त्यस घरलाई चारैतिर घेरे; अनि तिनीहरूले मलाई मार्ने विचार गरेका थिए; अनि मेरी रखौटीलाई तिनीहरूले बलात्कार गरे, र ऊ मरी। 6 तब मैले मेरी रखौटीलाई पक्रेर उसलाई टुक्रा-टुक्रा काटें, र उसलाई इस्राएलको अधिकारको भागमा परेको सबै देशभरि पठाइदिएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो कामुकता र मूर्खता गरे। 7 हेर्नुहोस्, तपाईंहरू सबै इस्राएलका सन्तान हुनुहुन्छ; यहाँ तपाईंहरूको परामर्श र सरसल्‍लाह दिनुहोस्!” 8 तब सबै मानिसहरू एउटै मानिसझैं गरी खड़ा भए, र भन्‍न लागे: “हामीमध्ये कोही पनि आफ्नो तम्बूमा जानेछैन, न ता कोही आफ्नो घरतिर नै लाग्‍नेछ; 9 तर अब हामीले गिबासित गर्ने काम यही हो: हामी चिट्ठा हाली-हाली त्यसमाथि जाइलाग्‍नेछौं। 10 अनि इस्राएलका सबै कुलहरूबाट हामी एक सय मानिसमा दसजना, हजारमा एक सयजना र दस हजारमा एक हजारजनालाई मानिसहरूका निम्ति खानेकुरा जुटाउन खटाऔं, र मानिसहरूले बिन्यामिनको गिबामा पुगेर तिनीहरूले इस्राएलमा गरेको सारा मूर्खताअनुसार तिनीहरूलाई प्रतिफल दिन सकून्!” 11 तब इस्राएलका सबै मानिसहरू एकसाथ बाँधिएर एउटै मानिसजस्तो भई त्यस शहरको विरोधमा भेला भए।
बिन्यामिनीहरू गिबाको पक्षमा
12 अनि इस्राएलका कुलहरूले समस्त बिन्यामिनको कुलकहाँ मानिसहरू यसो भन्दै पठाए: “तिमीहरूको बीचमा भएको यो दुष्‍ट्याइँ के हो? 13 यसकारण अब गिबामा भएका ती अधम मानिसहरूलाई हामीकहाँ सुम्पिदेओ, र तिनीहरूलाई मारेर हामी इस्राएलबाट यो खराबी हटाउन सकौं!” तर बिन्यामिनीहरूले आफ्नै दाजुभाइहरूको अर्थात् इस्राएलीहरूको कुरा सुन्‍नै मानेनन्। 14 तर बिन्यामिनीहरू इस्राएलीहरूसित लड़ाइँ गर्न जानलाई शहर-शहरबाट गिबामा भेला भए। 15 अनि त्यस बेला शहर-शहरबाट आएका बिन्यामिनीहरूको संख्या छब्बीस हजार तरवारधारी मानिसहरू थिए, साथै गिबाका बासिन्दाहरू, जसको संख्या सात सय चुनिएका मानिसहरू थिए। 16 ती सबै मानिसहरूमध्ये सात सयजना देब्रे हात चलाउने चुनिएका मानिसहरू थिए। ती सबैले निशानालाई एउटा केशभर नबिराई घुयेंत्रोले ढुङ्गा हान्‍न सक्थे। 17 अनि बिन्यामिनबाहेक इस्राएलका मानिसहरूको संख्या चार लाख तरवारधारी मानिसहरू थिए; यी सबै योद्धाहरू थिए।
18 अनि इस्राएलीहरू उठे, र उँभो बेतएलमा गए, अनि परमेश्‍वरबाट सल्‍लाह मागे, र भने: “बिन्यामिनीहरूसँग लड़ाइँ गर्न हामीमध्ये कसले पहिले चढ़ाइ गर्नुपर्ने हो?” अनि परमप्रभुले भन्‍नुभयो: “यहूदाले पहिले चढ़ाइ गरोस्!” 19 तब इस्राएलीहरू बिहानै उठे, र गिबाको विरोधमा छाउनी हाले। 20 अनि इस्राएलका मानिसहरू बिन्यामिनसँग लड़ाइँ गर्न निस्के; अनि ती इस्राएलका मानिसहरूले आफूलाई तिनीहरूसित लड़्नलाई गिबामा मोर्चा बाँधे। 21 अनि बिन्यामिनीहरू गिबाबाट निस्केर आए, र त्यस दिन तिनीहरूले इस्राएलीहरूका बाइस हजार मानिसहरूलाई मारेर माटोमा मिलाइदिए। 22 अनि ती मानिसहरू अर्थात् इस्राएलका मानिसहरूले हिम्मत बाँधे, र पहिलो दिनमा जहाँ उनीहरूले मोर्चा बाँधेका थिए, त्यही ठाउँमा फेरि लड़ाइँका निम्ति मोर्चा बाँधे। 23 अनि इस्राएलीहरू माथि गए, र साँझसम्मै परमप्रभुको सामु रोइरहे, र यसो भन्दै परमप्रभुबाट सल्‍लाह मागे: “मेरै भाइ बिन्यामिनका सन्तानसँग लड़ाइँ गर्न के म फेरि आक्रमण गरूँ?” अनि परमप्रभुले भन्‍नुभयो: “त्यसलाई आक्रमण गर!”
24 अनि दोस्रो दिनमा इस्राएलीहरू बिन्यामिनीहरूसँग लड़ाइँ गर्न नजिक गए। 25 अनि दोस्रो दिनमा पनि बिन्यामिनीहरू गिबाबाट उनीहरूको विरोधमा निस्के, र फेरि पनि इस्राएलीहरूका अठार हजार मानिसहरूलाई – ती सबै तरवारधारी मानिसहरू थिए – मारेर माटोमा मिलाइदिए। 26 तब सबै इस्राएलीहरू, अर्थात्‌, सबै मानिसहरू माथि गए, र बेतएलमा पुगेर उनीहरूले विलाप गरे, त्यहाँ परमप्रभुको सामु बसे, त्यस दिन साँझसम्म उपवास बसे, र परमप्रभुको सामु होमबलिहरू र मेलबलिहरू चढ़ाए। 27 अनि इस्राएलीहरूले परमप्रभुबाट यसो भन्दै सल्‍लाह लिए: (किनकि ती दिनहरूमा परमेश्‍वरको वाचाको सन्दुक त्यहीं थियो, 28 र ती दिनहरूमा हारूनका नाति अर्थात् एलाजारका छोरा पीनहास त्यस सन्दुकको सामु खड़ा हुन्थे।) “के म फेरि मेरो भाइ बिन्यामिनका सन्तानसँग लड़ाइँ गर्न निस्केर जाऊँ कि म रोकूँ?” अनि परमप्रभुले भन्‍नुभयो: “तिमीहरूले चढ़ाइ गर! किनकि भोलि म तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”
बिन्यामिनीहरूको सर्वनाश
29 तब इस्राएलले गिबाको चारैतिर ढुकेर बस्‍ने मानिसहरूलाई राखे। 30 अनि तेस्रो दिनमा इस्राएलीहरूले बिन्यामिनीहरूमाथि चढ़ाइ गरे, र अरू बेलामा जस्‍तै गिबाको विरोधमा मोर्चा बाँधे। 31 अनि बिन्यामिनीहरू ती मानिसहरूको विरोधमा निस्के, र त्यस शहरदेखि बाहिर निक्ले; अनि अरू बेलामा जस्‍तै तिनीहरूले ती मूलबाटाहरूहुँदो, जसमा एउटा बेतएलतिर उँभो जान्छ र अर्को गिबातिर जान्छ, ती मानिसहरूमध्ये कतिलाई प्रहार गर्न थाले र मैदानमा इस्राएलका प्राय: तीसजना मानिसलाई मारे। 32 अनि बिन्यामिनीहरूले भने: “तिनीहरू पहिले जस्‍तै हाम्रो सामु पराजित भए।” तर इस्राएलीहरूले भने: “हामी भागौं, र तिनीहरूलाई शहरबाट मूलबाटाहरूतिर निक्लन लाऔं!” 33 तब इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे, अनि इस्राएलका ढुकेर बस्‍नेहरू पनि आ-आफ्ना ठाउँबाट अर्थात् गिबाको मैदानबाट निस्केर आए। 34 अनि समस्त इस्राएलबाट चुनिएका दस हजार मानिसहरू गिबाको विरोधमा आए, र घमासान लड़ाइँ भयो; तर विपत्ति तिनीहरूको नजिकै आइपुगेको तिनीहरूलाई थाहै भएन। 35 अनि परमप्रभुले बिन्यामिनलाई इस्राएलको सामु परास्त गर्नुभयो। अनि त्यही दिन इस्राएलीहरूले बिन्यामिनीहरूका पच्‍चीस हजार एक सय मानिसहरूलाई नष्‍ट गरिदिए; तिनीहरू सबै तरवारधारी मानिसहरू थिए।
36 तब बिन्यामिनीहरूले हामी त हारेछौं भनी थाहा पाए; अनि इस्राएली मानिसहरू बिन्यामिनीहरूबाट हटेर गए; किनकि उनीहरूले गिबाको विरोधमा राखिछोड़ेका ती ढुकेर बस्‍नेहरूमाथि भर परेका थिए। 37 अनि ती ढुकेर बस्‍नेहरू हतार गरेर गिबामाथि जाइलागे; अनि ती ढुकेर बस्‍नेहरू फिँजिए, र त्यस सम्पूर्ण शहरलाई तरवारको धारले प्रहार गरे। 38 अब इस्राएलका मानिसहरू र ढुकेर बस्‍ने मानिसहरूको बीचमा एउटा ठहराइएको सङ्केत-चिन्ह थियो: उनीहरूले त्यस शहरबाट ठूलो धूवाँको मुस्ला उठाउनुपरेको थियो। 39 अनि जब इस्राएलका मानिसहरू लड़ाइँमा पछि हटे, तब बिन्यामिनीहरूले प्रहार गर्न लागे र इस्राएली मानिसहरूमध्ये प्राय: तीसजना मानिसलाई मारे; किनकि तिनीहरूले भने: “निश्‍चय नै तिनीहरू पहिलेको लड़ाइँमा जस्‍तै हाम्रो सामु परास्त भएका छन्।” 40 तर जब त्यस शहरबाट धूवाँको मुस्लासित ज्वाला उठ्न थाल्यो, तब बिन्यामिनीहरूले पछाड़ि फर्केर हेरे; अनि हेर, त्यस शहरको ज्वाला आकाशतिर उठिरहेको थियो। 41 अनि जब इस्राएलका मानिसहरू फनक्‍क फर्के, तब बिन्यामिनीहरू आत्तिए; किनभने तिनीहरूले आफूमाथि विपत्ति आइपरेको देखे। 42 यसकारण तिनीहरू इस्राएलका मानिसहरूको सामुबाट पिठ्यूँ फर्काएर उजाड़स्थानको बाटो लागे, तर लड़ाइँले तिनीहरूलाई फेला पारिहाल्यो; अनि उनीहरूले शहरहरूबाट निस्केर आउनेहरूलाई आफ्नो बीचमा नष्‍ट गरिदिए। 43 यस प्रकारले उनीहरूले बिन्यामिनीहरूलाई घेरे, र तिनीहरूलाई खेदेर पूर्वपट्टि गिबाको सामुसम्म तिनीहरूलाई सजिलैसित कुल्चीमिल्ची पारे। 44 अनि बिन्यामिनका अठार हजार मानिसहरू मारिए – तिनीहरू सबै शूरवीरहरू थिए। 45 अनि तिनीहरू फर्केर उजाड़स्थानपट्टि रिम्मोनको चट्टानतिर भागे; तर उनीहरूले तिनीहरूमध्ये पाँच हजार मानिसलाई मूलबाटाहरूमा टिप्दै मारे, तिनीहरूलाई गिदोमसम्म खेदे र तिनीहरूमध्ये दुई हजार मानिसलाई मारे। 46 यसरी नै त्यस दिन बिन्यामिनका पच्‍चीस हजार तरवारधारी मानिसहरू मारिए; तिनीहरू सबै शूरवीर थिए। 47 तर छ सय मानिसहरू फर्केर उजाड़स्थानपट्टि रिम्मोनको चट्टानतिर भागे, र त्यही रिम्मोनको चट्टानमा चार महिनासम्म बसे। 48 अनि इस्राएलका मानिसहरू फर्केर बिन्यामिनीहरूमाथि चढ़ाइ गरे, र सारा शहरका चाहे मानिसहरू चाहे पशु-प्राणीहरू, र जे-जे भेट्टाए, ती सबैलाई तरवारको धारले प्रहार गरे; साथै उनीहरू पुगेका सबै शहरहरूमा आगो लगाइदिए।